|
भवानीश्वर गौतम/नयाँ पत्रिका काठमाडौं, १४ पुस तराईका धेरै विद्यालयमा विद्यालय व्यवस्थापन समितिको चुनाव जित्नका लागि मात्र धेरै विद्यार्थी भर्ना हुने गरेको पाइएको छ । वित्तीय स्रोतमा मनपरी गर्ने नियतले विद्यालय व्यवस्थापन समितिको चुनावका समयमा बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीसमेत सामुदायिकमा भर्ना गर्ने गरेको सम्बन्धित प्रधानाध्यापकले नै खुलासा गरेका हुन् । कक्षा एकको विद्यार्थी संख्या र त्योभन्दा माथिको विद्यार्थी संख्यामा अत्यधिक रूपमा अन्तर हुने गरेको छ । तराईका अधिकांश विद्यालयमा चुनाव हुने वर्षमा अत्यधिक विद्यार्थी भर्ना हुने गरेको विद्यालयका प्रधानाध्यापकले नै स्विकारेका छन् । पर्साको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय विश्रामपुरका प्रधानाध्यापक कमलाकान्त ओझाले कक्षा एकमा विद्यार्थी अत्यधिक बढ्नुको कारण विद्यालय व्यवस्थापन समितिको चुनाव रहेको बताए । 'मेरो विद्यालयमा पनि यस्तै समस्या छ,' प्रअ ओझाले भने, 'बोर्डिङ स्कुलमा पढ्छन्, एक/दुई दिनका लागि ल्याएर भर्ना गर्छन्, चुनाव सिद्धिएपछि आउनै छाड्छन् ।' उनले यस्तो समस्या अधिकांश विद्यालयमा रहेको बताए । प्रअ ओझाका अनुसार नेराप्रावि विश्रामपुरमा कक्षा एकमा दुई सय ७३ विद्यार्थी भर्ना भएकामा करिब डेढ सयजना नियमित रूपमा पढ्न आउँछन् । माथिल्लो कक्षामा समस्या कम छ । कक्षा दुईमा एक सय विद्यार्थी भर्ना भएकामा ७५, तीनमा ७० विद्यार्थीमा ५०, चारमा ४५ मा ४० र पाँच कक्षामा ४५ जनामा ४० जना मात्र नियमित रूपमा विद्यालय आउने गरेका छन् । नमुना युवा प्रावि पटनीमा पनि उस्तै समस्या रहेको छ । सोही विद्यालयका प्रधानाध्यापक ज्ञानचन्द्रप्रसादका अनुसार कक्षा एकमा एक सय नौजना विद्यार्थी भर्ना भएका छन् । तर, नियमित रूपमा पढ्न आउने निकै कम छन् । कक्षा दुईदेखि पाँचसम्म कक्षा एकको तुलनामा निकै थोरै संख्या छ, तर नियमितता बढेको छ । कक्षा एकमा एकसय नौ विद्यार्थी रहेको सो विद्यालयमा दुईमा २६, तीनमा २८, चारमा २२ र पाँचमा २१ जना मात्र रहेका छन् । पर्सामा मात्र होइन सप्तरीमा पनि उस्तै समस्या छ । सप्तरीका जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले गाउँ विकास समितिमा हुने चुनाव विद्यालयमा सरेको बताए । भण्डारीका अनुसार गाउँभरि भएका बालबालिका विद्यालयमा भर्ना हुन्छन्, तर विद्यालय आउँदैनन् । 'शिक्षा नियमावलीमा कति दिन विद्यालय नआएमा नाम काट्ने भन्ने स्पष्ट छैन, सुरुमा भर्ना गरेपछि अभिभावक भइहाल्यो, त्यसकै आधारमा चुनावमा लड्छन्,' जिशिअ भण्डारीले भने, 'गाविसको चुनाव भएको छैन, त्यसको प्राक्टिस विद्यालयमा भएको छ ।' अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयमा अस्वस्थ चुनावी प्रतिस्पर्धा हुनु नराम्रो भएको बताए ।
|