Wednesday, Jun 19, 2013< /p>

सप्तरंग
नक्कली हिसिला बनेपछि विपना मालामाल पीडीएफ मुद्रण इमेल

खासमा उनी ब्युटिसियन हुन् । ब्युटिपार्लर सञ्चालन गर्दागर्दै कसोकसो उनी फिल्ममा हेयर ड्ेरसरका रूपमा आबद्ध हुन पुगिन् । हेयर ड्ेरसर हुँदै मेकअपको काम पनि सम्हाल्ने गरेकी उनी अहिले ‘सेलिब्रेटी’ बनेकी छिन् । विशेषगरी, टेलिभिजनका दर्शकमा उनले आफ्नो बेग्लै शैली र पहिचान प्रस्तुत गरेकी छिन् । उनी अर्थात् विपना बस्नेत । तर, उनी आफ्नो सक्कली नामभन्दा पनि पूर्वप्रधानमन्त्री तथा एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यमीकी ‘हमसकल’का रूपमा चिनिन्छिन् । चर्चित हास्य टेलिशृंखला ‘तीतो सत्य’मा हिसिला यमीको झँै हाउभाउ, गेटअप र लबजमा अभिनय गर्न थालेदेखि नै उनको चर्चा चुलिएको हो । तीतो सत्यमा उनी नक्कली बाबुराम भट्टराई ज्योति काफ्लेसँग अभिनय गर्ने गर्छिन् ।
हेयर ड्ेरसिङ तथा मेकअप आर्टिस्टको जिम्मेवारी वहन गर्ने क्रममा केही चलचित्रमा फाट्टफुट्ट अभिनयसमेत गर्दै आइरहेकी भए पनि विपनाले अभिनय गरेर यसरी चर्चित र ‘डिमान्डेड’ हुने दिन आउला भन्ने कल्पनासम्म पनि गरेकी थिइनन् रे । ‘ममा सानैदेखि अभिनयप्रति रुचि त थियो, तर अभिनय गरेर यत्तिको चर्चित हुँला भन्नेचाहिँ कल्पनासम्म पनि गरेकी थिइनँ,’ विपना भन्छिन्, ‘भाग्यमा लेखेको रहेछ, साह्रै खुसी छु ।’
विपनाले पहिलोपटक ०५३ सालमा स्व. निर्देशक दीपक रायमाझी निर्देशित ‘पराइघर’ चलचित्रमा हेयर ड्ेरसरको काम गरेकी थिइन् । त्यतिवेला ब्युटिपार्लर सञ्चालन गरिरहेकी उनलाई ब्युटिसियन लीला शर्माले चलचित्रको बाटोमा डोर्‍याएकी थिइन् । पछि ०५५ सालमा उनले ऐतिहासिक उपन्यास बनेको ‘बसन्ती’ चलचित्रमा काम गरिन् । त्यसपछि भने उनलाई चलचित्रको हेयर ड्ेरसिङ पेसामा रुचि बढ्यो । पार्लर बेचेर एकोहोरो यसैलाई निरन्तरता दिइन् । ०६३ देखि मेकअप आर्टिस्टका रूपमा कार्यरत उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा काम गरिसकेको बताउँछिन् ।
अभिनयमा रुचि राख्ने उनलाई जवानीमा हिरोइन बन्ने अफर नआएको पनि होइन । र, उनी हिरोइन नबनेकी पनि होइनन् । तर, घरपरिवारको विरोधका कारण उनी पूरा हिरोइन बन्न पाइनन् । ‘त्यतिवेला अहिले डिजिटल चलचित्र बनेझँै भिडियो चलचित्रको जमाना थियो । मलाई ‘पश्चात्ताप’ नामक चलचित्रको हिरोइन बन्ने अफर आयो,’ उनी फ्ल्यासब्याकमा गइन्, ‘मेरो दाइहरू भने फिल्म लाइन, अभिनय भनेपछि मनै नपराउने । तर, मैले त्यो अफरलाई अवसरका रूपमा लिएर सुटिङ सुरु गरेँ । चार/पाँच दिन सुटिङ भइसकेको थियो । दाइहरूले मैले फिल्म खेलेको थाहा पाएपछि निकै विरोध गर्नुभयो । जसले गर्दा त्यो फिल्म त्यत्तिकै छाड्नुपर्‍यो । त्यसपछि भने मलाई मन लागे पनि अभिनय गर्न डर लाग्यो ।’ परिवारका सदस्यको असमर्थनका कारण हिरोइन बन्न बीचमै रोकिएकी उनी त्यसको धेरै वर्षसम्म मौन रहिन् । कलेज र ब्युटिसियन पेसामा लागिन् ।
तर, ०६९ को फागुनमा आएर उनको जिन्दगीले ‘यु टर्न’ लियो । जब उनी नक्कली हिसिला यमीको गेटअप र लबजमा टेलिभिजन स्क्रिनमा देखापरिन्, त्यसपछि त के चाहियो र ? रातारात उनी र उनको कलाकारिताको तारिफ भयो ।
तीतो सत्यका निर्देशक तथा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला भ्यालेन्टाइन्स डेको स्पेसल एपिसोड तयार गर्ने योजनामा थिए । जसका लागि उनीहरू नक्कली डा. बाबुरामकी पत्नीको भूमिका निर्वाह गर्न सक्ने, उस्तै सक्कल भएकी महिलाको खोजीमा थिए । सोही क्रममा भेटिएकी हुन्– विपना । दीपक र दीपाले नक्कली हिसिला बनाउन सम्भावित चार महिला छानेका थिए । तर, भाग्यले विपनालाई साथ दियो ।
‘त्यो दिन मलाई राम्ररी याद छ,’ विपनाले सम्झिइन्, ‘०६९ माघ २९ गते म एउटा फिल्मको सुटिङका क्रममा धादिङको धुवाँकोटमा थिएँ । मेरो मोबाइलमा एउटा नयाँ नम्बर ‘मिस’ देखेँ । पछि, मैले कलब्याक गरेँ । त्यो नम्बर दीपाश्री बहिनीको रहेछ । उहाँले मलाई तीतो सत्यमा हिसिला दिदी बनाउन खोज्नुभएको रहेछ । उहाँको अफर सुनेर मलाई रातभर निद्रा लागेन । कतिवेला बिहान होलाजस्तो भयो । अर्काे दिन चाँजोपाँजो मिलाएर म काठमाडौं फर्किएँ ।’ नक्कली बाबुराम ज्योति काफ्ले कार्यक्रमहरूमा निकै व्यस्त भएका कारण उनको समय मिलाएर सुटिङ गर्नुपर्ने थियो । त्यसकारण कतिवेला काठमाडौं पुगिएला भनेर विपना निकै छटपटाइन् । ‘म कहिल्यै झुटो नबोल्ने मान्छे तर त्यो दिन गाडी नचढ्दै ककनी आइपुगेँ भनेर दीपाश्री बहिनीलाई ढाँटेँ,’ विपनाले भनिन्, ‘ककनी आइपुग्दा बालाजु आइपुगेँ, अब केही बेरमै स्पटमा आइपुग्छु है भनेर झुट बोलेँ । कसोकसो स्पटमा पुगिहालेँ ।’
