Saturday, May 25, 2013

मुआब्जा चाँडो दिन बागमती प्रभावित किसानको माग पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, १७ पुस
पन्ध्र वर्ष बितिसक्दा पनि जग्गाको मुआब्जा नदिएको भन्दै बागमती नदी प्रभावित किसान आन्दोलनमा उत्रिएका छन् । बागमती नदी संरक्षण र तटबन्ध निर्माणका क्रममा अधिग्रहण गरिएका आफ्ना जग्गाको मुआब्जा दिन ढिलाइ गरेकाले विरोधमा उत्रिएको बागमती आयोजना प्रभावित किसान संघर्ष समितिले जनाएको छ ।
आफ्ना माग तुरुन्तै पूरा हुनुपर्ने भन्दै उनीहरूले गुह्येश्वरीदेखि गोकर्ण खण्डमा भइरहेका भौतिक कामसमेत रोक्न थालेका छन् । मंगलबार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष महेश बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले सात दिनभित्र आफ्ना माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
बागमती नदी संरक्षण गर्न तटबन्ध बनाउने क्रममा करिब एक सय ८८ रोपनी जमिनमा खोला सोझ्याइएको र त्यसको मुआब्जा अहिलेसम्म नदिएको किसानको भनाइ छ । बागमती नदीको चौडाइलाई ३५ तथा ४० मिटर फराकिलो पारेर तटबन्ध बनाउन भन्दै बदनियतपूर्ण रूपमा जग्गा आयोजनाले लिएको उनीहरूको आरोप छ । नदी संरक्षणका क्रममा आयोजनाले सुन्दरीजल-गोकर्ण खण्डमा १० देखि २० मिटर, गुह्येश्वरी-गोकर्ण खण्डमा ३५ देखि ४० मिटर र गुहेश्वरी-शंखमूल खण्डमा २० देखि ३० मिटर बहाव क्षेत्र कायम गर्ने निर्णय गरेको थियो ।
नदी प्रभावित किसान राजनीतिक दलका प्रतिनिधिसहित ज्ञापनपत्र बुझाउन पुगेका थिए । ज्ञापनपत्र बुझ्दै अध्यक्ष बस्नेतले आफू मुआब्जा दिने मामिलामा सकारात्मक रहेकाले सरकारलाई यसबारे छिटै जानकारी गराउने आश्वासन दिएका थिए । प्रधानमन्त्रीको समय मिल्नासाथ आफूले सो विषयमा जानकारी गराउने प्रतिबद्धता जनाएको बस्नेतलाई उद्धृत गर्दै एक किसानले बताए ।
बागमती आयोजनाले हालसम्म चार चरणमा मुआब्जा वितरण गरेको छ । आयोजनाले ०५७ सालमा दुई सय रोपनी, ०६३ मा ६२ रोपनी र कृष्ण केसी आयोजना प्रमुख हुँदा करिब नौ करोड रुपैयाँ मुआब्जाका रूपमा वितरण गरेको थियो । हालका अध्यक्ष बस्नेतले १० रोपनी जग्गाधनीलाई सट्टाभर्ना र नगद मुआब्जा वितरण गरेका छन् ।

 

Add comment


Security code
Refresh