Wednesday, Jun 19, 2013< /p>

पूर्वीतराईमा चिसोले मृत्यु हुनेको संख्या ४५ पुग्यो पीडीएफ मुद्रण इमेल

जिल्ला ब्युरो
नयाँ पत्रिका, १४ पुस
शनिबार बिहान रौतहटमा दुई र पर्सामा एकजनाको मृत्यु भएपछि यस वर्ष पूर्वी तराईमा चिसोले कठ्यांगि्रएर ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । केही दिनदेखि चलेको शीतलहरले त्यहाँको जनजीवन प्रभावित
भएको छ ।
पर्सामा शनिबार बिहान एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चिसोले सबैभन्दा बढी महोत्तरी प्रभावित भएको छ । त्यहाँ अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा मटिहानी, पिपरा, डाम्हिमडैँ, पोखरभिन्डा, सरपल्लो, औरही, भटौलिया र जलेश्वरका छन् ।
शीतलहरसँगै बढेको चिसोले शुक्रबार र शनिबार गरी चारजनाको ज्यान गएपछि रौतहटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । शनिबार बिहान जाडोले कठ्यांगि्रएर ओरैया-८ का ४५ वषर्ीय हृदय नारायण साह तेली र रमौली बैरिया-१ का ४० वषर्ीय रामदेव महरा चमारको ज्यान गएको प्रहरी चौकी विश्रामपुरका प्रहरी सहायक निरीक्षक केशव दर्जीले जनाए ।
सिरहामा पनि चिसोले मृत्यु हुनेको संख्या ११ पुगिसकेको छ । दक्षिणी गाविस इटारीप्रसाहीमा मात्र एक सातामा एक बालिका र ६ वृद्धाको ज्यान गएको स्थानीयवासीले बताएका छन् । चिसोले सबैभन्दा बढी दलित र विपन्न समुदायका बालबालिका तथा वृद्धा प्रभावित भएका छन् ।
'न्यानो कपडाको अभावमा दलित बालबालिका र महिलाको ज्यान जाने गरेको छ,' स्थानीय सुमित्रा मण्डलले भनिन् । चिसोले बालबालिका र महिलाको ज्यान जान थालेपछि स्थानीयले आर्थिक विपन्नता भएका व्यक्तिका लागि न्यानो कपडाका व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
चिसोका कारण सप्तरीमा अहिलेसम्म चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गतवर्ष चिसोले जिल्लामा कठ्यांगि्रएर तीन दर्जनले ज्यान गुमाएको प्रहरीको भनाइ छ । शीतलहरसँगै बढेको चिसोले यो वर्ष धनुषा र बारामा पनि एक-एकजनाको ज्यान गइसकेको छ ।
जिल्लामा चिसोले ज्यान गुमाउन थालेपछि दलित समुदायका बालबालिका र महिलाका लागि कपडा वितरण गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी धु्रवप्रसाद ढकालले बताए ।
जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको दुई नगरपालिकासहित एक सय ६ वटै गाविसको टोल-वस्तीमा दाउरा तथा मुढा वितरण गर्ने व्यवस्था गरेको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्यायले पनि जिल्लाका ९६ वटै गाविसका सचिव र नगरपालिकाका प्रमुखलाई सार्वजनिक स्थानमा दाउरा बाल्नका लागि निर्देशन दिएको बताएका छन् ।
उनले रेडक्रस रौतहटका अध्यक्षलाई समेत सक्दो चाँडो चिसोबाट बच्न सकिने कपडा वितरणका लागि आग्रह गरेको बताए । चिसोबाट बच्नका गौर नगरपालिकालेे सदरमुकामका विभिन्न चोकमा काठका मुढा बाल्ने व्यवस्था मिलाएको छ ।
बढ्दो शीतलहरका कारण जनजीवन नराम्रोसँग प्रभावित हुन थालेपछि स्थानीय प्रशासनले महोत्तरीका सम्पूर्ण सरकारी तथा निजी विद्यालय बन्द गराएको छ । चिसोले बालबालिका प्रभावित हुन थालेपछि विद्यालय बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले बताए ।
चिसोका कारण तराईको बजार ढिलो गरी खोल्ने गरिएको छ भने साँझ नपर्दै बन्द हुने गरिन्छन् । सडक नै नदेखिने गरी बिहानैदेखि लाग्ने कुहिरोका कारण सवारी-साधनको चाप पनि घटेको छ । शीतलहरका कारण अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।
उता बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलको उडान प्रभावित भएको छ । दुई सातामा आठ दिन उडान रद्द भइसकेको विमानस्थलले
जनाएको छ ।

 

Add comment


Security code
Refresh