युवराज दुलाल "शरद",
प्रचण्डका पूर्वसुरक्षा कमान्डर
छ मंसिर ०६३ मा तत्कालीन सरकार र नेकपा -माओवादी) बीच बृहत शान्ति सम्झौता भयो । सम्झौता गर्नुअघि नै प्रचण्ड, बाबुराम भट्टराईलगायत सबै माओवादी केन्द्रीय सदस्यका लागि तोकिएको संख्यामा हतियारसहित जनमुक्ति सेना राख्न दिने निर्णय सरकारले गरेको थियो । सरकारको निर्णयपश्चात् पार्टी केन्द्रले मेरोमातहतमा प्रचण्ड, बाबुराम भट्टराईलगायत शीर्ष नेताको सुरक्षाका लागि टोली खटायो । मैले प्रचण्डको व्यक्तिगत सुरक्षाको जिम्मेवारी सम्हालेँ । ६ महिनाका लागि जिम्मा लिएर ब्यारेकबाट आएको म फेरि फर्किएर ब्यारेक जान पाइनँ । लगातार पँाच वर्षसम्म अध्यक्ष प्रचण्डसँग नै रहेँ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि जनमुक्ति सेना र सशस्त्र प्रहरी नलिई म बालुवाटार नै जान्न भनेर बस्नुभयो । तर, सहमति भएन । अन्तमा, चीन भ्रमणबाट फर्किएपछि हामीले अध्यक्षलाई भन्यौँ, 'हामी 'सिभिल'मा पालो गरी बालुवाटार आउँछौँ, तपाइर्ं जानुपर्छ ।' त्यसपछि मात्र उहाँ जानुभयो । प्रचण्ड प्रधानमन्त्री भएपछि पनि नेपाली सेना र प्रहरीसँग समन्वय गरेर हामीले प्रचण्डको सुरक्षा छाडेनौँ । उहाँले सरकार छाडेपछि हामीले ड्युटी परिवर्तनको माग गर्यौँ । परिवर्तन गर्ने निर्णय भयो । तर, मेरो हकमा लागू भएन । अध्यक्ष प्रचण्ड र पासाङले थप ६ महिनाका लागि अनुरोध गर्नुभयो । अस्वीकार गर्न सकिनँ । प्रधानमन्त्रीबाट हटे पनि पुनः ६ महिना सुरक्षामा बसेँ । ती ६ महिनामा पनि मैले छुट्टी पाइनँ । अन्तमा दोहोरो सुरक्षा प्रणाली हटाउने सहमति भयो र ०६८ असारमा मैले सुरक्षाको औपचारिक जिम्मेवारीबाट बिदा पाएँ । अहिले वाइसिएलको ताम्सालिङ राज्य समिति इन्चार्जको रूपमा जिम्मेवारी सम्हालिरहेको छु ।
जब हेडक्वाटरले बोलायो
चितवनको भुत्याहा खोलामा वासु स्मृति बि्रगेडका लागि अस्थायी शिविरको खाका कोरिरहेको थिएँ । सिंगो बि्रगेडलाई शिविर निर्माणमा परिचालन गरिरहेको थिएँ । शिविरमा बसेर नियमित सैन्य जीवनको परिकल्पना गरिरहेको थिएँ । एकाबिहानै डिभिजन हेडक्वार्टरमा बोलाइयो मलाई । त्यहाँ डिभिजन कमिसार कुलप्रसाद केसी 'सोनाम', कमान्डर कालिबहादुर खाम 'विविध' र बि्रगेड कमिसार हिताराज पाण्डे 'उत्तम' हुनुहुन्थ्यो । उहाँहरूले पार्टी केन्द्रले अध्यक्ष कमरेड प्रचण्डको सुरक्षाको जिम्मेवारी दिएको र आफूहरू डिभिजनबाट नचाहँदानचाहँदै बिदाइ गर्नर् बाध्य भएको कुरा सुनाउनुभयो । पार्टी केन्द्रले सुरक्षाको जिम्मेवारी दिएको निर्णय सुन्दा सुरुमा त केही 'कन्फ्युजन'जस्तो भयो । साँच्चै निर्णय गरेर जिम्मेवारी दिएको हो कि होइन भन्ने भयो । जब साँच्चै हो भन्ने विश्वास भयो तब सोचेँ, 'मेरो काँधमा असाध्यै अप्ठेरो र चुनौतीपूर्ण जिम्मेवारी आयो ।' मसँग दुईवटा विकल्प थिए । पहिलो, जिम्मेवारीलाई स्वीकार गरेर प्रतिबद्धता जाहेर गर्ने । दोस्रो, सक्दिनँ भनेर पार्टीले मप्रति गरेको विश्वासलाई असत्य साबित गनर्ेे । मैले चुनौतीलाई सामना गर्ने वाचा दिएँ । र, आफूलाई सम्पूर्णरूपले तयार पार्न सुरु गरिहालेँ । गौरवपूर्ण जिम्मेवारीबोध गर्दै म डिभिजनसँग बिदा भएर प्रचण्डकोे सुरक्षा सम्हाल्न काठमाडौं आएँ ।
प्रचण्ड शैली
प्रचण्डसित काम गर्दा एक मात्र बिर्सन नसकिने अनुभव हो 'प्रचण्ड शैली' । मैले भनेको प्रचण्ड शैलीको अर्थ हो- उहाँको कार्य सम्पादनको गति, धैर्यता र आशा एवं विश्वास । हामीले उहाँलाई पछ्याउनैपथ्र्यो । जसका लागि दिनरात खट्नुपथ्र्यो । रातमा सुते पनि मस्त निद्रा लाग्दैनथ्यो । त्यतिन्जेल आनन्दसँग बसेको र फुर्सदले खाना खाएको अनुभव मसँग छैन । कति वेला उठेर दौडनुपर्ने हो र कति गाँस खाएपछि छोड्नुपर्ने हो भन्ने भैरहन्थ्यो । तर, यी सबैलाई हामी गौरवका रूपमा लिन्थ्यौँ । कारण, हामीभन्दा