|
सुब्रत न्यौपाने/नयाँ पत्रिका झापा, १६ पुस मस्तिष्कघात भएपछि तीन दिनदेखि आइसियूमा राखिएका कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई थप उपचारका लागि सोमबार साँझ भारतको नयाँदिल्ली लगिएको छ । भारत पश्चिम बंगालको जुपिटर न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्समार्फत उनलाई नयाँदिल्ली लगिएको हो । सुधारोन्मुख रहेको बास्तोलाको स्वास्थ्य अवस्था सोमबार जटिल भएपछि चिकित्सकले थप उपचारका लागि नयाँदिल्ली रेफर गरेका हुन् । बास्तोलालाई नयाँदिल्लीको मेदान्त अस्पतालमा उपचार गरिने पारिवारिक स्रोतले जनाएको छ । मस्तिष्कको दायाँ भागको नसा फुटेर निस्केको रगत जमेपछि बेहोस भएका बास्तोला तीन दिनदेखि भेन्टिलेटरमा छन् । आइतबार केहीबेर हातका आँैला चलाएपछि उनको अवस्था सुधारोन्मुख रहेको बताइएको थियो । मस्तिष्कको दायाँ भागको नसा फुटेकाले होसमा ल्याउँदा रक्तचाप बढ्ने भएकाले केही समय बेहोस अवस्थामै राखिएको बताएका चिकित्सकले बास्तोलाको स्वास्थ्य अवस्था झन् जटिल बनेपछि अन्यत्र रेफर गरेका हुन् । 'हिजोको तुलनामा आज कुनै प्रगति देखिएन,' उपचारमा संलग्न चिकित्सक डा. सिद्धिराज शर्माले भने, 'त्यसैले थप उपचारका लागि रेफर गरेका हौँ ।' उनले बास्तोलाको अवस्थामा सुधार ल्याउन हदैसम्मको प्रयास गरिए पनि सम्भव नभएको जानकारी दिए । बास्तोला समाज परिषद्को कार्यक्रममा सहभागी हुन मोरङको विराटचोक पुगेका वेला कार्यक्रमस्थलमै बेहोस भएका कांग्रेस नेता बास्तोलालाई मस्तिष्कघात भएको यो दोस्रोपटक हो । भारत भ्रमणका क्रममा २८ भदौ ०६२ मा पनि उनलाई मस्तिष्कघात भएको थियो । शनिबार मोरङ इन्द्रपुर- ३ स्थित व्यापार संघको हलमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन सिँढी चढिरहेका वेला रगत बान्ता गर्दै हातखुट्टा तन्काएपछि उनी बेहोस भएका थिए । राति पौने दश बजे चार घन्टाको अथक प्रयासपछि सिलिगुढीमा उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।
|