|
एजेन्सी बेरुत, २९ चैत सिरियाको दक्षिणी भागमा रहेको दारा प्रान्तका दुई नगरमा सेनाले गरेको आक्रमणमा ५७ व्यक्तिको मृत्युभएको छ । मृत्यु हुनेमा ६ जना बालबालिका रहेको सिरियन अब्जरभेट्री फर ह्युमन राइट्सले जनाएको छ । अल-सानामिन तथा गवागेब नगरमा सेनाले बुधबारदेखि जारी राखेको आक्रमणमा कम्तीमा ६ बालबालिका, सात महिला, १६ विद्रोही, १६ परिचय नखुलेका व्यक्ति तथा १२ सैनिकको मृत्यु भएको सो संगठनले जनाएको छ । दर्जनौँ सैनिक जागिर छाडी विद्रोहीसँग साँठगाँठ गर्न क्याम्प छाडेको खबर सार्वजनिक भएको एक दिनपछि नै सेनाले कारबाही तीव्र पारेका अब्जरभेट्रीका निर्देशक रामी अब्देल रहमानले बताए । भगौडा सैनिकले हाल अल-सानामिन तथा गवागेबमा शरण लिई बसेको उनले जनाए । बुधबार सिरियाभरमा एक सय ७९ व्यक्तिको मृत्यु भएको थियो । त्यसमा ५० नागरिक, ८० विद्रोही तथा ४३ सैनिक परेको अब्जरभेट्रीले उल्लेख गरेको छ । सिरियामा दुई वर्षभन्दा लामो समयदेखि चलेको द्वन्द्वका क्रममा ६० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १० लाखभन्दा बढी विस्थापित भएका छन् ।
|
|
एजेन्सी तेहरान, २८ चैत दक्षिण इरानको बुसेहर प्रान्तमा मंगलबार राति गएको ६.३ रेक्टर स्केलको भूकम्पबाट कम्तीमा ३७ जनाको मृत्यु भएको छ । भूकम्पबाट आठ सय ५० जना घाइते भएको अधिकारीले जनाएका छन् । उद्धारकर्मीले भग्नावशेषबाट कम्तीमा पनि २० व्यक्तिलाई उद्धार गरेको इरानको सरकारी समाचार संस्था इर्नाले जनाएको छ । भूकम्पबाट १२ गाउँका करिब सात सय घर क्षतिग्रस्त भएको बुसेहर प्रान्तका गभर्नरले जनाएका छन् । भूकम्पबाट आधारभूत संरचनामा क्षति पुग्दा पानी र विद्युत् आपूर्तिसमेत बन्द भएको छ । शक्तिशाली भूकम्पपछि करिब ५.१ रेक्टर स्केलका थप ८० वटा धक्का महसुस गरिएको स्थानीयवासीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । भूकम्पबाट बुसेहरको आणविक केन्द्रमा भने कुनै क्षति नपुगेको इरानी अधिकारीले जनाएका छन् । दुर्घटनापछि इरानले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भूकम्पको धम्का दुबई, बहराइन, कतारलगायत छिमेकी राष्ट्रमा समेत महसुस गरिएको थियो । धक्कापछि ती देशले अग्ला भवनमा काम गर्ने कामदारलाई सुरक्षित स्थानमा जान आग्रह गरेका थिए । गत डिसेम्बरमा पनि उत्तरपश्चिम इरानमा गएको ६.२ रेक्टर स्केलको भूकम्पबाट तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यस्तै, २०१० मा इरानको दक्षिणी सहरमा गएको एक शक्तिशाली भूकम्पबाट ३१ हजार व्यक्तिको मृत्यु भएको थियो ।
|
|
नयाँदिल्ली/ भारतको तमिलनाडु राज्यमा बुधबार बिहान एक रेलगाडीको ११ वटा डिब्बाले लिग छाडेपछि दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु हुनाका साथै ५० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । बिहारको मुजफ्फरपुरबाट कर्नाटकको यशवन्तपुर जाँदै गरेको रेलका ११ डिब्बा चितेरी स्टेसननजिकै लिगबाट तल झरेको रेलवे प्रवक्ता अनिल सक्सेनाले जनाएका छन् । दुर्घटनास्थल चेन्नाईबाट करिब सय किलोमिटरको दूरीमा पर्छ । दुर्घटनाको समाचार सार्वजनिक भएलगत्तै उद्धार कार्य सुरु गरिएको उनले बताए । दुर्घटनालगत्तै दक्षिणी रेलवे नेटवर्कका आठवटा रेलवे सेवा रद्द गरिएको, चारवटालाई बाटैबाट अन्यत्र मोडिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहार राज्यमा सन् १९८१ मा एक रेल नदीमा खस्दा कम्तीमा आठ सय व्यक्तिको मृत्यु भएको थियो ।
|
|
एजेन्सी मुम्बई, २४ चैत गत बिहीबार भारतको मुम्बईस्थित एक निर्माणाधीन भवन भत्किँदा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । शनिबार साँझसम्म दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७२ पुुगेको मुम्बई प्रहरीले जनाएको छ । यसअघि भवन भत्किँदा कम्तीमा ४५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको थियो । यस दुर्घटनाबाट ज्यान गुमाउने २२ महिला तथा १७ बालबालिका रहेको भारतीय पत्रिका 'द हिन्दू अनलाइन'ले जनाएको छ । दुर्घटनामा घाइते भएका ६० जनामध्ये ३६ को अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । उद्धारकर्मीले ६२ जनालाई जीवितै उद्धार गरेका थिए । उद्धारकार्य शनिबार दिउँसोबाट बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भवनमा बस्ने अधिकांश कामको खोजीमा मुम्बई आएका कामदार तथा तिनका परिवार रहेको प्रहरीले जनाएको छ । । करिब ६ साताअघि निर्माणकार्य सुरु गरिएको सो भवनको सात तलाको निर्माणकार्य सम्पन्न भएको थियो । आठौँ तलाको निर्माण जारी थियो । निर्माणकार्य बाँकी रहे पनि ठेकेदारले भवनमा बस्न अनुमति दिएका थिए । कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरिएकाले भवन भत्केको बताइए पनि दुर्घटना कारणबारे मुम्बईका अधिकारीले अनुसन्धान थालेका छन् । महाराष्ट्रका प्रमुखमन्त्री पृथ्वीराज चौहानले दुर्घटनाको अनुसन्धान तत्काल थाल्न यसअघि नै आदेश दिएका थिए । यसअघि गत डिसेम्बरमा महाराष्ट्रको बागहोली क्षेत्रमा निर्माणाधीन भवन भत्किँदा १३ जनाको मृत्यु भएको थियो । बिल्डर्स पक्राउ यसैबीच, प्रहरीले अनुसन्धानका क्रममा बिहीबार भत्केको भवन निर्माण गर्ने दुई बिल्डर्सलाई पक्राउ गरेको छ । बिल्डर्स जमिल कुरेसी र सलिम शेखलाई शनिबार लुकेर बसेको अवस्थामा पक्राउ गरिएको ठाणेका प्रहरी कमिस्नर केपी रघुवंशीले जनाएका छन् । कुरेसीलाई उत्तर प्रदेशबाट तथा शेखलाई ठाणेबाटै पक्राउ गरिएको उनले बताए । उनीहरूमाथि कडा कारबाही गरिने रघुवंशीले जनाएका छन् ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |