Saturday, May 25, 2013

थारो भैंसी पगार्ने अर्थहीन खेल पीडीएफ मुद्रण इमेल

दिल साहनी

कहिलेकाहीँ लैनो भैंसीले पनि दूध दिन्न र गोठालाले दूध पगार्न निकै धामा गर्नुपर्छ, यो एउटा कुरा भयो । बकेर्नाे भैंसीले थाक्ने वेलामा दूध दिन्न, दूध सुक्न थाल्छ । त्यतिवेला पनि गोठालाले दूध पगार्न धामा किन गर्छन् भने कुनैकुनै भैंसीले त ब्याउने वेलासम्म दूध दिन्छन् । यतिवेला हाम्रा राष्ट्रपतिको काम लैनो होइन, बकेर्नाे भैंसी पगार्न निकै धामा गर्नुपर्ने भएको छ । नयाँ प्रधानमन्त्रीका निम्ति सहमतिको साझा उम्मेदवार खोज्नु थाक्न थालेको बकेर्नो भैंसी पगार्न खोजेजस्तै हो । अझ यो त थारो भैंसी नै पगार्न खोज्नु जस्तो अर्थहीन खेल हो । उनले कैयौँपटक दलहरूलाई सहमतिको सरकार बनाउन म्याद दिए पनि त्यो हात लाग्यो शून्यमा परिणत भयो । फेरि पनि बकेर्नाे होइन, थारो भैंसीले पनि कतै दूध पगार्छ कि भने जस्तै गरी उनले सातौँपटक सहमतिको सरकारका लागि म्याद थपेका छन् । निश्चित छ, यसपल्टको म्याद थपले पनि कुनै काम गर्नेछैन । उनको म्याद थपाइ डेट एक्सपायर्ड औषधिजस्तै हुनेछ । यसकारण कि यसका लागि दुई पक्षले एक इन्चजति भए पनि आ-आफ्ना अडानबाट पछि हटेर मिलनको मध्यबिन्दु खोज्नुपर्छ । त्यस्तो सम्भावना देखिन्न, छैन । सत्तापक्ष आफ्नो अडानबाट एक इन्च पनि डग्नेवाला छैन । प्रतिपक्ष पनि आफ्नो अडानबाट एक रौँ पनि नडग्ने मनस्थितिमा पुगेको देखिन्छ । यसले गर्दा आज मुलुक अनिर्णयको बन्दी हुन पुगेको छ, अन्योल र अस्थिरताको सिकार बनेको छ ।
डा. बाबुराम भट्टराईको सरकारको नाडी छाम्दा उसले सत्ता छोड्न खोजेजस्तो चाहिँ देखिन्छ । तर, सत्ता छोड्नका लागि उसले सम्मानजनक बाटो खोजिरहेको छ । सम्मानजनक बाटो मात्र होइन, प्रतिपक्षले सत्तामा बिराजमान भएपछि पूर्वनिर्धारित बाटो र समयतालिकाअनुसार चल्ने कुराको ग्यारेन्टी गरोस् भन्ने पनि सरकार चाहन्छ । तर, प्रतिपक्षविना विनासर्त सत्ता हस्तान्तरण होस् भन्ने चाहन्छ । ऊ सत्तापक्षले तेस्र्याएको कुनै सर्त स्वीकार गर्न तयार छैन । कुनै कुरा सुन्न तयार छैन । उसले एकसूत्रीय मागका रूपमा भट्टराई सरकारको बहिर्गमन चाहेको छ । अझ यथार्थ कुरा गर्ने हो भने उसले अपमानजनक रूपमा भट्टराई सरकारको बहिर्गमन चाहेको छ । समस्याको चुरो यही हो ।
एकातिर दल तोकिएको सीमा साँधभित्र सहमतिको सरकार बनाउने बिन्दुसम्म पुग्न सकेका छैनन् भने अर्कातिर राष्ट्रपतिको सहमतिको सरकार बनाउने उर्दीको कुनै कदर हुन सकेको छैन । यसले गर्दा स्वयं दलहरू मात्र होइन, राष्ट्रपति पनि आ-आफ्नो लक्ष्यमा असफल भएको आभास हुन थालेको छ । राष्ट्रपतिले यसरी सहमतिको सरकार बनाउनका लागि मिति तोक्ने जस्तो जोखिमपूर्ण कार्यमा हात हाल्नुभन्दा दलहरूलाई छिटोछिटो सहमतिको सरकार बनाउन दबाब दिएको भए त्यसले उनलाई आफ्नो प्रतिष्ठा बचाउन सहयोग गथ्र्यो । वास्तवमा राष्ट्रपतिले सरकारविरुद्ध कुनै कदम चाल्न सक्ने अवस्था नभएको हुँदा उनले दलहरू सहमतिमा पुग्न नसके यसरी नै सहमतिका लागि म्याद थप्नेबाहेक अरू केही गर्न सक्दैनन् । अन्तरिम संविधानअनुसार राष्ट्रपति सरकारको सल्लाहअनुसार नै चल्नुपर्ने बाध्यता छ । उनी कार्यकारी होइन, आलंकारिक राष्ट्रपति हुन् । तथापि मुलुकको गतिरोध हटाउन उनले दलहरूसित विचार विमर्श गर्ने वा उनीहरूको सल्लाहबमोजिम चल्नुपर्ने अवस्था भएको स्थितिमा उनीहरूका कुरा सुन्नु ठीकै हो । सरकारमा रहेका र प्रतिपक्षमा भएका दलबीच सहमति हुन्छ भने राष्ट्रपतिले त्यसलाई कर्यान्वयन गर्न यथोचित कदम चाल्न सक्छन् । त्यसमा सरकारको पनि सहमति हुनसक्ने हुँदा दलहरूको सहमतिअनुसार चल्दा राष्ट्रपतिलाई धेरै गाल नआउन सक्छ । यति भएर पनि मुलुकको वर्तमान अवस्थामा राष्ट्रपति दलहरूको सल्लाहमा भन्दा पनि सरकारको सल्लाहमा चल्नु उनको संवैधानिक दायित्व हुन पुग्छ ।
केही दल यतिवेला आलंकारिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपति बनाउने धृष्टता गर्दै छन् । निरंकुश राष्ट्रपति बनाउन खोज्दै छन् । उनीहरू चाहन्छन्, राष्ट्रपतिले डा. बाबुराम नेतृत्वको सरकारलाई सिंहदरबारबाट टिपेर सडकमा फालिदिऊन्, मिल्काइदिऊन् । उनले बाबुराम नेतृत्वको सरकारलाई बर्खास्त गरिदिऊन्, खारेज गरिदिऊन् । बाबुरामको सट्टा कुनै साधुरामलाई प्रधानमन्त्रीको टीको लगाइदिऊन् । यसरी दलहरूलाई विनाकुनै झन्झट आरामसित सत्ताको कुर्सीमा बिराजमान हुन मद्दत मिलोस् । दलहरूले जति राष्ट्रपतिलाई यस कामका लागि उक्साए पनि उनी त्यस हदसम्म पुगेका छैनन् । यसैले मुलुक भिडन्तको बाटोमा उत्रेको छैन । मुलुक ठूलो दुर्घटनाबाट बचेको छ, जोगिएको छ । दलहरूको उक्साहटमा लागेको भए मुलुक अनावश्यक मुठभेडमा जान्थ्यो । मुठभेड कसैको पनि हितमा हुने कुरो थिएन । यदि कसैको हितमा हुन्थ्यो भने यस मुलुकलाई असफल राष्ट्र बनेको हेर्न चाहने देशी विदेशी प्रतिक्रियावादीका हितमा हुन्थ्यो ।
