|
नयाँ पत्रिका काठमाडौं, १६ पुस युवा संघ नेपालले सरकारविरुद्ध आन्दोलनका दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गरेर संघले चक्काजाम, घेराउलगायत कार्यक्रम घोषणा गरेको हो । १७ पुस बिहान ११ बजे उपत्यकास्तरीय कार्यकर्ता भेला गरेर दबाबमूलक कार्यक्रमको सुरुवात गरिने संघले जनाएको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत राष्ट्रपतिलाई ज्ञापनपत्र दिने, प्रधानमन्त्रीको पुत्लादहन, प्रमुख दलका शीर्ष नेतालाई घेर्ने, चक्काजाम, ७५ वटै जिल्ला प्रशासन कार्यालय घेराउ तथा सरकार र मन्त्रीहरूको भण्डाफोर गरिने अध्यक्ष महेश बस्नेतले जानकारी दिए । आन्दोलन सञ्चालनका लागि संघका उपाध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा निरू पाल सचिव रहेको आन्दोलन परिचालन समिति पनि गठन गरिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार स्वेच्छाचारी ढंगले अगाडि बढेको र सहमतिको बाधकको रूपमा रहेकाले आन्दोलनमा जानुपरेको बस्नेतले बताए । राष्ट्रिय सम्मेलनका गर्न समिति गठन युवा संघको आगामी ११ देखि १३ फागुनमा बुटवलमा हुने आठौँ राष्ट्रिय सम्मेलनका लागि विभिन्न समिति गठन गरिएको छ । संघले व्यवस्थापन समिति, प्रतिनिधि व्यवस्थापन, जनपरिचालन समिति, प्रचारप्रसार समिति, दस्तावेज समिति, स्वयंसेवक उपसमिति तथा आर्थिक समिति गठन गरेको हो । 'शान्ति, संविधान, लोकतन्त्र र समृद्ध नेपाल निर्माणका लागि नयाँ संविधान Û शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि सशक्त युवा आन्दोलन' भन्ने मूल नाराका साथ संघको राष्ट्रिय सम्मेलन हुन लागेको हो । संघमातहतको सम्पूर्ण कमिटीको सम्मेलन माघ मसान्तसम्म सम्पन्न गर्न संघले निर्देशन गरेको छ । निर्धारित समयमा सम्मेलन नसक्ने कमिटीबाट राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व गर्न नपाउने संघले जनाएको छ । कारबाहीको माग युवा संघ नेपाल ताप्लेजुङ जिल्ला कमिटी सचिव आशिष केदेममाथि फिदिममा सांघातिक आक्रमण भएको घटनाको संघले निन्दा गरेको छ । केदेमको उपचार खर्च बेहोर्न संघले सरकारसँग माग पनि गरेको छ । यस्तै, बर्दिया गुलरियाकी १६ वषर्ीया शिवा हास्मीलाई पेट्रोल छर्केर मारिनु, अनामनगर घट्टेकुलोमा सरस्वती सुवेदीको रहस्यमय मृत्यु हुनु र विभिन्न स्थानमा महिलामाथि श्रृखंलाबद्ध रूपमा बढिरहेका हिंसाका घटनाले संघको गम्भीर ध्यानाकर्षण भएको बस्नेतले बताए । आपराधिक तथा लज्जास्पद घटनाले लज्जित, चिन्तित एवं आक्रोशित बनाएको भन्दै संघले घटनाको छानबिन गरी घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।
|