|
नयाँ पत्रिका काठमाडौं, १६ पुस करोडाँै रुपैयाँ ठगी गरेको कालिमाटीस्थित मदरल्यान्ड च्यारिटेबल फाउन्डेसनका सञ्चालकलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको विद्यार्थीका आफन्तले आरोप लगाएका छन् । सो फाउन्डेसनले चीनमा गई एमबिबिएस र एमडी गर्न चाहने विद्यार्थीको आधा शुल्क आफूले तिरिदिने भन्दै रकम उठाएको थियो । विद्यार्थीका आफन्तका अनुसार फाउन्डेसनले प्रतिविद्यार्थी एमबिबिएसका लागि १२ लाख र एमडीका लागि साढे सात लाख रुपैयाँ उठाएको थियो । जनकपुरका मुकेश झा, राजाबहादुर झा, काठमाडांैका अनिता शाक्य र प्रविना खोखाली सञ्चालक रहेको सो फाउन्डेसनले एमबिबिएसको ६ वर्षे र एमडीको तीनवर्षे कोर्सका लागि सुरुमै एकमुष्ट रकम उठाएको थियो । विद्यार्थी आफन्तका अनुसार सो फाउन्डेसनले २७ जना एमडी र २५ जना एमबिबिएसका लागि पढ्न गएकाबाट चार करोड ५० लाख रुपैयाँ ठगेको छ । आधा रकम तिरे पुग्ने भन्दै लाखाँै रकम बुझाएका आफन्तलाई विश्वविद्यालयले 'शुल्क' नतिरेको भन्दै विद्यार्थी निस्काशन गर्न थालेपछि मात्रै फाउन्डेसनले ठगी गरेको खुलासा भएको थियो । चीनस्थित च्ाउचाङ विश्वविद्यालय, साउर्दन, लाउनिङ, किन्दाओ र तिन्जिन विश्वविद्यालयमा अध्ययनका लागि गएकामध्ये ५२ विद्यार्थी सम्पर्कमा आएको भन्दै आफन्तले सरकारले फाउन्डेसनका सञ्चालकलाई तत्काल पक्राउ गर्न माग गरे । उनीहरूले पढाइ सुरु गरिसकेका आफ्ना छोराछोरी तथा आफन्तलाई कूटनीतिक पहल गरी पढ्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे । बुटवलबाट एमबिबिएस अध्ययनका लागि चीन पुगेका एक विद्यार्थीका बुवा उज्ज्वल खनालले दुःखसुख गरेर छोरालाई एमबिबिएस पढाउन १२ लाख खर्च गरेको तर फाउन्डेसनले ठगी गर्दा छोराको भविष्य अन्योलमा परेको बताए । अर्का अभिभावक ताराकुमारी राईले राम्ररी बुझ्दै नबुझी फाउन्डेसनलाई पैसा बुझाउनु गल्ती भए पनि अब ठगी गरेको प्रमाणित भइसकेपछि सरकारले कारबाही नगर्नु दुःखद रहेको बताइन् । नेपाल विद्यार्थी संघका सदस्य लेखनाथ पोखरेलले एमबिबिएस र एमडीजस्तो विषयको अध्ययन गर्न जाने विद्यार्थीले संस्थाले आधा पैसा तिरिदिन्छु भन्दैमा लाखौँ रुपैयाँ बुझाउनु गल्ती भएको बताए । अखिल क्रान्तिकारीका सदस्य छवीन्द्र ओझाले सञ्चालकहरूलाई जोगाइएका कारण सरकारका मन्त्रीहरूको समेत यसमा मिलेमतो हुनसक्ने आरोप लगाए ।
|