|
एजेन्सी नयाँदिल्ली, १४ पुस भारतको राजधानी नयाँदिल्लीमा केही समयअघि सामूहिक बलात्कारको सिकार भएकी युवतीको निधन भएको छ । सिंगापुरको माउन्ट एलिजावेथ अस्पतालमा उपचार भइरहेकी युवतीको शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि उनको मृत्यु भएको अस्पतालप्रमुख केल्भिन लोहले जनाएका छन् । उनको नेपाली समयानुसार शनिबार बिहान साढे २ बजे निधन भएको हो । २३ वषर्ीया युवतीमाथि १६ डिसेम्बरमा ६ जनाको समूहले एक गुडिरहेको बसमा बलात्कार गरेका थिए । बलात्कारविरुद्ध भारतभर विरोध प्रदर्शन जारी छ । सरकारले यस घटनाका दोषीलाई सकेसम्म कडा कारबाही गर्ने वचन दिनुका साथै घटना छानबिनका लागि आयोगसमेत गठन गरेको छ । बलात्कारपछि दिल्लीको सफदारगन्ज अस्पतालमा उपचार गराइरकेही युवतीलाई चिकित्सकको सल्लाहमा थप उपचारका लागि सिंगापुर लगिएको थियो । मृतकको शव शनिबार साँझ भारत ल्याइने सिंगापुरमा भारतका उच्चायुक्त टिसिए राघवनले पत्रकारलाई बताएका छन् । बलात्कृत युवतीको मृत्युको खबरले भारतभरका जनता आक्रोशित बनेका छन् । यस घटनाको विरोधमा देशभर शनिबार पनि प्रदर्शन भएको छ । आक्रोशित प्रदर्शनकारीले दोषीलाई कडाभन्दा कडा सजायको माग गरेका छन् । युवतीको मृत्यु भएको खबर प्राप्त भएपछि दिल्लीको जन्तरमन्तर, इन्डिया गेटलगायतका विभिन्न स्थानमा शनिबार बिहानैदेखि हजारौँ मानिसले भेला भई सरकारविरुद्ध नाराबाजी गरेका छन् । हातमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका मानिसले बलात्कारीलाई मृत्युदण्ड दिनुपनर्ेे आवाज जोडदार रूपमा उठाएका छन् । प्रदर्शनमा हिंसा भड्कन सक्ने आशंका गर्दै सरकारले दिल्लीको सुरक्षा व्यवस्था कडा पारेको छ भने राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, संसद् भवन तथा सरकारी कार्यालयवरपर पाँचजना भन्दा बढी मानिस भेला हुन नपाइने उर्दी जारी गरेको छ । सुरक्षाकै कारण दिल्लीको मध्यभागमा अवस्थित दशवटा मेट्रो ट्रेनस्टेसन बन्द गरिएका छन् भने सहरको मध्यभागमा आवतजावत नगर्न जनतालाई आग्रह गरिएको छ । बलात्कारविरुद्ध शनिबार बिहारको राजधानी पटनामा नागरिक मञ्चले मौन जुलुस प्रदर्शन गरेको समाचार छ । उनीहरूले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । बलात्कृत युवतीको निधनप्रति भारतका विभिन्न स्थानमा श्रद्धाञ्जलीसभा आयोजना गरिएका छन् । दिल्लीको जन्तरमन्तरमा शनिबार बिहानै भेला भएका मानिसले महिलाको सुरक्षाको ग्यारेन्टी गर्न र दोषीलाई मृत्युदण्डको सजाय दिन सरकारसमक्ष माग गरेका छन् । जन्तरमन्तरमा भएको सभामा सहभागी हुन गएकी दिल्लीकी मुख्यमन्त्री शिला दीक्षितलाई प्रदर्शनकारीले फर्काइदिएका छन् । जन्तरमन्तर पुगेलगत्तै करिब पाँच सयको संख्यामा भेला भएका मानिसले मुख्यमन्त्री