|
नयाँ पत्रिका दाङ, १४ पुस घोराही नगरपालिकाले श्रमिक बालबालिकालाई घर फर्काउने अभियान सुरु गरेको छ । श्रमिक बालबालिकालाई विद्यालय पठाउने रणनीति बनाएर घर फर्काउन थालिएको घोराही नगरपालिकाले बताएको छ । पहिचान भएका सबै बालबालिकालाई पहिलो चरणमा अनौपचारिक शिक्षा दिइसकेको नगरपालिकाका सूचना अधिकृत प्रेम केसीले जानकारी दिए । घोराहीका ६० बालबालिकालाई घर फर्काइएको छ । गतवर्ष गरिएको सर्वेक्षणमा घोराहीमा आठ सय ८४ बालबालिका श्रमिकको रूपमा अर्काको घर, उद्योग, व्यापार व्यवसायमा कार्यरत रहेको पाइएको थियो । घोराहीका ११ वडाका विभिन्न व्यक्तिको घरमा काममा बसेका ६० बालबालिकालाई प्रतिव्यक्ति एक हजार नगद, किताब, कापी झोला, पेन्सिल दिएर घर फर्काइएको छ । नगरपालिकाका साझेदार गैरसरकारी संस्था जनउत्थान समाज विकास संस्थाले ३० र हिमालयन शान्ति तथा विकास अभियानले ३० बालबालिकालाई घर फर्काएको केसीले जानकारी दिए । नगर पालिकाद्वारा गठन भएका एक सय ४९ बाल क्लबले बाल अधिकारबारे जनचेतना फैलाउने र बाल श्रमिक नराख्न अनुरोध गर्दै आएको पनि उनले जानकारी दिए । ६० बालबालिकालाई घर फर्काएर विद्यालयमा भर्ना गरिसकिएको र दुई सयलाई विद्यायल पठाउने तयारी भइरहेको नगरपालिकाले बताएको छ । गत वर्षदेखि दुई सय ५० बालबालिका विद्यालयमा गइरहेको पनि कार्यालयले जनाएको छ । बालबालिकाको संरक्षण र अधिकारमा क्लबलाई परिचालन गरेर धेरै परिवर्तन भएको पनि सूचना अधिकृत केसीले बताए । ६० बालबालिकालाई घर फर्काउँदा जनही चार हजारका दरले दुई लाख ४० हजार खर्च भएको केसीले जानकारी दिए । पछिल्लो ६ महिनामा बालबालिकाको संरक्षणमा नगरपालिकाले पाँच लाख ५३ हजार खर्चेको कार्यालय स्रोतले बताएको छ ।
|