Tuesday, May 21, 2013

देश
तस्करीमा संलग्न आशंकामा प्रहरीचौकीको टोली नै परिवर्तन पीडीएफ मुद्रण इमेल

गणेश लम्साल/नयाँ पत्रिका
विराटनगर, ३१ वैशाख
मिलेमतोमा तस्करी गरेको फेला परेपछि मोरङको सीमा नाकामा पर्ने मटेर्वा चौकीका इन्चार्जसहित टोलीलाई नै परिवर्तन गरिएको छ ।
मटेर्वा नाकाबाट सोमबार राति सर्पगन्धा, सताबरीलगायत बहुमूल्य जडीबुटी तस्करी हुँदै गरेको गुप्तचर निकायको सूचनापछि चौकीका इन्चार्ज रामकुमार खबासको नेतृत्वमा रहेको ११ जनाको टोलीलाई सोमबार बिहानै जिल्ला प्रहरी कार्यालयले फिर्ता बोलाएको हो । 'हामीले बहुमूल्य १७ केजी जडीबुटी भारततर्फ लैजाँदै गरेको राति फेला नै पार्‍यौँ, यसैले मिलेमतोको आशंकामा छानबिन गर्न चौकीका इन्चार्जसहित सबै टोली परिवर्तन गरेका हौँ,'  मोरङका डिएसपी दीपक पोखरेलले भने ।  
विराटनगर उपमहानगरपालिका-२२ मा पर्ने मटेर्वा नाका भारतको विहार राज्य अररिया जिल्लाको जोगबनी सीमासँग जोडिने बाइपास नाका हो । नेपाल-भारत सिमानामा पर्ने इलाका प्रहरी रानीमातहत रहेको चौकी स्थापना भए पनि मिलेमतोमा तस्करी हुने गरेको गुनासो आइरहेको थियो । अवैध ओसारपसार गर्नेले काठपात, फर्निचर, लत्ताकपडा , मेसिनरी सामानदेखि उपभोग्य वस्तु ओसारपसार गर्न यो नाकाको प्रयोग सुरक्षित मान्ने गरेका छन् । विराटनगर भन्सारभन्दा दक्षिणपूर्वमा रहेको मटेर्वा नाकाबाट अत्यधिक तस्करी हुने गरेको पाइएपछि चार वर्षअघि अस्थायी प्रहरीचौकी राखिएको थियो । तर, चौकीमा खटिने प्रहरी नै तस्करसँग मिलेको आरोपमा प्रायः विवादमा आउने गरेका थिए ।
भारतको जोगबनी पूर्वक्षेत्रको उपभोग्य वस्तु किनमेल गर्ने मुख्य बजार हो । यसैले यहाँबाट खरिद गरिएका सामान भन्सार छलेर लान व्यापारीले क्यारिङ एजेन्ट नै परिचालन गरेका हुन्छन् । क्यारिङ एजेन्टले प्रहरीसँग लाइनको समय मिलाएपछि अवैध ओसारपसार गर्ने गर्छन् ।
उपल्ला तहका कमाउ प्रवृत्तिका प्रहरी अधिकारीले यो नाकाबाट तस्करी गराउन आफूले चाहेका कनिष्ठ प्रहरी पठाउने चलन पनि छ । तर, डिएसपी पोख्रेलले आफूले तस्करीलाई पूर्ण नियन्त्रण गर्न टोली परिवर्तन गरेको दाबी गरे ।
केही महिनादेखि पूर्वक्षेत्रमा भन्सार छलेर अवैध ओसारपसार गर्ने क्रम निकै बढेर गएको पाइएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय मोरङले पनि ३० वैशाखमा को.१त ७०९९ नम्बरको हाते ट्रयाक्टर र चालकसहित १२ बोरा सुर्ती बरामद गरेको थियो । 
पहिले खुला सिमानाको बहाना बनाएर खुलमखुला तस्करीलाई संरक्षण गरी मालामाल हुन पाउने भएकाले सीमा नाकामा रहेका इलाका र पोस्टमा आउन चाहने प्रहरीको मारामार हुने गथ्र्याे । तर, पूर्वक्षेत्रका तत्कालीन डिआइजी सुरेन्द्रबहादुर शाह र मोरङमा एसपी रहिसकेका प्रद्युम्न कार्कीले तस्करीलाई पूर्ण नियन्त्रण गर्ने प्रयास गरेपछि नयाँ आउनेलाई पनि तस्करीलाई संरक्षण दिन खुला चुनौती हुने गरेको छ ।

 
मिर्गौला तस्करीका अभियुक्त सार्वजनिक पीडीएफ मुद्रण इमेल

राजकुमार गोले/नयाँ पत्रिका
काभ्रे, ३१ वैशाख
काभ्रेमा मिर्गौला तस्करीमा संलग्न ८ जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।
प्रहरीले लामो अनुसन्धानपछि काभ्रे, काठमाडौं, ललितपुर र नुवाकोटका विभिन्न स्थानबाट ती व्यक्तिलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएकाहरूमा काभ्रे पाँचखालका राजन दर्जी, ललितपुरका सचिन महर्जन र सानुबाबु महर्जन, धादिङका विनोद ढकाल, काभ्रे होक्से माइती भएकी मीना दाहाल भन्ने मीना दर्जी, नुवाकोटका कृष्ण दर्जी र तनहुँका कुमार अधिकारी
रहेका छन् ।
सचिन महर्जन पाटन क्याम्पसका स्ववियु पूर्वउपसभापतिसमेत रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कमल घर्तीका अनुसार काभ्रेबाट एकजना, नुवाकोटबाट एकजना, ललितपुरबाट दुईजना र बाँकीलाईर् काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो । मिर्गाैला तस्करीका नाइके प्रेमप्रसाद बजगाईंलाई नियन्त्रणमा लिएपछि प्रहरीले थप अन्यलाई पनि पक्राउ गरेको हो । बजगाईंलाई नियन्त्रणमा लिएलगत्तै प्रहरीले काभ्रे पनौतीका मनोज राउतलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकामध्ये बजगाइर्ंलाई मानव अंग बेचबिखन तथा ओसारपसार अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मनोज भने २५ हजार धरौटीमा रिहा भइसकेका छन् । पक्राउ परेकामध्ये सचिन महर्जन, मनोज राउत र प्रेमप्रसाद बजगाईंलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार काभ्रेका विभिन्न स्थानबाट एक सय ५० जनाले मिर्गाैला बेचेको तथ्यांक छ । तर, काभ्रेमा मिर्गाैला तस्करी नियन्त्रणमा काम गरिरहेको जनअधिकार मञ्च जिल्ला संयोजक कृष्णप्यारी नकर्मीका अनुसार काभ्रेमा तीन सयभन्दा धेरैले भारत र अन्य ठाउँमा गएर मिर्गाैला बेचेका छन् ।

 
कर्मचारी अभावमा एक दर्जन स्वास्थ्य संस्था बन्द पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
रामेछाप, ३१ वैशाख
जिल्ला स्वास्थ्य कार्यालयले बोलाएकोे भन्दै स्वास्थ्यकर्मी स्वास्थ्य चौकी नै बन्द गरेर हिँडेपछि जिल्लाका एक दर्जनभन्दा बढी स्वास्थ्य संस्था पूर्ण रूपमा बन्द भएका छन् । स्वास्थ्य संस्था बन्द भएपछि सेवाग्राही उपचार लिनबाट वञ्चित भएका छन् ।
जिल्लाभरमा एकैपटक ३५ भन्दा बढी स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खाली भएका स्वास्थ्य चौकी पियनको भरमा खोल्न आफूले निर्देशन दिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.वासुदेव पाण्डेेले बताए ।
'केही कर्मचारी जिल्लामा बोलाइएकाले केही स्वास्थ्य संस्था बन्द भएका हुन सक्छन्, तिनीहरूलाई तत्काल खोल्न लगाउँछु,' डा.पाण्डेले भने ।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा दरबन्दी रहेका १५ स्वास्थ्यकर्मीको जिल्लाबाहिर सरुवा भएको र एक अहेव तथा एक अनमी पढ्न जिल्लाबाहिर गएका कारण १७ जनाको पद एकैपटक रिक्त भएको कार्यालयले जनाएको छ । त्यस्तै, आव ०६८/६९ का लागि करारमा लिइएका १५ स्वास्थ्यकर्मीको यही असार मसान्तबाट म्याद सकिँदै छ । त्यसपछि हाल जिल्लाका ग्रामीण भेगस्थित धेरैजसो स्वास्थ्य चौकी बन्द हुने डा.पाण्डेले बताए ।
जिल्ला जनस्वास्थ्य प्रमुख पाण्डेले भने, 'एकैपटक ३५ भन्दा बढी स्वास्थ्यकर्मीको एकैपटक सरुवा र करारको म्याद समाप्त भएपछि स्वास्थ्य संस्था नराम्ररी प्रभावित भएका छन्, यति ठूलो मात्रामा एकैपटक कर्मचारी खाली भएको सम्भवतः यो पहिलोपटक हो ।'
कर्मचारी नभएपछि गाउँमा रहेका स्वास्थ्य चौकीमा तीनजना दरबन्दी भएको ठाउँबाट एकजना मात्र राखी अन्य कर्मचारीलाई कोही पनि नभएको ठाउँमा लगेर काम चलाउन थालिएको पनि डा.
पाण्डेले बताए ।
गर्मीको समयमा बढी मात्रामा झाडापखाला, ज्वरो, टाइफाइडलगायतका बिरामी अस्पतालमा आउने गरेको भए पनि स्वास्थ्य चौकी बन्द हँुदा सेवाग्राही मर्कामा परेका छन् । गोश्वारा गाविस-८ का सन्तोष मगरले बिरामी भएर स्वास्थ्य चौकीमा तीनपटकसम्म जाँदा पनि सधैँ बन्द रहेको देखेपछि काभ्रेको वनेपामा गएर उपचार गर्नुपरेको बताए ।
यस्तै, बाँकी रहेका अन्य कर्मचारी पनि सबैजसो घरतिर हिँडेपछि बिरामीलाई झनै समस्या परेको छ । हाल जिल्लाका गुम्देल, टोकरपुर, बेथान, गोश्वारा, डडुवा, फुलासी, भुजी, पि्रती, रस्नालु गरी करिब दुई दर्जनभन्दा बढी गाविसका स्वास्थ्य चौकी मातृशिशु कार्यकर्ता र पियनका भरमा चलेका छन् ।

 
विश्व खाद्य कार्यक्रममा बाल भरियाको प्रयोग पीडीएफ मुद्रण इमेल

जाजरकोट/ जाजरकोटमा विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालित एक कार्यक्रममा बालबालिकालाई भरियाको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ ।
ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बालबालिकालाई भरिया प्रयोग गर्ने गरिएको हो । कार्यक्रमअन्तर्गत खलंगा-पाँचकाटिया-पैंक मोटरबाटो निर्माणमा विश्व खाद्यद्वारा वितरित चामल र दाल बोक्नका लागि बालबालिकालाई भरियाको रूपमा प्रयोग गर्ने गरिएको छ । त्यस्तै, उनीहरू बाटो खन्ने काममा समेत संलग्न हुने गरेेका छन् । कतिपय स्कुले बालबालिकालाई समेत बालभरिया र बाटो खन्ने काममा प्रयोग गरिएको स्थानीयको भनाइ छ ।
सो सडकखण्डको तीन किमि बाटो खन्नका लागि विश्व खाद्य कार्यक्रमले आठ सय ६९ क्विन्टल चामल र एक सय आठ क्विन्टल दाल सहयोग गरेको छ । अशिक्षा र गरिबीका कारण जिल्लाका अन्य काममा समेत बालबालिका भरियाको रूपमा प्रयोग हुनुपर्ने बाध्यता रहेको स्थानीय प्रतिमा आरसीले बताइन् ।  बालअधिकारको वकालत गर्ने विश्व खाद्य कार्यक्रमअन्तर्गत सञ्चालित कार्यक्रममा नै बालबालिका भरियाका रूपमा प्रयोग हुनु दुखद पक्ष भएको अधिकारकर्मी खिमबहादुर शाहीले बताए ।

 
थप लेखहरु...
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL