Wednesday, Jun 19, 2013< /p>

शिक्षक संघ महोत्तरीमा विवाद पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
महोत्तरी, १६ पुस
नेपाल शिक्षक संघ महोत्तरीको सातौँ जिल्ल्ाा अधिवेशनको पूर्वसन्ध्यामा असन्तुष्ट शिक्षक नेताले सदस्य वितरण र नवीकरणमा धाँधली गरेको भन्दै विरोध जनाएपछि विवाद बढेको छ । उनीहरूले संस्थापनविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
संघका जिल्ला अध्यक्ष सुशीलकुमार यादवले एकतर्फी रूपमा तीन सय शिक्षकको सदस्यता खारेज गरी जिल्लाको क्षेत्र नं. १ र ६ मा आफ्ना निकट र मधेसवादी दलमा आबद्ध शिक्षकलाई सदस्यता वितरण गरेको असन्तुष्ट खेमाको आरोप छ । कांग्रेस महोत्तरीका अध्यक्ष महेन्द्रकुमार रायको अध्यक्षतामा शनिबार बसेको बैठकले पूर्वाग्रही तरिकाले सदस्यता खारेज गरिएका शिक्षकको सम्बन्धमा छानबिन गरी सदस्यता दिने निर्णय गरेको थियो । तर, आइतबार बसेको अर्को बैठकले सो निर्णय रद्द गरेपछि असन्तुष्ट पक्षले आन्दोलन गर्ने चेतावनी दिएको हो ।
असन्तुष्ट पक्षले एक/दुई दिनमै माग सम्ब्ाोधन नभए कांग्रेस र शिक्षक संघको कार्यालयमा धर्ना दिने चेतावनी दिएको छ । असन्तुष्टहरूले शिक्षक नभएका व्यक्तिलाई सदस्यता दिएकालेे स्थलगत निरीक्षण हुनुपर्ने, विधानबमोजिम आर्थिक र सांगठनिक प्रतिवेदन सार्वजनिक हुनुपर्ने, पूर्वाग्रही रूपमा गठन गरिएको निर्वाचन आयोग खारेज गरी निष्पक्ष रूपमा गठन गर्नुपर्ने, खारेज गरिएको सदस्यको सदस्यता नवीकरण गर्नुपर्नेलगायत माग राखेको असन्तुष्ट पक्षका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
संघका अध्यक्ष सुशील यादवले राष्ट्रिय मधेस समाजवादी संघका केन्द्रीय अध्यक्ष कुमोदकुमार सिंह, जिल्ला सदस्य रंजित चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकनिकट शिक्षक संघका जिल्ला अध्यक्ष राजकिशोर चौधरीलगायत मधेसवादी दलका दुई सयभन्दा बढी शिक्षकलाई सदस्यता वितरण गरेको पाण्डेको आरोप छ ।
संघका सक्रिय सदस्य हरिनारायण झा, रत्नेश्वर तिवारी, भरत तिवारीलगायत तीन सयजनाको सदस्यता नवीकरण नगरे आन्दोलन गर्ने असन्तुष्ट पक्षका अर्का नेता सञ्जीव झाले बताए । उनका अनुसार आठ वर्षदेखि अध्यक्ष यादवले संघको हरहिसाब पारदर्शी गरेका छैनन् । यादवले अनियमितता गरेको भन्दै झाले त्यसको छानबिन गर्नुपर्नेसमेत माग गरे ।
शिक्षक संघ अध्यक्ष सुशील यादवले आफूले कुनै हिनामिना नगरेको बताए । उनले विधानबमोजिम नै नयाँ सदस्यता वितरण र नवीकरण गरिएकोसमेत दाबी गरे । संघको सातौँ जिल्ला अधिवेशन २०, २१ र २२ पुसमा हुने तय भएको छ ।
चारवर्षे कार्यकालको नेतृत्व गर्न अध्यक्ष पदमा दुई प्रत्याशीले दाबी गरेका छन् । वर्तमान अध्यक्ष सुशीलकुमार यादव र शिक्षक तेजनारायण यादव अध्यक्ष पदका प्रत्यासी हुने भएका हुन् ।

 

Add comment


Security code
Refresh