|
श्रवण देउवा/नयाँ पत्रिका कैलाली, १९ असार धनगढीबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको बस दुर्घटनामा मंगलबार आठजनाको मृत्यु भएको छ । सुदूरपश्चिम यातायातको ना.४ख ६६०८ नम्बरको बस मंगलबार बिहान ५ बजे ग्वानी गाविसको बागजेबलामा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरूमा सर्मोली गाविस घर भएका एमाले जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी जोशी, धनुषा घर भई जिल्ला भूसंरक्षण कार्यालय दार्चुलामा कार्यरत सबइन्जिनियर अमितकुमार पण्डित, ग्वानी गाविस मिलमिली घर भएका १९ वषर्ीया धौलसिंह धामी र भगवती गाविस-९ का सुनिलसिंह धामी छन् । त्यस्तै, डडेल्धुराको अमरगढी नगरपालिकाकी पार्वती भट्ट, बैतडी जिल्ला डिलासैनी गाविसका धौलराम सार्की र बैतडी कोटपेटरा-५ का हरिभानसिंह धामीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । एक मृतकको पहिचान भने खुल्न सकेको छैन । घटनामा दार्चुलाको मालपोत कार्यालय प्रमुख हरकसिंह कुँवर, महिला तथा बालबालिका कार्यालयकी कर्मचारी श्यामसिंह धामी, कैलालीका कमल ऐरी, डडेल्धुराकी दिया भट्ट, बैतडी रुद्रेश्वरका लालबहादुर बोहरा, कैलालीका दुर्गा कँुवर, बैतडी डिलासैनीका वीरे साउद, दोलखाका सीताराम भुजेललगायत घाइते भएका छन् । बस चालक बैतडीका दुर्गादत्त विष्ट पनि घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूलाई गोकुलेश्वरबाट डडेल्धुराको टिम अस्पताल पठाइएको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी दानबहादुर ऐरीले जानकारी दिए । चारजना घाइतेको भने प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वरमा उपचार भइरहेको छ । महाकाली लोकमार्गको गोकुले-दार्चुला सडकखण्डमा बस दुर्घटना भएको हो । घटनास्थल सदरमुकाम खलंगाबाट करिब ६० किलोमिटरमा टाढा पर्छ । क्षमताभन्दा बढी यात्रु र सामान बोकेका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दार्चुलामा निमित्त प्रजिअ ऐरीका अनुसार बसमा ३६ जनाभन्दा बढी यात्रु थिए । दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरी टोलीले उद्धार गरेको थियो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक श्यामबहादुर साउदको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । मालिकार्जुन प्रहरी चौकीबाट पनि उद्दारमा प्रहरी टोली परिचालन गरिएको थियो । मृतकका शव गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र बैतडीबाट डाक्टर आएर पोस्टमार्टम गरिने निमित्त प्रजिअ दानबहादुर ऐरीले बताए ।
|
|
कृष्ण पोखरेल/नयाँ पत्रिका पाल्पा, १९ असार जंगली विषालु च्याउ खाँदा हेक्लाङ गाविसका एकै परिवारका दुईसहित तीन बालकको मंगलबार ज्यान गएको छ । दुईजना बिरामी परेका छन् । च्याउ खाएर बिरामी परेका हेक्लाङ गाविस-८ का दाजुभाइ १३ वषर्ीय एकबहादुर सारू र ११ वषर्ीय किरण तथा छिमेकी पाँच वषर्ीय कुशल रानाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । घरनजिकैको जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनीहरू शनिबार बेहोस भएका थिए । बेहोस भएलगत्तै उनीहरूलाई मिसन अस्पताल लगिएको थियो । च्याउ खाएर बिरामी परेका बालबालिका नरेश सारू र सुस्मिता सारूको मिसन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई पनि शनिबार नै अस्पताल भर्ना गरिएको आमा थानकुमारी रानाले बताइन् । च्याउ खाएर बिरामी परेका गुल्मी ग्वादीका प्रकाश सुनारको पनि उपचार भइरहेको छ । बिरामीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
|
|
मुकेश पोखरेल/नयाँ पत्रिका भ्ौरहवा, १८ असार युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका एक बिरामीको बेडबाट लडेर मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । मृत्यु हुनेमा बुटवल नगरपालिका-१३ देवीनगरका २८ वषर्ीय सुरेश रानामगर छन् । सिसियु कक्षमा रहेका उनको आइतबार बिहान बेडबाट लडेर मृत्यु भएको आफन्तको भनाइ छ । सिसियु कक्षमा बिरामीका कुरुवा बस्न पाउँदैनन् । सो कक्षमा अस्पतालकै नर्सले चौबीसै घन्टा बिरामीको हेरचाह गर्ने गर्छन् । बिहान साढे आठ बजे सिसियु कक्षमा नै भर्ना भएका अर्का एक बिरामीका आफन्तले सुरेशलाई भुइँमा लडेको अवस्थामा देखेको बताएका छन् । त्यसपछि मात्रै ड्युटीमा खटिएका नर्सले