Tuesday, May 21, 2013

बारा मालपोतमा अझै राजतन्त्र पीडीएफ मुद्रण इमेल

सुनिल गाउँले/नयाँ पत्रिका
सिमरा, १४ पुस
गणतन्त्र आएको ६ वर्ष बिते पनि बाराको मालपोत कार्यालयमा अझै राजतन्त्रको जयजयकार मेटिएको छैन । कार्यालय भवनको बाहिरी भागमा सिमेन्टमाथि लेखिएको जयजयकार अझै मेटिएको छैन ।
राजतन्त्रको अन्त्यसँगै राजा र राजतन्त्रसँग जोडिएका नारा मेट्न सरकारले गृह मन्त्रालयमार्फत निर्देशन दिए पनि कार्यालयले नारा मेटेको छैन ।
प्रायः सेवाग्राहीको भीड हुने मालपोत कार्यालयमा गणतन्त्र स्थापनापछि धेरै प्रमुख फेरिए तर कसैले पनि राजतन्त्रको जयजयकार गरिएको आलेख मेट्नेतर्फ
ध्यान दिएनन् ।
कार्यालयअगाडि पान पसल गरेर बस्ने एक व्यापारीले कार्यालय प्रशासनलाई व्यंग्य गर्दै भने, 'यहाँ आउने कर्मचारीलाई खालि घुसको ध्यान हुन्छ, यस्तो मेट्ने पहल कसले गर्ने ?'
कलैयास्थित मालपोत कार्यालयको मूल गेटबाट भित्र छिर्नेबित्तिकै दायाँ रहेको लेखापढी व्यवसायी बस्ने भवनमा 'श्री ५ महाराजाधिराज सरकार तथा बडामहारानी सरकारको जय जय जय' लेखिएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करले सोमबार कार्यालय खुल्नेबित्तिकै कार्यालय प्रमुखलाई नारा मेट्न निर्देशन दिने बताए । प्रजिअ पुष्करले भने, 'लज्जास्पद लापरबाही हो यो, कार्यालय खुल्नेबित्तिकै मेट्न निर्देशन दिनेछु ।'

 

Add comment


Security code
Refresh