Friday, May 24, 2013

धोबीखोला करिडोरको ट्रयाक निर्माण पूरा पीडीएफ मुद्रण इमेल

नीरज खड्का/नयाँ पत्रिका
काठमाडौं, १३ पुस
राजधानीको मध्यभागमा करिब १३ वर्षअघि सुरु भएको धोबीखोला करिडोरको ट्रयाक खोल्ने कार्य पूरा भएको छ । साढे पाँच किलोमिटर लामो सो करिडोरमा नदीको दुवैतर्फ गरी एघार किलोमिटर लामो ट्रयाक खोलिएको धोबीखोला करिडोर सुधार आयोजनाले जानकारी दिएको छ ।
आयोजनाले नदीको दुवैतर्फ ३२/३२ मिटर जग्गा अधिग्रहण गरी नदी संरक्षण र ट्रयाक खोल्ने काम गरेको आयोजनाका उपप्रमुख रामप्रसाद श्रेष्ठले जानकारी दिए । आयोजना आर्थिक वर्ष ०५६/५७ मा नै सुरु भए पनि काम भने आर्थिक वर्ष ०६६/६७ बाट मात्रै सुरु भएको थियो । काठमाडौं महानगरपालिकाअन्तर्गत राखेर गठन भएको धोबीखाला सुधार आयोजनाले काम गर्न नसकेपछि तत्कालीन नगर विकास समितिको पहलमा आव ०६६/६७ बाट ट्रयाक खोल्न सुरु गरिएको थियो । सो करिडोरको दुवैतर्फ बन्ने पक्की सडकलाई उपत्यकामा हुने सवारी जाम हटाउन उपयुक्त वैकल्पिक मार्ग मानिएको छ ।
आयोजनाका उपप्रमुख श्रेष्ठका अनुसार करिडोरको आठ ठाउँमा ठूला पुल रहेकाले ट्रयाक पूरा गर्न समय लागेको हो । साढे पाँच किलोमिटर लामो नदीको बहाव क्षेत्रका रूपमा १२ देखि १७ मिटरसम्म चौडाइको क्षेत्रफल छाडेर नदी संरक्षण पर्खाल उठाइएको उनले बताए । कच्ची ट्रयाक भए पनि अधिकांश स्थानमा गाडीसमेत गुड्न थालिसकेका छन् । ठूला पुलका मुनि केही प्राविधिक काम बाँकी रहेको र सो काम सकिनासाथ ग्राभेलका लागि पहल सुरु गरिने श्रेष्ठको भनाइ छ । उनका अनुसार आयोजनामा आर्थिक अभाव र अवरोध नभएमा अबको एक वर्षमा सो करिडोर दुवैतर्फ पक्की सडकसहित निर्माण पूरा हुनेछ ।
करिडोरको दुवैतर्फ आठ/आठ मिटर चौडा दुई/दुई लेनको पक्की सडक बन्ने श्रेष्ठले जनाए । दुई लेनको सडकसँगै फुटपाथ र साइकल लेनसमेत बनाइने आयोजनाको भनाइ छ । आयोजनाका उपप्रमुख श्रेष्ठले भने, 'बीचमा आर्थिक अभावका कारण केही ढिला भए पनि अहिले धमाधम काम भइरहेको छ । लक्ष्य गरेअनुसार नै आव ०७२/७३ सम्ममा पूरा गर्ने गरी लागिपरेका छौँ ।'
धोबीखोला करिडोरका आठ स्थानमा ठूला पुल रहेका छन् । बागमती दोभान, बिजुलीबजार, हनुमानस्थान, सेतोपुल, रातोपुल, कालोपुल, भत्केको पुल र गोपीकृष्णमा ठूला पुल छन् । ती स्थानमा ६ ठाउँमा पुलमुनिबाट र दुई स्थानमा पुलको छेउबाट ट्रयाक खोलिएको छ ।
आयोजनाको लागत दुई अर्ब ५६ करोड रहेको आयोजना उपप्रमुख श्रेष्ठले जानकारी दिए । ट्रयाक र ग्राभेलका लागि करिब असी लाख लाग्ने उनको भनाइ छ । ट्रयाक पूरा भएसँगै जग्गाको मुआब्जासमेत दिन सुरु गरिएको उनले बताए । बागमती दोभानदेखि बिलुलीबजारसम्मका जग्गाधनीलाई मुआब्जा वितरण भइसकेको र अन्य स्थानमा केही हप्तापछि सुरु गरिने उनको भनाइ छ ।

 

Add comment


Security code
Refresh