मुलुकका अगाडि वर्तमान समस्याको जटिलता सल्टाउन केवल तीनवटा सरल बाटा बाँकी छन् । पहिलो बाटो हो, बाबुराम नेतृत्वको सरकारलाई निर्वाचन गराउने मौका वा अवसर दिने । चुनावमा जान जुनजुन गौँडाले बाटो छेकेका छन्, तिनलाई खोलिदिने । दोस्रो बाटो हो, दलबीच सहमतिको सरकार बनाउनका लागि प्याकेजमै सहमति गर्ने र बाबुराम सरकारलाई सम्मानजनक ढंगले बिदाइ दिने । यदि दलबीच यस कुरामा पनि सहमति हुँदैन भने कुनै एउटा सानो दलको नेता वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतिको सरकार बनाउने र निर्वाचन प्रक्रियालाई तीव्रता दिने । मुलुकलाई सम्भावित भिडन्तबाट जोगाउने यी तीनबाहेक अर्को कुनै बाटो छैन ।
मुलुकलाई वर्तमान संकटबाट पार लगाउने काम दलहरूकै जिम्माको कुरा हो । राष्ट्रपतिको भूमिका त मध्यस्थकर्ताको जस्तो मात्र हुने हो । यदि कसैले राष्ट्रपतिबाट वर्तमान समस्याको हल निस्किन्छ भन्ने कुरा सोचेको छ भने त्यो उसको महाभूल साबित हुनेछ । राष्ट्रपतिले त नहिँड्ने बहरको पुच्छरसम्म निमोठ्न सक्छन् । फलानो गोरुले हलो जोतेन भनेर अर्कै हलगोरु ल्याएर नार्न सक्दैनन् । खेत जोतिरहेको हल गोरु फुकाएर जबर्जस्ती अर्को हल गोरु नार्न खोजियो भने त्यसले मुलुकमा अनर्थ ल्याउन सक्छ ।
अहिलेसम्म दलहरू कुर्सीकेन्दि्रत राजनीतिमा टुप्पीदेखि पाउसम्म मुछिएका छन् । उनीहरूको अर्जुनदृष्टि सत्तामै केन्दि्रत छ । प्रधानमन्त्रीकै कुर्सीमा केन्दि्रत छ । कुर्सीका लागि हानथाप गर्दागर्दै दलहरूले चार वर्षसम्म संविधानलाई कोरल्न थाल्दा एउटै बच्चा निकाल्न सकेनन् । यसैले ६०१ सांसदले विनाकुनै उपलब्धि खालि हात घर फर्किनु पर्‍यो । इतिहासको यति ठूलो गम्भीर गल्तीबाट पनि दलहरूले कुनै पाठ सिकेका छैनन्, कुनै शिक्षा लिने कष्ट गरेका छैनन् । यसैले जनतामा दलहरूप्रति वितृष्णा जाग्न गएको छ, अनास्था जाग्न थालेको छ । मुलुकका वर्तमान दलहरूको विकल्पमा कुनै एउटा सशक्त दलको वा कुनै एउटा सशक्त नेताको जन्म नभएरै होला अहिलेका कुर्सीकेन्दि्रत राजनीति गर्ने दलहरू वा तिनका नेता लाटा देशका गाँडा तन्नेरीजस्ता भएका छन् । यदि मुलुकमा कुनै सशक्त पार्टी वा नेताको जन्म हुन्छ भने अहिलेका कुर्सीकेन्दि्रत राजनीतिको फोहोरी खेलमा शिरदेखि पाउसम्म चुर्लुम्म डुबेका दल तथा तिनका नेता किनार लाग्न बाध्य हुनेछन् । वास्तवमा यतिवेला मुलुकले असल पार्टी र असल नेताको माग गरिरहेको छ । जबसम्म मुलुकले सही नेतृत्व पाउँदैन, कामचलाउ नेतृत्वबाटै आफ्नो काम चलाउन परेको छ ।

 

Comments   

 
0 #1 Akal Man Gurung 2013-01-02 19:23
Maya/Prem: Sansar ko DESH haru 'dosro biswoo uddha' pachi unnati ra bikash garna lage. Uniharu sangha Rastraprem ra Samajprem thiyo. Prajatantra pachi Loktantra, Ganatantra je bhanepani khai ta Nepaltantra!
Quote
 

Add comment


Security code
Refresh