Friday, May 24, 2013

विश्व खबर
आँधीको त्रासले हजारौँ विस्थापित पीडीएफ मुद्रण इमेल

एजेन्सी
ढाका, १ जेठ
समुद्री आँधी महासेनको त्रासका कारण बंगलादेशको तटीय क्षेत्रका हजाराँै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
चटगाउँ र कक्स बजारमा आँधीको प्रभाव निकै पर्ने अनुमान गरी उनीहरूलाई सुरक्षित स्थानमा सारिएको बंगलादेशी अधिकारीले जनाएका छन् । बंगालको खाडीबाट उत्तर-पूर्वतर्फ आइरहेको आँधी बिहीबारसम्म चटगाउँ र कोक्स बजारमा आइपुग्ने अनुमान
गरिएको छ ।
समुद्री आँधीले दुई मिटरसम्मको छाल बनाउन सक्ने बंगलादेशको मौसम विज्ञान विभागले जनाएको छ । प्रभावित क्षेत्रवरपरका जनतालाई सुरक्षाका विभिन्न उपाय अवलम्बन गर्न आग्रह गरिएको विभागले जनाएको छ ।
आँधीले बंगलादेशको सीमानजिकैको म्यानमारको राखिने प्रान्तका केही भूभागमा समेत असर गर्ने अनुमान गरिएको छ । आँधीले प्रभाव पार्न सक्ने ती क्षेत्रका बासिन्दालाई समेत अन्यत्र सार्ने कार्य तीव्र पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राखिने क्षेत्रमा हजाराँै रोहिंगा मुस्लिम बसोबास गर्दै आएका छन् । उनीहरू विशेषगरी गत वर्ष मुस्लिम र बौद्ध धर्मावलम्बीबीच भएको जातीय झडपबाट विस्थापित भएका हुन् । उनीहरूले आँधीले प्रभाव पार्ने स्थान छाड्न आनाकानी गरिरहेको अधिकारीले जनाएका छन् । करिब एक लाख पचास हजार बासिन्दालाई तटीय क्षेत्रबाट उच्च भूभागमा सारिएको राष्ट्रिय योजनामन्त्री तिन नैङ थेनले बताएका छन् ।
कक्स बजार तथा चटगाउँमा अवस्थित विमानस्थलसमेत केही समयका लागि बन्द गरिएको छ । आँधीका कारण बंगलादेश, म्यानमार तथा उत्तर-पूर्वी भारतका करिब ८२ लाख जनता जोखिममा रहेको संयुक्त राष्ट्रसंघस्थित मानवीय मामिला सहयोग कार्यालयले प्रक्षेपण गरेको छ । २००८ मा म्यानमारको तटीय क्षेत्रमा आएको समुद्री आँधी नर्गिसका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

 
बलात्कारका अभियुक्त अस्पताल भर्ना पीडीएफ मुद्रण इमेल

एजेन्सी
नयाँदिल्ली, १ जेठ
गत डिसेम्बरमा नयाँदिल्ली सामूहिक बलात्कारका एक अभियुक्तको स्वास्थ्यस्थिति गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
अभियुक्त विनय शर्मालाई कारागारमा कुटपिट गर्नुका साथै विष खुवाइएपछि अस्पताल भर्ना गरिएको उनका वकिल एपी सिंहले बताएका छन् । मंगलबार कुटपिटपछि घाइते भएका शर्मालाई जयप्रकाश नारायण अस्पतालमा भर्ना गरिएको सो अस्पतालका चिकित्सकले पुष्टि गरेका छन् । उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन । पीडित शर्माको अवस्था गम्भीर रहको उनका वकिल सिंहलाई उद्धृत गर्दै एफपीले जनाएको छ । कारागारका अधिकारीले शर्माको खानामा विष मिसाएका कारण उनले रगत बान्ता गरेको सिंहको आरोप छ । अभियुक्तको सुरक्षाको विषयलाई लिएर आफूले बारम्बार प्रश्न उठाउँदै आए पनि सुरक्षा अधिकारीले बेवास्ता गरेको
सिंहले बताए ।
यसअघि दिल्ली सामूहिक बलात्कारका एक अभियुक्त राम सिंहले २३ मार्चमा जेलमै पासो लगाएर आत्महत्या गरेका थिए । सिंहलाई कारागारका अधिकारी तथा जेलमा रहेका अन्य कैदीले मानसिक यातना दिएका कारण उनले आत्महत्या गरेको परिवारले दाबी गरेको छ । राम सिंहको आत्महत्याबारे छानबिन भइरहे पनि प्रतिवेदन भने सार्वजनिक भएको छैन ।
डिसेम्बरमा बलात्कृत २३ वर्षे युवतीको उपचारका क्रममा निधन भएपछि ६ अभियुक्तलाई पक्राउ गरिएको थियो । उनीहरूको मुद्दा फास्ट ट्रयाक अदालतमा चलिरहेको छ । घटनापछि महिला सुरक्षाको विषयलाई लिएर भारतभर कैयाँै दिन प्रदर्शनसमेत भएको थियो ।

