|
नयाँ पत्रिका काठमाडौं, १६ पुस राजनीतिक अस्थिरता बढ्दै जाँदा त्यसको असर कर संकलनमा पर्न थालेको छ । आन्तरिक राजस्व विभाग मंसिरमा लक्ष्यअनुसार राजस्व -कर) संकलन गर्न असफल भएको छ । विभागले आयकर, अन्तःशुल्क, मूल्यअभिवृद्धि कर र शिक्षा सेवाशुल्क उठाउने गरेको छ । गतवर्षको तुलनामा बढी राजस्व संकलन भए पनि मंसिरमा राखिएको लक्ष्य पूरा गर्न विभाग असफल भएको हो । मंसिरमा करिब ७ अर्ब कर असुली लक्ष्य राखिएकोमा करिब ६ अर्ब ५० करोडमात्र असुली भएको विभागका उपमहानिर्देशक विष्णु नेपालले जानकारी दिए । अर्थमन्त्री वर्षमान पुनले मंसिरको समग्र राजस्वको लक्ष्य प्राप्त भए पनि आन्तरिक राजस्वतर्फको लक्ष्य पूरा नभएकोमा चिन्ता व्यक्त गरेका छन् । मंसिरसम्मको राजस्व संकलनको स्थितिबारे मन्त्रालयमा सोमबार भएको समीक्षा बैठकमा अर्थमन्त्री पुनले कार्यशैली परिवर्तन गरी लक्ष्य पूरा गर्न कर्मचारीलाई निर्देशन दिए । 'पूर्ण बजेट नआउँदा आर्थिक गतिविधि नबढेकाले राजस्व वृद्धिमा समस्या भएको हुनसक्छ,' उनले भने । उनले आगामी महिनाको लक्ष्य पूरा गर्न कर प्रशासनलाई निर्देशन दिएका छन् । लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेपछि विभागले उपमहानिर्देशक नेपालको नेतृत्वमा अन्तःशुल्क असुल बढी हुने वीरगन्ज, सिमरा, हेटौँडा र भरतपुरमा स्थलगत निरीक्षणका लागि टोली खटाएको छ । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले मंसिरसम्मको समग्र राजस्व लक्ष्यअनुरूप हासिल भए पनि आन्तरिक राजस्व विभागको कमजोरी देखिएको बताए । सचिव सुवेदीले पुसको लक्ष्य हासिल गर्न विभाग तथा आन्तरिक राजस्व कार्यालयहरूलाई कार्ययोजना बनाई कार्यान्वयनमा जान निर्देशन दिए । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार श्रीराम पौडेलले कात्तिकसम्मको तुलनामा मंसिरमा राजस्व वृद्धिदर घट्नुको कारण पत्ता लगाई समीक्षा गर्नुपर्ने बताए । 'बजारमा अनौपचारिक क्षेत्र पहिचान गरी करको दायरामा ल्याउनुपर्छ, करदातालाई उत्प्रेरित गर्न करदातामैत्री शिक्षालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याइनुपर्छ र करदाता सेवा कार्यालयहरूको प्रभाव मूल्यांकन गरिनुपर्छ,' उनले भने । अर्थ मन्त्रालयका अनुसार उत्पादनशील क्षेत्रमा लगानी नबढ्दा आर्थिक गतिविधिमा सुधार हुन नसक्नु, नयाँ रोजगारीका अवसर सिर्जना हुन नसक्नु, अन्तःशुल्कका दरमा पुनरावलोकन हुन नसक्नु, वित्तीय नीति संकुचित अवस्थामा रहनु, विप्रेषणबाट प्राप्त रकमको ठूल्ाो हिस्स्ाा लगानीतर्फ आकषिर्त नभई दैनिक उपभोगमा खर्च हुनु, घरजग्गा कारोबारमा अझै सुधार आउन नसक्नुले राजस्व संकलनमा वृद्धि हुन नसकेको हो । त्यस्तै, बजार अनुगमन तथा चोरीपैठारी नियन्त्रण प्रभावकारी हुन नसक्नु, पूर्ण बजेट अभावले विकास खर्चमा संकुचन आउनु, 'एन्टी टोबाको क्याम्पियन'ले चुरोट उपभोग र हि्वस्की उपभोग घट्नाले अन्तःशुल्कमा कमी हुनु, ठेक्का व्यवसायबाट संकलन हुने मूल्यअभिवृद्धि कर घट्नु, बैंकले प्रदान गर्ने ब्याजदर घट्दा राजस्व संकलन वृद्धि नभएको अर्थ मन्त्रालयले पहिचान गरेको छ । मन्त्रालयका अनुसार आन्तरिक राजस्वको लक्ष्य प्राप्त नभए पनि समग्र कर असुली वृद्धि भने गतवर्षको तुलनामा २५.२७ प्रतिशत बढी हो । चालू आर्थिक वर्षको मंसिरमा कर राजस्वबापत १८ अर्ब १५ करोड २९ लाख र गैरकरतर्फ १ अर्ब १५ करोड २० लाख गरी कुल १९ अर्ब ३० करोड ४९ लाख रुपैयाँ संकलन भएको छ । गत आवको मंसिरमा १५ अर्ब ०८ करोड २५ लाख असुली भएको थियो । गतवर्ष मंसिरमा ६ अर्ब १९ करोड ७९ लाख मूल्यअभिवृद्धि कर संकलन भएकोमा यस वर्षको सोही अवधिमा ६ अर्ब ८८ करोड ९० लाख असुली भई वृद्धिदर १६.५६ प्रतिशत रहेको छ । यसैगरी भन्सार महसुलतर्फ गतवर्ष मंसिरमा ३ अर्ब ४७ करोड ९९ लाख असुली भएकोमा यस वर्ष ५ अर्ब ३ करोड ३१ लाख असुली भई वृद्धिदर ४२.०२ प्रतिशत रहेको छ । अन्तःशुल्कतर्फ गतवर्षको मंसिरमा २ अर्ब ७८ करोड ७८ लाख असुली भएकोमा यस वर्ष ३ अर्ब ३ करोड ६२ लाख असुली भई वृद्धिदर १९.७९ प्रतिशत रहेको छ । आयकरतर्फ गतवर्षको यसै महिना १ अर्ब ९७ करोड ६६ लाख असुली भएकोमा यस वर्ष २ अर्ब ३९ करोड ३२ लाख असुली भई वृद्धिदर ३७.०७ प्रतिशत रहेको छ ।
|