Sunday, May 19, 2013

प्रहरी मिलेमतोमा खुलेआम यौनधन्दा पीडीएफ मुद्रण इमेल

सुनील गाउँले/नयाँ पत्रिका
सिमरा, १८ पुस
बारा प्रहरीको मिलेमतोमा पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पथलैया क्षेत्रमा खुलेआम यौनधन्दा हुने गरेको रहस्य खुलेको छ ।
वीरगन्ज र हेटौंडा क्षेत्रमा प्रहरीद्वारा छापा मार्ने क्रम बढेपछि राजमार्गको जंगल क्षेत्रलाई यौनकर्मीले सुरक्षित स्थल बनाएका छन् । महेन्द्र राजमार्गको पथलैया-निजगढ सडक खण्ड र त्रिभुवन राजपथको पथलैया-अमलेखगन्ज सडक खण्डमा फस्टाउँदै गएको अवैध यौनधन्दालाई बाराको सिमरा प्रहरीले संरक्षण गरिरहेको छ ।
एक यौनकर्मीका अनुसार सिमरा प्रहरीले उनीहरूसँग मासिक रूपमा पैसा असुल्ने गरेको छ । राजमार्गको पथलैया-अमलेखगन्ज सडक खण्डमा देहव्यापार गर्ने ती यौनकर्मीले प्रहरीले एकजनासँग मासिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म उठाउने गरेको बताइन् ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद श्रेष्ठले जंगल क्षेत्रका यौनकर्मीसँग प्रहरीका नाममा पैसा असुल भइरहेको स्वीकार गरे । उनले आफू र आफ्नो मातहतको युनिटले भने त्यस्ता व्यवसायीलाई प्रश्रय नदिएको दाबी गरे । श्रेष्ठले भने, 'प्रहरीले त्यस्ता व्यवसायीलाई हटाउन धेरै प्रयास गर्‍यो । तर, खुला क्षेत्र भएकाले नियन्त्रणको प्रयास सम्भव हुन सकेको छैन ।'
बिहान झिसमिसेमै दाउरा खोज्ने बहानामा जंगल क्षेत्र आइपुग्ने यौनकर्मीको मूख्य ग्राहक ट्रयाक्टर र ट्रकका चालक भएको स्रोतको भनाइ छ । तीबाहेक सिमरा जितपुर क्षेत्रका औद्योगिक मजदुर पनि त्यहाँ पुग्ने गर्छन् । प्रायः मधेसी मूलका यौनकर्मी भेटिने यस क्षेत्रलाई यौनकर्मी र तिनका ग्राहकले 'हरियाली गेस्ट हाउस' उपनाम दिएका छन् । बाराको दुधौरा पुलको पूर्वपट्ट िबस्ने एक यौनकर्मीले भनिन्, 'खुला जंगलभित्र हरियाली क्षेत्रमा मनोरञ्जन गर्न पाइने भएकाले हरियाली गेस्ट हाउस नाम राखेका हौँ ।'
पथलैयाबाट १३ किलोमिटर पूर्व तामागढी र अमलेखगन्जमा पर्ने आधाभार जंगल क्षेत्रसम्म यौनधन्दा हुने गरेको यौनकर्मीको भनाइ छ । सहरी क्षेत्रका होटेलमा प्रहरीले छापा मारी पक्राउ गर्न थालेपछि पलायन भएका यौनकर्मीको व्यवसायस्थल बन्दै गएको राजमार्गको जंगल क्षेत्रमा अहिले झन्डै ५० यौनकर्मी सक्रिय छन् ।
वीरगन्ज बाइपास रोडमा सञ्चालित एक बारमा कार्यरत यौनकर्मीले अहिले बाराको डुमरवाना-७ पिलुवानजिकको जंगल क्षेत्रलाई व्यवसाय स्थल बनाउने गरेका छन् । वीरगन्जको होटेलभन्दा राजमार्ग क्षेत्रमा बढी कमाइ हुने गरेको उनीहरू बताउँछन् । बाराको सिमरा, जितपुर, नितनपुर, रतनपुर, मकवानपुरको चुरियामाई र पर्साका ग्रामीण क्षेत्रका विपन्न परिवारका महिला यस्तो कार्यमा लागेको उनीहरूको भनाइ छ ।
यसरी राजमार्गमा देहव्यापारमा संलग्न हुने प्रायः निरक्षर रहे पनि एचआइभी र यौनरोगका विषयमा भने सचेत छन् । कन्डमको प्रयोगविना सम्पर्क गर्न खोज्ने ग्राहकसँग नजाने उनीहरूले बताए । उनीहरू स्वयंले कन्डमको व्यवस्था गर्ने गरेका छन् ।
सशस्त्र प्रहरीले धेरै दुःख दिने गरेको उनीहरूको भनाइ छ । सशस्त्र प्रहरीको पथलैयास्थित मध्यक्षेत्रीय मूख्यालय र बाराको पिलुवास्थित भद्रकाली गण नजिकै रहेकाले सशस्त्र प्रहरीले सताउने गरेको उनीहरूले दुःखेसो पोखे ।

 

Add comment


Security code
Refresh