धेरै गुणा बढी अध्यक्ष प्र्रचण्ड खट्नुहुन्थ्यो । सुरुमा अध्यक्षको विषयमा मैले धेरै नै शंका गरेको थिएँ । ती सबै गलत साबित भए । धेरैचोटि समीक्षा पनि गरेको छु । कतिपय काममा उहाँको आलोचना पनि गरेको छु । शंका नगरी म कसैलाई विश्वास गर्दिनँ । तर, प्रचण्ड मात्र एक त्यस्तो नेतृत्व हुनुहुन्छ, जसमाथि मेरो सबैभन्दा बढी भरोसा र विश्वास रह्यो । जसले शंका मात्र गर्नुभयो, उहाँहरूले प्रचण्डलाई बुझ्नै सक्नुभएन । लामो समय उहाँसँग रहेकाले जीवनशैली बुभ\mन सकेँ । उहाँको व्यक्तित्वको आधार वैचारिक स्पष्टता, तार्किक क्षमता, शीघ्र पहलकदमी लिने कुशलता तथा गतिशीलता र सोहीअनुसारको शारीरिक हाउभाउ हुन् । यसमा उहाँको विशेष ध्यान जान्छ नै । महँगो लवाइखुवाइ उहाँलाइ मन पर्दैन । न त कहिल्यै मेरो लागि यो चिज चाहियो भनेर माग नै गर्नुहुन्छ । त्यो त सबै सहयोगीको छनोटमा भर पर्ने कुरा हो । गाडी र निवासको कुरा गर्नुहुन्छ भने अरू विरोध गर्छन्, म त अझ अपुग भएको देख्छु । प्रचण्डका लागि एउटा बुलेटप्रुफ गाडी तथा बलियो कम्पाउन्ड र पर्याप्त पार्किंङ भएको घर आवश्यक छ । नेतृत्वको सुरक्षाका लागि बलियो जनआधार त चाहिन्छ नै । बलियो जनआधार भएको नेताका विरोधी पनि बलिया हुन्छन् । तर, नेपालमा सुरक्षा लिनु भनेको जनतादेखि डराएको भनेर भ्रम छर्ने प्रचलन छ । तसर्थ जनता तथा हामी कार्यकर्ताहरू कसैले फैलाएको अफवाहमा लाग्नु हुँदैन । आफ्नो नेतृत्वको सुरक्षामा सचेत रहनुपर्दछ । उहाँ अहिले पनि सडकमा गाडी रोकेर फुटपाथमा पाइने खाजा मीठो मानेर खानुहुन्छ । सुविधाभोगीको आरोप लगाउनु प्रचण्डमाथि अन्याय हुन्छ ।
पाँच वर्षका दुःख-सुख
केलाइ दुःख भन्ने ? ड्युटीलाई दुःख ठान्ने हो भने पूरै पाँच वर्ष दुःख पाएँ । खटाइलाई दःुख मान्ने हो भने सुख पाएको क्षण सम्झनामा छैन । दिनभर काठमाडौंमा ड्युटी गरेर भोलिपल्ट बिहान ८ बजेको उडानमा अध्यक्ष धनगढी जाँदै हुनुहुन्छ भने, उहाँलाई रिसिभ गर्न राति नै गाडी लिएर काठमाडौंबाट धनगढी पुग्थ्यौँ । कल्पना गरौँ न त दुःख र सुख कति हुन्थ्यो त्यहाँ । कार्यक्रममा हजाराैँ जनसमसुदायको खचाखच भिडबाट अध्यक्षलाई ओहोरदोहोर गराउने कुरा सुरक्षा र व्यवस्थापनका दृष्टिबाट कति कठिन थिए होलान् ? यति धेरै खटियो कि लेख्यो भन ठूलै किताब बन्छ । पाइलटलाई यति मात्र थाहा हुन्छ, आफ्नो एक गल्तीले आफूसँगै जहाजका सयौँको ज्यान जान्छ । तर, कति वेला गल्ती गर्छु भन्ने त थाहा हुँदैन नि ! सत्ता परिवर्तन गर्ने विद्रोहको प्रमुख नेताको हैसियतले अध्यक्ष प्रचण्डमाथि सुरक्षाको खतरा जताततै थियो । संविधानसभाको चुनाव, जति वेला तत्कालीन नेकपा -माओवादी) को पक्षमा ऐतिहासिक जनलहर सिर्जना भएको थियो, ठूलो खतराको महसुस गरियो । चुनावी अभियान सुरक्षाका हिसाबले खतरापूर्ण मोर्चा थियो भन्दा अत्युक्ति नहोला । जसलाई पार गर्न हामीले चुनावी अभियानमा ब्यारेकबाट समेत सयौँ गुप्तचर परिचालन गरेका थियौँ । सरकारको अनुमतिमा थप जनमुक्ति सेनासमेत परिचालन गरेका थियौँ । सुरक्षाकै कारण हामीले चुनावी अभियानका पछिल्ला केही कार्यक्रम रद्द नै गर्यौँ । अध्यक्ष प्रचण्डको चुनावी क्षेत्र काठमाडौंको १० नम्बरमा थुप्रै खतरा महसुस गरिए । पूर्वसूचना तयारी र ऐतिहासिक जनआधारका कारण त्यसलाई पार गर्यौँ । पूर्वीतराईको लाहानको एक कार्यक्रममा हामीले हतियारसहित एक व्यक्तिलाई मञ्चतर्फ आउँदै गरेको अवस्थामा समातेर प्रहरीलाई बुझायौँ । सुरक्षा संवेदनशीलताका कारण त्यसलाई प्रचार गरिएन । सल्यानको बागमारेबाट रुकुमको चौरजहारी जाँदै गर्दा बाटोमा पर्ने खोलामा केही सम्भावित गडबडीलाई पाखा लगायौँ । खुल्लामञ्चका कार्यक्रममा अध्यक्षलाई पुर्याउन र निकाल्न सुरक्षामा ठूलो चुनौतीको सामना गर्नुपर्छ । आकासेपुलबाट बम प्रहार गर्ने, बुद्धनगर पार्टी कार्यालयमा बम प्रहार गरिएका घटना सम्झना गरौँ । राम्रो सुरक्षा व्यवस्था भएको भए एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रतिको त्यति सजिलै हत्या हुन सक्दैनथ्यो । अतः नेतृत्वलाई घटनापछि खतरा रहेछ भनेर बुझ्ने होइन, पहिल्यै नै खतरा देखेर दुर्घटनालाई टार्न पहल गर्नुपर्दछ ।
