|
नयाँ पत्रिका सुन्दरीजल, १६ पुस कांग्रेस सभापति सुशील कोइरालाले दलहरूबीच सर्वसम्मत हुन नसके आफूलाई प्रधानमन्त्री पदको कुनै लोभ नभएको बताएका छन् । सर्वसम्मति हुन नसकेकामा आफू प्रधानमन्त्री नबन्नेसमेत उनले घोषणा गरेका छन् । 'दलहरूबीच सर्वसम्मत निर्णय नभए मलाई फोटो झुन्ड्याउन प्रधानमन्त्रीको लोभ छैन्,' ३७औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बिपी संग्रहालय समितिले सुन्दरीजलमा गरेको कार्यक्रममा सभापति कोइरालाले भने, 'संकट समाधानका लागि सर्वसम्मत भएमा प्रधानमन्त्री बन्न उम्मेदवार भएको हुँ । त्यसो हुन नसके प्रधानमन्त्री बन्दिनँ ।' कोइरालाले विद्यमान संकट समाधानका लागि दलहरूबीच सहमति, सहकार्य र एकताको विकल्प नभएको भए पनि सत्तारुढ दलका कारण त्यसो हुन नसकेको बताए । दलहरूबीच संकट समाधानका लागि सहमति हुन नसक्दा लोकतन्त्र धरापमा परेको कोइरालाको भनाइ छ । सभापति कोइरालाले धरापमा परेको लोकतन्त्रलाई बचाउन कांग्रेसले तीन तरिकाले संघर्ष गरिरहेको बताए । संवैधानिक संघर्षका लागि संविधानका संरक्षक राष्ट्रपतिलाई निकासका लागि आवश्यक कदम चाल्न आग्रह गरेको कोइरालाले बताए । 'राष्ट्रपति संविधानको संरक्षक हुन्, त्यसैले विद्यमान संकट समाधानका लागि उपयुक्त पहल गर्ने दायित्व राष्ट्रपतिको हो । त्यहीअनुरूप अघि बढ्न कांग्रेसले पटक-पटक आग्रह गरेको छ,' कोइरालाले भने, 'सहमतिबाट संकट पार नलाग्ने भए अर्को कदम चालेर भए पनि निकास खोज्नुपर्छ भनेका छौँ ।' कोइरालाले वर्तमान सरकारले सहमतिबाट मार्गप्रशस्त नगरे आन्दोलन गरेरै हटाउने बताए । कांग्रेस पूर्वमहामन्त्री कुलबहादुर गुरुङले कांग्रेसले आफ्नो विचार दिन नसकेकाले राष्ट्रिय राजनीतिमा आफ्नो पकड जमाउन नसकेको बताए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रियता संकटमा परेकाले त्यसलाई बचाउन दलहरू मिल्नुको विकल्प नरहेको बताए । बिपी कोइरालाको अदालतको बयान विमोचित कार्यक्रममा सभापति कोइरालाले बिपी संग्रहालय समितिद्वारा प्रकाशित 'बिपी कोइरालाको अदालतको बयान' नामक पुस्तक विमोचन गरे । पुस्तकमा बिपी कोइरालाले सुन्दरीजल जेलमा बस्दा अदालतमा दिएका बयान संग्रहित छन् । पुस्तकमा बिपीले अदालतमा हस्तलिखित दिएका बयान पनि जस्ताको तस्तै राखिएको छ । सहिद परिवारलाई सम्मान पञ्चायतकालमा मारिएका कांग्रेस नेताका परिवारलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा सहिद दुर्गानारायण झाकी श्रीमती काशीदेवी झा र सहिद क्याप्टेन यज्ञबहादुर थापाकी श्रीमती खड्गकुमारी थापालाई सम्मान गरियो । उनीहरूलाई कोइरालाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यस्तै, बिपी कोइरालाद्वारा लिखित उपन्यास र कथा संग्रहमा विद्यावारिधि गर्ने वीरेन्द्र पुडासैनीलाई पनि सम्मान गरिएको थियो । कांग्रेस संस्थापक बिपी कोइराला लामो समयको निर्वासनपछि स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेेस तथा उसका भ्रातृ संगठनले सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएका हुन् । बिपीसहित पञ्चायतकालमा प्रतिबन्धित कांग्रेस नेताहरू मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएको स्मरणमा हरेक वर्ष १६ पुसमा यो दिवस मनाउने गरिएको छ । बिपीसहितका नेता ०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए ।
|
Comments
RSS feed for comments to this post