विपना स्पटमा पुग्दा नक्कली बाबुराम ज्योति गेटअपमा रेडी थिए । विपनालाई हिसिलाझँै गेटअपमा तयार गरियो । भ्यालेन्टाइन्ससम्बन्धी कथा भएकाले नक्कली बाबुराम र हिसिलाबीच गुलाबको फूल आदानप्रदानलगायत दृश्य सुटिङ गरियो । आफू हिसिला बनेको पहिलो एपिसोड हेर्न विपनाले निकै सास्ती खेप्नुपर्‍यो । ‘म बस्ने डिल्लीबजार, लोडसेडिङको मारमार । मकहाँ बत्ती थिएन । आफ्नो अभिनय हेर्न बिहीबार राति सान्दाइको घर मालीगाउँ पुगेँ,’ उनले बताइन्, ‘टिभीमा जब म देखिएँ, त्यसपछि मलाई चिन्ने सबैले फोन र एसएमएस गरेर बधाई दिए । त्यो दिनको स्मरण मेरो दिमागमा सदा रहिरहनेछ ।’
नक्कली डा. बाबुरामको भूमिकामा देखापर्दै आइरहेका ज्योतिलाई जोडी बनाउने इच्छा र अवसर त थियो । तर, उनले उपयुक्त पात्र भेटेका थिएनन् । जब विपना तीतो सत्यमा हिसिला बनेर प्रस्तुत भइन्, त्यसपछि दीपक, दीपाश्री मात्र होइन, धेरैले उनीहरूलाई जोडी बनेर कार्यक्रममा प्रस्तुत हुने सल्लाह दिए । सोहीअनुरूप विपना र ज्योति २४ चैतदेखि कार्यक्रममा जोडी बनेर प्रस्तुत
हुन थाले ।
‘हिसिला बनेर टिभीमा आउन थालेपछि ज्योति भाइले डा. भट्टराईको घरबाट तपाईंलाई सोधीखोजी हुन सक्छ है भन्नुभएको थियो,’ विपनाले सुरुवातका दिनको स्मरण गरिन्, ‘ज्योति भाइको कुराले मेरो मनमा कताकता डर भरिएको थियो । हिसिला दिदी रिसाउनुभएको छ कि भनेर त्रसित थिएँ । तर, एक दिन नयाँ नम्बरबाट फोन आयो । त्यो फोन हिसिला यमी दिदीको थियो ।’ सक्कली हिसिलाको फोन नक्कली हिसिलालाई आउँदा कस्तो भयो होला ? ‘कुरै नगर्नुस्,’ उत्साहित हँुदै विपनाले भनिन्, ‘मैले त सोचेकी थिएँ, हिसिला दिदीका आफन्त, पिए कसैले फोन गर्लान् भनेर । तर, फोन हिसिला दिदी स्वयंले गर्नुभएको थियो । उहाँले तपाईं विपना बस्नेत बोल्नुभएको हो ? भन्नुभयो । मैले हो भनेँ । त्यसपछि उहाँले म हिसिला यमी भन्नुभयो । ला अब गाली खाइने भयो, के भन्ने होला भनेर सुरुमा त निकै डर लाग्यो । तर, उहाँले कल्पनाविपरीत मेरो अभिनयको तारिफ गर्दै तपाईं विपना मेरो नाम सपना राख्नुपर्‍यो कि क्या हो भनेर ठट्टा गर्नुभयो । उहाँले दिउँसो एक बजे सगरमाथा टिभीमा मेरो अन्तर्वार्ता आउँदै छ, त्यो हेर्नुस्, त्यसबाट मेरो हाउभाउ, शैली सिक्न सजिलो हुन्छ भन्नुभयो । त्यो सुनेपछि भने म यति एक्साइटेड भएँ कि सपना हो कि विपना भन्ने लाग्यो ।’ फोनमा हिसिलाले उनलाई समय मिलाएर भेटौँ है भनिछन् ।
त्यसपछि वेलावेलामा नक्कली र सक्कली हिसिलाबीच फोनवार्ता हुन थाल्यो । एक दिन नक्कली डा. भट्टराई ज्योतिसमेतलाई सक्कली हिसिलाले भेट्न बोलाइन् । विपना र ज्योतिले हिसिलालाई भेटे । ‘हामी गएपछि हिसिला दिदीले अरू मान्छेलाई बाहिर पठाएर पूरा एक घन्टा हामीसँग कुरा गर्नुभयो । अभिनय, घरपरिवारसम्बन्धी कुरा भए । उहाँ साह्रै पोलाइट, व्यावहारिक, सरल र बुझ्झकी पाएँ,’ उनले भनिन्, ‘त्यसै बन्दा रहेनछन् ठूला मान्छे भन्ने कुराको ज्ञान भयो ।’ नक्कली हिसिला र बाबुरामले जोडी बाँधेदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी कार्यक्रममा सँगै प्रस्तुति दिइसकेका छन् । पछिल्लो समय बजारमा उनीहरूको जोडी निकै मन पराइएको छ । उनीहरूले एक दिनमै तीनवटासम्म कार्यक्रम गरेका छन् । विदेशमा प्रोग्रामका लागि पनि जोडीलाई थुप्रै अफर आइरहेका छन् । अहिले प्रोग्रामको अफ सिजन हो, तर पनि विपनालाई नक्कली हिसिला बन्नमै फुर्सद छैन ।
‘तीतो सत्यले मेरो जिन्दगीको बाटो नै मोडिदियो,’ केही समय यता डिल्लीबजार कालिकास्थानमा फ्रेस फुडल्यान्ड नामको रेस्टुरेन्टसमेत सञ्चालन गरिरहेकी विपनाले भनिन्, ‘यसका लागि दीपकराज भाइ र दीपाश्री बहिनीलाई जति धन्यवाद दिए पनि पुग्दैन । म उहाँहरूको ऋणी छु ।’ विपना दर्शकले मन पराउन्जेल नक्कली हिसिला बनिरहने सोचमा छिन् ।