लाभभन्दा धेरै हानि
राजनीतिमा जनता र कार्यकर्तासँगको सम्बन्धको आधारमा 'पब्लिक फिगर' र पब्लिक फिगरका आधारमा व्यक्तिगत सम्बन्ध निर्माण हुनुपर्छ । व्यक्तिगत सम्बन्धका आधारमा भएको पब्लिक फिगरको जग हुँदैन । राजनीतिक कार्यकर्ताका हिसाबले सुरक्षामा रहने म र ब्यारेकमा रहने सबै जनमुक्ति सेनाका कमरेडलाई राजनीतिक करिअरमा ठूलो नोक्सानी भएको छ । जनयुद्धमा जनमुक्ति सेनाको संख्यात्मक हिसाबले ठूलो भौतिक बलिदान भयो भने अहिले पनि राजनीतिक करिअरको बलिदान भइरहेको छ । राजनीतिक हिसाबले भन्ने हो भने मलाई फाइदा होइन बेफाइदा भएको छ, सुरक्षामा बसेर । जसको जीवन्त अनुभूति म गरिहेको छु । तर, यो अञ्जानमा भएको भने होइन । मेरो विचारमा भिआइपीको सुरक्षामा रहनु महत्त्वपूर्ण जिम्मेवारी हो भने सांगठनिक काममा रहनु महत्त्वपूर्ण उपलब्धि हो । तसर्थ, सुरक्षाको जिम्मेवारी लिएर मैले महत्त्वपूर्ण भूमिका निर्वाह गरेँ, उपलब्धि होइन । लगातारका एकता प्रक्रियालगायत विभिन्न कारणले पार्टी संगठन अस्तव्यस्त भएको छ । मुक्ति या मृत्युको कसम खाएर जनयुद्धमा होमिएको युवा पुस्ताको मूल्यांकन गरेर जिम्मेवारी दिन नसकेको कुरा नेतृत्वले नै स्वीकार गरेको छ । मेरो मात्र होइन, जनमुक्ति सेनाकै उचित मूल्यांकन हुन सकेन । नेतृत्वले नभने पनि व्यवहारमा जनमुक्ति सेनालाई पैसामा तौलिने काम भयोझैँ लाग्छ । यो मैले नचाहेर पनि भन्नै परेको हो, किनकि कमजोरीलाई हामीले इतिहासमा निर्ममतापूर्वक उल्लेख गर्नैपर्दछ । भरभराउँदो ऊजर्ा बाँकी रहेको हाम्रो पुस्तालाई हामीभन्दा दुइ दशक पुरानो पुस्ताले ऊर्जाहीन र समयसापेक्ष चल्न नसक्ने भनेर छलफलहरू चलाएको पनि सुनियो । जो आफैँमा लज्जाजनक छ । आज हामी सयौँ पूर्वजनमुक्ति सेनाका कमान्डर/सदस्यहरू विनाठोस भूमिका पार्टीको संगठन खोज्दै काम गरिरहेका छौँ । हामी पार्टीमा मूल्यांकनका कारण होइन, विचार र आस्थाको आधारमा क्रियाशील छौँ । प्रचण्डसँग नजिक रहेकै आधारमा व्यक्तिगत मूल्यांकनको आशा गर्नु पनि उचित होइन ।
सुरक्षाबाट बिदा लिँदा
त्यो असहज क्षणलाई व्यक्त गर्ने शब्द मसँग छैन । जनयुद्धमा पार्टी नेतृत्व र सेनाबीचको सम्बन्ध प्रगाढ थियो । जनमुक्ति सेनाले आफ्नो पार्टी र नेतृत्वको सुरक्षा र व्यवस्थापनका लागि आफ्नो जीवनसमेत बलिदान दियो । हामी कसैलाई व्यक्तिगत रूपमा अध्यक्षसँग आफैँ रहनुपर्छ भन्ने थिएन । तर, संस्थागत रूपमा नै अध्यक्षको सुरक्षा छोड्नुपर्दा जनमुक्ति सेनामाथि अन्याय भएको आभास भयो । ब्यारेकहरूबाट समेत साथीहरूले फोन गरेर यो प्रक्रियाको विरोध गर्नुभयो । आखिर कुरा नबुझेको कसैले होइन, तर त्यस्तै हुँदो रहेछ । बिदाइको त्यो घटना भावनात्मक मात्र नभई राजनीतिक र वैचारिक हिसाबले समेत अपाच्य थियो । त्यो समय नराम्रो लाग्यो । बिदाइ कार्यक्रममा सबैका अनुहार मलिन थिए । गला अवरुद्ध भएका थिए । आँखाभरि आँसु छचल्किएका थिए । कसैले कसैलाई केही भन्न सक्ने अवस्था थिएन । त्यो क्षण यस्तो थियो कि कुनै नवजात शिशुलाई आमाको काखबाट बैरीले हरण गर्नु जत्तिकै । औधि नमीठो अनुभव भयो । मिलन र बिदाइमा अभिवादन गरी हात मिलाउने हाम्रो संस्कार हो । तर, त्यस बिदाइमा त्यो सम्भव भएन । हात मिलाउन अध्यक्षसँग जानु भनेको त्यहाँ एउटा पीडा थप्ने काम मात्रै हुन्थ्यो र रुवाइको प्रतिस्पर्धा चल्ने थियो । बिदाइ गर्न प्रकाश दाहाल र समिर आउनु भयो । हतारहतार हात मिलाएर प्रकाश भावुक हुँदै रुँदैभित्र जानुभयो । बिदाइ हुने साथीहरू पनि रुन थाल्नुभयो । म मात्रै के बहादुरी देखाउन सक्थेँ र ? बहाना बनाएरभित्र छिरेँ । वरिपरिका सर्वसाधारण, प्रहरी मित्रहरू, पत्रकार मित्रहरू सबैले बिदाइ गर्नुभयो ।
