Tuesday, May 21, 2013

नेपाल पुनः कालोसूचीमा पर्ने खतरा पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, १७ पुस
सरकारले सम्पत्ति
शुद्धीकरण निवारणका लागि आवश्यक  कानुन निर्माण गर्न नसक्दा नेपाल पुनः कालोसूचीमा पर्ने खतरा देखिएको छ ।
फाइनान्सियल एक्सन टाक्स फोर्स -एफएटिएफ)को आगामी जनवरी १७ देखि हङकङमा हुने फेस टु फेस मिटिङमा नेपालले विगतमा सम्पत्ति शुद्धीकरण निवारणका लागि गरेको प्रतिबद्धताको समीक्षा हुनेछ ।
नेपालले एएफएटिएफको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, ०६४ लाई संशोधन तथा संगठित अपराध नियन्त्रण गर्ने विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको थियो ।
सरकारले सम्पत्ति शुद्धीकरणका लागि आवश्यक कानुन पारित गर्न नसक्दा नेपाल पुनः कालोसूचीमा पर्ने खतरा बढेको राष्ट्र बैंक वित्तीय सूचना इकाइका प्रमुख धर्मराज सापकोटाले बताए । 'हामी आफैँले प्रतिबद्धता गरेका कानुन निर्माण गर्न सकेनौँ,' उनले भने, 'यसबाट  अन्तर्राष्ट्रिय जगतमा नेपालको शाख कमजोर भएको छ, केही भन्ने अवस्था छैन ।'
नेपालले संगठित अपराधविरुद्धको महासन्धि अनुमोदन गरिसकेको छ । महासन्धिअनुरूप कानुन बनाउने भनी नेपालले २ वर्षअगाडि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता जनाएको थियो ।
नेपालले १६ दिनभित्र प्रतिबद्धता गरेअनुसार सम्पत्ती शुद्धीकरणको कानुन पास नगरे कालोसूचीमा पर्नेछ । कालोसूचीमा परिसकेपछि नेपाली बैंकले खोलेको प्रतीतपत्र -एलसी) विदेशी बैंकले स्वीकार नगर्न सक्छन् । त्यस्तै, विदेशबाट नेपालले पाउने नगद सहायता तथा ऋणमा पनि रोक लाग्न सक्छ ।
नेपालले सम्पत्ति
शुद्धीकरण निवारणका लागि आपसी कानुनी सहयोग ऐन तथा सुपुदर्गी ऐन  बनाइसकेको छ । सरकारले अध्यादेशमार्फत २ विधेयक ल्याएको थियो ।

अर्थका अधिकारीको लबिङ

अर्थ मन्त्रालयका अधिकारीले संगठित अपराध नियन्त्रण गर्ने विधेयक अध्यादेशबाट ल्याउन  सम्बन्धित ठाउँमा लबिङ प्रक्रिया अगाडि बढाएका छन् । कानुन नबन्दा नेपाल कालोसूचीमा पर्ने स्थिति देखिएकाले सबैले विधेयकको महत्त्वलाई सकारात्मक रूपमा लिने अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालको भनाइ छ । 'अर्थ मन्त्रालयले मुलुकलाई  कालोसूचीमा पर्नबाट रोक्न चाहिने कानुन निर्माण गरिसकेको छ,' उनले भने, 'राजनीतिक नेतृत्व यसबारे सकारात्मक भए कालोसूचीमा पर्दैन ।'
संगठित अपराध नियन्त्रण विधेयक विगतमा तयार भइसकेको थियो । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण निवारण ऐन, ०६४ संशोधन सकिएको जानकारी दिएको छ ।
संसद् नभएकाले सरकारले ती कानुन अध्यादेशमार्फत ल्याउनुपर्छ । त्यस्तै, धितोपत्र बोर्ड र बिमा समितिले पनि सम्पत्ति शुद्धीकरण निवारणका लागि केही निर्देशन दिनुपर्छ । एकीकृत नेकपा माओवादी विभाजन हुनुअघि मोहन वैद्य पक्षको विरोधका कारण संगठित अपराध नियन्त्रण विधेयक पारित भएको थिएन ।

 

Add comment


Security code
Refresh