|
वीरबहादुर गिरी/नयाँ पत्रिका जाजरकोट, १७ पुस सदरमुकाम खलंगामा सामुदायिक तथा सरकारी वन अतिक्रमण गरी बनाएका घरटहरा जिल्ला वन कार्यालयले मंगलबारबाट भत्काउन सुरु गरेको छ । सदरमुकाममा लगातार वन अतिक्रमण गरेर घरटहरा निर्माण गर्ने क्रम बढेपछि कार्यालयले भत्काउन सुरु गरेको जनाएको छ । कार्यालयका अनुसार सदरमुकाम खलंगामा एक सय ६० जनाले सरकारी तथा सामुदायिक वन अतिक्रमण गरी घरटहरा बनाएका छन् । ३१ जनाले हालै मात्र वन क्षेत्रमा घरटहरा बनाएको निमित्त वनअधिकृत भीमप्रसाद पौडेलको भनाइ छ । प्रहरी प्रशासनको सहयोगमा कार्यालयले पहिलो दिन मंगलबार आधा दर्जन घरटहरा भत्काएको छ । घरटहरा भत्काउने क्रममा अतिक्रमणकारीले प्रतिवाद गर्ने प्रयास गरेका थिए । ठूलो संख्यामा प्रहरी परिचालन गरिएकाले अतिक्रणकारीको प्रयास असफल भएको वन कार्यालयले जनाएको छ । यसअघि नयाँ पत्रिकामा खलंगाको वन क्षेत्र अतिक्रमणबारे सामाचार प्रकाशित भएको थियो । प्रशासनले घरटहरा भत्काउन थालेपछि अतिक्रमणकारीले पत्रकारलाई समेत गालीगलौज र धम्की दिएका थिए । १० दश वर्षदेखि विभिन्न व्यक्तिले सदरमुकामका सरकारी तथा सामुदायिक वन अतिक्रमण गरी घरटहरा बनाएर बसेका छन् । अतिक्रमण रोक्न स्थानीयवासीको दबाब र विभिन्न सञ्चारमाध्यममा सामाचार सार्वजनिक भएपछि कार्यालयले घरटहरा भत्काउन थालेको निमित्त जिल्ला वन अधिकृत पौडेलले बताए । सदरमुकामको तल्लो थाप्ले, ठाँटी, रानागाउँ, शान्तिचौतारालगायतका स्थानमा वन अतिक्रमण गरी दुई सयभन्दा बढी घरटहरा निर्माण गरिएका छन् । अतिक्रमणकारीले सरकारी तथा सार्वजनिक जग्गासमेत कब्जामा लिएका छन् । स्थानीय प्रशासनले समयमा ध्यान नपुर्याउँदा अतिक्रमणकारीको मनोबल बढेको सामुदायिक वन उपभोक्ता समितिको आरोप छ ।
|