प्रस्तुति : नेत्र पन्थी
|
|
टाइसन मात्र दुई वर्षको भयो । तर, हामीले सडकमा देख्ने वयस्क कुकुरहरूको तुलनामा यो निकै अजंगको छ । जब यो सडकमा 'मर्निङ वाक ' गर्न निस्किन्छ, भुस्याहा कुकुरहरू आतंकित बन्छन् र भागाभाग गर्छन् । नेपाली पनि बिस्तारै कुकुरका ठूला सोखिन बन्दै गएका छन् आजकाल । विदेशी कुकुर महँगो मूल्य तिरेर किन्न र उत्तिकै खर्चिलो स्याहार गरेर पाल्न नहिचकिचाउनेको संख्या बढिरहेको छ । पछिल्लो समय 'हुनेखाने' वर्गका नेपालीमा लोकिप्रय बनिरहेको छ- जर्मन सेर्फड कुकुर । टाइसन त्यही जातको कुकुर हो । टाइसनलाई दुई वर्षअघि १९ हजारमा किनेका थिए, रेस्टुरेन्ट व्यवसायी राज तामाङले । त्यतिवेला यो एक महिनाको मात्र थियो । उनी बक्सर माइक टाइसनका फ्यान हुन्, त्यसैले कुकुरको नाम पनि टाइसन राखिदिए । दुई वर्ष पुग्दानपुग्दै टाइसन एउटा 'सानो बाघ'जस्तो देखिन थालेको छ । तामाङ भन्छन्, 'यसलाई देख्नेहरू कि त्रसित हुन्छन् कि त लोभिन्छन् ।'
दुई घन्टा मर्निङवाक
बिहान चार बजे टाइसन मर्निङवाकमा निस्किन्छ । ८-१० किलोमिटर यसलाई घुमाएर राज ६ बजेतिर घरमा फर्काउँछन् । 'मर्निङवाक गराएन भने यो दिनभर अल्छी मानेर झोक्राउँछ, त्यसैले सकभर नियमित लैजान्छु,' राज भन्छन् । मर्निङवाकमा जाँदा टाइसनलाई वेलावेलामा भुस्याहा कुकुरले घेर्छन्, तर यसले वास्ता गर्दैन । राजका अनुसार जबसम्म उनले आदेश दिँदैनन्, यसले अरू कुकुरलाई कहिल्यै छुँदैन । तर, जब आदेश दिन्छन्, तत्काल आक्रमण गरेर घाइते पार्छ ।
यस्तो छ आहारा
मर्निङवाकबाट फर्किनेबित्तिकै यसलाई खाजा चाहिन्छ । खाजाका रूपमा हरेक बिहान एक लिटर दूध र चारवटा उसिनेको अन्डा 'ज्युनार' गर्छ । त्यसपछि भने यसले मासु मात्रै खान्छ । एक चोटिमा डेढ किलोको दरले दैनिक चारपटक मासु खुवाउने गरेको तामाङले बताए । 'मासुभन्दा अर्थोक केही खाँदैन,' उनी भन्छन््, 'मासु पनि यत्तिकै लु खा भनेर फालिदियो भने मुखै लगाउँदैन । सफा प्लेटमा राखेर एक-दुईचोटि फकाएर आफ्नै हातले खुवाइदिएपछि मात्रै खान थाल्छ ।' मासुमा प्रायः चिकेन र वफ आइटम हुन्छन् । आफू रेस्टुरेन्ट व्यवसायी भएकाले मासुको जोहो गर्न समस्या नभएको तामाङले सुनाए । उनी भन्छन्, 'आफ्नै रेस्टुरेन्टमा उब्रेको मासु ल्याउने गर्छु । अनि साथीभाइको होटलबाट पनि सस्तोमा ल्याउँछु ।' टाइसनलाई बिहान नौ बजे, दिउँसो एक बजे, बेलुकी ६ बजे र राति ९ बजे डेढ किलोका दरले मासु खुवाउने रुटिन बनाएका छन् उनले । यसले मासुभन्दा अर्थोक मुखैमा नहाल्ने र नचिनेको मान्छेले दिएको केही पनि नखाने तामाङले सुनाए ।
पर्सनल डाक्टर
भोजन मात्रै होइन, अरू कुरामा पनि खर्चिलो छ- टाइसन । जस्तो, नुहाउन । यसलाई दिन बिराएर नुहाइदिनुपर्छ । यसलाई नुहाउने विशेषखालको स्याम्पुको ६ सय पर्छ भने साबुनको डेढदेखि दुई सय पर्छ । बाथरुममा लगेर आफैँले नुहाइदिने गरेको तामाङ बताउँछन् । 'नुहाउँदा खुसी हुन्छ । नुहाइसकेर जिउ झट्कार्छ,' उनले भने । टाइसनले जहाँ पायो त्यहीँ दिसापिसाब गर्दैन । दिसा अथवा पिसाब लाग्यो भने कराउँछ । अनि बाहिर मैदानमा लैजानुपर्छ । बिरामी हुँदा टाइसनलाई जँचाउन पर्सनल डाक्टर छन् । उनले नियमित रूपमा घरमै आएर टाइसनलाई जाँच्ने गरेको तामाङले जानकारी दिए । एकचोटि जाँचेको औषधिबाहेक पाँच सय रुपैयाँ लिन्छन् । टाइसनले एक महिनामा सात सयको भिटामिन खान्छ । केही दिनअघि मात्र स्किन एलर्जी भएर जचाउँदा तीन हजारको औषधि लागेको तामाङले बताए । 'सबै मिलाएर हरेक महिना कम्तीमा १० हजार खर्च हुन्छ,' उनले भने ।
कस्तो छ स्वभाव ?
