Wednesday, May 22, 2013

उपचारपछि सजिलै निको हुन्छ डिप्रेसन पीडीएफ मुद्रण इमेल

डा. सरोज ओझा

डिप्रेसन अर्थात् दिग्दारी रोगले यतिवेला नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ । त्यस हिसाबले नेपालमा पनि २६ लाखभन्दा बढी नेपाली डिप्रेसनबाट ग्रसित छन् भनेर बुझ्न गाह्रो पर्दैन । त्यति मात्रै कहाँ हो र, संगठनले डिप्रेसन नियन्त्रणका लागि चामत्कारिक उपाय नगरेमा सन् ०३० सम्ममा संसारकै 'नम्बर एक' स्वास्थ्य समस्या बन्ने भविष्यवाणीसमेत गरेको छ । डिप्रेसन अहिले संसारको दोस्रो ठूलो समस्याका रूपमा आएको छ ।
डिप्रेसन मात्रै यस्तो रोग हो, जो विकसित तथा अविकसित राष्ट्रमा समान दरमा फैलिएको छ । कारण फरक हुन सक्लान् तर युरोप तथा अमेरिकी जनतामा जसरी समस्या बढेको छ, त्यसैगरी नेपालीमा पनि समस्या देखिएको छ ।
विकसित मुलुकका जनता डिप्रेसनबारे सचेत छन् । तर, नेपालजस्तो अविकसित मुलुकमा भने डिप्रेसनबारेको धारणा नै गलत छ । अर्थात् डिप्रेसनलाई हेर्ने दृष्टिकोण नै गलत छ । डिप्रेसन भयो भन्नेबित्तिकै परिवार र समाजले 'बौलाउने रोग लागेछ' भन्न थालिहाल्छन्, जसले डिप्रेसन हटाउनभन्दा बढाउन मद्दत पुर्‍याउँछ ।

के हो डिप्रेसन ?

डिप्रेसन कम कडा खालको मानसिक रोग हो । अर्को शब्दमा दिग्दारी रोग हो । सधैँ दिग्दार देखिने अर्थात् निराश देखिने रोग हो । समयमै पहिचान भई उपचार गर्न सकेको खण्डमा यो रोग छिटै निको हुन्छ । हामीकहाँ भ्रम छ, डिप्रेसन भयो भने जीवनभर औषधि खानुपर्छ, त्यो गलत हो । केही समय औषधि खाएपछि यो रोग पूर्ण रूपमा निको हुन्छ । औषधि लिइरहनुपर्दैन । तर, सही ठाउँमा सही उपचार हुनुपर्छ । यसको दुई पद्धतिबाट उपचार हुन्छ, एउटा औषधिद्वारा उपचार गरिने पद्धति, अर्को परामर्श -साइको थेरापी) पद्धति ।
कतिपयले डिप्रेसन भयो भन्नासाथ पीडितलाई झनै हेय भावनाले हेर्ने, छिछि दुरदुर गर्ने, नकारात्मक कुरा सुनाउने गरेका छन् । समयमै उचित उपचार गर्न नसकेको खण्डमा यो बढ्दै जान्छ र यसले मानसिक सन्तुलन नै बिगार्नसमेत पछि पर्दैन । यो अवस्थालाई कडा मानसिक रोगको अवस्था हो भनेर बुझ्नुपर्छ । यो अवस्थामा पुग्नेको संख्या कुल डिप्रेसन रोगीमध्ये १० प्रतिशत मात्रै हुन्छ । यो अवस्थामा निराशा र दिग्दारीपन यति बढ्दै जान्छ कि जसले गर्दा रोगीले आफ्नो जीवन नै बेकार सम्झी आत्महत्याको बाटो रोज्ने गर्छन् ।
डिप्रेसनबाट ग्रसित हुनेमा मुख्य रूपमा युवा नै देखिन्छन् । २५ देखि ३५ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी डिप्रेसनमा परेको पाइन्छ । तीमध्ये पनि सबैभन्दा बढी बेरोजगार युवामा यस्तो समस्या देखिएको छ । २५-३५ को उमेर पढाइ सकेर रोजगारी गर्ने उमेर, वैवाहिक सम्बन्ध गाँस्ने, केही गरेर देखाउने र महत्त्वाकांक्षा बढ्ने उमेर हो । त्यसैले यसवेला भनेजस्तो भएन भने एक्कासि निराशा बढ्न थाल्छ र व्यक्ति डिप्रेसनको सिकार हुन थाल्छ । त्यस्तै दोस्रो समस्या ६० वर्षमाथिका व्यक्तिलाई हुन्छ । यो उमेर 'रिटायर्ड लाइफ' को उमेर पनि हो । जागिर गरेका वा नगरेका व्यक्ति बुढ्यौलीमा प्रवेश गर्ने उमेर पनि हो ।
अनुसन्धानले डिप्रेसन पुरुषको तुलनामा महिलामा बढी हुने गरेको देखाएको छ । झन्डै नौ प्रतिशत पुरुष र ११ प्रतिशत महिलामा यो रोगको समस्या देखापरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । मानसिक रोगका रूपमा चिनिने डिप्रेसन महिलामा बढी देखिनु सायद उनीहरू बढी संवेदनशील हुने र सानो कुराले पनि धेरै ठूलो प्रभाव पार्ने कारण हो ।

