|
नयाँ पत्रिका काठमाडौं, १३ पुस एमाले महासचिव ईश्वर पोखरेलले माओवादीको जालझेलपूर्ण राजनीतिमा एमाले नफस्ने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा पोखरेलले माओवादीले अनेक बहानामा दलहरूलाई अल्झाउने र झुक्याउने काम मात्र गरेको जिकिर गरे । 'अब विपक्षी दलहरू माओवादीको भनाइमा विश्वास गरेर आफ्नो निर्णयमा परिवर्तन गर्दैनन्,' पोखरेलले भने, 'स्पष्ट मार्गदर्शनका साथ आन्दोलनमा जानुको विकल्प छैन ।' उनले भट्टराई नेतृत्वको सरकारमा एक सेकेन्ड पनि सहभागी नहुने बताए । वर्तमान सरकार छाडेर हिँडेका विपक्षी दललाई फेरि यही सरकारमा आऊ भन्नु प्रधानमन्त्रीको पाखण्डीपन भएको उनले टिप्पणी गरे । सरकार अनेक बहाना गर्दै आफ्नो आयु लम्ब्याउने खेलमा लागेको उनले आरोप लगाए । संविधानसभाको निर्वाचन हुने भनिसकेपछि संविधानका विवादित विषयमा अहिले नै सहमति गरौँ भन्नु पराजित मानसिकता भएको उनको भनाइ छ । 'माओवादी र मधेसी मोर्चाले अहिलेको जस्तो मत नल्याउने भएकाले उनीहरू अहिले नै विवाद टुंग्याऊँ भन्नेमा लागेको उनले दाबी गरे । माओवादीको क्रियाकलापबाट जनता आजित भइसकेको उनको भनाइ थियो ।
|