Saturday, May 25, 2013

सात महिनादेखि फलामे खोरमा पीडीएफ मुद्रण इमेल

नवदीप अजनवी/नयाँ पत्रिका
चारघरे (नुवाकोट), १६ पुस
पिँढीको छेउमै फलामको मोटो रडले बनाइएको खोर छ । खोरमा एक युवा उभिन र सुत्न मुस्किलले पुग्छ । पुसको चिसो, न न्यानो लगाउने लुगा न बाक्लो ओड्ने-ओछ्याउने, न खोरलाई चिसो हावाबाट जोगाउने बार । पिँढीको छेउमा खुला ठाउँमा राखिएको यही फलामे बारमा कैद छन् श्यामबहादुर मिजार ।
सदरमुकाम विदुरसँग जोडिएको चारघरे-३ मुलाबारीका २५ वषर्ीय श्यामबहादुर मिजार सात महिनादेखि फलामे खोरमा कैद छन् । मानसिक सन्तुलन गुमाएका यी युवा उपचारको अभावमा यसरी थुनिएका हुन् । आर्थिक अभावले गर्दा नियमित उपचार र औषधि गर्न नसकेपछि थुन्न बाध्य भएको परिवारको भनाइ छ ।
आठ वर्षअघि काठमाडौंमा घर निर्माणका क्रममा छतबाट लडेर टाउको ठोक्किँदा उनले मानसिक सन्तुलन गुमाएका थिए । दुर्घटनापछि ९० दिन वीर अस्पताल र पछि मानसिक अस्पताल पाटनमा राखेर उपचार गराएका श्यामको पछिल्लो उपचार गत असारमा गरिएको थियो । चिकित्सकले 'इसीटी' गर्ने भन्दै 'इलेक्टि्रक सक्ड' आठपटक दिएका थिए । केही दिन ठीक भएपछि घर आएका उनले फेरि सन्तुलन गुमाएको परिवारले जनाएको छ ।
उनको गत वैशाखबाट अवस्था नाजुक बन्न गएको आमा कमलाले बताइन् । केटीहरूलाई समात्न जाने, तोडफोड गर्ने, कुट्न आइलाग्ने भएपछि उनको आफ्नै सुरक्षाका लागि खोर बनाएर राखेको कमलाको भनाइ छ । 'जहाँ पनि जाने, बिगार गरिदिने गरेकाले थुन्न परेको हो,' कमलाले भनिन्, 'दुनियाँको भनाइ खानुभन्दा यसरी थुन्न नै सहज भो हजुर । उपचार पाए निको हुने थियो कि ।'
सामान्य ज्यालामजदुरी गरेर गुजारा चलाउँदै आएको मिजार परिवारले पछिल्लो समय छोराको उपचारका लागि आर्थिक स्रोत जुटाउन नसक्दा अस्पताल लैजान नसकेको हो । काठमाडौंमा मजदुरी गरिरहेका बिरामी श्यामका पिता बुद्धिबहादुरले आर्थिक अभावले गर्दा राम्ररी उपचार गराउन नसकेको बताए । टेलिफोनमा कुरा गर्दै बुद्धिबहादुरले भने, 'छोराको उपचारका क्रममा सात/आठ लाख सकियो । तर, उसलाई निको भएन । अब त ऋण खोज्दा र चन्दा जुटाउँदा जुटाउँदा थाकिसकेँ ।'

 

 

Add comment


Security code
Refresh