Tuesday, Jun 18, 2013< /p>

दुर्घटनाको त्रासदी पीडीएफ मुद्रण इमेल

नेपाली स्थल र हवाई यातायात दिनदिनै असुरक्षित बन्दै गइरहेका छन् । वेलावेलामा हुने डरलाग्दा हवाई दुर्घटनाले कैयौँको ज्यान लिने र निकै ठूलो धनमालको क्षति हुने गरेको जगजाहेर छ । हवाई दुर्घटनाका तुलनामा स्थलमार्गमा चल्ने विभिन्न सवारीसाधनको दुर्घटनाको तथ्यांक निकै उच्च छ । सानातिना दुर्घटनाको गणना नगर्ने हो भने पनि नेपाली सडक मार्गमा कैयौँको ज्यानै लिने गरी हुने ठूला सडक दुर्घटना वेलाबखत भई नै रहेका छन् । यस्ता दुर्घटनामा कैयौँको ज्यान जाने गरेको छ भने निकै ठूलो धनमालको समेत क्षति हुने गरेको छ ।
सुर्खेतको गमखोलामा शुक्रबार बिहान भएको बस दुर्घटनामा परेर १३ यात्रुको ज्यान गएको छ भने २५ भन्दा बढी गम्भीर घाइते भई विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । दुर्घटनामा परेका यात्रुको समयमै उद्धार हुन नसक्दा पनि धेरैको ज्यान गएकोसमेत स्थानीयवासीले बताएका छन् । तर, नेपालका दुर्गम भेगमा पछिल्लो समयमा स्थानीयवासीले विनाकुनै प्राविधिक ज्ञान आफूखुसी खनेका अप्ठ्यारा र साँघुरा सडकमा सामान्य ट्रयाक खुल्नासाथ सवारीसाधन गुडाइहाल्ने चटारोले पनि दुर्घटना निम्त्याइरहेको सर्वसाधारणदेखि सरोकारवाला सबैलाई थाहा छ । तैपनि, त्यस्ता सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाउनेतर्फ भने कसैले चासो दिएको देखिन्न ।
सामान्यतः दुर्घटना हुनुमा चालकको लापरबाही जति जिम्मेवार छ, सडकको दुरवस्था, यात्रुको अत्यधिक चाप, जीर्ण सवारीसाधनलगायत विभिन्न पक्ष त्योभन्दा बढी जिम्मेवार देखिन्छन् । चालकको लापरबाही वा चालकले मादकपदार्थ सेवन गर्नु पनि सवारी दुर्घटनाका कारण भने पक्कै हुन् । मुलुकका कुनै पनि भागमा चल्ने सवारीसाधनको प्राविधिक अवस्थाबारे सवारीधनी, चालक, ट्राफिक प्रहरी, सर्वसाधारणलगायत कसैलाई पनि कुनै चासो भएजस्तो देखिन्न । जसले गर्दा चलाउनै नमिल्ने अवस्थाका सवारीसाधन पनि बेरोकतोक कुदिरहेका छन् । यस्ता जीर्ण सवारीसाधनले दुर्घटनाको सम्भावनालाई निकै बढाएका छन् ।
कारण जेसुकै भए पनि दुर्घटनामा कमी ल्याउनु सरोकारवाला सबैको दायित्व हो । त्यसका लागि सवारी चालक अनुमतिपत्र वितरणदेखि नै आवश्यक सतर्कता अपनाउनु जरुरी छ । खासगरी हाम्रा सवारी चालकले आवश्यक प्रक्रिया पूरा गरेर भन्दा पनि निश्चित रकम खर्चेर घरमै बसीबसी चालक अनुमतिपत्र हात पारिरहेका छन् । सोही अनुमतिपत्र हेरेर उनीहरूलाई सवारीसाधन सुम्पिने प्रवृत्तिले गर्दा पनि दुर्घटना बढिरहेकोमा शंका छैन । त्यसैले अनुमतिपत्र वितरणलाई वैज्ञानिक, पारदर्शी र प्रक्रियासंगत तुल्याउनु आवश्यक छ । यसका साथै, सडकको दुरवस्था पनि दुर्घटनाको अर्को कारण हो ।
यसका लागि सरकारले भत्केका, खल्डाखुल्डी भएका सडकको समयमै मर्मत गर्ने र भर्खरै ट्रयाक खुलेका सडकमा प्राविधिक परीक्षणविना सवारी सञ्चालन अनुमति दिने कार्य तत्काल बन्द गरिनुपर्छ । सवारीसाधनको अवस्थाबारे निश्चित मापदण्ड बनाई त्यसलाई कडाइसाथ लागू गर्नु आवश्यक छ । साथै, सवारीसाधनको क्षमताभन्दा पनि बढी यात्रु चढाउने र चढ्ने प्रवृत्ति पनि निरुत्साहित गरिनुपर्छ । भएका कानुनको पालनामा कडाइ पनि गरिनुपर्छ । यति गर्दागर्दै पनि दुर्घटना भइहालेमा उद्धार टोलीलाई पूर्ण तयारी अवस्थामा राखिनुसमेत अत्यन्तै जरुरी देखिन्छ ।

 

Add comment


Security code
Refresh