लक्ष्मण सुवेदी

 

 
मेरो एसएलसी, छोराको एसएलसी पीडीएफ मुद्रण इमेल

मनोज गजुरेल

मेरो छोरो मिरोजले पनि यसपालि एसएलसी दिएको थियो । बाबु भएको नाताले रिजल्टप्रति कौतूहल भइहाल्छ । बाबुछोरा दिउँसैदेखि अनलाइनमा कुरेर बसेका थियौँ । रिजल्ट हुनासाथ हेरियो । छोरो फस्र्ट डिभिजन भएछ । म खुसी भएँ ।
छोराको पढाइ नराम्रो थिएन । एसएलसीमा राम्रै मिहिनेत गरेको थियो । म छोरालाई सधैँ पढ–पढ भनेर दबाब दिने काम मात्र गर्दिनथँे । बरु आफूले परीक्षा दिँदाको अनुभव र अहिलेको शिक्षा प्रणालीलाई बुझेको आधारमा केही सिर्जनात्मक सुझाब दिन्थेँ । म कुनै कुरामा पनि फस्र्टको अपेक्षा राख्दिनँ, बरु सबैकुरामा सेकेन्ड हुन चाहन्छु । फस्र्ट हुनु भनेको एक किसिमको प्रेसर हो । म फस्र्टलाई खहरे मान्छु भने सेकेन्डलाई निरन्तर बगिरहने खोला ।  मेरो छोराको पढाइ पनि ‘सेकेन्ड’स्तरकै थियो । ७८ प्रतिशत ल्याएछ । सायद उसले डिस्टिङ्सनको अपेक्षा राखेको थियो होला । तर, म यो डिस्टिङ्सनको कुरामा त्यति विश्वास गर्दिनँ । आखिर दुई प्रतिशतमा के नै राखेको छ र ?
एसएलसीले नै कसैको भविष्यको पूरा निर्धारण गर्ने होइन । त्यसैले एसएलसीलाई ठूलो हाउगुजीका रूपमा देखाएर छोराछोरीलाई दबाबमा पार्नुहँुदैन । यो केवल प्लस टु छिर्ने बाटो हो । खास पढाइ त अब पो हुन्छ । अहिले डिस्टिङ्सनको प्रतिस्पर्धामा विद्यार्थीलाई निकै दबाबमा पार्ने गरिएको छ । प्लस टुको व्यवसायीकरणले पनि यो अवस्था आएको होला भन्ने मलाई लाग्छ ।
रिजल्ट आउनुअघि छोराले म्यानेजमेन्ट पढ्ने रुचि देखाएको थियो । मेरो पनि कुनै आपत्ति थिएन । अहिलेचाहिँ अलिकति हौसला बढेर होला, साइन्समा प्लस टु पढ्ने कुरा गर्न थालेको छ । त्यसमा पनि मेरो सहमति नै छ । एसएलसीपछिको पढाइ छोराछोरीलाई छनोट गर्न दिनुपर्छ भन्ने लाग्छ मलाई । त्यसमाथि म आफैँ आफूले चाहेको बाटोमा हिँड्न सक्दिनँ भने छोरालाई कसरी मैले चाहेको बाटोमा हिँडाउन सक्छु ? चाहन त म उसलाई नेपालको राष्ट्रपति नै बनाउन चाहन्छु, तर मैले चाहेर हुने होइन । यद्यपि, उसको भविष्यसित जोडिएको कुरा भएकाले मैले यसमा आवश्यक सुझाब र सल्लाह दिनैपर्छ । छोराको रुचि कलाकारितामा पनि छ । सायद कला र संगीत क्षेत्रलाई पनि साइडमा राखेर आफ्नो पढाइ अघि बढाउँछ होला ।
मैले छोराको एसएलसी रिजल्टलगत्तै फेसबुकमा यस्तो कविता लेखेको छु :
आखिर बहुमतमै पर्‍यो छोरो
डिभिजन फस्र्ट ल्याइदियो
अल्पमतमा पर्‍यो ‘डिस्टिङ्सन’
मेरो झन् ‘सेकेन्ड’ थियो 

हो म आफ्नो पालामा एसएलसीमा सेकेन्ड डिभिजनमा पास भएको थिएँ । मेरो पढाइको स्तर नै ‘सेकेन्ड’ हुनेखालको थियो । २०४७ सालमा एसएलसी दिएको हुँ, काठमाडौंको पद्मोदय स्कुलबाट । राम्रोसित परीक्षाको तयारी गरेको थिइनँ । राजनीतिमा लागेको थिएँ म त । त्यसैले पढाइमा त्यति ध्यान दिन पाइएन ।
त्यसो त एसएलसीअघिको सेन्टअप परीक्षामा मैले ठूलो नाटक गरेर गणित विषयमा पास भएको थिएँ । अरु विषयको तुलनामा गणित अलि कमजोर थियो । परीक्षा बिग्रियो । आधाभन्दा बढी प्रश्न हल गर्न नसकेपछि म रन्थनिएँ । अनि मेरो सैतानी दिमागमा अर्कै सोचाइ आयो । सोचेँ, अब लेखेर पास भइँदैन, अरू उपाय लगाउनुपर्छ । अनि मैले परीक्षा हलमै मूच्र्छा परेको अभिनय गरेँ । त्यसो भएमा सहानुभूतिले पनि पास गराउँछन् भन्ने आशा थियो । कक्षामै ढलेपछि मलाई बोकेर वीर अस्पताल पुर्‍याए । अस्पतालमा पुग्दासम्म म मूच्र्छा भएको अभिनय गर्दै चिम्रा आँखा पारेर सबैथोक हेरिरहेको थिए । तर, अस्पतालको आकस्मिक कक्षभित्र पसेपछि यति दुर्गन्ध रहेछ कि गन्हाएर म त साँच्चिकै मूच्र्छा परेछु ।
अन्तत: मेरो सैतानी दिमाग सफल भएछ । मलाई गणितमा पास गराएछन् र एसएलसी दिन पाएँ ।
अरूलाई पत्याउन मुस्किल पर्ला, एसएलसी दिनुअघि मैले ११ वटा स्कुल फेरिसकेको थिएँ । त्यसैले पनि मेरो पढाइ अस्थिर हुन पुगेको थियो । सुरुमा ताप्लेजुंगको गणेश मावि खेवाङमा शिशु कक्षा भर्ना भएर मेरो पढाइ सुरु भयो । त्यहाँबाट १ कक्षा पास गरेपछि विद्योदय प्रावि दमकमा कक्षा २ पढ्न पुगियो । तर, त्यहाँको पानी गन्हाएर मलाई टिक्न गाह्रो पर्‍यो । त्यसैले २ कक्षाको बीचमै फेरि ताप्लेजुङ फर्केर महेन्द्र प्रावि भर्ना भएँ । त्यसपछि फेरि झापामा रहेको मामाघर गएर आमासित बसेँ । त्यहीँको भगवती प्राविमा कक्षा ४ पढेँ । तर, त्यो विद्यालयले मलाई प्रमाणपत्र दिएन । नदिएपछि फाक्दोक प्राविमा भर्ना भएर प्रमाणपत्र लिएँ । चारको प्रमाणपत्र लिएर लक्ष्मीनाराण मावि, धरमपुरमा ५ कक्षामा भर्ना भएँ । तर, त्यहाँ ५ महिना पढेपछि काकाले मलाई बोर्डिङमा पढाउने कुरा गर्नुभयो । अनि ५ कक्षामै डिबिटी मेमोरियल बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभयो ।
त्यसपछि म काकासितै बसेर पढ्न थालेँ । उहाँको जता–जता सरुवा हुन्छ, म पनि त्यतै–त्यतै जान्थेँ । डिबिटीमा ६ कक्षा सकेर पञ्चायत निमावि, मोरङमा ७ कक्षा पढ्न पुगेँ । फेरि आठ कक्षा हिमालय मावि दमकमा पढेँ । त्यहाँ हँुदा बढी भिडियो हेर्न गएर छोरो बिग्रियो भनेर आमाले काठमाडौं पठाउनुभयो । काठमाडौंको पद्मोदयमा ९ र १० कक्षा पढेको हुँ ।

प्रस्तुति : चिरञ्जीवी

 

 
रामप्रसादले षड्यन्त्र गरे पीडीएफ मुद्रण इमेल

पार्वती बम, श्रीमती, न्यायाधीश रणबहादुर बम

श्रीमान्को हत्या हाम्रो परिवारका लागि सबैभन्दा दु:खद घटना हो । त्योभन्दा पनि दु:खको कुरा, घटनाको सत्य–तथ्य बाहिर आएन । त्यसै सेलाएर गयो । उहाँको हत्या गर्नुपर्ने न कुनै स्थिति थियो न कुनै कारण । पैसामा चलखेल गरेको मिथ्या आरोप सुनिन्छ । योभन्दा दु:खको कुरा के होला र ?
जिन्दगीका आधा समय मैले श्रीमानसँगै विभिन्न जिल्लामा बिताएँ । बच्चालाई राम्रोसँग पढाउनसमेत पाइएन । श्रीमान््ले भ्रष्टाचार गरेर टन्न पैसा कमाएको भए त सुविधासम्पन्न ठाउँमा बसिन्थ्यो । अनि, बच्चालाई राम्रा स्कुलमा पढाएर राम्रो शिक्षा दिने रहर कसलाई हुँदैन र ? तर, छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्‍यो, त्यो पनि श्रीमान्् जता जानुहुन्छ त्यतै पछि लाग्दै । छोराछोरी पढाउन निकै दु:ख गर्नुपर्‍यो । आधा उमेर उहाँकै संगतमा बिताएको छु । त्यस आधारमा आर्थिक चलखेल भएको भन्ने कुरा म हृदयदेखि नै स्वीकार गर्न सक्दिनँ । यदि त्यसरी पैसा कमाएको भए हाम्रो र छोराहरूको हैसियत राम्रो हुन्थ्यो होला । श्रीमान््को सरुवापिच्छे पोको बोकेर म किन पछि–पछि हिँड्नुपथ्र्यो ? आनन्दले एकै ठाउँ बसिन्थ्यो । तर, म श्रीमान्् जति ठाउँ सरुवा हुनुभयो त्यति ठाउँ पुगेँ । बाजुरा, डोटी, नवलपरासी, राजविराज, ओखलढुंगा, नेपालगन्ज, दाङ, बुटवललगायतका ठाउँमा पुगेँ । बुटवलपछि काठमाडौं आएका हौँ । काठमाडांैमा पनि बानेश्वरमा डेरामा बस्यौँ । असोजमा तीन वर्ष हुँदै छ, घरमा सरेको ।

०००

श्रीमान््लाई किन फसाइयो, विवादमा तानियो भन्ने कुरा कि त रामप्रसाद श्रेष्ठलाई थाहा होला या बलराम केसीलाई । अभियोगको रिपोर्ट पनि धुलिखेलमा गएर लेखिएको रहेछ । बलराम केसी र उनकी श्रीमतीसहितका केही व्यक्ति रिपोर्ट लेखनमा सामेल थिए रे । उहाँमाथि अभियोग प्रमाणित गर्ने कुनै आधार छानबिन समितिसँग थिएन । मेरा छोराहरूको समेत बैंक खाता छानबिन भइसकेको थियो । पैसा कमाएको भए कहाँ लुकाउँछ मान्छेले ? जमिनमा गाडेर त राख्दैन होला । फसाउनकै लागि रिपोर्ट बनाइएको छ ।
रामप्रसादलाई के रिस थियो र यो षडयन्त्र गरे म बुझ्न सक्दिनँ । उनैलाई थाहा होला । तर, अभियोग लगाउनुभन्दा केही समयअघिसम्म पनि रामप्रसादले आफ्नै बेन्चमा सँगै राखेर मुद्दा हेरेका थिए । अन्तिममा केमा चित्त बुझेन, उनैले फसाए ।
मेरा श्रीमान्सँगै सेवाप्रवेश गरेका धेरै अझै पुनरावेदनमा मुख्य न्यायाधीश छन् । राम्रो नभएको, न्याय/अन्याय छुट्याउन नसक्ने भए उहाँलाई किन सर्वोच्चमा ल्याइन्थ्यो होला र ? राजविराजमा पनि एक नम्बर न्यायाधीश हुनुहुन्थ्यो । कमाउन खोजेको भए त्योभन्दा राम्रो ठाउँ अन्त हुन्नथ्यो । उहाँको धेरै ठाउँका बिदाईमा कर्मचारी मात्र होइन, स्थानीयको पनि सहभागिता हुन्थ्यो ।
भैरव मिश्र भन्ने लमजुङका एकजना सरकारी वकिल थिए । नवलपरासीबाट राजविराज सरुवा भएपछि उनले भने, ‘श्रीमान्, हजुर सोझो मान्छे, त्यहाँ त मरेका मान्छेको पनि ल्याप्चे लगाएर काम गर्ने ठाउँ, विचार पुर्‍याएर काम गर्नुहोस् है ।’ उहाँलाई धेरैले यसरी नै चिन्थे । रामप्रसादका नजरका कसरी एकाएक बदमास ठहरिनुभयो ? यत्रो लामो समय बिताएकी मैले बुझ्न सकेको छैन ।
अभियोगपछि सर्वत्र चर्चा भएपछि मैले उहाँलाई ‘साह्रै भयो, राजीनामा दिनुहोस्’ भनँे । तर, उहाँ मान्नुभएन । राजीनामाबारे सधँै एउटै जवाफ दिनुहुन्थ्यो, ‘मैले के अपराध गरेको छु र राजीनामा दिने ? म छाड्नुपरे पनि अभियोगको टुंगो लागेपछि छाड्छु ।’ सफाइ पाउनेमा उहाँ ढुक्क हुनुहुन्थ्यो । छानबिन समितिले उहाँलाई दोषी देखाउन सकेको थिएन । सफाइ पाएपछि म जागिर
खान्नँ भन्नुहुन्थ्यो ।
तर, समितिले समेत देखाउन नसकेको दोष तथ्यविहीन रूपमा एकोहोरो ढंगले पत्रिकाले भने देखाइरहेका थिए । समितिले भन्दा धेरै दोषी मेरा श्रीमान्लाई मिडियाले बनाएका थिए । पाटनमा उहाँले हेरेको मुद्दा अपरण मुद्दा थिएन, हातहतियार खरखजाना मुद्दा थियो । पत्रिकाले यत्तिसम्म खोज्ने जाँगर नचलाई जसले जे भन्यो, त्यही आधारमा लेखिरहे । पत्रिकाले एकोहोरो रूपमा भक्तमानको अपहरण मुद्दामा जोडिरहे । यतिसम्म कि हत्या हुनुभन्दा एक महिनाजति अघिसम्म पनि यस्ता समाचार आइरहे । मैले प्रतिवाद गरौँ न भनेँ । तर, उहाँले ‘मेरो मर्यादाले दिँदैन, न्यायाधीश भएर मिडिया प्रचारबाजी गर्नुहुन्न, जति बुझे त्यति लेखे’ भन्नुभयो । तर, नबोल्नुको परिणाम १८ जेठमा निस्कियो ।

०००

दिउँसै घटना घटेको छ । दोषी नभेटिनुपर्ने त्यस्तो कारण देखिँदैन । दोषी किन भेटिएन भन्ने त प्रहरी या आयोग नै जानोस् । उनीहरूले चाहे खोजी हुन सक्थ्यो होला । हामी हत्यारा खोजीका लागि आग्रह गर्न मात्र सक्छौँ । तर, हाम्रो आग्रह सुन्ने कोही छैन । खिलराजले पनि सुन्छन्जस्तो लाग्दैन । सुन्ने भए, गर्ने मन भए यत्तिका समयसम्म केही पत्तो लाग्थ्यो होला ।
उहाँले ३६ वर्षसम्म अरूलाई न्याय दिनुभयो । तर, उहाँमाथि नै अन्याय भयो । यस्तो न्याय हुँदो रहेछ नेपालमा । जसले जिन्दगीका आधा उमेर त्यही पेसामा लगायो, दत्तचित्तले काम गर्‍यो तर
परिणाम उल्टो ।
अब एउटै कुरो बुझ्न पाए हुन्थ्यो– के कारणले उहाँमाथि अभियोग लाग्यो र किन हत्या भयो ?’ अपराधीलाई कारबाही गर्न पाए त मन शीतल हुन्थ्यो होला । के कारणले यस्तो भयो ? सधँै रहस्यमै रहने देखियो । अपराध गरेकै भए पनि चित्त बुझ्थ्यो होला, विनाकारण यस्तो भयो । मेरा श्रीमान्माथि जे भयो, यस्तो अन्य कसैलाई नहोस् । यस्तो अन्याय कसैले भोग्न नपरोस् ।
नारायण काफ्ले
तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका

 
धन्दा कालो पदार्थको पीडीएफ मुद्रण इमेल

नुवाकोटका वीरबहादुर लामा प्राय: गाउँमै बस्थे । नुवाकोट, तुप्चे घर भएका लामाको अधिकांश समय खेतीपातीमै बित्थ्यो । सामान्य आर्थिक अवस्था भएका उनको अर्काे ‘पार्टटाइम काम’ पनि थियो । जुन कामबाट उनले खेती–किसानीबाट भन्दा धेरै कमाउँथे । विदेश पनि गइरहन्थे ।
पछिल्लो तीन वर्षमा उनी कम्तीमा १२ पटक हङकङ पुगे । कुनै दु:ख नगरी पैसा पनि कमाइरहेका थिए ।
यसै सिलसिलामा चैतको पहिलो साता उनलाई काठमाडौंबाट फोन आयो । पुरानै चिनजानका व्यक्तिले फोन गरेका थिए । पहिलेजस्तै कामका लागि विदेश जानुपर्ने भयो । उनी खुसी हँुदै काठमाडौं आए । माछापोखरीस्थित स्वागत गेस्ट हाउसमा उनका लागि रुम बुक गरिएको थियो । चैतको १२ देखि २३ गतेसम्म उनी सोही गेस्टहाउसमा बसे । भारतीय नागरिक रूपेशले उनको पासपोर्ट लिएर हङकङको भिसा लगाइदिए । चैत २८ गते उनी हङकङ उड्ने निश्चित भयो ।
नयाँ कपडा किने । किनकि, विदेश जाँदा राम्रो कपडा लगाएर जानुपर्ने कुरा उनलाई थाहा थियो । नत्र एयरपोर्टमा प्रहरीले उनीमाथि थप केरकार गर्न सक्छ ।
२८ गते बेलुका साढे ११ बजेको ड्रागन एयरको फ्लाइटबाट हङकङ जान उनी एयरपोर्ट पुगेका थिए । तर, उनले ड्रागन एयर चढ्न पाएनन् । प्रहरीको भ्यान चढेर उनलाई प्रहरी कार्यालय पुर्‍याइयो ।
लागुऔषध कारोबारमा संलग्न भएको आशंकामा प्रहरीले लामालाई विदेश जानबाट रोकी नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा प्रहरी आशंका वास्तविकतामा परिणत भयो । १२ पटकसम्म प्रहरीलाई झुक्याउन सफल लामा १३औँपटकमा प्रहरीफन्दामा परे ।
त्यसो त उनी झोलामा लुकाएर लागुऔषध ओसार्ने व्यक्ति होइनन् । उनको आफ्नै तरिका थियो– चरेसलाई क्याप्सुल बनाई खाने । विदेशमा गएर निकाल्ने । त्यही धन्दाबाट उनलाई मनग्गे फलिफाप भइरहेको थियो । तर, पछिल्लोपटक उनी त्यसमा सफल हुन सकेनन् ।
सोधपुछ गर्दा सुरुमा लामाले आफू लागुऔषध तस्करीमा संलग्न नभएको दाबी गरे । तर, उनको अनुहार र हाउभाउले प्रहरीको शंकालाई मजबुत बनाइरहेको थियो । नभन्दै मेडिकल प्रविधिबाट प्रहरीले उनको पेटबाट चरेसका एक सय ३२ वटा क्याप्सुल निकाल्यो । त्यसको तौल करिब डेढ किलो थियो । नेपालको चरेस अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँदै आएको एक गिरोहले लामालाई भरिया बनाएर हङकङ उडाउन लागेको थियो । सोही समूहका लागि लामाले पटक–पटक चरेस हङकङ पुर्‍याइसकेका थिए ।
प्रहरीको आँखा छल्न अन्तर्राष्ट्रिय गिरोहले चरेसलाई औषधिको जस्तो ट्याब्लेट बनाएर खुवाई तस्करी गर्दै आएको छ । नेपाललाई ट्रान्जिट बनाएर लागुऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका लागि नेपाली भने यसरी नै भरियाका रूपमा प्रयोग हँुदै आएका छन् । तिनैमध्ये एक हुन्– वीरबहादुर लामा ।
‘पेटमा राखेर तस्करी गर्न खोजे पनि प्रहरीको चलाखीले उनी समातिएका हुन्,’ एनसिबीका प्रमुख डिआइजी केदार साउदले भने ।
हाल लागुऔषध नियन्त्रण ब्युरोको हिरासतमा रहेका लामा ४० हजार रुपैयाँको लोभमा त्यसरी लागुऔषध खाएर हङकङ जान लागेका थिए । प्रहरी अधिकारीका अनुसार लागुऔषधको धन्दामा धेरै रुपैयाँ नाफा हुने भएकाले विभिन्न जोखिमपूर्ण तरिका पनि तस्करी क्रममा अपनाएको पाइन्छ । त्यसमध्ये लागुऔषधलाई ट्याब्लेट बनाएर खुवाई तस्करी गर्ने चलन पुरानै हो । प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट पटक–पटक त्यस्ता भरियालाई पक्राउ गरिसकेको छ ।
भरिया विदेश पुगेपछि पखाला लाग्ने औषधि खुवाउँछन् र लागुऔषध निकाल्छन् । जसको बिक्री लाखौँमा हुने गर्छ ।
यसरी ट्याब्लेटका रूपमा खाएर लैजाने भरियाले एकदेखि दुई केजीसम्म लागुऔषध ओसारपसार गर्छन् । सजिलोका लागि उनीहरूले ‘लेमन’ चियासँग लागुऔषधका ट्याब्लेट सेवन गर्छन् । सम्बन्धित देशमा पुगेर पेटबाट लागुऔषध ननिकालेसम्म केही पनि खाँदैनन् । पेटबाट लागुऔषध निकाल्ने क्रममा कतिपयको ज्यानसमेत जोखिममा पर्ने गरेको छ । तर, अत्यधिक पैसा कमाइ हुने भएकाले नेपालबाट हुने लागुऔषधको ओसारपसार घटेको छैन । नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई लागुऔषध कारोबारको केन्द्रका रूपमा प्रयोग गरिरहेका छन् र नेपाल तस्करीमा विश्वकै एउटा प्रमुख ट्रान्जिट बन्न पुगेको छ । विश्वमै सबैभन्दा धेरै नाफा हुने अन्तरदेशीय संगठित अपराधका रूपमा लागुऔषध कारोबारलाई लिइन्छ । जुन धन्दामा विश्वका ठूला गिरोहले नेपाली भूमि र जनतालाई प्रयोग गर्दै आएका छन् ।
ब्युरो अधिकारीका अनुसार सेतो हेरोइनको कारोबारमा पनि नेपाल ट्रान्जिट बन्ने क्रम रोकिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै नेपालमार्फत विश्वका विभिन्न देशमा सेतो हेरोइन पुग्ने गरेको छ । जुन हेरोइन पाकिस्तान, बर्मा देशबाट भारत हुँदै नेपाल भित्रिएर विश्वमा पुग्ने गरेको छ ।
ब्युरोका डिआइजी साउद लागुऔषध ओसारपसारमा नेपाल ट्रान्जिट बनेको कुरा स्वीकार गर्छन् । ‘हाम्रो देश पनि विश्वका अन्य देशजस्तै ट्रान्जिट बन्ने गरेको छ,’ उनले भने, ‘तर केन्द्र नै
भने होइन ।’
त्यस्तै, नेपालको चरेसमा पनि अन्तर्राष्ट्रिय गिरोह केन्द्रित छ । नेपालमा उत्पादन हुने चरेसको विश्वबजारमा उच्च माग भएकाले पनि अन्तर्राष्ट्रिय गिरोहहरू सक्रिय भएका हुन् । उनीहरूले नेपालमा १५/२० हजार प्रतिकिलोमा किनेर युरोप, हङकङ, जापानजस्ता देशमा पुर्‍याई किलोको १० लाख रुपैयाँबराबरमा बिक्री गर्ने प्रहरी अधिकारी बताउँछन् ।

बढ्दो कारोबार

एनसिबीको तथ्यांकअनुसार हरेक वर्ष लागुऔषध कारोबार बढ्दै गएको छ । सन् २००८ मा नेपालमा ६ सय ३४ जना लागुऔषध कारोबारी पक्राउ परेकोमा पाँच वर्षपछि २०१२ मा दुई हजार ६ सय दुईजना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रणमा विश्वको ट्रेन्ड अनुसार १० प्रतिशत घटनामा मात्र प्रहरी सफल हुने गरेको छ । जसअनुसार लागुऔषधको धन्दा भयानक बन्दै गएको प्रहरी अधिकारी नै स्वीकार गर्छन् । २०१२ मा नेपाल प्रहरीले देशभर गरेर १५ केजी हेरोइन, ५ हजार एक सय ६९ केजी चरेस, ११ केजी अफिम, तथा ४७ हजार केजी गाँजा बरामद गरेको छ । त्यस्तै, औषधिजन्य नियन्त्रित लागुऔषध डाइजेफाम ७२ हजार चार सय चार पिस तथा बु्रपेनर्फिन ५८ हजार पिस बरामद गरेको छ । बरामद परिमाण अघिल्ला वर्षभन्दा बढ्दै गएको प्रहरीको तथ्यांक छ ।


चरेस विदेशमा, ब्राउनसुगर नेपालमा

चरेस कारोबारमा गरिब नेपाली भरियाका रूपमा प्रयोग हँुदै आएका छन् । गत १ जेठमा नागढुंगाबाट पक्राउ परेका मिलन गिरी, विकास कार्की र शरण विष्ट त्यसका उदाहरण हुन् ।
शारीरिक रूपमा अशक्त गिरी लामो समयदेखि चरेसको कारोबारमा संलग्न रहेको ब्युरोप्रमुख डिआइजी साउद बताउँछन् । उनले किलोको पाँच सयका दरले पैसा दिने सर्तमा कार्की र विष्टलाई चरेस बोकाएर काठमाडौंमा बिक्री गर्न ल्याएका थिए । त्यहीवेला प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो ।
अनुसन्धानका क्रममा दिलीप गोले भन्ने व्यक्तिले अर्जुन लामा भन्ने व्यक्तिलाई बिक्री गर्न भनेर सो चरेस काठमाडौं पठाएको खुलेको थियो ।
काठमाडौंबाट चरेस हवाई मार्ग हँुदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ । नेपालको चरेस बढी गुणस्तरीय हुने भएकाले विश्वमा नै माग हुने गरेको छ । नेपालका मकवानपुर, धादिङलगायत जिल्लाका गाउँ–गाउँमा चरेसको कारखाना नै सञ्चालन भइरहेका छन् । नेपालको चरेस दुई बाटोबाट विश्वमा पुग्ने गरेको छ । पहिलो भारत हुँदै र दोस्रो, काठमाडौंबाट हवाई मार्ग हुँदै । नेपाली चरेसमा सयौँ गुणा बढी नाफा हुने भएकाले विदेशीको आँखा यसमा गाढिएको छ ।
उता, नेपालमा भने खैरो हेरोइनको खपत बढ्न थालेको छ । लागुऔषध दुव्र्यसनी बढ्दै गएको र धेरैले खैरो हेरोइन प्रयोग गर्न थालेको एनसिबीका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ बताउँछन् । नेपालबाट सेतो हेरोइन विदेश जाने भए पनि खैरो हेरोइन भने नेपालकै मागअनुसार भारतबाट भित्रिने गरेको छ । त्यस्तै, सबैभन्दा धेरै औषधिजन्य लागुऔषध नेपाली दुव्र्यसनीले प्रयोग गर्दै आएका छन् । डाइजेपाम तथा बुप्रेनर्फिनजस्ता लागुऔषध सस्तो भएकाले धेरै नेपाली दुव्र्यसनीले प्रयोग गर्दै आएका छन् ।

नशामा युवा पुस्ता

अनागनगरकी २४ वर्षीया धनकुमारी राईले एभरेस्ट कलेजबाट वाणिज्यशास्त्रमा स्नातक गरेकी छिन् । एक कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने उनी पैसा पनि राम्रै कमाउँछिन् । तर, सबै पैसा ब्राउन सुगरमा सकिन्छ । केही समयअघि मात्र पुनस्र्थापन केन्द्रमा बसेर फर्केकी उनी पुन: लागुऔषध सेवन र कारोबारमा सक्रिय भइन् । १० दिनअघि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
‘साथीको लहैलहैले यस्तोमा लागियो,’ लागुऔषध नियन्त्रण ब्युरोको हिरासतमा रहेकी उनले भनिन् । अवकाशप्राप्त सैनिक अधिकारीकी छोरी राईजस्ता हजारौँ युवा राजधानीमा लागुऔषधको जालोमा फसेका छन् । राईकी साथी शोभा घिमिरे पनि हाल प्रहरी हिरासतमा छिन् । साथीहरूकै संगतले आफू लागुऔषध दुव्र्यसनमा परेको उनी बताउँछिन् । तर, पछिल्लो समयमा आफूले सेवन गर्न छाडे पनि अन्य साथीहरूका कारण आफू पक्राउ परेको उनको भनाइ छ । बिएस्सी नर्सिङ गरेकी घिमिरेले केही वर्ष र्‍याडिसन होटलमा कामसमेत गरेकी थिइन् ।
धेरैजसो युवा र विद्यार्थी लागुऔषधको जालोमा परेका छन् । प्रहरीले गरेको अनुसन्धानमा डाक्टर, इन्जिनियर, संगीतकारदेखि प्रहरी, आर्मीसमेत लागुऔषधको फन्दामा परेको पाइएको छ । ‘लागुऔषध कारोबारीले युवा पुस्तामा तीव्र गतिले मार्केटिङ बढाइरहेका छन्,’ डिआइजी साउद भन्छन्, ‘त्यहीअनुसार हाम्रो पनि सक्रियता बढेको छ ।’ पछिल्लो समयमा राजधानीका होस्टेलमा पनि निगरानी बढाइएको डिआइजी साउदले बताए ।
राष्ट्रिय तथ्यांक विभागको ६ वर्षअघिको डाटाअनुसार नेपालमा ४६ हजार लागुऔषध दुव्र्यसनी थिए । जुन संख्या अहिले दोब्बर भइसकेको प्रहरीको अनुमान छ ।
एनसिबीका अनुसार लागुऔषध प्रयोग गर्नेमध्ये सबैभन्दा धेरै प्लस टु पुस्ता छ । अनुसन्धानअनुसार कुल लागुऔषध दुव्र्यसनीमध्ये १५ देखि २४ वर्षबीचका मात्रै ५२ प्रतिशत छन् । साथीको संगत, निराशा, बेरोजगारी, असफल प्रेमजस्ता कारणले धेरैजना लागुऔषधमा फस्ने गरेका छन् । अभिभावकले छोराछोरीमाथि ध्यान दिन नसक्दा पनि युवा पुस्तामा दुव्र्यसन बढ्दै गएको हो । त्यसैकारण प्रतिष्ठित परिवारका छोराछोरी डरलाग्दो रूपमा लागुऔषध दुव्र्यसनमा परेको प्रहरीको भनाइ छ ।

नवराज मैनाली

 

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL