|
नयाँ पत्रिका गुल्मी, २९ जेठ गुल्मीलाई लोडसेडिङमुक्त घोषणा गरिए पनि कार्यान्वयन नभएको भन्दै आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले एक साताअगाडि विद्युत् कार्यालयमा लगाएको ताला अझै खुलेको छैन । गत २४ जेठदेखिको तालाबन्दीका कारण विद्युत् कार्यालयको कामकाज ठप्प छ । दुईपटकसम्म लोडसेडिङमुक्त घोषणा गरिए पनि कार्यान्वयन नभएपछि उपभोक्ताले संयुक्त संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेका हुन् । संघर्ष समितिले बुधबार जिल्ला प्रशासन कार्यालयअगाडि बिहान ११ बजेदेखि १ बजेसम्म दुई घन्टा धर्ना दिएको थियो । यसअघि मंगलबार पनि तम्घासमा दुई घन्टा चक्काजाम गरेको थियो । दोस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार धर्ना दिएको संयुक्त संघर्ष समितिका संयोजक रवीन्द्र गुरुङले जानकारी दिए । आन्दोलनलाई जिल्लामा क्रियाशील राजनीतिक दलले पनि समर्थन गरेका छन् । गुल्मी जिल्ला कालिगण्डकी ए जलविद्युत् प्रभावित जिल्ला हो । समस्या समाधानका लागि पटक–पटक वार्ता भए पनि सहमति भने हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले अनौपचारिक रूपमा वार्ता भए पनि सहमति हुन नसकेको जानकारी दिए । तर, संयुक्त संघर्ष समितिका संयोजक रवीन्द्र गुरुङले भने वार्ताको वातावरण सिर्जना नभएको बताएका छन् । उनले आफ्ना मागमा सहमति नहुँदासम्म आन्दोलन नरोक्ने बताए । गुल्मीलाई व्यावहारिक रूपमा लोडसेडिङमुक्त जिल्ला कार्यान्वयन गर्नुपर्ने, नेपाल विद्युत् प्राधिकरण गुल्मीका प्रमुख नवलकिशोर गोइत सेवाग्राहीप्रति गैरजिम्मेवार भएकाले कारबाही गर्नुपर्ने, विद्युत् कार्यालयमा आठौँ तहको कार्यालय प्रमुखको व्यवस्था हुनुपर्नेलगायत माग आन्दोलनरत पक्षले अगाडि सारेका छन् । केही दिनअघि विद्युत् अनियमितताको विरोधमा गुल्मीमा सञ्चालित विभिन्न चारवटा एफएम रेडियोले समेत आफ्नो प्रसारण बन्द गरेका थिए ।
|
|
रामेछाप/ जिल्ला सदरमुकाम मन्थलीमा केही दिनदेखि बढेको अस्वाभाविक गर्मीका कारण बुधबारबाट चार दिनका लागि निजी विद्यालय बन्द गरिएका छन् । गर्मीसँगै देखिने विभिन्न रोगका कारण बालबालिका र शिक्षक बिरामी पर्न थालेपछि सबै निजी विद्यालय आइतबारसम्मका लागि बन्द गरिएका छन् । अत्यधिक रूपमा बढेको गर्मीसँगै विद्यालय खोल्नासाथ बालबालिका घाँटी दुख्ने, रिंगटा लाग्ने, बेहोस हुने, ज्वरो आउने, टाउको दुख्नेलगायत रोगबाट प्रभावित हुन थालेपछि बन्द गरिएको प्याब्सनले जनाएको छ । मंगलबार बसेको प्याब्सन जिल्ला कार्य समितिको बैठकले सदरमुकामका सबै निजी विद्यालय आइतबारसम्मका लागि बन्द गर्ने निर्णय गरेको तामाकोसी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल दीपक खड्काले बताए । दूषित पानीका कारण गर्मीसँगै विभिन्न अज्ञात रोग देखापर्न थालेपछि अहिले मन्थलीमा उपचार गराउन आउने बिरामीको चापमा समेत वृद्धि भएको तामाकोसी सहकारी अस्पातलका निर्देशक डा. सुमन कर्माचार्यले बताए ।
|
|
राजकुमार गोले/नयाँ पत्रिका काभ्रे, २६ जेठ जिल्लाको दुर्गम डाँडापारि क्षेत्रमा पर्ने डाँडागाउँ–२ मा रहेको उपस्वास्थ्य चौकी कार्यालय सहयोगीकै भरमा सञ्चालन भइरहेको छ । अहेवको दरबन्दी भए पनि सरुवा भएर गएको लामो समयसम्म पनि पदपूर्ति नहुँदा बिरामी मर्कामा परेका छन् । अहिले सो उपस्वास्थ्य चौकीमा कार्यालय सहयोगी नेत्र लोप्चन मात्र कार्यरत छन् । कहिलेकाहीँ आउने अहेवले सिकाएको आधारमा औषधि बाँडिरहेको उनले बताए । लोप्चनले भने, ‘म ज्वरो आएको वेलामा सिटामोल दिन र सामान्य चोटपटकको औषधि मात्र दिन सक्छु । ठूलै रोग लागे अथवा धेरै जना बिरामी भए म के नै गर्न सक्छु र ?’ विसं ०४८ मा स्थापना भएको सो उप–स्वास्थ्य चौकीको पहिलो अहेव थिए जुद्धराज थापा मगर । उनले स्वास्थ्य चौकी छोडेपछि ०५८ मा रमेश बुढाथोकी आएका थिए । यिनै बुढाथोकीले सामान्य उपचार गर्न र औषधि दिन सिकाएको लोप्चनले बताए । ‘स्वास्थ्य चौकीमा ११ वर्षसम्म काम गरे । रमेश बुढाथोकीले मलाई सामान्य औषधि उपचार कसरी गर्ने, के कस्ता बिरामीलाई कस्तो प्रकारको औषधि दिने भन्ने सामान्य रूपमा सिकाएका थिए,’ उनले भने, ‘त्यसैको भरमा औषधि दिएर सेवा गरिरहेको छु ।’ बुढाथोकी चैत ०६८ मा सरुवा भएर गए । त्यसपछि अनिल चौधरी आएका थिए । तर, उनी एक महिना पनि नबसी गए । त्यसपछि दीपकप्रसाद उपाध्याय आए । तर, उनी पनि एक महिनामै हिँडेपछि उपस्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा चलेको स्थानीय गणेश जिम्बाले बताए ।
१० उपस्वास्थ्य चौकीमा औषधि अभाव
डाँडापारि क्षेत्रमा पर्ने १० गाविसका उपस्वास्थ्य चौकीमा केही महिनादेखि आषौधिको अभाव भएको छ । साल्मेचाकल, साल्धारा, फलामेटार, फोक्सिङटार, मिल्चे, गोकुले, घार्तीछाप, बन्खु र बुढाखानीका उप–स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो । औषधि सकिएपछि सरकारले दिँदै आएको नि:शुल्क स्वास्थ्य सेवा प्रभावित भएको छ । औषधि अभावले सामान्य बिरामी पनि धुलिखेल ल्याउनु पर्ने बाध्यता भएको छ । सदरमुकाम धुलिखेलबाट यी गाविस एक दिनसम्मको पैदल दूरीमा पर्छन् । सरकारी दररेटअनुसार प्रतिकोस दुई रुपैयाँ मात्र ढुवानी भाडा भएको तर सो दरमा भरियाले सामान बोक्न नमानेकाले औषधि लान नसकिएको एक अहेवले बताए । धुलिखेल सदरमुकामबाट पनौती, खोपासी, बल्थली, ख्याकुडाँडागाउँ, मदनवास, च्याल्टी, कामीडाँडा र महाँकालचौरको भन्ज्याङसम्म मोटरबाटो छ । सो स्थानबाट भरियाले प्रतिकोस प्रतिकिलो एक सय रुपैयाँ ढुवानी भाडा लिएर भारी बोक्ने गरेका छन् । वर्षायामको तीन महिना कतिपय खोलामा पुल नभएका कारण मानिस आवतजावत गर्नसमेत समस्या छ ।
|
|
मिलन परियार/नयाँ पत्रिका डोटी, २६ जेठ वर्षायाम नजिकिँदै जाँदा गोकुलेश्वर–१ बांगाबगर बैतडीका स्थानीय भने त्रासमा बाँचेका छन् । पानी पर्न थालेपछि उनीहरू पहिरो जाने डाँडा हेरेर नै समय बिताउँछन् । अहिले गोकुलेश्वरका पहिरोपीडित पुनस्र्थापनाको आशमा छन् । असोज ०६८ को पहिलो साता पाँच दिनसम्म परेको लगातारको झरीपछि सो ठाउँमा पहिरो जाँदा १२ घर पुरिएका थिए । सो ठाउँनजिकै बसेका विस्थापित परिवार यस वर्ष पनि पहिरोले गाउँ नै बगाउने पिरले त्रसित छन् । गोकुलेश्वर–१ बांगाबगरका चन्द्रराम सार्कीका अनुसार लगातार परेको अविरल वर्षाले घरमाथिबाट पहिरो झर्दा बस्ती नै पुरिएको थियो । खेतबारी बगरमा परिणत भएको थियो । जिल्ला प्रशासनले त्यतिवेला पाँच हजार मात्र राहत उपलब्ध गराएको सार्कीले बताए । बांगाबगरकै धनीराम सार्कीले पनि सोही पहिरोमा घरखेत गुमाएका थिए । बाबुबाजेको पालादेखि बस्दै आएको छाप्रो घरबास पहिरोले पुरेपछि विस्थापित सार्की परिवारले दुई वर्षदेखि छिमेकीको घरमा शरण लिँदै आएको छ । ‘आफ्नो भन्नु सानो झुपडी थियो, त्यही पनि पहिरोले लग्यो,’ उनले भने, ‘सानो अस्थायी टहरा बनाई रात काट्दै आएको छु, यसपालि वर्षायाम सुरु नहुँदै त्रास बढेको छ ।’ सोही ठाउँका ५० वर्षीय श्यामसिंह साउदको परिवार पनि दुई वर्षदेखि बिचल्लीमा परेको छ । खेत पहिरोमा परेपछि पाँचजनाको परिवार बिचल्लीमा परेको हो । खेत नै नरहेपछि दुई वर्षदेखि ढुंगा बेचेर परिवार पाल्दै आएको साउदले बताए । साउले भने, ‘सालपिच्छे पहिरो आउँछ, सरकारलाई गुहार्दा वास्तै गर्दैनन्, यो वर्ष पानी आए पूरै गाउँ बगाउने खतरा छ ।’ बांगाबगर पहिरोपीडित हुनेमा दमोदरनाथ पनि एक हुन् । उनले पुस्तौंदेखि बस्दै आएको तीनतले पक्की घर र कमाउँदै आएको जिल्लाकै राम्रो उब्जनी हुने १० रोपनी जग्गा ढुंगा, माटो र बालुवाले पुरिएको छ । ३८ घरपरिवार बसोबास गर्दै आएको सो गाउँमा करिब दुई सय रोपनी खेतीयोग्य जमिन र तीन सय रोपनी पाखो बारी पहिरोले पुरेको जिल्ला भू–संरक्षण कार्यालय बैतडीका प्रमुख विनोद शाहले बताए । जिल्लामै उत्पादन बढी हुने यो क्षेत्रको खेत नै पूरै बगरमा परिणत भएको छ । समयमै पहिरो नियन्त्रणका लागि पहल हुन सके बाँकी जमिनलाई बचाउन सकिने शाहले बताए । गत आर्थिक वर्षको अन्तयमा पहिरो नियन्त्रण गर्न जिविस, सडक डिभिजन कार्यालय र जिल्ला भूसंरक्षण कार्यालय बैतडीको संयुक्त पहलमा दुई लाख ५० हजार खर्चेर भल तर्काउने काम गरिएको थियो ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |