|
सन् २०१२ हामीबाट बिदा भएको छ भने आजबाट सन् २०१३ औपचारिक रूपमा सुरुवात भएको छ । २०१२ मा विश्वका धेरै देशमा विभिन्न प्रकारका घटना घटे । तीमध्ये केही सुखद रहे भने केही अत्यन्तै दर्दनाक भए । विश्वका तिनै घटनामध्ये केही महत्त्वपूर्ण तथा अविस्मरणीय घटनालाई यहाँ प्रस्तुत गरिएको छ । मंगल ग्रहमा हालसम्मकै ठूलो रोबट अवतरण २०१२ अगस्ट प्रारम्भमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले 'क्युरियोसिटी' यान मंगल ग्ा्रहको सतहमा सफलतापूर्वक अवतरण गराएको थियो । नौ सय किलो वजन भएको यानले रातो ग्रहका रूपमा परिचित मंगल ग्रहमा जीवको अस्तित्वबारे दुई वर्षसम्म अध्ययन गर्ने नासाले जनाएको छ । मंगल ग्रहको सतहमा अवतरण गरेको यो सबैभन्दा ठूलो यान हो । कार आकारको यो रोबोट यानलाई मंगल ग्रहमा पठाउने योजना पूरा हुन १० वर्ष लागेको थियो । २४ हजार करोड माइल दूरी तय गरेर यान मंगल ग्रहमा पुग्न आठ महिना लागेको थियो । 'क्युरियोसिटी' नामक यस रोबोटको मूल्य करिब २.५ अर्ब डलर रहेको जनाइएको छ । ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित २०१२ नोभेम्बरमा अमेरिकी राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित भए । ६ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय चुनावमा ओबामाले रिपब्लिकन उम्मेदवार मिट रोम्नीलाई पराजित गरेका हुन् । दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट निर्वाचित हुने ओबामा संयुक्त राज्य अमेरिकाका दोस्रा व्यक्ति बन्न सफल भए । यसअघि, दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालका लागि पूर्वराष्ट्रपति बिल क्लिन्टन निर्वाचित भएका थिए । स्यान्डीले विध्वंश २०१२ अक्टोबरको अन्तमा अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको समुद्री आँधी स्यान्डीका कारण ९० जनाले ज्यान गुमाएका थिए भने उत्तरपूर्वी १७ राज्यका करिब ४९ लाख बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका थिए । अमेरिका प्रवेश गर्नुअघि स्यान्डीले क्यारेबियन क्षेत्रमा ६९ जनाको ज्यान लिएको थियो भने अमेरिकापछि क्यानाडा पुगेको आँधीले दुई जनाको ज्यान लिएको थियो । स्यान्डीले अमेरिकामा मात्र ५० अर्ब डलरभन्दा बढीको क्षति गरेको उल्लेख छ । सन्की युवकले गोली चलाउँदा अमेरिकामा २७ को मृत्यु अमेरिकाको न्युटाउनको स्यान्डी इलेमेन्ट्री स्कुलमा एक सन्की युवकलेे अन्धाधुन्ध गोली चलाउँदा डिसेम्बरमा करिब २७ व्यक्तिको मृत्यु भएको थियो । स्कुलभित्र छिरेका ती युवाले विद्यालयको कक्षाकोठामा प्रवेश गरी जथाभावी गोली चलाउँदा २० बालबालिका तथा प्रधानाध्यापकसहित अन्य ६ जना मारिएका थिए । घटनापछि युवक आफैँलाई गोली प्रहार गरी आत्महत्या गरेका थिए । यस घटनापछि अमेरिकामा स-साना हतियारमाथि प्रतिबन्ध लगाउनुपर्ने मुद्दा उठेको छ । चीनमा नयाँ नेतृत्व २०१२ को नोभेम्बरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ कंग्रेसले आउँदो दशकका लागि नेतृत्वदायी भूमिका खेल्ने नेताको छनोट गरेको थियो । पार्टीको सर्वोच्च महासचिव तथा भावी राष्ट्रपतिमा सी जिनपिङ तथा प्रधानमन्त्रीमा ली कसियाङ छनोट भएका छन् । सीले २०१३ को प्रारम्भमा वर्तमान राष्ट्रपति हु जिन्ताओ तथा लीले वर्तमान प्रधानमन्त्री वेन जियाबाओलाई प्रतिस्थापन गर्नेछन् । जापानमा प्रतिपक्षी दलको ऐतिहासिक जित जापानमा डिसेम्बरमा भएको संसदीय चुनावमा प्रतिपक्षी लिबरल डेमोक्र्याटिक पार्टी -एलडिपी) ले ऐतिहासिक जित हात पारेको छ । कुल चार सय ८० स्थ्ाानका लागि भएको संसद्को तल्लो सदनको चुनावमा एलडिपीले दुई सय ९४ स्थानमा विजय हासिल गरेको थियो । जितसँगै सिन्जो अबे जापानका नयाँ प्रधानमन्त्री चुनिएका छन् । अबेले यसअघि २००६ देखि २००७ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । दक्षिण कोरियामा पहिलोपटक महिला राष्ट्रपति पुरुषको बाहुल्य रहेको दक्षिण कोरियाको राजनीतिमा पहिलोपटक महिलाले राष्ट्रपतिको कार्यभार सम्हाल्ने भएकी छिन् । डिसेम्बरमा सम्पन्न राष्ट्रपतीय चुनावमा सेनुरी पार्टीकी अध्यक्ष पार्क गिउन हाईले प्रतिद्वन्द्वी मुन जे इनलाई पराजित गरेर देशको पहिलो महिला राष्ट्रपति बन्न सफल भइन् । यद्यपि उनले राष्ट्रपतिको कार्यभार भने २५ फेब्रुअरी २०१३ बाट सम्हाल्नेछिन् । उनका बुबा पार्क चुङ हीले १९६३ देखि १९७९ सम्म दक्षिण कोरियामा शासन गरेका थिए । तालिवानको निसानामा पाकिस्त्ाानी बालिका २०१२ अक्टोबरमा पाकिस्तानको स्वात प्रान्तमा बालिका शिक्षाको अधिकारका लागि वकालत गर्दै आएकी १४ वषर्ीया बालिका मलाला युसुफजाईमाथि तालिवानी विद्रोहीले गोली प्रहार गरी हत्याको प्रयास गरेका थिए । घटनालगत्तै मलालालाई पेसावरको एक अस्पतालमा उपचार गरिए पनि स्व्ाास्थ्यमा सुधार हुन नसकेपछि थप उपचारका लागि बेलायत लगिएको थियो । मलालामाथि गरिएको आक्रमणको विश्वव्यापी रूपमा भत्र्सनासमेत भएको थियो । कसाबलाई फाँसी भ्ाारत सरकारले अपरेसन एक्सअन्तर्गत २१ नोभेम्बरमा सन् २००८ मा भएको मुम्बई हमलाका योजनाकार अजमल आमिर कसाबलाई फाँसी दिएको थियो । कसाबले राष्ट्रपति प्रणव मुखर्जीसमक्ष राखेको आममाफीको प्रस्तावसमेत खारेज भएको १६ दिनपछि उनलाईर् फाँसी दिइएको थियो । पाकिस्तानी आतंककारी समूह लस्कर-ए-तोइबाका सदस्य कसाबसहित पाकिस्तानबाट आएका १० आक्रमणकारीले मुम्बईमा गरेको शृंखलाबद्ध हमलामा एक सय ६६ को मृत्यु हुनुका साथै तीन सयभन्दा बढी घाइते भएका थिए । कसाबलाईर् पक्राउ गरेपछि उनलाईर् जीवित राख्न, निष्पक्ष सुनुवाइ गर्नलगायत विभिन्न शीर्षकमा महाराष्ट्र सरकारलेे कसाबमाथि ५० देखि ६० करोड भारतीय रुपैयाँ खर्च गरेको समाचार प्रकाशित भएको थियो । भारतमा युवती बलात्कारविरुद्ध व्यापक प्रदर्शन मध्य डिसेम्बरमा भारतको नयाँदिल्लीमा गुडिरहेको बसमा बलात्कारको सिकार बनेकी युवतीको मृत्यु भएपछि बलात्कारविरुद्धको प्रदर्शन भारतभर जारी छ । प्रदर्शनमा झडप हुँदा एक प्रहरीको मृत्यु भएको छ भने एक सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । घटनापछि सरकारले महिलालाई सुरक्षा प्रदान गर्न नसकेको भन्दै पक्राउ परेका ६ बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने आवाज जोडदार रूपमा उठेको छ । घटनापछि प्रधानमन्त्री मनमोहन सिंहले महिलाको सुरक्षाका लागि सरकार जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताएका छन् ।
|