 
पाकिस्तानी सत्तामा सरिफको पुनरागमन पीडीएफ मुद्रण इमेल

एजेन्सी
इस्लामाबाद, २९ वैशाख
पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफले शनिबार सम्पन्न आमचुनावमा आफ्नो पार्टीले जित हासिल गरेको घोषणा गरेका छन् । प्रारम्भिक मतपरिणामअनुसार सरिफ नेतृत्वको पाकिस्तानी मुस्लिम लिग-नवाज -पिएमल-एन) सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चुनावको मतपरिणामसँगै सरिफ तेस्रोपटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
शनिबारको चुनावमा कुल आठ करोड ६० लाख मतदाताको ६० प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जनाएको थियो । १९७७ को आमचुनावपछि यति धेरै जनताले मतदान गरेको यो पहिलोपटक भएको आयोगले जनाएको छ । पाकिस्तानमा पहिलोपटक एक जननिर्वाचित निकायले अर्को जननिर्वाचित निकायलाई चुनावमार्फत सत्ता हस्तान्तरण गर्ने भएकाले पनि चुनाव परिणामलाई निकै चासोका साथ हेरिएको छ । पाकिस्तानको ६६ वर्षको इतिहासमा करिब ५० वर्ष सेनाले शासन चलाइसकेको छ ।
चुनाव परिणाम सार्वजनिक भएलगत्तै लाहोरस्थित चुनाव प्रचार मुख्यालयमा रहेका सरिफले परिसरमा भेला भएका कार्यकर्तालाई धन्यवाद दिएका छन् । पाकिस्तानी जनताले आफूलाई कति माया गर्छन् भन्ने कुरा
मतपरिणामले प्रस्ट पारेको उनले बताए । 'जनताले मलाई माया गरेभन्दा दुईगुणा बढी म जनतालाई माया गर्छु,' उनले भने । देश तथा जनताको सेवा गर्ने अवसर प्रदान गरेको भन्दै उनले ईश्वरलाई धन्यवाद दिएका छन् । उनले चुनावको समयमा गरेको वाचा पूरा गर्ने कसमसमेत खाए ।
गठबन्धनविना नै सत्ता सञ्चालन गर्न सके स्वतन्त्र ढंगले काम गर्न सकिने उनले बताए । राष्ट्रिय सभाका कुल दुई सय ७२ स्थानमध्ये सरिफ नेतृत्वको दल एक सय १९ सिटमा अग्रस्थानमा छ । चुनावको पछिल्लो मतपरिणामअनुसार पूर्वक्रिकेटर इमरान खान नेतृत्वको तहरिक-ए-इन्साफ दोस्रो स्थानमा रहेको छ । उनको दलले ४० स्थानमा जित सुनिश्चित गरेको जनाइएको छ । भ्रष्टाचारविरोधी अभियान चलाउनुका साथै पाकिस्तानी भूमिमा अमेरिकी ड्रोन हमलाको विरोध गरेका कारण खानको पार्टी दोस्रो स्थानमा उक्लेको अलजजिराले जनाएको छ । आफ्नो दल दोस्रो ठूलो दल बन्न लागेको खुसी व्यक्त गर्दै खानले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

 
पाकिस्तानी पूर्वप्रधानमन्त्रीका छोरा अपहरित पीडीएफ मुद्रण इमेल

एजेन्सी
इस्लामाबाद, २६ वैशाख
पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीका छोरालाई अज्ञात बन्दुकधारीले चुनावी र्‍यालीबाट अपहरण गरेका छन् ।
पाकिस्तान पिपुल्स पार्टी -पिपिपी)का उम्मेदवार रहेका आफ्ना छोरा अलि हैदर गिलानीलाई चुनावी मुल्तानको चुनावी र्‍यालीबाट बिहीबार अपहरण गरिएको बुबा गिलानीको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
मुल्तानस्थित फरख टाउन क्षेत्रमा बिहीबार भएको चुनावी र्‍यालीलाई लक्षित गरी गरिएको आक्रमणमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अलि हैदरका निजी अगंरक्षक रहेको आशंका गरिए पनि पहिचान खुल्न सकेको छैन ।
आक्रमणकारी कार तथा
मोटरसाइकलमा आएका र उनीहरूले र्‍यालीलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएको एक प्रत्यक्षदर्शीले बताए । जियो टेलिभिजनसँग कुरा गर्दै ती प्रत्यक्षदर्शीको गोली प्रहारबाट एक व्यक्ति घटनास्थलमै ढलेपछि उनीहरूले गिलानीलाई घिसारेर कारमा राखेर भागेको बताए । अलि हैदरलाई पनि गोली लागेको ती प्रत्यक्षदर्शीको भनाइ छ । आक्रमणमा पाँचजना घाइते भएको प्रहरी अधिकारी खुराम साकिरले बताएका छन् । आक्रमणको जिम्मा हालसम्म कसैले लिएका छैनन् । अलि हैदर पन्जाबबाट प्रान्तीय सभामा चुनाव लड्दै छन् । पाकिस्तानमा आउँदो शनिबार
मतदान हुँदै छ ।

पिएमएल (एन)माथि आरोप

गिलानीले र्‍यालीमा गरिएको आक्रमणको दोष नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग -नवाज)माथि लगाएका छन् । उनले यस विषयमा राष्ट्रपति असिफ अलि जर्दारी तथा सेनाप्रमुख अस्फाक परभेज कियानीसँग कुराकानी गरेको बताए । भाइ बिहीबार रातिसम्म सकुशल फिर्ता नभए आफ्नो क्षेत्रमा चुनाव हुन नदिने दाजु अलि मुसाले बताए । प्रहरीले हाल मुल्तान प्रवेश गर्ने र बाहिर जाने नाका बन्द गरी खोजी कार्य तीव्र पारेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
युसुफ रजा गिलानी पाकिस्तानी राजनीतिका प्रभावशाली व्यक्ति हुन् । राष्ट्रपति असिफ अलि जर्दारीविरुद्धको भ्रष्टाचारको मुद्दाको छानबिन गर्न अस्वीकार गरेको आरोपमा जुन २०१२ मा सर्वोच्च अदालतले उनलाई अयोग्य ठहर गरेको थियो ।
अदालतले अयोग्य ठहर गरेका
कारण युसुफ रजा गिलानी चुनावमा उम्मेदवार हुन पाउने छैनन् । तर, उनका तीनवटा छोरा अब्दुल कादिर गिलानी, अलि मुसा गिलानी तथा अलि हैदर गिलानी चुनावी मैदानमा उत्रेका छन् ।
पाकिस्तानमा आउँदो शनिबार आमचुनाव तथा प्रान्तीय सभाको चुनाव हुँदै छ । बिहीबार चुनाव प्रचारको अन्तिम दिन हो । पाकिस्तानमा चुनावको घोषणालगत्तै हत्याहिंसाका घटनामा वृद्धि हुन थालेको छ । चुनावको मिति घोषणा भएयता कम्तीमा पनि एक सय १० को मृत्यु भइसकेको छ ।
आफ्नो संगठनविरुद्ध कडा रवैया अपनाएको आरोप लगाउँदै तालिवान विद्रोहीले पिपिपी, अवामी नेसनल पार्टी -एएनपी) तथा मुत्तहिद क्वामी मुभमेन्ट -एमक्युएम)को चुनावी सभा तथा कार्यालयलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् । पाकिस्तानमा हाल तालिवानको समर्थन तथा विरोधमा राजनीतिक दलहरू बाँडिएको पूर्वगृहमन्त्री रहमान मल्लिकले बताए ।

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL