|
गणेश लम्साल/नयाँपत्रिका विराटनगर, १४ पुस नक्कली नम्बर प्रयोग गरेर सवारी कुदाउने गरेको त सुनिएकै हो । तर, एउटा मोटरसाइकलमा अगाडि र पछाडि फरक नम्बर राखेर कुदाउने गरेको भने दुर्लभै पाइएला । कोसी राजमार्गअन्र्तगत पर्ने धरान विराटनगर सडकखण्डमा शनिबार सवारी दुर्घटनामा परेको एउटा मोटरसाइकलको भने अगाडि र पछाडि फरक नम्बर थियो । सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको सो मोटरसाइकलको अगाडि को.११प ८७५३ लेखिएको र पछाडि बा.१८प ५०००६ लेखिएको नम्बर प्लेट थियो । सो दुर्घटनामा एकको मृत्यु भएको छ । शनिबार बिहान तीव्र गतिमा विराटनगरतर्फ आउँदै गरेको सो मोटरसाइकलले मोरङ हात्तिमुढा-७ स्थित स्वस्तिक उद्योगअगाडि रोकिराखेको ना.२ख ४४४० नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनसरी दुहवीका गंगा माझी र शोभा खान गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल ल्याइए पनि ३५ वषर्ीय गंगा माझीको उपचारका क्रममा मृत्यु भएको थियो । अर्का घाइते दुहवीकै ३० वषर्ीय शोभा खानको उपचार भइरहेको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी उमाप्रसाद चतुर्वेदीले नक्कली नम्बर-प्लेट प्रयोग गरेर मोटरसाइकल कुदाएको आफूले थाहा पाएको तर एउटै देशको दुईटा अलग नम्बर अगाडि र पछाडि राखेर सवारी चलाएको थाहा नभएको बताए । उनले भने, 'दुर्घटनामा एकजनाको मृत्यु भइसकेको छ, एकजना गम्भीर छन्, होसमा आएपछि अनुसन्धान गर्छौं ।'
|