Tuesday, Jun 18, 2013< /p>

विद्युत् महसुल नतिर्नेको लाइन काट्न निर्देशन पीडीएफ मुद्रण इमेल

सचेन गौतम/नयाँ पत्रिका
काठमाडौं, १६ पुस
विद्युत् प्राधिकरण सञ्चालक समितिले तोकिएको समयमा विद्युत्को महसुल नतिर्ने ग्राहकको लाइन काट्न व्यवस्थापनलाई निर्देशन दिएको छ ।
मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि महसुल नबुझाउने ग्राहकको लाइन प्राधिकरणले विनासूचना जुनसुकै सयममा पनि काट्न सक्ने व्यवस्था छ । महसुल सम्बन्धित ग्राहकबाट सरकारी बाँकीसरह असुलउपर गर्ने व्यवस्था छ ।
यस्तो प्रस्टै व्यवस्था हुँदाहुँदै पनि महसुल नतिर्ने साना तथा ठूला ग्राहकको लाइन नकाटेपछि प्राधिकरण सञ्चालक समितिको सोमबारको बैठकले लाइन तत्काल काट्न व्यवस्थापनलाई निर्देशन दिएको हो ।
मुख्यसचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष लिलामणि पौड्यालले तोकिएको दिनभित्र महसुल नतिर्ने सरकारी कार्यालय, उद्योग, सर्वसाधारणसहित सबै ग्राहकको लाइन काट्न व्यवस्थापनलाई निर्देशन दिइएको जानकारी दिए । 'तोकिएको समयमा महसुल नतिरे पनि ग्राहकलाई प्राधिकरणले बिजुली दिइरहेको छ, त्यस्ता ग्राहकको तत्काल लाइन काटी रकम असुल गर्न व्यवस्थापनलाई निर्देशन दिइएको हो,' पौड्यालले नयाँ पत्रिकासँग भने ।
सञ्चालक समितिले पहिलो चरणमा सबैभन्दा तीन ठूला बक्यौता रकम असुल गर्न नसक्ने महाप्रबन्धक, क्षेत्रीय कार्यालय प्रमुख, वितरण केन्द्र प्रमुख र मिटर रिडरलाई जिम्मेवारीबाट हटाउने व्यवस्थापनलाई निर्देशनसमेत दिएको छ ।
'पहिलो चरणमा तीन ठूला बक्यौतावालाको रकम असुल गर्न नसक्ने सम्बन्धित कार्यालयका महाप्रबन्धकदेखि मिटर रिडरसम्मलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको छ, साना बक्यौता असुल गर्न नसक्ने कर्मचारीलाई पनि बिस्तारै व्यवस्थापनले कारबाही गर्नेछ,' पौड्यालले भने ।
प्राधिकरणले ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता असुल गर्न सकेको छैन । राजनीतिक र टे्रेड युनियनको दबाब तथा पहुँचमा कर्मचारीलाई कार्यालयप्रमुख बनाउँदा प्राधिकरणले बक्यौता असुल गर्न नसकेको हो ।
प्राधिकरणका व्यवस्थापनले सोमबार १० कर्मचारीलाई जिम्मेवारीबाट हटाएको पत्र दिएको छ । काठमाडौं क्षेत्रीय कार्यालयका प्रमुख जुजुकाजी रन्जित, भक्तपुर वितरण केन्द्रका प्रमुख राजु केसी, लेखा प्रमुख वसन्त ढुंगाना, सहायक इन्जिनियर सूर्यभक्त श्रेष्ठ, सुपरभाइजर नारायण सापकोटा र धर्मेन्द्र रायलाई प्राधिकरणले जिम्मेवारीबाट हटाएको छ ।
यसैगरी महाराजगन्ज वितरण केन्द्रका प्रमुख तारानाथ शर्मा, लेखाप्रमुख नारायण शर्मा र इन्जिनियर नन्दकिशोर मण्डललाई जिम्मेवारीबाट हटाइएको पत्र प्राधिकरणले दिएको छ । ग्राहक तथा वितरण सेवा पूर्वका महाप्रबन्धकलाई पनि कारबाही गर्न सञ्चालक समितिले निर्देशन दिए पनि व्यवस्थापनले पौडेललाई पत्र दिएको छैन ।

 

Add comment


Security code
Refresh