डिप्रेसन कसरी हुन्छ ?

डिप्रेसन के कारणले हुन्छ भन्ने एउटै परिभाषा छैन । विभिन्न व्यक्तिलाई विभिन्न कारणले हुन सक्छ । तर, शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ । मस्तिष्कमा पाइने विभिन्न रसायन जस्तै ः सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ । शरीरमा पाइने विभिन्न प्रकारका हार्मोनले समेत यसमा असर पारेको हुन्छ । जस्तै ः ओसट्रोजिन हार्मोनले मन नियन्त्रण गर्न ठूलो भूमिका खेलेको हुन्छ । त्यस्तै टेसरररोन हार्मोनको कमीले पनि यो रोग लाग्न सक्छ ।
डिप्रेसनभित्र मनोवैज्ञानिक पक्ष छ शारीरिक, मनोवैज्ञानिक पक्षले शरीरभित्रको रासायनिक तत्त्वमा कमी ल्याई डिप्रेसन हुने हो । त्यो रासायनिक तत्त्व कसैलाई वंशाणुगत रूपमा कम देखापर्छ भने कसैलाई मस्तिष्कको विकास नहुँदा हुने गर्छ ।
त्यस्तै मस्तिष्कको विकाससँगै बाहिरी वातावरणको प्रभावले पनि देखिने गर्छ । जस्तै बच्चा जन्मेर हुर्कंदै जाँदा राम्ररी आमाबुबाको माया पाउन सकेन भने उसमा डिप्रेसन हुनसक्छ । अति ठूलो महत्त्वाकांक्षा लिने व्यक्तिमा पनि डिप्रेसन हुने गर्छ । त्यस्तै सानोमा कुपोषणबाट ग्रसित व्यक्तिमा इम्युनिटी पावर कम हुने डिप्रेसन हुन्छ । टाउकोमा चोट लाग्यो भने, जन्मने, हुर्कने वेलामा धेरै ठूलो इन्फेक्सन भयो भने, मलेरिया, जापानिज इन्सेफलाइटिसजस्ता सीधै मस्तिष्कसँग जोडिने रोगले पनि डिप्रेसन हुन सघाउँछ ।

किन बढ्यो ?

दिनानुदिन डिप्रेसन ग्रसितको संख्या बढ्दै गएको छ । नेपालमा यसो हुनुमा सामाजिक कुरीति मुख्य कारण बनेको छ । समाजमा डिप्रेसन भयो कि बौलाउने रोग लागेको भनेर हेरिन्छ । परिवारले समेत त्यसैगरी हेर्छ । यसले बिरामीलाई झनै बढी चिन्तित बनाउँछ । त्यसबाहेक अस्थिर राजनीति, त्यसले निम्त्याएको बेरोजगारी समस्या पनि प्रमुख कारणमा पर्छ । २५-३५ को उमेरमा उचित रोजगारी नपाएपछि युवामा निराशा फैलिन्छ र ऊ मानसिक रूपमा कमजोर हुन्छ । अझ पछिल्लो पटक त नेपालमा दोहोरो डिप्रेसन देखापरेको छ । सरकारले रोजगारीमा जाने युवाको शारीरिक परीक्षण मात्रै गरी पठाउँछ, मानसिक परीक्षण गर्दैन । तर, कतिपय युवामा मानसिक रोग लागिसकेको हुन्छ । विदेश पुगेरसमेत भनेजस्तो काम नपाएपछि त्यसले चर्को रूप लिन्छ र विदेशी कम्पनीले अस्वस्थ भनी नेपाल पठाउँछ । यसले उसको डिप्रेसन त बढाउने नै भयो त्यसबाहेक घरमा उसकी श्रीमती वा परिवारका अन्य सदस्यलाई समेत थप चिन्ता बढाउँछ । अनि अर्कोलाई पनि डिप्रेसन हुन्छ ।

के हो लक्षण ?

१.     मन नरमाइलो वा उदास हुनु
२.     कुनै कुरामा पनि खुसी वा आनन्दको अनुभव नहुनु
३.     शरीर कमजोर हुँदै जानु । थोरै काम गरे पनि धेरै थकाइको अनुभव हुनु
४.     निद्रा नलाग्ने, टाउको दुख्ने, आत्तिने, पेट पोल्ने, छाती पोल्ने, मन डराउने
५.     आफ्नो काममा ध्यान दिन वा पुर्‍याउन नसक्नु
६.     निराशा बढ्ने तथा आत्मविश्वास घटेर जाने
७.     जीवन व्यर्थ हो जस्तो लाग्ने, सधैँ आफूलाई दोषी ठान्ने
८.     भोक नलाग्ने, शरीरको तौल कम हुँदै जाने,
९.     यौन इच्छामा कमी हुने
१०. हातखुट्टा झमझम हुने
समाज र परिवारको डरले मानसिक समस्या भोगेका थुप्रै व्यक्ति अहिले पनि मानसिक रोग विशेषज्ञकहाँ नगई फिजिसियनसँग सल्लाह लिने गरेका छन् । फिजिसियनकोमा गएर मानसिक रोगकै औषधि खाए पनि मानसिक रोगी नहुने तर मानसिक रोग विशेषज्ञकोमा गएर सल्लाह लिँदैमा मानसिक रोगीको रूपमा हेर्ने सामाजिक मान्यताका कारण यो समस्या बढेको हो ।

नियन्त्रणका लागि के गर्ने ?

सबैभन्दा पहिले परिवार र समाजमा यो पनि अन्य रोगजस्तै साधारण रोग हो भन्ने भावना हुनुपर्‍यो । रोगीलाई हेय दृष्टिले हेेर्नु हुँदैन । किनकि यो पनि उपचार गर्नासाथ निको हुन्छ ।
अहिले विदेश जाने युवामा डिप्रेसन निकै बढेको छ । स्वदेशमै उचित काम नपाएर बिदेसिएका शिक्षित बेरोजगारमा अझ बढी छ । त्यसैले विदेश जाँदा गरिने शारीरिक स्वास्थ्य परीक्षणका क्रममा मानसिक स्वास्थ्यको समेत परीक्षण गर्नुपर्छ । त्यसो भयो भने विदेश पुगेर आत्महत्या गर्ने वा मेडिकल फेल भई फर्किने अवस्था आउँदैन । सरकारले देशभरका जिल्ला अस्पतालमा मरेका मान्छेको पोस्टमार्टम गर्ने चिकित्सक राखेको हुन्छ । तर, मानसिक रोग विशेषज्ञ एउटै छैन । मानसिक रोगीलाई फिजिसियनले दिने औषधिले काम गर्दैन । जसका कारण रोग निको हुनुको सट्टा बल्भि“mदै जान्छ ।

(डा. ओझा वरिष्ठ मानसिक रोग विशेषज्ञ हुन्)

 

 

Comments   

 
0 #1 aba ke garne 2013-01-02 04:43
... kehi hadsamma samajma DIGDARI baiman rajnitik partyle gardapani hola. Charaitir Nepali dukha ra pida matra haina digdar ...
Quote
 

Add comment


Security code
Refresh