टाइसन शान्त स्वभावको छ । मालिकको आज्ञापालन गर्नु नै यसको एक मात्र नीति हो । यसलाई तालिम दिँदै आएका कुकुर विशेषज्ञ गोपाल न्यौपाने भन्छन्, 'हामीले अह्राएका सबै कुरा यसले बुझ्छ र शतप्रतिशत पालना पनि गर्छ ।' राति घरमा कोही अपरिचित आयोे भने टाइसनले बाँकी राख्दैन । अरू कुकुरले जस्तो भ्वाङभ्वाङ भुकेर उसलाई भगाउने गर्दैन । 'पहिला खुट्टामा अँठ्याएर ढाल्छ, अनि मात्रै भुकेर परिवारलाई जगाउँछ,' तामाङले भने । यदि मान्छे भाग्न खोजेमा घाटीमै अँठ्याउने उनले बताए । परिवारका सदस्यले गाली गरे भने टाइसनले चित्त दुखाउँछ । कहिलेकाहीँ उसलाई एक्लै घरमा छाडेर सबैजना हिँडे भने रिसाउँछ । राति टिभी हेर्न नपाउँदा पनि उसको 'मुड अफ' हुन्छ । टाइसनले राति परिवारका सदस्यसित बसेर एक-डेढ घन्टा टिभी हेर्ने गरेको तामाङले सुनाए । रिसाएका वेला टाइसनले ज्यान गए पनि खानेकुरा मुखमा हाल्दैन । रिसाएपछि खुसी पार्न यसलाई ठूलै पापड बेल्नुपर्छ । टाइसनको वजन ३५ केजी छ भने उचाइ करिब साढे तीन फिट । टाइसनको बढ्ने उमेर अझै दुई वर्ष बाँकी रहेको विज्ञ न्यौपाने बताउँछन् । सामान्यतया यस जातिका कुकुरको आयु १५ वर्ष हुन्छ । टाइसनले पैसा खर्च मात्रै गराउँदैन, कमाउँछ पनि । यो भाले कुकुर भएकाले यौनसंसर्गका लागि विभिन्न क्यानल क्लबले बोलाउँछन् । एउटा कुकुर्नीसँग संसर्ग गराउँदा एक हजार रुपैयाँ खान्की खर्च र ब्याएपछि एउटा छाउरा/छाउरी दिने सर्त हुन्छ । एउटा छाउरा/छाउरी ल्याएर बेच्दा करिब २० हजार रुपैयाँ आम्दानी हुने गरेको तामाङ बताउँछन् । टाइसनले एक हप्तामा एक पटकभन्दा बढी सेक्स गर्न सक्दैन । कुकुर्नी मिन्स भएको १० दिनसम्म यसले हेर्दा पनि हेर्दैन । यसले आफ्नै जातको कुकुर्नीसँग मात्र सेक्स गर्छ । यस जातको कुकुर्नीले एक बेतमा पाँचवटादेखि १२ वटासम्म छाउरा पाउँछे ।
अहँ बेच्दिनँ
जर्मन सेर्फड कुकुर तीन थरीका हुन्छन् । पहिलो सिंगल कोट -भुत्ला नभएको चिल्लो), दोस्रो मिडियम कोट -मझौला भुत्ला भएको) र तेस्रो डबल कोट -लामा भुत्ला भएको) । टाइसन दोस्रो जातमा पर्छ । नेपालमा यो जातका कुकुर धेरैका घरमा भए पनि 'ओर्जिनल' भने हम्मेसी नपाइने तामाङको भनाइ छ । ओर्जिनल भएकैले टाइसन दुई वर्षमै हलक्क बढेको उनले बताए । 'यसलाई ६०-७० हजारमा किन्न अहिले जो पनि तयार हुन्छन्,' तामाङले भने, 'तर म बेच्दिनँ । पछिसम्म पाल्छु ।'
चिरञ्जीवी
|
|
लिभ-इन-रिलेसनसिप अर्थात् बिहे नगरी सँगै बस्ने । यो संस्कृति भारतमा फैलिरहेको छ । यसको प्रभाव बलिउडमा पनि नपर्ने कुरै भएन । बलिउड कलाकारबीच लिभ-इन-रिलेसनसिपलाई सामान्य रूपमा लिन थालिसकिएको छ । अभिनेता सैफ अली खानकी बहिनी सोहा अली खान आफ्नो ब्वाइप|mेन्ड कुणाल केमुसँगै बस्छिन् । बिहे नगरीकनै ब्वाइप|mेन्डका साथ बस्दा आफू निकै खुसी भएको बताउने उनी बिहेलाई कागजी कारबाहीका रूपमा मात्र लिन्छिन् । ँबिहे कागजी कारबाहीमात्र हो, त्यसकारण हामी जतिवेला चाहन्छाँै, त्यतिवेलै बिहे गर्न सक्छौँ,’ सोहाको तर्क छ । बिहे नगरी सँगै बस्ने प्रेमीप्रेमिकाले निर्बाध प्रेमको मजा त लिन्छन् नै, वैवाहिक जीवनको अनुभूति पनि पहिले नै सँगाल्छन् । बलिउडमा यस्तो सम्बन्ध अनौठो पनि मानिँदैन । किनकि, यसअघि नै केही स्टार कलाकार यस्तो सम्बन्धमा थिए । त्यसकारण लिभ-इन-रिलेसनसिपलाई बलिउडमा संस्कृतिकै रूपमा स्विकार्न थालिएको छ । लिभ-इन-रिलेसनसिपमा बस्नेहरू धेरैले बिहे गर्छन् । तर, बिहे नगर्ने पनि छन् । बिहेअघि सँगै बस्दा एक-अर्काको बानीव्यहोरा, सोच, विचारबारे जान्न-बुझ्न पाउने र त्यसकै आधारमा सम्बन्ध अघि बढाउने कि नबढाउने भन्नेबारे निक्र्योल हुने अनुभवी बताउँछन् । एकसमय राजेश खन्ना र टिना मुनिमको लिभ-इन-रिलेसनसिपले बलिउडमा हल्लीखल्ली मच्चायो । राजेश खन्ना पहिला डिम्पल कपाडियाका साथ रहन्थे । पछि, उनले घर छाडिदिए र टिनाका साथ लिभ-इन-रिलेसनसिपमा रहन थाले । दुवैको सम्बन्ध केही समय चल्यो । तर, पछि कुरा मिलेन र दुईको बाटो अलग्गियो । पछि टिनाले अनिल अम्बानीसँग घरजम गरिन् । कंगना रनावत जब बलिउडमा बिल्कुल नयाँ थिइन्, त्यसवेला उनले आदित्य पंचोलीलाई नयाँ साथीका रूपमा भेटिन् । यो साथित्व छिटै नै प्रेममा बदलियो । त्यसपछि उनीहरू सँगै बस्न थाले । यो कुराले आदित्यको वैवाहिक जीवनमा भुइँचालो आयो । १८ वर्षकी कंगना र ४० वर्षभन्दा बढीका आदित्यको अफेयरको परिणाम के हुन्थ्यो र ? छिटै नै उनीहरू छुट्टएि । गोविन्दा र रानी मुखर्जी रानीको वर्सोवास्थित फ्ल्याटमा सँगै बसेको खबरले पनि एक समय निकै चर्चा पायो । 'हद कर दी आपने'जस्ता फिल्ममा सँगै काम गर्दा उनीहरूको रोमान्सको चर्चाले त्यतिवेला बलिउड तातेको थियो । उनीहरूले चार वर्षदेखि चलिरहेको आफ्नो प्रेमका कारण यस्तो निर्णय लिएका थिए । तर, सम्बन्ध धेरै चल्न सकेन र रानीले विवाहित गोविन्दासँगको सम्बन्ध तोडिदिइन् । महेश भूपतिसँग नाता जोड्नुअघि लारा दत्त पनि ब्वाइप|mेन्ड केली दोर्जीसँग निकै वर्ष लिभ-इनमा रहिन् । त्यसपछि उनीहरूको ब्रेकअप भयो र भूपति उनको जीवनमा आए । उनको साथ पनि लारा धेरै समय लिभ-इनमा नै रहिन् । त्यसपछि मात्रै उनीहरूले त्यो सम्बन्धलाई विवाहमा परिणत गरे । उनीहरू अहिले छोरीका बाबुआमा बनिसकेका छन् । मिस युनिभर्स बनेपछि सुस्मिता सेन फिल्म निर्माताका लागि आकर्षण बनिन् । लगत्तै उनले आफ्नो फिल्मी क्यारियर 'दस्तक' फिल्मबाट सुरु गरिन् । फिल्मको छायांकनको क्रममा उनको विक्रम भट्टसँग प्रेम भयो र छिटै नै उनीहरूले एउटै छानामुनि बस्ने फैसला गरे । तर, पछि मतभेदका कारण उनीहरू छुट्टएि । जब धर्मेन्द्र देवललेे हेमा मालिनीसँग बस्ने फैसला गरे, उनीहरूका बारेमा निकै चर्चा-परिचर्चा भयो । त्यसको केही समयपछि नै धर्मेन्द्रले आफ्नी श्रीमतीलाई छाडिदिए र हेमाका साथ बस्न थाले । हेमासँग विवाह गर्नकै लागि उनी हिन्दूबाट इस्लाम बनेका थिए । मिथुन चक्रवर्तीले श्रीदेवीसँग बस्न आफ्नी श्रीमतीलाई छाडिदिएका थिए । त्यसवेला उनीहरूले विवाह गर्ने भन्ने पनि चर्चा थियो । पछि श्रीदेवी बोनी कपुरसँग नजिक भइन् । दुवैले एक-अर्कालाई मन पराउन थाले । श्रीदेवीका लागि बोनीले आफ्नी पहिली पत्नी छाडिदिए र सँगै बस्न थाले । भनिन्छ, यसै समय श्रीदेवी गर्भवती भइन् र दुवैले विवाह गर्ने फैसला गरे । अभिनेता मनोज बाजपेईको नेहा धुपियाका साथ लिभ-इनमा रहेको खबरको पनि निकै चर्चा भयो । यिनले आफ्नो फिल्मी क्यारियर 'करिब' फिल्मबाट सुरु गरेका थिए । २००६ मा यी दुवैले आफ्नो सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरे । विपाशा बसु जोन अब्राहमका साथ लगभग आठ वर्ष लिभ-इनमा बसिन् । उनी जोनसँग विवाह गर्न चाहन्थिन्, तर जोन भने त्यसका लागि तयार थिएनन् । अन्ततः २०१० मा उनीहरूको ब्रेकअप भयो । विपाशा अहिले पनि एक्लै छिन्, तर जोनले पि्रया रुचाल नामकी नयाँ गर्लप|mेन्ड बनाएका छन् । अभिनेत्री अर्चनापूरन सिंह र परमित सेट्ठीले विवाहभन्दा पहिले लामो समय एकै छतमुनि बसे । दुवैलाई यो कुरामा निकै खुसी लागेको छ कि सर्वोच्च अदालतले लिभ-इनमा रहनुलाई विवाह गरेर एकै साथ बस्नुजत्तिकै जायज ठहर्याएको छ । पूजा बेदीले आफ्ना पिता कबिर बेदीको पाइला पछ्याउँदै लिभ-इनमा रहने फैसला गरेकी थिइन् । आफ्ना ब्वाइप|mेन्ड हनिफ हिलालका साथ लिभ-इनमा रहने फैसला पूजाले गरेकी थिइन् । तर, केही समयपछि यिनीहरू आ-आफ्नो बाटो लागे । स्मिता पटेल र राज बब्बर लिभ-इन-रिलेसनसिपमा थिए । त्यस क्रममा स्मिताले एउटा बच्चा पनि जन्माइन् । जसको नाम प्रतीक राखियो । तर, प्रतीकलाई जन्म दिने क्रममै उनको मृत्यु भयो । जब सैफ अली खान बलिउडमा संघर्षरत थिए, त्यसवेला अमृता सिंहका साथ बस्थे । त्यस समय उनको उमेर २१ वर्ष थियो । तर, यी आफूभन्दा निकै बढी उमेरकी गर्लप|mेन्ड अमृताका साथ बस्थे । उनीहरूले विवाह गरे र दुई बच्चा पनि भए । तर, पछि यिनीहरूको डिभोर्स भयो । पछि, सैफ आफ्नी दोस्री श्रीमती करिनासँग विवाह गर्नुअघि करिब पाँच वर्ष लिभ-इनमा रहे । र, पछिल्लो वर्ष विवाह गरे । रिना राय र र शत्रुघ्न सिन्हा धेरै समयसम्म एकसाथ बस्थे । पहिलो उनीहरू लिभ-इनमा थिए, तर पछि अलग-अलग बस्ने फैसला गरे । रिनाले केही समयपछि क्रिकेटर मोहसिन खानका साथ विवाह गरिन् । श्रुति हसन डेटिङको १ वर्षपछि सिद्धार्थका साथ लिभ-इनमा रहिन् । अब यिनको परिवारको कुरा गर्ने हो भने यिनका बाबु कमल हसन निकै खुला विचारका छन् । त्यसैले उनले श्रुतिलाई सिद्धार्थसँगै बस्ने अनुमति दिए । एजेन्सी
|
|
♦ नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' सकेसम्म सञ्चारमाध्यममा आउनै मान्दैनन् । आए पनि निकै कम बोल्छन् । त्यसैले सञ्चारमाध्यममा उनलाई नेपाली राजनीतिका 'खरो' नेताका रूपमा चित्रित गरिएको हुन्छ । ♦ दर्शन र समालोचनाका झन्डै आधा दर्जन पुस्तक लेखिसकेका किरणको साहित्यिक उपनाम 'चैतन्य' हो । ♦ उनी आफूलाई 'कम्युनिस्ट आन्दोलनको बीचबाट आएको, समाजवादी/साम्यवादी क्रान्तिका लागि आफूसक्दो प्रयास गर्दै आएको तथा देश र जनताको मुक्तिका लागि क्रान्तिमा होमिन सधैँ दृढ रहने' व्यक्ति मान्छन् । ♦ उनको स्वभाव निर्माणमा आनुवंशिक र सामाजिक वातावरणको प्रभाव देखिन्छ । उनी भन्छन्, 'ममा बुबाको अडान लिने बानी र दृढता तथा आमाको सहजता र सरलताको प्रभाव छ । त्यसैले म आवश्यक ठाउँमा सरल पनि छु र दृढ पनि । त्यस्तै, प्युठानको कम्युनिस्ट परिवेश र तत्कालीन समाजको सामन्तवादी शोषण-उत्पीडनले सामन्तवादविरुद्धको संघर्षमा लाग्न मलाई प्रेरित गर्यो ।' ♦ किरणमा अध्ययन गर्न मन पराउने, चिन्तनमनन गरिरहने र एकान्तप्रेमी स्वभाव देखिन्छ । ♦ सबल पक्षसँगै उनमा केही कमजोरी पनि छन् । आफ्ना कमजोरीबारे उनी भन्छन्, 'एकान्तप्रेमी भएकै कारण सामाजिक व्यवहारमा सबैसँग घुलमिल हुन नसक्नु मेरो स्वभावको फितलो पक्ष हो भनेर भन्नुस । बहिर्मुखी स्वभाव अलि कम र अन्तर्मुखी स्वभाव अलि बढी भयो कि भन्ने लाग्छ ।' ♦ उनी दाबी गर्छन्- म कसैलाई पनि पूर्वाग्रही भएर हेर्दिनँ । त्यसको आधार दिँदै उनी भन्छन्, 'कुनै पनि चिजलाई वैज्ञानिक विश्व दृष्टिकोणका आधारमा हेर्छु । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोण र वस्तुगत तथ्यका आधारमा कुनै पनि चिजको मूल्यांकन गर्छु ।' ♦ मध्यमवर्गीय ब्राह्मण परिवारमा प्युठानमा जन्मेका किरण सामन्ती संस्कार र अन्धविश्वासप्रति सधैँ प्रश्न गर्थे । सानोमा अध्ययनशील र मिहिनेती पनि थिए । छरछिमेकमा सबैका प्यारोे थिए । उनलाई केटाकेटीमै भौतिकवादप्रति रुचि बढेको थियो । उनी सम्झन्छन्, 'कतिपटक मैले भूतप्रेत र भगवान् रहेनछन् भन्ने आफैँलाई परेको घटनाबाट थाहा पाएको छु ।' ♦ किरण रिसलाई प्रतिकूल अवस्थाको आवेग ठान्छन् । प्रतिकूल परिस्थिति सिर्जना हुँदा आफूलाई रिस उठ्ने उनी बताउँछन् । भन्छन्, 'प्रकृतिले सिर्जना गरेका प्रतिकूल अवस्थामा म रिसाउँदिनँ । तर, कुनै मान्छे वा पात्रले प्रतिकूल अवस्था सिर्जना गर्न भूमिका खेल्दै छ भन्ने थाहा भयो भने रिस उठ्छ । शोषण, दमन, उत्पीडन गर्ने व्यक्तिप्रति पनि मलाई रिस उठ्छ ।' प्रतिकूल घटनाबाट रिस नउठ्दा त्यो भावुकतामा बदलिने उनी बताउँछन् । ♦ एकान्तपे्रमी किरण उमेर बढ्दै गएपछि दिनमा एक/दुई घन्टा एकान्तमा बस्न रुचाउँछन् । ♦ साहित्य पढ्दा उनमा संवेदनशीलता जागृत हुन्छ । आफ्नो योजनाअनुसार सफलता आइलाग्यो भने खुसी र प्रफुल्ल हुन्छन् । ♦ आफ्नो स्वभावमा हटाउन मन लागेको कुराबारे उनी भन्छन्, 'आवेग र उत्तेजना कुनै-कुनै वेला आउँछ । त्यसको मात्रा घटाउन मन लाग्छ ।' ♦ उनलाई हार्डलाइनर भएको आरोप पनि छ । तर, यसलाई उनी दुष्प्रचार मान्छन् । त्यस्तो दुष्प्रचार आफूलाई कमजोर बनाउन गरिएको राजनीतिक आक्रमण हो भन्ने उनको बुझाइ छ । 'उनीहरूले हार्डलाइनर र सफ्टलाइनरको नियोजित प्रचार गरेर मेरो चरित्रहत्या गर्न खोजेका हुन् । ती सबै पश्चगामीले जनतामा मेराविरुद्ध गरेका दुष्प्रचार मात्रै हुन्,' उनी भन्छन् । ♦ किरण राजनीतिमा माक्र्स, लेनिन, माओका साथै चे ग्वेभारालाई आदर्श ठान्छन् । चे क्युवाको क्रान्तिपछिको सरकारमा मन्त्री भएका वेला पनि पद त्यागेर फेरि क्रान्तिका लागि हिँडेका थिए । उनको त्याग र समर्पणभाव अनुकरणीय रहेको किरणको बुझाइ छ । उनी नेपाली राजनीतिमा पनि त्यस्तो पात्र खोज्छन्, तर त्यस्तो नपाउँदा उनका दिलमा चोट लाग्छ । उनी भन्छन्, 'आदर्श त्यस्तो चिज रहेछ- त्यसैका लागि मान्छे मर्न तयार हुन्छ, त्यही आदर्शले मान्छे दीर्घजीवी हुन्छ ।' ♦ किरण बहिर्मुखी ढंगले प्रस्तुत हुनेलाई खासै मन पराउँदैनन् । प्रचारमुखी र बहिर्मुखी भएका देख्दा उनलाई वाक्क-दिक्क लाग्छ । उनी आफूलाई सन्तुलित भएको ठान्छन् । ♦ परिवारलाई प्रेम, सद्भाव र पारस्परिक विश्वासले खुसी तुल्याउने उनी बताउँछन् । सम्पूर्ण परिवार राजनीति र क्रान्तिमा लागेकामा उनी खुसी छन् । ♦ उनी सामान्य फुर्सदमा साथीहरूसँग भेटघाट-कुराकानी गर्छन् । अझ बढी फुर्सद मिलेमा लेखपढ गर्न रुचाउँछन् । ♦ आर्थिक र पारिवारिक कारणले बाल्यकालमा उनले ठूला सपना देखेनन् । असल शिक्षक हुने सपना थियो उनको । स्कुल पढ्दै गर्दा ठूलो कवि हुने सपना थियो उनमा । त्यतिवेला देवकोटा, लेखनाथ, रिमालका कविता पढ्दा आफू पनि कवि हुन्छु भन्ने लागेको थियो उनलाई । १७/१८ वर्षको युवा भए पनि उनले क्रान्तिमा लाग्ने तथा देश र जनताको सेवक बन्ने सपना देखे । अहिले पनि उनको सपना त्यही हो । ♦ उनलाई लाग्छ- जनयुद्धको प्रक्रियामा असल साथीहरूको हत्या भयो । त्यस्तो वेला उनी निकै दुःखी हुन्थे । सांस्कृतिक फाँटका कृष्ण सेन 'इच्छुक', पोलिट्ब्युरो सदस्य वासु, केन्द्रीय सदस्य रितबहादुर खड्काको मृत्युले उनलाई दुःखी तुल्याएको थियो । पार्टीमा एकता हँुदा तथा परिवार र साथीको सहयोगमा उनी निकै खुसी हुन्थे । ♦ किरणको जीवनको सबैभन्दा जटिल मोड थियो- कम्युनिस्ट पार्टीको पूर्णकालीन बन्ने कि नबन्ने भन्ने टुंगो गर्ने समय । ०२९ सालको तिरको कुरा थियो, त्यतिवेला उनी स्वर्गद्वारी क्याम्पसमा पढाउँथे । त्यसवेला उनी पार्टीमा आबद्ध भइसकेका थिए, तर पूर्णकालीन भने भइसकेका थिएनन् । त्यतिवेला उनी पूर्णकालीन नभएको भए आज एउटा मास्टर मात्रै हुन्थे कि ? ♦ उनलाई जीवनमा गरेको सही निर्णय भने जनयुद्धमा जाने सामूहिक निर्णय नै लाग्छ । 'कतिपय कमजोरी रहे पनि मैले व्यक्तिगत रूपमा चौथो महाधिवेशनकालदेखि नै सही निर्णय गर्दै आएको छु,' उनको दाबी छ । चौथो महाधिवेशनकालको फुटका घटना सम्झँदा आज पनि उनलाई नमीठो लाग्छ । ♦ माओको 'व्यवहारबारे र अन्तरविरोधबारे' भन्ने पुस्तक उनलाई अत्यन्तै मन पर्ने पुस्तक हो । साहित्यमा देवकोटाको 'मुनामदन', गोपालप्रसाद रिमालको 'आमाको सपना', पारिजातको 'अनिँदो पहाडसँगै' र कृष्ण सेन 'इच्छुक'को 'बन्दी र चन्द्रागिरी' राम्रा कृति हुन् भन्ने लाग्छ उनलाई । गोर्कीको 'आमा', अस्त्रोभस्कीको 'अग्निदीक्षा', चिङ माईको 'ओयाङ हाइको गीत' र 'कुआङ पिन' तथा यी येनको 'रातो चट्टान' उनलाई बढी मन परेका उपन्यास हुन् । माओको 'व्यवहारबारे र अन्तरविरोधबारे' पुस्तक उनले धेरैचोटि दोहोर्याएर पढेका छन् । उनलाई धेरै पहिलेदेखि नै उपन्यास लेख्न मन लागेको थियो । तर, समय दिन सकेका छैनन् । उनको रुचि भने समालोचना र राजनीतिक/दार्शनिक विधामा छ । 'माक्र्सवादी दर्शन' उनको पछिल्लो पुस्तक हो । लक्ष्मीप्रसाद देवकोटा, पारिजात, कृष्ण सेन 'इच्छुक', गोर्की र सेक्सपियर उनका मन पर्ने लेखक हुन् । ♦ धेरै वर्ष पहिला बनारसमा फिल्म हेरका थिए उनले, त्यसपछि एउटा फिल्म पनि हेरेका छैनन् । ♦ बच्चामा उनलाई फुटबल र भलिबल मन पथ्र्यो । अहिले चेस अलि बढी मन पर्छ । ♦ जनवादी गीत किरणलाई बढी नै मन पर्छ । उनलाई मन परेको गीतिनाटक 'सिम्मा' हो । उनी भन्छन्, 'त्यो गीतिनाटकले मलाई धेरै छोएको थियो ।' रायन, रामेश, जेबी टुहुरे, खुसीराम पाखि्रन, माइला लामा र जीवन शर्मा उनका मन पर्ने गायक हुन् । ♦ सामान्य दाल, भात, तरकारी नै उनको दैनिक खाना हो । माछा अलि बढी मन पराउँछन् । टिमुर राखेको गोलभेँडाको चटनी र ढिँडो सबैभन्दा बढी मन पर्ने खाना हो उनको । गुन्द्रुक पनि उनलाई मन पर्छ । कृत्रिम ढंगले प्रस्तुत हुने र ढाँट्ने मान्छे उनलाई पटक्कै मन पर्दैन । सरल, सहज र आदर्शप्रति निष्ठावान् मान्छे उनलाई मन पर्छ । ♦ उनको धोको छ- नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवाद र साम्यवादतिर पुग्ने । नेपाल र नेपालीलाई मुक्त भएको देख्ने । तर, उनको धोको अझै पूरा भएको छैन । ♦ धेरै नेताहरूको एउटा थेगो हुन्छ । किरणको पनि छ । तर, मिडियामा धेरै नआउनाले जनस्तरमा उनको थेगो त्यति चर्चित छैन । मिडियाकर्मीमाझ भने उनको थेगो खुवै चर्चित भइरहेको छ । 'भनेर भन्नुस' उनले साधारणतयार वाक्यपिच्छे प्रयोग गर्ने धेगो हो ।
प्रस्तुति : नेत्र पन्थी
|
|
|