|
उत्तम पोख्रेल/नयाँ पत्रिका तेह्रथुम, १७ पुस ओखलढुंगा प्रराच्य-२ का तेजबहादुर कार्की हि्वल चियरबाट तीन देश र ७२ जिल्लाको भ्रमण सकेर मंगलबार म्याङलुङ बजार आइपुगेका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयबाट ४ जेठ ०६५ मा यात्रा सुरु गरेका कार्की आठ वर्षपछि म्याङलुङ आइपुगेका हुन् । उनले नेपालको ७५ जिल्लाकै भ्रमण गर्ने बताए । भोजपुर, संखुवासभा र ताप्लेजुङको भ्रमण गर्न बाँकी रहेको उनले बताए । यसअघि उनले भारत, भुटान र बंगलादेशको भ्रमण गरिसकेका छन् । नेपालका बाँकी तीन जिल्लाको भ्रमण सकेर सार्क मुलुकको भ्रमण गर्ने उनले बताए । म्याङलुङको यात्रा सकेर बुधबार उनी भोजपुर प्रस्थान गर्दै छन् । उनी मकालु बसका ड्राइभर थिए । २३ माघ ०५८ मा धादिङको कृष्णभिरमा बस दुर्घटना भएपछि उनी अपांग भएका हुन् । सय मिटर तल त्रिशूलि नदीमा बस खसेपछि उनले दुईवटै खुट्टा गुमाएका थिए । देशमा शान्ति, सहमतीय सरकार, अपांग भएका व्यक्तिलाई पनि सांगलाई जस्तो व्यवहार होस् भनेर यात्रा गरेको उनले बताए । कार्कीले भने, 'झैझगडा नहोस्, देशमा शान्ति र सहमति होस् भनेर यात्रा गरेको हुँ, बुद्धको देश हो भन्ने चिनाउने उद्देश्य पनि छ ।' उनलाई यात्रामा १० जनाको टोलीले सहयोग गरिरहेको छ । उनको टोलीमा सबै देशको भाषा जान्ने सहभागी छन् । पूर्ण रूपमा अशक्त देखिने कार्कीलाई बाहिर-भित्र गर्नसमेत समस्या हुने गरेको छ । यात्रा गर्दा आर्थिक अभाव भएको उनले बताए । पत्रकार महासंघ सुर्खेत शाखाले उनलाई यात्राका लागि एक लाख ६८ हजार रकम संकलन गरेर सहयोग गरेको थियो । अन्य जिल्लाबाट समेत सहयोग भएको उनले बताए ।
|