|
एजेन्सी नयाँदिल्ली, १७ पुस सामूहिक बलात्कारपछि उपचारको क्रममा मृत्यु भएकी छात्राका आफन्त तथा परिवारले बलात्कारीलाई झुन्ड्याएर मृत्युदण्ड दिन माग गरेका छन् । उनीहरूले ती बलात्कारीलाई झुन्ड्याएर नमार्दासम्म आफूहरू कुनै पनि हालतमा सरकारको कुरा नमान्ने र त्यसका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने धम्की दिएका छन् । बलात्कारीलाई नयाँदिल्लीको तिहाड जेलमा लगिएको छ । गत १६ डिसेम्बरमा नयाँ दिल्लीमा एक सार्वजनिक बसमा बलात्कारमा परेकी दामिनीको गत शनिबार निधन भएको थियो । उपचारका लागि उनलाई सिंगापुर लगिएको थियो र उपचारकै क्रममा उनको निधन भयो । भारतीय सत्तारूढ कंग्रेसले बारम्बार हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न माग गरिरहेको छ । साथै, बसका सामूहिक बलात्कारीलाई तत्काल नयाँ कानुनी व्यवस्था लागू गरी कारबाही गरिनुपर्ने विपक्षी दलले सरकारसँग माग राखेको छन् । भारतको कानुनमा बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने चलन छैन । यस विषयमा अहिलेसम्म कसैले केही बोलेका छैनन् । भारतीय प्रहरीले आफ्नो अनुसन्धान जारी नै राखेको छ । पछिल्लो आठ वर्षमा अदालतले मुम्बई आक्रमणका आरोपी मोहम्मद अजमल कसाबलाई मात्र मृत्युदण्ड दिएको थियो । यसैबीच भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले अवकाशप्राप्त मुख्य न्यायाधीश जेएस बर्मालाई 'सेक्स क्राइम' को अनुसन्धान गर्न निर्देशन दिएको भारतीय मिडियाले जनाएका छन् । तीन दशकभन्दा लामो समय न्याय क्षेत्रमा बिताएका पूर्वन्यायाधीश बर्मा सेक्स क्राइम विभागका विशेषज्ञ मानिन्छन् । मृतक छात्राका दाजुले भने सरकार र बलात्कार गर्नेविरुद्ध लडाइँ सुरु भएको बताएका छन् । 'हाम्रो लडाइँ बल्ल सुरु भएको छ, यदि सरकारले ती बलात्कारीलाई मृत्युदण्ड दिँदैन र बलात्कार गर्नेविरुद्ध मृत्युदण्डको कानुन बनाउँदैन, त्यति वेलासम्म लडाइँ जारी नै रहन्छ,' दामिनीका दाजुले भने । उनका अनुसार बहिनीको आउँदो फेब्रुअरीमा एक सफ्टवेयर इन्जिनियरसँग विवाह हुने थियो । यसैबीच मंगलबार पनि भारतका विभिन्न सहरमा विश्वविद्यालयका चार सय विद्यार्थी जम्मा भएर बलात्कारीलाई कडा कारबाही स्वरूप मृत्युदण्ड नै दिनुपर्ने माग राख्दै आफ्नो आन्दोलनलाई तीव्र पारेका छन् । सडक आन्दोलन केही मत्थर भए पनि आन्दोलनकारीले भने आफ्नो अभियानको उपलब्धिपछि मात्र आन्दोलन रोकिने बताएका छन् । सरकारले ती बलात्कारीलाई मृत्युदण्डको सजाय नसुनाउँदासम्म संघर्षका कार्यक्रम नरोकिने एक आन्दोलनकारी बताए । 'सरकारको सुरक्षा व्यवस्था कडा नभएसम्म र बलात्कारलाई मृत्युदण्ड नदिँदासम्म आन्दोलन रोकिनेछैन,' आन्दोलनमा सहभागी एक विद्यार्थीले भने । प्रहरीले भने कडाभन्दा कडा कारबाहीका लागि सहयोग पुग्ने गरी अनुसन्धान गरिरहेको जनाएको छ । तर, प्रहरीले बलात्कारलाई कस्तो कारबाही हुन्छ भन्ने प्रश्नमा केही बताएनन् । नयाँदिल्ली प्रहरी प्रवक्ता राजन भगतले भने, 'मृत्युदण्ड दिने वा नदिने भन्ने विषयमा चर्को बहस भइरहेको छ, कानुनमा बलात्कारमाथि मृत्युदण्डको बुँदा उल्लेख नहुँदा समस्या आएको हो ।' प्रहरी प्रवक्ता भगतले कानुनमा उल्लेख भएअनुसार नै ६ बलात्कारीलाई सजाय हुने बताएका छन् । कंग्रेसले ६ आरोपीलाई तत्कालै कारबाहीको प्रक्रिया सुरु गर्न पुनः मंगलबार सरकारसँग माग राखेको छ । 'नयाँदिल्ली बलात्कार सहरका रूपमा विकास भइरहेको छ, यस सहरमा महिला असुरक्षित छन्, सबै क्षेत्रबाट नयाँदिल्लीको रक्षा गरिनुपर्छ,' कंग्रेसले विज्ञप्ति जारी गर्दै भन्यो । यसैबीच, मृतक छात्राका बुबा र आमा बारम्बार छोरीको सम्झनामा डुब्ने गरेको भारतीय मिडियाले जनाएका छन् । छात्राकी आमाले दुई सातायता केही नखाएको उल्लेख छ । 'छोरीको निधनपछि आमाले दुई सातादेखि केही खाएकी छैनन्,' दामिनीका बुबाले भनेे, 'मेरी श्रीमती अहिलेसम्म स्तब्ध छिन्, छोरीको बलात्कार र मृत्युपछि उनी अचेतजस्तै छिन् ।' छोरीको सम्झनाका लागि लुगा तथा किताब आफूले सजाएर राखेको उनले बताए । 'तपाईंहरू मेरो घरमा आएर हेर्न सक्नुहुन्छ, छोरीका सबै सामान जस्ताको तस्तै छन्, हामीले अहिलेसम्म केही चलाएका छैनौँ, बेडमा किताब र लुगा छरिएका छन्,' बाबुले भने । यसै घटनाका कारण भारतका केही सहरमा नयाँ वर्ष सन् २०१३ कार्यक्रमसमेत मनाइएन । आफ्नो साथीको मृत्युपछि विक्षिप्त भएका मेडिकल विद्यार्थीले पनि नयाँ वर्ष मनाएनन् । सो घटनाका कारण भारतका धेरैजसो सहरमा राम्ररी नयाँ वर्ष नमनाइएको एजेन्सीले जनाएका छन् । भारतीय सैनिकले पनि नयाँ वर्षको कार्यक्रम आयोजना गरेनन् । भारतीय राष्ट्रिय सेनाले हाल ती छात्राको निधनका कारण मुलुक नै ठूलो शोकमा रहेकाले यस वर्ष नयाँ वर्षको विशेष कार्यक्रम नमनाउने उल्लेख गरेको छ । 'रक्षा मन्त्रालयले सो कार्यक्रम नमनाउने भनेको छ, त्यसैले कुनै नयाँ कार्यक्रम हुनेछैन,' एकजना सैनिक अधिकरीले भने ।
|