|
नयाँ पत्रिका महोत्तरी, १८ पुस शिक्षक संघ महोत्तरीको असन्तुष्ट पक्षले संस्थापन पक्षले आफ्ना माग सुनुवाइ नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । उनीहरूले जलेश्वरस्थित शिक्षक संघको कार्यालयमा बुधबार अनिश्चितकालीन तालाबन्दी गरेका छन् । अध्यक्षका प्रत्याशी लक्ष्मीनारायण यादवको नेतृत्वमा पुगेको शिक्षकको टोलीले कार्यालयको मूल गेटलगायत सम्पूर्ण कोठामा तालाबन्दी गरेको छ । तालाबन्दीका क्रममा कार्यालय सहयोगी र शिक्षकबीच केही बेर भनाभनसमेत भएको थियो । असन्तुष्ट पक्षका शिक्षक नेताले सदस्यता वितरण र नवीकरणमा धाँधली भएको आरोप लगाएका छन् । शिक्षक संघको सातौँ जिल्ला अधिवेशन २०, २१ र २२ पुस मा बलवामा हुने तय भएको थियो । तर, एक सातादेखि संघमा देखिएको चर्को विवादले अधिवेशन अन्योलमा परेको छ । अध्यक्षका प्रत्याशी यादवले विनाआधार खारेज गरिएको शिक्षक नामावली तत्काल समावेश गर्नुपर्ने र नक्कली शिक्षकको सदस्यता खारेज गर्नुपर्ने बताए । उनले माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनीसमेत दिए । उनले भने, 'हाम्रा माग सम्बोधन नभए अधिवेशनसमेत रोक्नेसम्मको आन्दोलन गर्छौं ।' संघका अध्यक्ष सुशील यादवले जिल्ला अधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न रामसपा, फोरम नेपाल, फोरम लोकतान्त्रिक र शिक्षक संगठनमा आबद्ध करिब तीन सय शिक्षकलाई सदस्यता वितरण गरेको उनीहरूको आरोप छ । तर, अध्यक्ष यादवले आफूले संघको विधानबमोजिम नै कार्य गरेको दाबी गर्दै आएका छन् । यसैबीच आन्दोलित शिक्षकले आफ्ना माग कार्यान्वयनका लागि कांग्रेस महोत्तरीमा ज्ञापनपत्र बुझाएका छन् । अधिवेशनमा संघका एक हजार ६ सय ६७ प्रतिनिधिले भाग लिनेछन् । ३५ सदस्यीय जिल्ला कार्य समिति र आठजना केन्द्रीय प्रतिनिधिका लागि निर्वाचन हुनेछ ।
|