दीक्षितलाई घेरा हाली तत्काल र्फकन निर्देशन दिएका थिए । आफूलाई पनि शोकसभामा उपस्थित हुन दिन दीक्षितले गरेको आग्रह प्रदर्शनकारीले अस्विकार गरेका थिए । बलात्कारविरुद्धको प्रदर्शनको पहिलो दिन तपाई कहाँ हुनुहुन्थ्यो, अहिले युवतीको निधनलाई राजनीतिक रंग दिन तपाईं आउनुभएको हो ? भनी एक व्यक्तिले दीक्षितलाई प्रश्न गरेका थिए । त्यसपछि प्रहरीले इस्कटिङ गरेर उनलाई त्यहाँबाट फर्काएका थिए । जन्तरमन्तरबाट बाहिरिने क्रममा मुख्यमन्त्री दीक्षितले एउटा मैनबत्ती बालेर मृतकको आत्माको चिरशान्तिको कामना गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्युप्रति विभिन्न नेताको टिप्पणी
भारतीय राजनीतिक दल, राष्ट्रप्रमुख तथा विभिन्न नेताले बलात्कृत युवतीको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शोकसन्देशमार्फत राष्ट्रपति प्रणव मुखर्जीले युवतीको हत्याबाट आफू निकै दुःखी भएको बताए । 'उनी एक बहादुर तथा हिम्मतवाली युवती थिइन्, जसले अन्तिम समय आफ्नो जिन्दगी तथा सम्मानको लागि लडिन् । उनी एक असली हिरो, भारतीय महिला तथा युवाको प्रतीक हुन्,' राष्ट्रपति मुखर्जीको सन्देशमा उल्लेख छ । बलात्कृत युवतीको मृत्युप्रति प्रधानमन्त्री मनमोहन सिंहले पनि दुःख प्रकट गरेका छन् । प्रधानमन्त्री सिंहले आफ्नो वेबसाइटमा युवतीको मृत्यु त्यसै खेर जान नदिने भन्दै शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्न आग्रह गरेका छन् । सरकारले महिलाको पूर्ण सुरक्षाको प्रत्याभूति दिने बताउँदै प्रधानमन्त्री सिंहले बलात्कारविरुद्धको कानुनको समीक्षा गरिने पनि बताएका छन् । मृतक युवतीप्रतिको भावना तथा ऊर्जालाई सिर्जनात्मक पाइलामा लगाउन सकियो भने उनीप्रति सच्चा श्रद्धाञ्जली हुने सिंहले उल्लेख गरेका छन् । शनिबार विज्ञप्तिमार्फत युपिए प्रमुख सोनिया गान्धीले आमा तथा महिला भएका कारण आफूले जनताको दुःख महसुस गरेको बताएकी छिन् । 'जुन-जुन मानिसले बलात्कारविरुद्ध आवाज उठाएका छन्, म उनीहरूलाई आश्वासन दिन चाहन्छु कि उनीहरूको आवाज सरकारले सुनेको छ, उनीहरूको संघर्ष खेर जाने छैन,' सन्देशमा गान्धीले भनेकी छिन् । युवतीको मृत्युप्रति केन्द्रीय गृहमन्त्री सुशीलकुमार सिन्दे, दिल्लीकी मृख्यमन्त्री शिला दीक्षित, बहुजन समाज पार्टीकी अध्यक्ष मायावती, जनता पार्टीका नेता सुब्रह्मण्यम स्वामी, भाजपाकी नेतृ शुषमा स्वराजलगायतका नेताले दुःख व्यक्त गरेका छन् । त्यस्तै, विभिन्न राजनीतिक दलले पनि युवतीको निधनप्रति दुःख व्यक्त गरेका छन् । अर्कोतिर उत्तर प्रदेशको पाली मुकिमपुरमा १५ वषर्ीया एक बालिकालाई सामूहिक बलात्कार गरी उनको घाँटी काटेर हत्या गरिएको सामाचार आएको छ । यो घटना गराउने तीन युवकको खोजी भइरहेको बताइएको छ ।
|