|
चितवन/ राजधानीका विभिन्न ठाउँमा कुखुरामा बर्डफ्लु देखा परेपछि देशकै बढी कुखुरा उत्पादन हुने चितवनमा रोग भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ । सरकारी तवरबाट भन्दा व्यवसायीहरू स्वयं सांगठनिक रूपमा जैविक सुरक्षा अपनाएर रोग भित्रिन नदिन लागिपरेका छन् । ५० अर्बभन्दा बढीको लगानी भएको नेपालको कुखुराजन्य व्यवसायमा आधा हिस्सा चितवनले ओगटेको छ । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय उपाध्यक्ष टीकाराम पोखरेलले व्यवसायीहरू स्वस्फूर्त जैविक सुरक्षामा लागेको बताए । चितवनमा अहिलेसम्म कुनै किसिमको रोग देखा नपरेको पशुसेवा कार्यालय चितवनले जनाएको छ । आकस्मिक रूपमा धेरै कुखुरा मरेमा तत्काल पशुसेवा कार्यालय र व्यावसायिक संघ-संगठनमा खबर गर्न सूचित गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्षसमेत रहेका कुखुरा व्यवसायी डा. तिलचन्द्र भट्टराईले बताए । चितवनका व्यवसायीहरू अनुभवी भएका र व्यवस्थित फार्म भएकाले रोग भित्रिनबाट रोक्न सकिएको डा. भट्टराईको तर्क छ । राजधानीमा बर्डफ्लु देखिए पनि अन्डा, मासु र चल्लाको मूल्यमा गिरावट आएको छैन । माग बढ्दो रहेको बताउँदै अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जैविक सुरक्षालाई ध्यान दिन सके रोग भित्रिनबाट रोक्न सकिने बताए । गत वर्ष मंसिर दोस्रो सातादेखि जेठसम्म एच ९ को संक्रमणका कारण चितवनमा धेरै कुखुरा मरेका थिए । यस वर्ष समयमै सतर्कता अपनाइएकाले अहिलेसम्म एच ९ संक्रमण पनि देखा नपरेको ह्याचरी संघ चितवनका अध्यक्ष ऋषि पौडेलले जानकारी दिए । राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला चितवनले जिल्लामा रोगको अवस्थाबारे बुझ्न दुई सय ठाउँबाट नमुना संकलन गरी परीक्षण गर्दा कुनै किसिमको समस्या नदेखिएको प्रयोगशालाका प्रमुख डा. बोधराज अधिकारीले बताए । प्रयोगशालाले जिल्लाका छुट्टाछुट्टै ठाउँबाट नमुना संकलन गरेको थियो । सो क्रममा जंगली चरा, हाँस, स्थानीय जातका कुखुरा र व्यावसायिक ढंगले पालेका कुखुराको नमुना लिइएको प्रमुख अधिकारीले बताए । गत वर्ष जिल्लाका ४० ठाउँको नमुनामा एच ९ संक्रमण देखिएको थियो । यस वर्ष हालसम्म कुनै पनि ठाउँमा एच ९ संक्रमण पनि नदेखिएको अधिकारीले बताउनुभयो । मुख्य रूपमा भारतबाट अवैधरूपमा कुखुराजन्य पदार्थ भित्रिन नदिन क्वारेन्टाइनमा कडाइ गरिएको प्रमुख अधिकारीको भनाइ छ । जिल्ला पशुसेवा कार्यालय चितवनले रोग भित्रिन नदिन कुखुरा व्यवसायीका संघ-संगठनमार्फत व्यवसायीहरूलाई सतर्क बनाएको छ । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. तेजबहादुर रिजालले जिल्लामा कुनै समस्या नदेखिएको बताए । रिजालले भने, 'मान्छे र सवारीसाधनलाई खोरमा आवतजावतमा कडाइ गर्न लगाइएको र कुनै समस्या देखिनासाथ जानकारी दिन भनिएको छ ।' रासस
|