|
भुवन, रामनारायण/नयाँ पत्रिका काठमाडौं, १४ पुस भ्रष्टाचारको अभियोगमा जेल जीवन बिताउँदै आएका मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले जेलबाटै नयाँ पार्टी बनाउने घोषणा गरेका छन् । नयाँ पार्टीमा तराईमा सशस्त्र आन्दोलनरत समूहका सदस्यलाई सहभागी गराउने तयारी भइरहेको पनि उनले बताएका छन् । यसका लागि सशस्त्र समूहका नेतासँग कुराकानी भइरहेको पनि उनको भनाइ छ । मधेसका भूमिगत संगठनसित मधेसको एजेन्डा लिएर संवाद थालेको उनले बताएका छन् । मधेसमा सशस्त्र संघर्ष सुरु गरेका जयकृष्ण गोइत र ज्वाला सिहंको समूहबाहेक अन्य भूमिगत संगठनका नेतासित छलफल थालेको उनले बताए । 'मधेस मुक्तिको सवालमा पटक-पटक कैयौँ बुँदे सहमति, सम्झौता भएका छन्,' पूर्वसञ्चारमन्त्रीसमेत रहेका गुप्ताले भने, 'दुईवटा मधेस आन्दोलनका उपलब्धिलाई राज्यले अमानवीय गरिदिएको छ । हामीले पनि विगतमा भएको सहमति, सम्झौता कार्यान्वयन गराउन सकेनौँ । अब निणर्ायक आन्दोलन गर्ने तयारीमा लागेको छु ।' मधेस र मधेसीलाई आफ्नो अधिकार दिलाउनका लागि आफू विभिन्न क्षेत्रका मधेसी नेतासित छलफलमा जुटेको उनको भनाइ छ । प्रल्हाद गिरी, कौटिल्य शर्मा, चन्द्रशेखर, मधेसी टाइगर्स, आजादलगायत समूहसँग उनले वार्ता गरेका छन् । यसैगरी, जगदीश अधिकारी, भाग्यनाथ गुप्ता, ब्रह्मानन्द उपाध्याय, शम्भुनाथ उपाध्यायलगायत समूहसँग गुप्ताको कुराकानी भइरहेको छ । 'कुराकानी भइरहेका छन्, उहाँहरू मेरो कुरासँग सहमत भइसक्नु भयो भन्ने छैन,' गुप्ताले भने । सशस्त्र आन्दोलनरत समूहले उठाएका मुद्दासँग गुप्ताले सहमति जनाएका छन् । तर आन्दोलनमा जाने बाटोबारे अझै कुरा मिल्न सकेको छैन । गुप्ताले कुराकानी गरेका केही समूहले सरकारसँग वार्ता पनि गरिरहेका छन् । जेलबाट छलफल र संवाद सहज नभएकाले गुप्ता जेलबाट बाहिरिनेबित्तिकै छलफललाई द्रूतगतिमा अगाडि बढाउने योजनामा छन् । मधेसी मोर्चा मधेसको लक्ष्यबाट पछाडि हटिसकेकाले एउटा नयाँ शक्ति निर्माणमा आफूले गृहकार्य थालेको गुप्ताको भनाइ छ । उनले सत्तारुढ मधेसी मोर्चा र गणतान्त्रिक फोरमसँग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा पनि गरेका छन् । आगामी माघको अन्तिम साता जेलबाट निस्केपछि नयाँ पार्टी निर्माण गर्ने उनले बताएका छन् । यस विषयमा देशव्यापी रूपमा भ्रमण गर्ने र त्यसपछि नयाँ पार्टी घोषणा गर्ने उनले जानकारी गराएका छन् । यसै वर्षभित्र नयाँ पार्टी घोषणा गरिसक्ने उनको दाबी छ । लोकतान्त्रिक मधेसी मोर्चा, गणतान्त्रिक फोरम, उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपाल र संघीय लोकतान्त्रिक मोर्चाले समेत मधेसका मुद्दालाई समेट्न नसकेकाले मधेसका मुद्दालाई समेटेर आफूले नयाँ पार्टी घोषणा गर्न लागेको उनले बताए । 'मधेसको मुद्दा उठाउन मधेसी मोर्चा पूर्णरूपमा असफल भइसकेकोे छ । यो मोर्चा सत्ताम्ाा बसिरहन मन्त्रीको गठबन्धनजस्तो भएको छ । उपेन्द्र यादवहरूको मोर्चा पनि लोकतान्त्रिक मोर्चालाई सत्ताब्ााट झारेर आफू सत्तामा जानेजस्तो देखिएको छ,' गुप्ताले भने, 'यसैले मधेसका मुद्दा पूरै ओझेलमा परेका छन् । यसको समाधान नभए मधेसको राजनीति गलत बाटोमा जान सक्छ त्यसलाई रोक्न मधेसमा नयाँ पार्टी आवश्यक छ ।' मधेसमा भइरहेको सशस्त्र गतिविधिबाट समस्या समाधान हुन नसक्ने भन्दै उनीहरूलाई शान्तिपूर्ण मूलधारमा ल्याउनुपर्ने उनले बताए । आफूले उनीहरूलाई शान्तिपूर्ण मूलधारमा ल्याई नयाँ शक्ति निर्माण गर्न लागेको उनले जनाए । 'चुनावअगाडि व्यापक दबाबको राजनीति सिर्जना गर्न आवश्यक छ,' उनले भने, 'मधेसविरोधी दललाई बाध्य बनाउन दबाबको राजनीति सिर्जना गर्न आवश्यक हो, त्यसैले आगामी दिनका राजनीति फलदायी हुने मेरो विश्वास छ र म जेलबाट अहिल्यै यही विषयमा गम्भीर भएर लागेको छु ।' अब हुने पहिलेे निर्वाचनमा हुन नपाउने जिज्ञासामा गुप्ताले भने, 'चुनावको राजनीति मात्रै राजनीति हो भने मलाई केही भन्नु छैन । तर, मेरो राजनीति अब सत्ता र चुनावबाहेक हुन्छ, नयाँ शिराबाट । चुनावअगाडि बाध्यात्मककारी स्थिति सिर्जना भए मधेसको एजेन्डा फेरि एकपटक केन्द्रसम्म पुग्नेछ,' उनले भने, 'त्यही कसरतमा लागेको छु, नयाँ किसिमको मधेस राजनीतिमा फर्किनेछु ।'
|
Comments
पर्छ रा
RSS feed for comments to this post