उनलाई भुइँबाट उठाएर बेडमा राखेको सिसियु कक्षकै अर्का एक बिरामीको भनाइ छ । बेडबाट लड्नु १५ मिनेटअघि सुरेशले चिया, बिस्कुट खानुका साथै आफन्तसँग कुराकानी गरेका थिए । तर, अस्पताल प्रशासनले भने बिरामीको बेडबाट लडेर मृत्यु नभएको दाबी गरेको छ । अस्पतालका प्रशासक दिवाकर पाण्डेले रोगकै कारण बिरामीको मृत्यु भएको दाबी गरे । पाण्डेले भने, 'बिरामीको एउटा हात थिएन । १०/१० मिनेटमा कोल्टो फेर्नुपर्ने थियो । प्रेसर ४०/३० को रेसियोमा थियो । जन्डिसले लिभर ड्यामेज थियो त्यसैले लडेर मृत्यु भएको होइन ।' पाण्डेले औषधि खुवाउने क्रममा बिरामी छट्पटाएर नर्सले धान्न नसेकेपछि बेडबाट लडेको बताए । बिरामी बेडबाट लडेको डेढ घन्टासम्म होसमा भएकाले पनि बिरामीको मृत्यु बेडबाट लडेका कारण भएको मान्न नसकिने तर्क पाण्डेको छ । मृतकका आफन्तले भने अस्पतालले वास्तविकतालाई बंग्याएर घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि सुरेशलाई शुक्रबार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भर्ना गरिएको थियो । तर, अस्पतालले आइसियुमा राख्नुपर्ने बताएपछि राति १ बजे उनलाई आफन्तले मेडिकल कलेज भैरहवामा पुर्याएका थिए । मृत्ाकका भिनाजु छविलाल झेडीमगरका अनुसार शनिबार बिहान १० बजेपछि चिकित्सकले मुटुको समस्या भन्दै आइसियुमा भर्ना गर्न लगाएको थियो । आइसियुमा बिरामीका लागि बेड खाली नभएपछि अस्पतालकै सल्लाहमा दैनिक दुई हजार रुपैयाँ बेड चार्ज तिर्ने गरी सिसियु कक्षमा भर्ना गरिएको उनले बताए । उनका अनुसार सुरेशलाई जन्डिस भए पनि उपचारपछि निको भएका थिए । तर, कमजोरी महसुस भएपछि उनलाई अस्पताल लगिएको थियो । उपचारका लागि सिसियु कक्षमा भर्ना गरिएका बिरामीको बेडबाट लडेर मृत्यु हुनुलाई अस्पताल र ड्युटीमा खटिएका कर्मचारीको लापरबाही भन्दै बिरामीका आफन्तले पीडित पक्षलाई राहत उपलब्ध गराउन माग गरेका छन् । सुरेशकी श्रीमती र ७ महिनाकी छोरी छन् । 'पैसाले बिरामीको ज्यान फर्केर त आउँदैन् । छोरी र श्रीमतीलाई गुजाराका लागि राहतको माग गरेका हौँ,' मृतकका भिनाजु छविलालले भने । अस्पतालले 'पैसा दिने व्यवस्था छैन, श्रीमतीलाई रोजगार दिन सक्छौँ' भनेर पन्छिएको उनले बताए । पीडित परिवारले १० लाख रुपैयाँ माग गरेका छन् । यही विषयलाई लिएर आइतबार राति १० बजेसम्म भएको वार्ता निष्कर्षविहीन भएपछि सोमबार दिनभर वार्ता भएको थियो ।
|
|
वीरबहादुर गिरी/नयाँ पत्रिका जाजरकोट, १८ असार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाएपछि जाजरकोटका एक नेकपा-माओवादी कार्यकर्ताले विद्यालयको प्रांगण जोतेर रोपाइँ गरेका छन् । सूर्योदय माध्यमिक विद्यालय कैनाको विद्यालय व्यवस्थापन समितिमा आफूलाई अध्यक्ष बनाउन सर्वसम्मत सहमति नगरेको भन्दै डाँडागाउँ-६ कैनाका माओवादी जिल्ला सदस्य मानबहादुर रोकाले विद्यालयको प्रांगण जोतेर रोपाइँ गरेका हुन् । सदरमुकाम खलंगादेखि एक दिनको पैदलदूरीमा रहेको विद्यालयमा १३ असारमा विद्यालय व्यवस्थापन समिति गठन गर्न भेला बोलाइएको थियो । सो भेलामा अध्यक्ष पदमा आफूलाई अरूले समर्थन नगरेको भन्दै रोकाले विद्यालयको प्रांगण जोतेको प्रधानाध्यापक प्रचण्ड वलीले बताए । वलीका अनुसार रोकाले जोतेको विद्यालयको प्रांगण सात वर्षअघि आन्तरिक स्रोतबाट मनबहादुरका बुबा सेते रोका र काका कलबहादुर रोकाबाट विद्यालयले किनेको थियो । माओवादी द्वन्द्वका वेला किनबेच गरिएको जग्गाका बारेमा लेनदेनका विषयलाई लिएर विद्यालय र रोकाबीच अहिले पनि विवाद रहेको वलीले बताए । रोकाले विद्यालयको प्रांगण जोतेको विषयमा जिल्ला शिक्षा कार्यालयमा विद्यालयका तर्फबाट उजुरी दिइसकिएको प्रधानाध्यापक वलीको भनाइ छ । व्यवस्थापन समिति गठनका लागि बोलाइएको भेलामा मानबहादुरसहित अन्य तीनजना पनि उम्मेदवार थिए । आफूहरूको जग्गामा विद्यालय बनेको भन्दै अध्यक्ष पनि आफैँ हुनुपर्ने रोकाले अडान लिएको शिक्षक नरबहादुर शाहीले बताए । भेलामा कुरा मिल्न नसकेपछि रोकाले घरमा गएर दुई हल गोरु ल्याएर विद्यालयको प्रांगण जोतेको उनले बताए । विद्यालयको जग्गा पाँचजनाको नाममा रहेको छ । उनीहरूको आन्तरिक विवादका काण किनबेच भएको सात वर्षसम्म पनि विद्यालयको नाममा नामसारी नभएको विद्यालयले जनाएको छ ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |