|
मिलन परियार/नयाँ पत्रिका डोटी, १९ जेठ भनिन्छ प्राकृतिक विपद् घन्टी बजाएर वा कुनै संकेत दिएर आउँदैन र यसले धनी, गरिब केही भन्दैन । त्यसैले यसबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न आफैँले सतर्कता अपनाउनु नै बुद्धिमानी मानिन्छ । बर्सेनि चमेलिया नदीमा आउने बाढीबाट धनजनको क्षति व्यहोर्दै आएका बैतडीका महिला यतिवेला उद्धारको अभ्यास गरिरहेका छन् । उनीहरूले समूह गठन गरी आफैँ खोज तथा उद्धार अभ्यासमा जुटेका हुन् । यस्तो अभ्यास चमेलिया नदीमा नै गरिएको छ । अभ्यासका लागि लाइफ ज्याकेटको व्यवस्था गरिएको छ । ज्याकेट लगाएर महिलाहरू नदीमा हेलिन्छन् । कोही बगेझैँ अभिनय गर्छन् । अनि कोही निकाल्न सुरिएर नदीको बीचसम्म पुग्छन् । अहिले चमेलिया नदीछेउको सित्तड गाविसका एक दर्जनभन्दा बढी महिला अभ्यासमा जुटेका छन् । उनीहरू पौडी खेल्ने र नदीमा बगेकालाई खोजी गरी सुरक्षित स्थानमा राख्न सिकिरहेका छन् । उनीहरूलाई अभ्यासका लागि ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडीले सघाएको छ । महिलाको अभ्यास अवलोकन गर्न चमेलिया नदी पुगेका बैतडीका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले उनीहरूको उच्च प्रशंसा गर्दै यस्तो अभ्यास जिल्लाको अन्यत्र ठाउँमा पनि गरिनु पर्ने बताए । विपद्बारे सतर्कता अपनाउन दातृ निकायले तालिम दिनु र तालिमपश्चात् नदीमै प्रत्यक्ष अभ्यास गराइनु निकै महत्त्वपूर्ण काम भएको रेग्मीको भनाइ छ । केयर नेपालको आर्थिक सहयोगमा सञ्चालित समुदाय सहयोग कार्यक्रमअन्तर्गत जिल्लाको सित्तड, कटौजपानी र विजयपुरमा गठन गरिएका समुदायस्तरीय विपद् व्यवस्थापन समितिलाई यस्तो अभ्यासमा परिचालन गरिएको छ । त्रिपाल, चटाई, कोदालो, सब्बल, माइक, डोरी, सिठी, स्ट्रेचर, प्राथमिक उपचार बाकसलगायतका सामग्रीसमेत वितरण गरिएको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । विपद् जोखिम न्यूनीकरणको अभ्यासका लागि यहाँका ग्रामीण महिलाले खोज तथा उद्धार, प्राथमिक उपचार र पूर्वसूचना प्रणालीको व्यवहारिक तालिमसमेत लिइसकेका छन् । बाढी तथा पहिरोको जोखिम घटाउन विभिन्न सीपमूलक तालिम लिएको र तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न खोज तथा उद्धार र प्राथमिक उपचार समितिसमेत गठन गरिएको समुदायस्तरीय विपद् व्यवस्थापन समितिकी सदस्य सुरक्षा कार्कीले बताइन् ।
|
|
नवराज महतारा/नयाँ पत्रिका हुम्ला, १८ जेठ सिमकोट विमानस्थलमा अवतरणका क्रममा एक हप्तामा दुईवटा विमान दुर्घटना भएका छन् । नेपालगन्जबाट आएको सीता एयरको विमान शनिबार बिहान दुर्घटनामा परेको छ । यसअघि १३ जेठमा गोमा एयरको विमान पनि अवतरणका क्रममा दुर्घटनामा परेको थियो । पाँच यात्रुसहित कार्गो लिएर आएको सीता एयरको डोनियर जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । विमानमा चालक दलका दुई सदस्यसहित सात यात्रु सवार थिए । दुर्घटनामा कुनै मानवीय क्षति नभएको सिमकोट विमानस्थलले जनाएको छ । जहाजको बायाँ पखेटा, टायर र बडीमा क्षति पुगेको छ । अगाडिको चुच्चो भाग विमानस्थलको जमिनमा गाडिएको छ । सिमकोट विमानस्थलको धावनमार्गमा दुर्घटनाका कारण जिल्लामै आन्तरिक उडान गरिरहेका फिस्टेलका दुईटा हेलिकोप्टरबाहेक अन्य उडान रद्द भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । जहाजकी यात्रु धुम्री शाहीले जहाज ल्यान्ड गर्ने क्रममा एकाएक ढल्किएपछि बाँच्ने आश नै मारेको बताइन् । उनले आफ्नो खुट्टा र टाउकोमा सामान्य चोट लागेको बताएकी छन् । यसैगरी, धनगढी नगरपालिका–५ स्थायी घर भएका जिल्ला नापी कार्यालयका प्रमुखसमेत रहेका खगेन्द्र भण्डारीले ल्यान्ड गर्ने वेला जहाज एक्कासि ढल्किएपछि मात्रै आफूहरूले जानकारी पाएको बताए । जहाज ढल्किएपछि ढोका खोल्न धेरैपटक चिच्याए पनि कसैले नखोलेको उनको भनाइ छ । कतिखेर आएर प्रहरीले ढोका खोले थाहा नपाएको उनले बताए । विमानस्थलको इन्डोरमा बाक्लो कुहिरो लागेकाले सीधा अवतरण गर्न नसकिने भनेर क्याप्टेनलाई जानकारी गराए पनि क्याप्टेन किरण भट्टराईले अति आत्मविश्वासी भएर जहाज अवतरण गराएका कारण दुर्घटना भएको विमानस्थलको आन्तरिक सञ्चारमा उल्लेख गरिएको छ । दुर्घटनाको कारणबारे विमानस्थल र चालक दलका सदस्यसहितको उच्चस्तरीय बैठक सिमकोट विमानस्थलमा बसेको भए पनि कुनै पनि विवरण सार्वजनिक गरिएको छैन । हुम्लाका लागि पहिलो उडान गरेको सो विमानमा चालक किरण भट्टराई, सह–चालक दीपक शाह थिए । त्यस्तै, यात्रुमा धनगढी–५ घर भएका नापी कार्यालय हुम्लाका प्रमुख खगेन्द्र भण्डारी, हुलिया–९ बाँकेका जेनेरेटरका टेक्निसियन अस्कर सेक, सिमकोट–३ का विद्यार्थी धिरेन रावत, खगालगाउँ–२ का व्यापारी नाग्वेल तामाङ र मेल्छाम–७ की धुर्मी शाही थिए ।
|
|
उत्तम पोखरेल/नयाँ पत्रिका तेह्रथुम, १८ जेठ जिल्ला वन कार्यालयअन्तर्गतका आठवटा रेन्जपोस्टमा लामो समयदेखि वन रक्षक र फरेस्टरका दरबन्दी रिक्त छन् । १५ वर्षदेखि वनका २३ कर्मचारीको दरबन्दी रिक्त छन् । तेह्रथुममा ३२ वनरक्षकको दरबन्दी रहेकोमा लामो समयदेखि २० जनाको दरबन्दी रिक्त छ । तीनजना फरेस्टरको दरबन्दी पनि रिक्त छ । प्रत्येक रेन्जपोस्टमा चारजना वनरक्षक र एकजना फरेस्टरको दरबन्दी रहनुपर्नेमा अहिले मुस्किलले एकजनाले काम चलाउनुपरेको जिल्ला वनअधिकृत फणीन्द्र पोखरेलले बताए । ०५२ सालमा जिल्ला वन कार्यालयले पदपूर्ति गरेका १० जना वनरक्षक नियुक्ति प्रक्रिया अवैध भएको उजुरी परेको थियो । उजुरीपछि नियुक्त सबै वनरक्षकको नियुक्ति खारेज भएको थियो । त्यसयता वनरक्षक नियुक्ति गर्ने अधिकार वनबाट खोसेर लोकसेवा आयोगले लिएको छ । आयोगले यी दुवै पदमा लामो समयदेखि पदपूर्ति नगर्दा वन क्षेत्रमा कर्मचारी अभाव भएको वनअधिकृत पोखरेलले बताए । रिक्त दरबन्दीमा कर्मचारी नियुक्ति नहुँदा र भएका कर्मचारीले पनि उमेरहद र पेन्सनका कारण सेवाबाट अनिवार्य अवकाश लिँदै गएकाले जिल्लाको वन तथा वातावरण संरक्षणमा नै चुनौती थपिएको छ । वनरक्षक र फरेस्टर अभावमा वनमा गस्ती गर्ने, वन समूहलाई प्राविधिक सल्लाह दिने, बैठक तथा आमसभा गराउने र सहजीकरण गर्ने, रेन्जर र सहायक वनअधिकृतलाई सहयोग गर्नेलगायत सबै काम प्रभावित भएको वन कार्यालयले जनाएको छ । सेवाबाट अनिवार्य अवकाश पाएर रिक्त रहेको वनरक्षक पदमा विभागले कर्मचारी नपठाउने गरेकाले समस्या भएको सहायक वन अधिकृत धर्मी यादवले बताए । यी कर्मचारी नियुक्ति गर्ने अधिकार अहिले कार्यालयलाई नभएको र विभागले पनि नपठाउँदा जिल्लाभरको वन क्षेत्रमा काम गर्न समस्या भएको उनले बताए । अहिले कार्यरत रहेका १२ वनरक्षक पनि बुढेसकालले आँखा कमजोर भएका र बिरामीसमेत रहेकाले कुनै सेवा लिन नसकिएको वन कार्यालयले जनाएको छ ।
|
|
अशोक पहाडी/नयाँ पत्रिका रौतहट, १८ जेठ जिल्ला शिक्षा कार्यालयले साक्षर नेपाल अभियानअन्तर्गत रौतहटको १२ गाविसमा प्रौढ शिक्षा कार्यक्रम सञ्चालन नै नभई रकम निकासा गरी दुरुपयोग गरेको खुलेको छ । जिल्लाको पिपरा पोखरिया, तुल्सी राजपुर, फतुवा महेशपुरलगायत १२ गाविसमा कार्यक्रम सञ्चालन हुनुपर्ने थियो । शिक्षा कार्यालयले कार्यक्रम सञ्चालनका लागि नौ सय ७५ जना स्वयंसेवक तथा ९३ निरीक्षक पनि खटाएको थियो । निकासा भएको रकम कार्यक्रम नगरी खर्च भएको विषयमा शिक्षा कार्यालयले नै अनभिज्ञता जनाएको छ । सो कार्यक्रमअन्तर्गत १२ गाविसका १८ हजार निरक्षरलाई साक्षर बनाउन स्वयंसेवकलाई महिनाको दुई हजार र निरीक्षकलाई दुई हजार पाँच सय रुपैयाँ दिने गरी रकम निकासा भइसकेको छ । उक्त कार्यालयले प्रतिविद्यार्थी पाठ्यपुस्तकका लागि ७४ रुपैयाँ, मसलन्दमा ५४ र प्रतिविद्यार्थी निरीक्षणभत्ता २ रुपैयाँ निकासा गरेको छ । शिक्षा कार्यालयले कार्यक्रमका लागि ५० लाखभन्दा बढी रकम निकासा गरिसकेको स्रोतले जानकारी दिएको छ । नौ सय ७५ स्वयंसेवकलाई तलबबापत १९ लाख ५० हजार, ९३ जना निरीक्षकको दुई लाख ३२ हजार पाँच सय, पाठ्यपुस्तकबापत १३ लाख ३२ हजार निकासा भएको छ । त्यस्तै, मसलन्द खर्च नौ लाख ७२ हजार र निरीक्षण भत्ताबापत ३६ हजार निकासा भएका स्रोतले बताएको छ । जिल्ला शिक्षा कार्यालयका अनौपचारिक शिक्षाशाखा हेर्ने शाखाअधिकृत ध्रुव पौडेलले आफूले अनुगमनमा जाँदा एउटा गाविसमा साक्षर नेपाल अभियानअन्तर्गत प्रौढ शिक्षाको पढाइ भइरहेको पाएको बताए । उनले अन्य गाविसमा आवश्यक जनशक्ति र साधन–स्रोतको अभावले अनुगमन गर्न नसकेको स्विकारेका छन् । अनुगमन तथा निरीक्षण टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, महिला विकास कार्यालय, नागरिक समाज, नेपाल पत्रकार महासंघका प्रतिनिधि हुनुपर्ने तोकिएको छ । तर, प्रतिनिधि तोकिएका अधिकांश कार्यालयका प्रमुखले सो विषयमा जानकारी नभएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले सो विषयमा जिल्ला शिक्षा कार्यालयले आफूलाई कुनै जानकारी नदिएको बताए ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |