|
भवानीश्वर गौतम/नयाँ पत्रिका काठमाडौं, १७ पुस दोहोरो सुविधा लिनका लागि विद्यार्थी धार्मिक र सामुदायिक दुवै विद्यालयमा भर्ना हुने गरेको पाइएको छ । मदरसा, गुम्बाजस्ता धार्मिक विद्यालयलाई सरकारले मूलधारमा ल्याए पनि दोहोरो सुविधाका लागि विद्यार्थी दुवै विद्यालयमा भर्ना हुने गरेका हुन् । शिक्षा मन्त्रालय स्रोतका अनुसार अधिकांश धार्मिक विद्यालय र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी दोहोरिएका छन् । यसले विद्यालय तहमा विद्यार्थीको संख्या बढाएको छ । पर्साका मदरसामा पढ्ने अधिकांश विद्यार्थी सामुदायिक विद्यालयमा समेत पढिरहेका छन् । मदरसालाई सरकारले मूलधारमा ल्याए पनि मुस्लिम समुदायका बालबालिका बिहान तथा बेलुका मदरसा र दिउँसो सामुदायिक विद्यालयमा अध्ययन गरेको पाइएको छ । दिउँसो छात्रवृत्तिलगायत सुविधा पाउने भएकाले उनीहरूले दुईवटा शैक्षिक संस्थामा अध्ययन गर्ने गरेका हुन् । मूलधारमा आइसकेपछि एकातिरको विद्यालयमा मात्र पढाउनुपर्छ । पर्साको सुगौली बिर्ताका निवर्तमान गाविसअध्यक्ष तथा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका अभिभावक शिक्षक संघका अध्यक्ष्ा जहवीर अन्सारीले सुविधाका लागि दुवैतिर पढ्ने गरेको बताए । 'बिहान नौ बजेसम्म र बेलुका ६ बजेदेखि आठ बजेसम्म मदरसामा पढ्छन्,' अन्सारी भन्छन्, 'दिनभरि विद्यालयमा पढ्छन्, विद्यार्थी धेरै व्यस्त भएपछि फाल्तु काममा लाग्न पाउँदैनन् र पढाइ पनि राम्रो हुन्छ ।' मदरसामा धर्मलाई प्राथमिकता दिएर पढाइ हुने र राष्ट्रिय विद्यालयमा सबै किसिमको ज्ञान पाइने अन्सारीले बताए । सुगौली बिर्तामा मात्र चारवटा मदरसा छन् । सुगौली बिर्ताको बजार टोलमा दुई कक्षासम्म पढाइ हुने मदरसा छ । अन्सारीका अनुसार सो मदरसामा दुई सय बालबालिका अध्ययन गरिरहेका छन् । ती दुई सय विद्यार्थी दिउँसो नजिकैको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययन गर्छन् । विद्यार्थीले मदरसाभन्दा सामुदायिक विद्यालयमा धेरै सुविधा पाउने गरेको मुस्लिम समुदायका व्यक्तिले नै बताएका छन् । बालमैत्री विद्यालय नेपाल राष्ट्रिय प्राविको अवस्था र मदरसाको तुलना गर्दै अन्सारी भन्छन्, 'उता -सामुदायिक विद्यालयमा) खेल खेल्न मिल्छ, सरसफाइ पनि छ, रमाइलो मानेर सिक्छन्, सुविधा पनि धेरै छ ।' सरकारले धार्मिक विद्यालयमा पढ्ने विद्यार्थीलाई पुस्तकको रकम, छात्रवृत्ति तथा प्रतिविद्यार्थी लागतसमेत दिएको छ । झन्डै दुई वर्षअघि धार्मिक विद्यालयलाई मूलधारमा ल्याएपछि सामुदायिक विद्यालयमा पढाइ हुने विषयसमेत पढाउनुपर्ने व्यवस्था गरेको छ । कट्टर धार्मिक समुदाय भएको ठाउँमा सरकारले दिएको सुविधा लिएर धार्मिक विद्यालय सञ्चालन गरिएको छ भने उदार समुदायमा धार्मिक विद्यालयलाई नै सामुदायिक विद्यालय बनाइएको छ । शिक्षा विभागका उपनिर्देशक रामशरण सापकोटाले दुवैतिर पढाउन नपाइने र पढ्न चाहने सबै विद्यार्थीलाई सरकारले सुविधा दिइरहेको बताए । 'धार्मिक प्रवृत्तिका विद्यालयलाई पार्टटाइमको रूपमा सोचेको होइन, कि सामुदायिक, कि धार्मिक विद्यालयमै पढाउनुपर्छ,' उपनिर्देशक सापकोटाले भने, 'दुईतिर पढाउन पाइँदैन, फ्ल्यास रिपोर्ट दुईतिर भर्नुपर्छ, एउटै विद्यार्थी दुई ठाउँबाट गणना हुनुहुँदैन ।' नेपालमा अहिले एक हजार ६ सयभन्दा बढी धार्मिक विद्यालयले सञ्चालनको स्वीकृति पाएका छन् ।
|