Sunday, May 19, 2013

लमजुङमा प्रथम दलित एकता महोत्सव हुने पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
लमजुङ, १८ पुस
लमजुङमा पहिलोपल्ट प्रथम उत्पीडित एकता महोत्सव हुने भएको छ ।
बाँझाखेत-१ खासुरस्थित खासुर प्रगतिशील युवा क्लबले २९ पुस  र १ माघमा प्रथम उत्पीडित एकता महोत्सव ०६९ आयोजना गर्ने भएको हो । सदरमुकाम बेसीसहरमा पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष हिरालाल विश्वकर्माले असमानता हटाउन महोत्सव गर्न लागेको बताए । 'सम्पूर्ण उत्पीडित एकजुट होऔँ, समाजमा रहेको जातीय असमानताको अन्त्य गरौँ' भन्ने नाराका साथ नमुना महोत्सव आयोजना गरिने उनले बताए ।
'दलित उत्पीडितबीच आफँैमा एकता छैन, हाम्रो बीचमा एकताको भावना पैदा गर्न र उत्पीडितहरूको श्रम र सीपको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको हो,' क्लबका अध्यक्ष विश्वकर्माले भने, 'महोत्सवबाट बचत भएको रकम दलित तथा उत्पीडित परिवारमा शिक्षाबाट वञ्चित भएका बालबच्चालाई छात्रवृत्ति कोषको स्थापना गर्न सहयोग गर्नेछौँ ।' सदियौँदेखि तल्लो जातिको दर्जामा राखिएका दलित समुदायको कुनै ठोस भाषा, संस्कृति, रीतिरिवाज नपाइए पनि समुदायबीचको एकता र कला तथा सीपको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।
महोत्सवमा दलित समुदायका कला सीपको प्रदर्शन, नृत्य प्रतियोगिता, दलित फुटबल प्रतियोगिता, घैंटो फुटाउने प्रतियोगिता आयोजना हुनेछ । राजु परियार, पोखरेली धुर्मस, शान्ति सुनार, दिलमाया हिमाली, मन्जु विश्वकर्मा, खेमजङ गुरुङलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत हुनेछ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै दलित समुदायका पहिचान झल्कने फोटो प्रदर्शनी, परियार र गन्धर्व समुदायको बाजा प्रदर्शनी तथा प्रस्तुति, दलितहरूको पहिचान र प्रवर्द्धनसम्बन्धी अन्तर्त्रिmया, सहभोज तथा विभिन्न अग्रज तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकको भनाइ छ । उत्पीडित समुदायले फरक किसिमको महोत्सव आयोजना गरेकोे यो पहिलोपल्ट हो । बाँझाखेतमा गर्न लागिएको यो महोत्सव नमुना भएकाले आगामी दिनमा अन्य जिल्लामा उत्पीडित एकता महोत्सव आयोजना गर्न सकिने आयोजकले बताएका छन् ।

 

Add comment


Security code
Refresh