Saturday, May 25, 2013

विश्व खबर
बंगलादेशका गार्मेन्ट मजदुर आन्दोलनमा पीडीएफ मुद्रण इमेल

एजेन्सी
ढाका, १२ वैशाख
भवन दुर्घटनामा करिब दुई सय मजदुरको मृत्यु भएको विरोधमा गार्मेन्ट मजदुरले बिहीबार बंगलादेशको राजधानी ढाकामा प्रदर्शन गरेका छन् ।
हातमा लाठी लिएर हजारौँ गार्मेन्ट मजदुर बिहीबार राजधानी ढाकाको सडकमा निस्केका छन् । उनीहरूले गार्मेन्ट मालिकलाई फाँसी दिनुपर्ने माग गरेका छन् । आन्दोलनकारीले बंगलादेश गार्मेन्ट उत्पादन तथा वितरण संघको भवनमा आक्रमणसमेत गरेका छन् । आन्दोलनकारीले केही समय सडक अवरुद्ध पार्नुका साथै केही सवारीसाधनमा तोडफोडसमेत गरेको बंगलादेशको 'डेली स्टार' पत्रिकाले जनाएको छ । बुधबार साभार क्षेत्रमा भएको भवन दुर्घटनामा एक हजारभन्दा बढी घाइते भएका थिए । घाइते कैयाँैको स्थिति गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । बुधबार भत्केको आठतले भवनको भग्नावशेषमा केही मानिस अझै पुरिएको आशंकामा उद्धार कार्य जारी राखिएको छ ।
बिहीबार निरीक्षणका लागि घटनास्थल पुगेका गृहमन्त्री मुहिउद्दिन खान अलामगिरले संवाददातासँग कुरा गर्दै भवन निर्माण आचारसंहिता उल्लंघन गरी बनाएको पाइएको बताए । उनले दोषीमाथि कडा कारबाही गरिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
भवनका कैयौँ स्थानमा चिरा परेको देखेपछि मजदुरले भवनभित्र छिर्न आनाकानी गरे पनि गार्मेन्ट मेनेजरले केही नहुने भन्दै उनीहरूलाई भवन प्रवेश गर्न आग्रह गरेका थिए । मजदुर कामका लागि भवन प्रवेश गरेको केही समयपछि नै भवन भत्कन सुरु गरेको थियो । दुर्घटनाको समयमा भवनमा करिब दुई हजार मानिस रहेको अग्नि नियन्त्रकले जनाएका छन् ।

राष्ट्रिय शोक

भवन दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा बिहीबार बंगलादेशमा राष्ट्रिय शोक मनाइएको छ । शोक मनाउने क्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । सेनाका बि्रगेडियर जनरल मोहम्मद सिद्दिकल अलाम सिकन्दरले भवनको भग्नावशेषमा कैयाँै मानिस पुरिएको बताए । दुर्घटना भएको भवनमा कपडा कारखाना, बैंक तथा केही पसल थिए ।
भवन निर्माण संहिता पालना नगरेको
भन्दै दुर्घटनाग्रस्त भवन मालिकविरुद्ध राजधानी विकास प्राधिकरण र प्रहरी दुवैले छुट्टाछुट्टै मुद्दा
दर्ता गरेको स्थानीय प्रहरी प्रमुख मोहम्मद असदुज्जामानले बताए ।
बंगलादेशमा गत नोभेम्बरमा एक गार्मेन्टमा आगलागी हुँदा एक सय १० जनाको मृत्यु भएको थियो । कारखानामा पर्याप्त सुरक्षा प्रबन्ध नमिलाइएका कारण धेरै मानिसको मृत्यु भएको भन्दै प्रदर्शनसमेत भएको थियो । यसअघि सन् २०१० मा ढाकामा चारतले भवन भत्कँदा २५ को मृत्यु भएको थियो ।
भवन निर्माण संहिता पालना नगर्दा बंगलादेशमा समय-समयमा दुर्घटना हुने गरेका छन् । भवन निर्माण संहिता पालना नगरी ठूलाठूला भवन निर्माण गरेकाले त्यस्ता दुर्घटना हुने गरेको बताइएको छ ।

 
धेरै चुरोट पिउन बनर्जीको सल्लाह पीडीएफ मुद्रण इमेल

कोलकाता/ पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले धेरै चुरोट पिउन पश्चिम बंगालका जनतालाई सल्लाह दिएकी छिन् । बनर्जीले हालै स्थापना गरेको पाँच सय करोडको कोषमा रकम छिटो जम्मा होस् भन्ने उद्देश्यले यस्तो सल्लाह दिएको बताएकी छिन् ।
यस कोषमा रकम जम्मा गर्न उनले चुरोटमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेकी छिन् । चुरोटमा लगाइएको करबाट एक सय ५० करोड तथा अन्य स्रोतबाट थप रकम जम्मा गर्ने उनले बताइन् । यस कोषमा बढीभन्दा बढी रकम जम्मा गर्नका लागि ज्यादा चुरोट पिउन उनले आग्रह गरिन् । यद्धपि उनको अभिव्यक्तिप्रति पश्चिम बंगालका जनताले विरोधसमेत जनाएका छन् ।
शारदा ग्रुपका सञ्चालकले गरिब तथा मध्यम वर्गका जनताले गरेको अर्बौं लगानी लिएर फरार भएपछि जनताको पैसा फिर्ता गर्न बनर्जीले कोष खडा गरेकी हुन् । कम्पनीको विषयमा छानबिन गरिरहेको आयोगको प्रतिवेदनका आधारमा लगानीकर्ताको रकम फिर्ता गरिने उनले स्पष्ट पारेकी छिन् । फरार कम्पनीका सञ्चालक सुदीप्त सेनलाई बुधबार जम्मुकस्मिरमा पक्राउ गरिएको थियो । उनलाई बिहीबार अदालतसमेत उपस्थित गराइएको छ । बयानका क्रममा सेनले सत्तारुढ तृणामुल कंग्रेसका केही सांसद तथा पत्रकारसमेतले आफूसँग रकम लिएको खुलासा गरेका छन् ।
गरिब जनताको पैसा लिएर फरार हुने सेनविरुद्ध मुद्दा दायर गरी रकम फिर्ता लिनुको सट्टा सरकारले चुरोटमा अतिरिक्त कर लगाएको भन्दै जनताले बनर्जीप्रति आक्रोश पोखेका छन् । चिट-फन्ड कम्पनीको विषयमा भइरहेको वहसले केही दिनयता पश्चिम बंगालको राजनीति निकै तातेको छ । चिड फन्डमा लगानी गर्ने हजारौँ नागरिकले आफ्नो लगानी गुमाएका छन् । चिट फन्ड नामले चिनिएको शारदा ग्रुप कम्पनीका राजनेता तथा पत्रकारसँग भएको सम्बन्धका विषयमा समेत प्रश्न उठिरहेको छ ।

 
भवन भत्कँदा सयभन्दा बढीको मृत्यु पीडीएफ मुद्रण इमेल

एजेन्सी
ढाका, ११ वैशाख
बंगलादेशको राजधानी ढाकाको बाहिरी भागमा अवस्थित आठतले भवन भत्कँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । साभर क्षेत्रमा भएको दुर्घटनामा सात सयभन्दा बढी घाइते भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
उद्धारकर्मीले भवनको भग्नावशेषमा पुरिएकाहरूको उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ । क्रेनको मद्दतले भग्नावशेष हटाउने कार्य भइरहेको छ । घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेको चाप अत्यधिक भएकाले सहज रूपमा उपचार दिन नसकिएको चिकित्सक इमरुल हसनले जनाएका छन् ।
दुर्घटना भएको भवनमा कपडा कारखाना, बैंक तथा केही पसल थिए । बुधबार बिहानको व्यस्त समयमा भवन भत्केको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै दर्जनाँै मानिस आफन्त तथा साथीभाइ खोज्न घटनास्थल पुगेका थिए । दुर्घटनापछि सो क्षेत्रमा कोलाहल मच्चिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । मंगलबार सो भवनको भित्ता चर्केको देखिएको स्थानीय बासिन्दाले बताएका छन् । भवन चर्केको देखेपछि कामदारलाई भवन प्रवेश नगराउन गरिएको आग्रह गार्मेन्टका मालिकले नमानेको कारण दुर्घटनामा धेरै व्यक्तिको निधन भएको साभरका प्रहरीप्रमुख मोहम्मद असादुजामानले बताएका छन् । बुधबार बिहान एक्कासि भत्कन सुरु गरेको भवन केही समयमै ध्वस्त भएको प्रहरीले सञ्चारकर्मीलाई जनाएको छ । भवनको भुइँतला भने जस्ताको तस्तै रहेको अधिकारीले जनाएका छन् । भवन भत्कन सुरु भएलगत्तै आफूहरू अत्तालिएको दुर्घटनामा बाँच्न सफल भएकाहरूले बताएका छन् । 'गार्मेन्टमा काम गरिरहेको समयमा अचानक मैले ठूलो आवाज सुनेँ, त्यसको केही मिनेटभित्रै भवन पूरै ध्वस्त भयो,' स्थानीय सोमोय टेलिभिजनलाई एक प्रत्यक्षदर्शीले भने । दुर्घटनाको कारण हालसम्म पत्ता लाग्न सकेको छैन ।
भवन भत्केलगत्तै विपक्षी दलले उद्धार कार्यमा सघाउन भन्दै बुधबारका लागि आह्वान गरेको ढाका बन्द फिर्ता लिएको छ । बंगलादेशमा गत नोभेम्बरमा एक गार्मेन्टमा आगलागी हुँदा एक सय १० जनाको मृत्यु भएको थियो । कारखानामा पर्याप्त सुरक्षा प्रबन्ध नमिलाइएका कारण धेरै मानिसको मृत्यु भएको भन्दै प्रदर्शनसमेत भएको थियो । यसअघि सन् २०१० मा ढाकामा चारतले भवन भत्कँदा २५ जनाको मृत्यु भएको थियो । भवन निर्माण संहिता पालना नगर्दा बंगलादेशमा समय-समयमा दुर्घटना हुने गरेका छन् ।

 
चीनमा प्रहरी र हतियारधारीबीच झडप, २१ को मृत्यु पीडीएफ मुद्रण इमेल

एजेन्सी
बेइजिङ, ११ वैशाख
चीनको सिन्जियाङ प्रान्तमा मंगलबार प्रहरी र हतियारधारी युवाबीच भएको झडपमा २१ जनाको मृत्यु भएको छ । भिडन्तमा मृत्यु हुनेमा १५ प्रहरी तथा सामाजिक कार्यकर्ता रहेको अधिकारीले जनाएका छन् । त्यस्तै, मृत्यु हुने अन्य सन्दिग्ध आतंककारी रहेको प्रहरीले जनाएको छ ।
आतंककारी समूहले सुनियोजित रूपमा प्रहरीमाथि आक्रमण गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । हतियार लुकाएको आशंकामा सामाजिक कार्यकर्ताले स्थानीय मानिसको घरमा खानतलासी गरेपछि झडप सुरु भएको सिन्जियाङ प्रान्तकी प्रोपोगान्डा विभाग प्रमुख होउ हानमिनले
बताएकी छिन् ।
पश्चिमी चीनको सिन्जियाङ प्रान्तस्थित कसगार क्षेत्रमा सो घटना घटेको हो । कसगार प्रायः जातीय दंगा हुने क्षेत्रका रूपमा चिनिन्छ । स्थानीय तीनजनासँग अवैधानिक हतियार तथा छुरी रहेको स्थानीयले पत्ता लगाएपछि प्रहरीलाई खबर गरेका थिए । खबरलगत्तै हतियार अनुगमनका लागि प्रहरी त्यहाँ पुगेको थियो । अनुगमनमा गएका प्रहरीले केही स्थानीय बासिन्दाको घरबाट हतियार नियन्त्रणमा लिएको विरोधमा गाउँलेले प्रहरीमाथि नै आक्रमण गरेका थिए । पछि, थप प्रहरी घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनामा सन्दिग्ध आठ आतंककारीलाई प्रहरीले पक्राउ गरी आवश्यक सोधपुछ जारी राखेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्ति आतंकवादी भएको खुल्न आएको प्रहरीले जनाएको छ । सो घटनापछि बुधबार बिहानैदेखि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सिन्जियाङ प्रान्तमा केही वर्षयता हिंसाका घटना हुँदै आएका छन् । यसअघि सन् २००९ मा मुस्लिम अल्पसंख्यक उइगुर समुदाय तथा चिनियाँ हान समुदायसबीच भएको झडपमा दुई सयभन्दा बढीको मृत्यु भएको थियो ।

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL