|
रामप्रसाद न्यौपाने/नयाँ पत्रिका काठमाडौं, १७ पुस औषधि बिक्रीका लागि पसलमा फर्मासिस्ट वा सह-फर्मासिस्ट हुनैपर्ने प्रावधान रहे पनि अधिकांश औषधिपसल फर्मासिस्टविनै सञ्चालन भएका छन् । औषधि व्यवस्था विभागले अवैध रूपमा सञ्चालित औषिधपसललाई कारबाही गरेको छ । औषधि व्यवस्था विभागका अनुसार पछिल्लो चार महिनाको अनुगमनमा १८ जिल्लाका ४७ वटा पसल फर्मासिस्टबिना नै सञ्चालन गरेको भेटिएको हो । ती पसलमा फार्मासिस्टको प्रमाणपत्र टाँगिए पनि औषधि बिक्री गर्न बसेका व्यक्तिहरू फर्मासिस्ट नभएको विभागका प्रमुख औषधि निरीक्षक विजयालक्ष्मी श्रेष्ठले जानकारी दिइन् । 'हामीले उपत्यकासहित विभिन्न पसलमा फर्मासिस्ट छन् कि छैनन् भनेर छड्के अगुगमन गरेका थियौँ,' श्रेष्ठले भनिन्, '५४.२ प्रतिशत पसलमा औषधि बिक्री गर्न बसेका व्यक्ति योग्य नै थिएनन् ।' विभागले साउनदेखि कात्तिक मसान्तसम्म १८ जिल्लाका औषधिपसलमा अनुगमन गरेको थियो । विभागका निर्देशक डा. राधारमण प्रसादले फार्मेसी नपढेकाले औषधि बेचेको पाइए पसलेहरूलाई कडा कारबाही गर्ने बताए । विभागका अनुसार पछिल्लो चार महिनाको अनुगमनमा चार सय ९१ वटा औषधिपसलको निरीक्षण गरिएकोमा ४० वटा पसल दर्ताविना नै सञ्चालनमा रहेको पाइएको थियो । त्यस्तै, २९ वटा औषधिपसलले दर्ता नभएका औषधिहरू सञ्चय गरेको, २१ वटामा म्याद नाघेको औषधि भेटिएको, १५ वटाले फिजिसियन स्याम्पल सञ्चय नगरेको पाइएको विभागले जनाएको छ । प्रमुख निरीक्षक श्रेष्ठका अनुसार तीन नेपाली औषधि कम्पनीका चारवटा औषधि मापदण्ड पूरा नगरेकाले बजारबाट उठाउन लगाइएको छ । मापदण्ड पूरा नगरेको आशंकामा परीक्षणमा ल्याइएका १७ औषधिमध्ये चारवटामा मापदण्ड नपुगेपछि फिर्ता गर्न लगाइएको हो । फिर्ता गर्न लगाइएकामा सुमी फर्मासिटिकल्सको एन्जिटाम-५० -ब्याच नं. १३) एन्जिटाम-२५, आर्याजल सिटिकल्सको आर्याजल- -ब्याच नं. एजेपी ७८०५९) र सिटिएल फर्मासिटिकल्सको नवजीवन -ब्याच नं. ८८९) छन् । प्रेसर नियन्त्रण गर्न प्रयोग हुने एन्जिटाम -डिजलोसन) खानासाथ शरीरमा नघुलेको र झाडापखाला लाग्दा प्रयोग हुने आर्याजल तथा नवजीवनको प्याकिङमा समस्या भई ढुसी परेको भेटिएकाले बजारबाट फिर्ता गर्न भनिएको विभागले जनाएको छ । विभागले नियमानुसार सञ्चालनमा नआएको २६ वटा औषधिपसल बन्द गरेको छ भने ३८ वटा पसल तथा व्यवसायी प्रमाणपत्र निलम्बन गरेको छ । ३० वटालाई चेतावनीसहित सचेत गराइएको र १ सय २८ वटा पसललाई सचेत मात्रै गराइएको विभागले जनाएको छ । यसैबीच, विभागले दर्ता नभएका १४ वटा भारतीय कम्पनीका औषधिहरू पनि बरामद गरेको छ । दर्ताविना नै बजारमा आएकामा बढीजसो गर्भपतन गर्ने तथा यौन उत्तेजना बढाउने खालका औषधि रहेको विभागले जनाएको छ । दर्ताविना नै आउने औषधिहरू नक्कली हुनसक्ने भन्दै बिक्री तथा प्रयोग गर्न पनि आग्रह गरिएको विभागका प्रमुख औषधि निरीक्षक श्रेष्ठले बताइन् ।
|