|
उत्तम पोख्रेल/नयाँ पत्रिका फुलेक (तेह्रथुम), १६ पुस फुलेकका अधिकांश युवा रोजगारीका लागि खाडी मुलुकतिर लागेपछि यतिवेला सिंगो गाउँ नै युवाविहीन भएको छ । पढेर पनि गाउँमा रोजगारको अवसर नभएपछि शिक्ष्ाित युवासमेत खाडी मुलुक गएका छन् । साधारण लेखपढ गर्न जान्नेदेखि स्नातक तहसम्म अध्ययन गरेका सबै युवा गाउँ छाडेर खाडी मुलुकतर्फ गएको स्थानीय सार्वजनिक उच्च मावि फुलेकका प्रधानाध्यापक कमल खड्काले बताए । 'घरका चारजनासम्म बिदेसिएका छन्,' उनले भने, 'गाउँमा त केटाकेटी र ५० कटेका मात्र छन् ।' तीन सय ४० घर रहेको फुलेकमा विदेश नगएकाको घर भेट्टाउँन मुस्किल पर्ने उनको भनाइ छ । पढेलेखेका र काम गर्न सक्ने उमेरका सबैजसो पुरुष कामको खोजीमा बिदेसिएकाले गाउँमा जनश्रमदान जुटाएर सम्पन्न गर्नुपर्ने सबैजसो विकासका काम प्रभावित भएको गाविसले जनाएको छ । गाउँमा जसोतसो गुजारा चलाएर बसेकासमेत आकर्षक तलबको लोभमा खाडी मुलुकतर्फ जाने गरेको फुलेक-९ चित्रेका कुमार मगरले बताए । एसएलसी उत्तीर्ण उनले गाउँमा रोजगारको अवसर नभएकाले बाध्य भएर खाडी मुलुकतर्फ जान बाध्य भएको बताए । उन्नत जातका गाईपालक कृषक रहेको यो गाविसमा युवाले गाउँ छोड्दै गएपछि पशुपालन व्यवसायमा समेत मजदुरको अभाव हुन थालेकोे बुढापाकाको भनाइ छ । पाँच वर्षअघिको तुलनामा २५ प्रतिशत युवा पनि गाउँमा नभएको फुलेक-९ चम्फुलाका गौतम गुरुङले बताए । उनले भने, 'गाउँमा रोजगारीको अवसर नहुनु, विकासका पूर्वाधार प्रशस्त नहुनु, उच्च शिक्ष्ााका लागि गाउँमा सुविधा नहुनु, स्वास्थ्य असुविधा हुनुजस्ता कारणले युवा बाहिरिएका हुन् ।' रोजगारको अवसर हुने हो भने धेरैजसो युवा गाउँमै रोकिने स्थानीय रामबहादुर पौडेलले बताए । 'सबै सुविधा हुने हो भने को खाडी मुलुकको तातो घाममा काम गर्न जान्छ र ?' उनले भने । सानो क्ष्ाेत्रफल र थोरै जनसंख्या रहेको यो गाविसका हरेकजसो वडामा युवा सीमित हुँदै गएपछि कृषि व्यवसायमा समेत मजदुरको अभाव भएको छ । गाविस कार्यालयका अनुसार उमेर पुगेका जनशक्ति विदेशतिर पलायन हुने दर अत्यधिक रहेकाले गाउँको विकास निर्माणको काममा असर परेको हो । पहिलेको तुलनामा विकासका पूर्वाधार केही हदसम्म बढेको भए पनि ती पर्याप्त नभएको सार्वजनिक माविका शिक्ष्ाक अमृत गौतमले बताए । ऋण काढेर विदेश गएकाले पुनः गाउँमा पैसा नभित्र्याउँदा अर्थतन्त्रसमेत खस्कँदो अवस्थामा रहेको गौतमको भनाइ छ । युवा अभावमा गाउँमा समय-समयमा हुने खेलकुद प्रतियोगितासमेत रोकिएको वषार्ंै भइसकेको छ । युवा घट्दै गएकाले खेलाडी अभावमा स्थानीय खेलकुद प्रतियोगिता बन्द भएको शिक्ष्ाक गौतमले बताए ।
|