Tuesday, Jun 18, 2013< /p>

काभ्रेमा गर्भपतन गराउनेको संख्या बढ्यो पीडीएफ मुद्रण इमेल

राजकुमार गोले/नयाँ पत्रिका
काभ्रे, १७ पुस
काभ्रेमा गर्भपतन गराउनेको संख्या बढेको छ । गर्भपतन गराउने विद्यालय र क्याम्पस पढ्ने अविवाहित किशोरीको संख्यामा समेत वृद्धि भएको छ ।
कानुनी मान्यता पाएसँगै गर्भपतन गराउन आउने विद्यालय र क्याम्पस पढ्ने किशोरीको संख्या ह्वात्तै बढेको नेपाल परिवार नियोजन संघ शाखा कार्यालय काभ्रेले जनाएको छ । काभ्रे शाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् ०१२ मा १५ वर्षदेखि १९ वर्ष उमेरका १७ र २० देखि २४ वर्षसम्मका ५३ जनाले गर्भपतन गराएका छन् । अघिल्लो वर्ष यो संख्या निकै न्यून रहेको कार्यालयको भनाइ छ ।
२५ देखि ६० वर्ष उमेरका महिला भने एक सय ८५ जनाले गर्भपतन गराएका छन् । अघिल्लो वर्षको तुलनामा सन् ०१२ मा गर्भपतन गराउनेको संख्या चार प्रतिशतले बढेको कार्यालयले जनाएको छ ।
सानै उमेरमा असुरक्षित यौनसम्पर्क गर्नेको संख्या बढेका कारण गर्भपतन गराउनेको संख्यामा पनि वृद्धि भएको परिवार नियोजन संघ शाखा प्रमुख विद्याकिशोर सिंहले बताए । उनले भने, 'सानै उमेरमा गर्भपतन गराउनेको संख्या बढेको छ, जसले गर्दा किशोरीहरूको स्वास्थ्य जोखिममा परेको छ ।' उनका अनुसार गर्भपतन गराउन काभ्रेलगायत छिमेकी जिल्लाका विद्यालय तथा क्याम्पसमा पढ्ने विद्यार्थीसमेत परिवार नियोजन जिल्ला शाखा बनेपा र पाँचखालस्थित उपशाखामा आउने गरेका छन् ।
शाखा प्रमुख सिंहले आफूहरूले सेवा मात्र दिने हुनाले गर्भपतन गराउन आउने किशोरीसँग थप जानकारी नमाग्ने गरेको बताए । उनले भने, 'हामी त सेवा दिन बसेका हौँ, उनीहरूले भनेअनुसार गर्ने हो । किन, कसरी र केका लागि भनेर सोध्न मिल्दैन ।' नक्कली नाम र ठेगाना भने पनि रजिस्ट्ररमा त्यही लेख्ने गरेको उनको भनाइ छ ।
तर, १५ वर्षदेखि १९ वर्षसम्मका किशोरीले भने अनिवार्य अभिभाव ल्याउनुपर्ने सिंहले बताए । जिल्ला जनस्वास्थ्य प्रमुख अर्जुनप्रसाद सापकोटाका अनुसार गर्भपतनले कानुनी मान्यता पाएपछि समस्या झन् थपिएको छ । उनले भने, 'गर्भपतन गराउनु सामाजिक अपराध हो । तर, नेपालको कानुनले पछिल्लो समयमा गर्भपतन गराउनु व्यक्तिगत अधिकारको रूपमा व्याख्या गरेपछि यसले भयावह रूप लिने देखिएको छ ।'
कानुनले १२ हप्तासम्मको गर्भपतन गराउन मान्यता दिएको छ । परिवार नियोजन शाखा कार्यालय बनेपाका अनुसार गर्भपतन गराउन मात्र एक हजार दुई सय भए पुग्छ । तर, जिल्लामा अनुमति नपाएका स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेको संख्या पनि धेरै भएकाले जोखिम झन् बढेको सिंहले बताए ।
शिशु तथा प्रसूति विशेषज्ञ डा. सुमनराज ताम्राकारका अनुसार पटक-पटक गर्भपर्तन गराउँदा बाँझोपन देखा पर्नसक्ने सम्भावना अत्यधिक हुन्छ । तर, हाम्रो जस्तो समाजमा यो विषयको जानकारी नहुँदा गर्भपतन गराउनेको संख्या बढेको उनको भनाइ छ । धेरैपटक गर्भपतन गरेका महिलाको बच्चा भए पनि पेटमा साल अड्कने र अत्यधिक रक्तस्राब भई ज्यानसमेत जानसक्ने डा. ताम्राकारले बताए ।
परिवार नियोजन संघ शाखा कार्यालय बनेपाले परिवार नियोजन संघबाट सुरक्षित गर्भपतन गराउने अविवाहित किशोरी तथा विवाहितमा समेत समस्या आए विभिन्न अस्पतालमा उपचार गराइदिने व्यवस्था गरेको बताएको छ ।

 

Add comment


Security code
Refresh