Wednesday, Jun 19, 2013< /p>

कांग्रेस नेता बास्तोलाको सिलिगुडीमा शल्यक्रिया पीडीएफ मुद्रण इमेल

सुब्रत न्यौपाने/नयाँ पत्रिका
झापा, १४ पुस
मस्तिष्कघात भएपछि उपचारार्थ भारतको सिलिगुडी लगिएका कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको शनिबार राति शल्यक्रिया गरिएको छ । पश्चिम बंगालको सिलिगुडीस्थित न्युरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो ।
न्युरोसर्जन डा. सिद्धिराज शर्मा नेतृत्वको तीन सदस्यीय टोलीले चार घन्टा लगाएर बास्तोलाको शल्यक्रिया गरेको कांग्रेसका महाधिवेशन प्रतिनिधि केशवराज पाण्डेले बताए । शनिबार साँझ सवा ६ बजे शल्यक्रिया कक्षमा भर्ना गरिएका बास्तोलाको राति पौने दश बजे शल्यक्रिया सकिएको थियो ।
'शल्यक्रिया सकिए पनि उहाँको स्वास्थ्य अवस्था एकदमै गम्भीर छ,' पाण्डेले टेलिफोनमा भने, 'उहाँ अझै अचेत अवस्थामा हुनुहुन्छ ।' मस्तिष्कमा प्रशस्त रगत जमेको र मुटुमा समस्या रहेको बताए पनि उपचारमा संलग्न चिकित्सकले थप नखुलाएको उनले जानकारी दिए । शल्यक्रियापछि उनलाई आइसियूमा राखिएको छ । 'अबको १२ घन्टापछि मात्र उहाँको अवस्थाबारे भन्न सकिन्छ,' डा. शर्माको भनाइ उद्धृत गर्दै पाण्डेले भने । शल्यक्रियापछि श्रीमती कुसुमलाई बास्तोलाको अवस्था हेर्न दिइएको थियो । चिकित्सकले अरूलाई भेट्न दिएका छैनन् ।
शनिबार बिहान मोरङको विराटचोकमा आयोजित बास्तोला समाज परिषद्को कार्यक्रममा सहभागी हुन परिवारका सदस्यसहित विराटचोक पुगेका बास्तोला कार्यक्रमस्थलमै बेहोस भएका थिए । 'बेहोस भएपछि उहाँले बान्ता पनि गर्नुभयो,' कांग्रेस नेता विश्वप्रकाश शर्माले भने, 'उहाँको स्वास्थ्य अवस्था एकदमै जटिल छ ।' मोरङ इन्द्रपुर-३ स्थित व्यापार संघको हलमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन सिँढी चढिरहेका वेला उनले आफूलाई असजिलो भएको बताएका थिए ।
बास्तोला समाजका केन्द्रीय सचिव युवराज बास्तोलाका अनुसार रगत बान्ता गर्दै हातखुट्टा तन्काएपछि बेहोस भएका उनलाई गाडीमा हालेर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । त्यहाँका चिकित्सकले अन्यत्रै लैजान सुझाब दिएपछि उनलाई सिलिगुडी लगिएको हो । 'हवाईयात्रा नगराउनु भन्ने चिकित्सकको सल्लाह भएपछि काठमाडौंको सट्टा सिलिगुडी लगिएको हो' कांग्रेस नेता शर्माले भने । बास्तोलाका साथ श्रीमती कुसुम, भाइ देवी र भाञ्जी सरिता प्रसाईं पनि सिलिगुडी पुगेका छन् ।

 

Add comment


Security code
Refresh