|
रामनारायण विश्वास/नयाँ पत्रिका सप्तरी, १७ पुस जन्डोल गाविसको चुरे वन क्षेत्रमा बस्दै आएको एक दम्पतीको सोमबार राति निर्मम हत्या भएको छ । घरमा खाना खाएर सुतेका ४५ वषर्ीय डम्बर भट्टराई र उनकी ३५ वषर्ीया श्रीमती कौशल्याको हत्या भएको हो । जन्डोल गाविस-८ स्थित घरमा ११ जनाको संख्यामा आएको अज्ञात समूहले राति १ बजे भट्टराई दम्पतीको हत्या गरेको हो । सो समूहले घरेलु हतियार प्रहार तथा गम्छाले घाँटी थिचेर उनीहरूको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दम्पतीको शवको प्रकृति हेर्दा गम्छाले घाँटी थिचेको र घरेलु हतियार प्रहार गरेको निलडाम देखिएको छ । उनीहरूका जेठा छोरा दिपेशले मंगलबार प्रहरीलाई बयान दिँदै भने, 'घरमा ११ जनाको समूहमा आएका व्यक्तिहरूले सुतिरहेका बा-आमालाई कुटेर मारे, कसैलाई केही भनिस् भने तिमीहरूलाई पनि मार्छौं भन्दै भागे ।' घटनाको खबर पाउनेबित्तिकै सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेत, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेत र प्रहरीचौकी महुलीको टोली मंगलबार बिहान घटनास्थल पुगेको थियो । प्रहरीले मृतक दम्पतीको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
वनरक्षक छानबिनको घेरामा
भट्टराई दम्पती हत्यामा केही वनरक्षक र काठ तस्करहरूको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । सोमबार राति शम्भुनाथ रेञ्जपोस्टका फरेस्टर मोहम्मद जिवरिलको नेतृत्वमा आठ वनरक्षकहरूको टोली भट्टराईको घरतर्फ गएको थियो । वनरक्षकहरूको टोलीले भट्टराईको घरबाट कुखुरा लिएर गएको जानकारी स्थानीयबाट आउनुले वनरक्षकलाई समेत शंकाको घेरामा राख्दै अनुसन्धान थालिएको सप्तरी प्रहरीको भनाइ छ । सोमबार साँझ शम्भुनाथ रेञ्जपोस्टका फरेस्टर मो. जिवरिलको नेतृत्वमा जमदारहरू वसन्तकुमार यादव, महिनारायण साह, भोला साह, रामनारायण यादव, कमानन्द मण्डल, शुभनारायण मण्डल र विनोदकुमार यादव जंगलतर्फ गस्तीमा खटिएका थिए । उता, भट्टराईको घरबाट वनरक्षकको टोलीले सात सय रुपैयाँमा एउटा कुखुरा किनेर ल्याए पनि घटनाका विषयमा आफूहरूलाई केही जानकारी नभएको शम्भुनाथ रेञ्जपोस्टका रेञ्जर चतुरनारायण साहले बताए । स्थानीयका अनुसार घटना हुनुअगावै सोमबार अबेर साँझ वनरक्षकको टोलीले तीनजना काठ तस्करलाई जन्डौलस्थित वन क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरूका बारे बुझ्न टोलीले मृतक भट्टराईलाई समेत बोलाएको थियो । त्यतिवेला भट्टराईकै उपस्थितिमा काठ तस्करहरूले सात हजार रुपैयाँ र एउटा कुखुरा भट्टराईको घरबाट ल्याएर दिएपछि वनरक्षकहरूले काठ तस्करलाई छाडिदिएको स्थानीय उषा साहले बताइन् । त्यसपछि राति के भएको हो भन्ने सम्बन्धमा आफूलाई केही जानकारी नभएको साहको भनाइ छ । वनरक्षकको संलग्नताबारे शंका उब्जिएपछि सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजयसिंह बस्नेत मंगलबार बिहान रूपनीस्थित शम्भुनाथ रेञ्जपोस्ट पुगेर वनरक्षकहरूसित बयान लिएका छन् । बयानका क्रममा वनरक्षकहरूले आफूहरू भट्टराईको घरतिर गस्तीमा गए पनि घटना सम्बन्धमा केही जानकारी नभएको बताएका थिए ।
बाबुआमा नै मारिएपछि तीन छोराछोरीको बिचल्ली
मृतक भट्टराई दम्पतीका दुई छोरा र एक छोरी छन् । बुबाआमा दुवैजनाको एकसाथ हत्या भएपछि १५ वषर्ीय छोरा दीपेश, ११ वषर्ीया छोरी दीपिका र नौ वषर्ीय छोरा दिनेशको बिचल्ली भएको छ । हत्याको खबर सुनेपछि हेर्न र तीन छोराछोरीलाई सान्त्वना दिन आउनेको भीड लागेको थियो । जंगल क्षेत्रमा तीन/चारवटा घर रहेको सानो बस्तीमा भट्टराई दम्पतीको हत्या भएपछि बस्तीका बासिन्दामा त्रास छाएको छ ।
घाँटी बाँधेर कुट्दा बाबामम्मी रुनु भो
- कान्छो छोरा दिनेश
राति ७ बजेतिर वनपालेहरू हाम्रोे घर आएका थिए । हाम्रो घरभन्दा अलि तल वनपालेहरूले तीनजना काठ तस्करलाई पक्रेर ल्याएका रहेछन् । उनीहरू प्रसवनीका काठ तस्कर थिए । काठ तस्कर र वनपालेहरूले मेरो बाबालाई बोलाएर त्यहाँ लगे । त्यहाँ के भयो मलाई थाहा छैन । केहीबेरमा उनीहरू हाम्रोे घर आए र ठूलो कुखुरा लिएर गए । बाबाले उनीहरूलाई भाले कुखुरा दिनुभयो । त्यसपछि राति खाना खाएर बाबामम्मी जस्ताको घर भएको कोठामा सुत्न जानुभयो । हामी तीनैजना दाजुभाई पल्लोे कोठामा सुतेका थियौं । राति करिब ११/१२ बजे तिर ११ जना आए । उनीहरूले कुट्न थालेपछि बाबामम्मी रुनुभयो । हामीले झ्यालबाट हेर्दा उनीहरूले मम्मीको घाँटी बाँध्दै थिए । मम्मीको टाउको यतातिर बाँध्दै थिए । बाबाको सीधै बाँध्दै थिए । बाँधेपछि कुटेको कुट्यै गरेे, अनि रुनुभयो, अनि जानुभयो । हामीलाई पनि कसैलाई केही भन्यो भने बाबामम्मीजस्तै माछांैर्ं भनेर गए ।
|