|
नयाँ पत्रिका काठमाडौं, १७ पुस मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक रेडबुल 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा मंगलबार १०औँ चरणको अन्तिम खेलमा मच्छिन्द्रले संकटा क्लबलाई २-० ले पराजित गर्दै पुनः दोस्रो स्थानमा उक्लिएको हो । मच्छिन्द्रले १० खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानको थ्री स्टारसँगको दुई अंकको दूरी राखेको छ । मच्छिन्द्रको जितसँगै मनाङमस्र्याङ्दी तेस्रो स्थानमा झरेको छ । मच्छिन्द्रले मनाङसँग दुई अंकको दूरी राख्यो । थ्री स्टार २५ अंकका साथ लिगको शीर्ष स्थानमा छ । मनाङको २१ अंक छ । मच्छिन्द्रले संकटाविरुद्ध पहिलो हाफमा आफ्नो लयलाई समात्न सकेन । दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्दै संकटामाथि हाबी भयो । मच्छिन्द्रले खेलको दुवै हाफमा एक/एक गोल गर्यो । मच्छिन्द्रले पहिलो हाफको अतिरिक्त समयमा अग्रता लिएको थियो । खेलको ४५औँ मिनेटमा कर्ण लिम्बूले विशाल राई 'बी'को चलाखीपूर्ण पासमा मच्छिन्द्रलाई १-० को अग्रता दिलाए । सिक्स यार्ड बक्सबाट कर्णले गरेको प्रहारलाई संकटाका गोलरक्षक पिइरे हिइर्भले सही डाइभ गरे पनि रोक्न सकेनन् । पहिलो हाफमा १-० को अग्रता लिएको मच्छिन्द्रले दोस्रो हाफ सुरु भएलगत्तै अर्काे गोल थप्यो । मच्छिन्द्रका लागि दोस्रो गोल विशाल राई 'ए'ले गरे । खेलको ४८औँ मिनेटमा डिबक्सनजिकबाट कप्तान दीपक राईले क्रस गरेको बललाई सदुपयोग गर्दै विशाल 'ए'ले गोल गरेका थिए । त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल मच्छिन्द्रले २-० ले जित्यो । मच्छिन्द्रले दोस्रो हाफको खेलमा आक्रामक खेल खेले पनि गोल अवसर सदुपयोग गर्न सकेन । दोस्रो हाफको अन्त्यतिर कर्णको पासमा विशाल 'बी'ले खाली पोस्टमा गोल गर्न सकेनन् । गोलरक्षक र डिफेन्डरसमेत बिट भइसकेको अवस्थामा विशाल 'बी'ले गोल लाइनको बललाई जाली चुमाउन सकेनन् । कर्णको अर्काे हेडिङ प्रहारलाई संकटाका डिफेन्डरले गोलपोस्टभित्रबाट हेडिङ गर्दै बाहिर पठाइदिएका थिए । पहिलो हाफको सुरुवात र दोस्रो हाफको अन्त्यतिर केही गोल अवसर सिर्जना गरेको संकटाले पनि अवसर सदुपयोग गर्न नसक्दा महत्त्वपूर्ण तीन अंक गुमाउन पुग्यो । खेलपछि संकटा प्रशिक्षक महेश्वर मुल्मीले खेलाडीले राम्रो खेले पनि अवसर सदुपयोग गर्न नसक्दा तीन अंक गुमाएको प्रतिक्रिया दिए । मुल्मीले भने, 'खेल दुवैको ५०-५० हो, हाम्रा खेलाडीले पनि रामै खेले, अवसर सदुपयोग गर्न सकेनन्, त्यसैले तीन अंक गुम्यो ।' मच्छिन्द्रका प्रशिक्षक राजुकाजी शाक्यले अझै शीर्ष स्थानमा पुग्ने अवसर रहेको बताए । शाक्यले भने, 'अब तुलनात्मक रूपमा कमजोर टोलीसँगको खेल बाँकी छ, हामीले पहिलेकै जस्तो खेल खेल्यौँ भने, अझै पनि शीर्ष स्थान पुग्ने अवसर देखेको छु ।' प्रशिक्षक शाक्यले संकटाविरुद्ध मच्छिन्द्रले पहिलो हाफमा आफ्नो लयमा खेल्न नसकेको पनि स्वीकार गरे । 'पहिलो हाफमा त्यति तालमेल मिलेको जस्तो देखिएन, त्यसैले उनीहरू हाबी भएका थिए, तर दोस्रो हाफमा खेलाडीहरूले राम्रो खेले,' उनले भने ।
मध्यपुरलाई रेलिगेसनको खतरा
दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसनमाथि २-० अन्तरमा जित हात पार्दै सरस्वती युथ क्लब लिग अंक तालिकाको ११औँ स्थानमा उक्लिएको छ । सरस्वतीको जितमा अपि|mकन मूलका स्ट्राइकर योना इलिआसले निणर्ायक भूमिका निर्वाह गरे । सरस्वतीको दुवै गोल इलिआसले गरे । पहिलो गोल खेलको २८औँ मिनेटमा गरेका थिए । इलिआसले दोस्रो गोल खेलको ४०औँ मिनेटमा गरेका थिए । जितपछि कुल १० खेलबाट ११ अंक जोड्दै सरस्वती दुई स्थान बढुवा हँुदै ११औँ स्थानमा उक्लिएको छ । हारपछि १० खेलबाट सात अंकमै सीमित रहेको मध्यपुर लिगको १४औँ अर्थात् रेलिगेसन जोनमा छ । खेलपछि मध्यपुरका प्रशिक्षक उपेन्द्रमान सिंहले रेलिगेसनबाट बच्न मुस्किल रहेको बताए । उनले झिनो सम्भावना मात्रै रहेको बताए । उनले भने, 'सायद विभागीय टोलीबाहेक अन्य कुनै पनि टोलीले हाम्रो जतिको तयारी गरेका थिएनन्, हामीले दसैँ-तिहारको समयमा समेत खेलाडीलाई बिदा नदिई ट्रेनिङ गर्यौँ, तर खेलाडीले खेल्न सकेनन्, अब रेलिगेसनबाट बच्न मुस्किल छ ।' उनले अन्तिमसम्म रेलिगेसनबाट बच्ने प्रयास गर्ने बताए । 'लिगमा अझै पाँच खेल खेल्न बाँकी छ, त्यसमा तीन खेल जित्न सके रेलिगेसनबाट बच्ने सम्भावना रहन्छ, सास रहुन्जेल आश भनेजस्तै, अझै रेलिगेसनबाट बच्ने प्रयास गर्नेछाँै,' उनले भने ।
|