|
लन्डन/ म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोबिन भानपर्सीलाई क्लबमा भित्र्याउन नपाउँदा पछुतो लागेको पि्रमियर लिग विजेता म्यानचेस्टर सिटीका म्यानेजर रोबर्टो मान्सिनीले खुलासा गरेका छन् । युनाइटेडले भानपर्सीलाई आर्सनलबाट ल्याउँदा दुई करोड ४० लाख पाउन्ड खर्चेको थियो । युनाइटेडको बराबर पैसा खर्च गर्न नसक्दा क्लबले उत्कृष्ट स्ट्राइकर गुमाएको मान्सिनीले बताएका छन् । गत अगस्तमा युनाइटेडसँग अनुबन्धित भानपर्सीले २० खेलमा १४ गोल गरिसकेका छन् । भानपर्सीकै कारण उपाधि होडमा युनाइटेड बलियो हुँदै गएको तर्क सिटीका प्रशिक्षकसमेत रहेका मान्सिनीले गरेका छन् । डच स्ट्राइकरलाई अनुबन्ध गरेको भए, उपाधिको होडमा सिटी निकै बलियो हुने उनको दाबी छ । 'भानपर्सीको उपस्थितले युनाइटेड उत्कृष्ट लयमा छ, सिटी र युनाइटेडबीच भानपर्सी मात्र फरक देखिन्छन्,' उनले भने, 'भानपर्सीले चालू लिगमा १४ गोल गर्दै आफ्नो उपस्थितिको महत्त्वपूर्ण देखाइसकेका छन्, शीर्ष स्थानमा सात अंकको फरक हुनुको कारण पनि डच स्ट्राइकर नै हुन् ।' भानपर्सीलाई युनाइटेडले किन्नुअघि आर्सनलसँग राम्रो वातावरण बनाएको मान्सिनीले बताए । 'त्यसवेला हामीलाई पूर्ण विश्वास थियो, भानपर्सी सिटीमै आउनेछन् तर युनाइटेड हामीभन्दा एक कदमअघि रह्यो,' मान्सिनीले भने । सिटीमा उपलब्ध स्ट्राइकरका तुलनामा भानपर्सी धेरै फरक रहेको उनको भनाइ छ । 'मसँग रहेका स्ट्राइकर र भानपर्सीबीच तुलना गर्दा धेरै फरक देखिन्छन्, डच स्ट्राइकर टिम स्परिटमा प्रतिस्पर्धा गर्छन्, प्रत्येक खेलाडीसँग मिलेर खेल्छन्,' उनले भने, 'एक इमानदार स्ट्राइकर भएकाले भानपर्सीलाई युनाइटेडका अन्य खेलाडीले गोल गर्न सहयोग गरिरहेका छन् ।' खेलाडी ट्रान्सफोर विन्डोमा आर्सनललाई बढी पैसा प्रस्ताव राख्न नसक्दा भानपर्सीलाई गुमाएकोे प्रश्नमा मान्सिनीले भने, 'यहाँ पैसाको केही खेल भएन, सिटी पनि युनाइटेड बराबरको क्लब हो युनाइटेडभन्दा बढी पैसा तिर्न तयार थियो, तर खेलाडीको इच्छा कहाँ भन्ने बुझ्नुपर्छ, भानपर्सीको चाहना सिटीभन्दा पनि युनाइटेड थियो ।' भानपर्सी र वाइनी रुनीले पि्रमियरसिपमा ५० गोल गरिसकेका छन् । सिटीको तुलनामा युनाइटेडले १२ बढी गोल गरेको छ । गत वर्षको सत्रमा 'बक्सिङ डे'मा सिटी लिगको शीर्ष स्थानमा रहँदा २० खेलमा ५६ गोल गरेको थियो । यसैबीच, मुख्य स्ट्राइकरद्वय कार्लोस टेभेज तथा मारियो बालोटेली उत्कृष्ट र्फममा नहँुदा सिटी प्रशिक्षक मान्सिनी चिन्तित देखिन्छन् । सर्जियो अगुरेयोका एकल प्रदर्शनमा सिटीले उपाधि रक्षा गर्न गाह्रो हुने उनले बताए । 'गत सिजनमा मेरा मुख्य स्ट्राइकरले उत्कृष्ट प्रदर्शन गरेका थिए, उनीहरूले धेरै गोल गरे,' उनले भने, 'यसपटक आशा गरेअनुसार दुई मुख्य स्ट्राइकर चल्न सकेका छैनन् ।'
|