|
रामनारायण विश्वास/नयाँ पत्रिका सप्तरी, १६ पुस कुर्सीमोहका कारण प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिलाको समस्या नबुझेको भन्दै सप्तरीका महिलाले उनलाई कालो चस्मा र प्लास्टिकको कुर्सी उपहार पठाएका छन् । अखिल नेपाल महिला संघ सप्तरी नेतृत्वको एक टोलीले सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीमार्फत प्रधानमन्त्रीलाई कालो चस्मा र कुर्सी उपहार पठाएका हुन् । मुलुकमा महिला हिंसा बढ्दै जाँदासमेत प्रधानमन्त्रीको दृष्टि त्यतातिर पुग्न नसकेकाले संघले विरोधस्वरूप प्रधानमन्त्रीलाई कालो चस्मा र प्लास्टिकको कुर्सी उपहार पठाएको अनेमसंघ जिल्ला अध्यक्ष उषा पोखरेलले बताइन् । उनले महिला हिंसाविरुद्ध अभियान चलाउने बताइन् । पोखरेलले भनिन्, 'महिलाका समस्याप्रति वर्तमान सरकार गम्भीर हुन सकेको छैन, त्यसैले बाध्य भएर विरोधस्वरूप हामीले प्रधानमन्त्रीलाई कालो चस्मा र कुर्सी पठाउनुपरेको हो ।' चस्मा र कुर्सीसँगै पठाइएको ज्ञापन-पत्रमा सत्तामोहमा अन्धो बनेका प्रधानमन्त्रीले महिलालाई जलाएर मारिँदा पनि केही कारबाही गर्न नसकेकोप्रति खेद प्रकट गरिएको छ । 'कुर्सीमोहले अन्धो र सहमतिको बाधक सरकारलाई सिंहदरबार र बालुवाटारको कुर्सीबाट मुक्ति मिलोस्,' महिलले प्रधानमन्त्री समक्ष पठाएको ज्ञापन-पत्रमा भनिएको छ, 'मुलुकभर सार्वजनिक भएको घटना मात्र नभई सार्वजनिक हुन नसकेका महिला हिंसाका घटनासमेत सरकारले देख्न सकोस् भन्ने उद्देश्यले हामी कुर्सी र चस्मा उपहार पठाएका छाँै ।' महिला हिंसा न्यूनीकरणका नाममा सरकारी तथा गैरसरकारी नियकायले बर्सेनि करोडाँै रुपैयाँ खर्च गरे पनि त्यस्ता अभियान प्रचारबाजी मात्र हुने गरेको महिलाहरूको आरोप छ ।
|