|
दुवै हात नभएको व्यक्ति सगरमाथा चढ्ने π यो समाचारले एक चरण आश्चर्यमा नपर्ने को होला र ? त्यही आश्चर्य र कौतूहल बोकेर एक घन्टादेखि कुरिरहेछु म, ती समाचारका पात्र सुदर्शन गौतमलाई सगरमाथा आरोही पेम्बादोर्जे शेर्पाको बौद्ध महांकालस्थित कार्यालयमा । सेतो कोट लगाएका, दाह्रीजुँगा खौरेर सफाचट बनेका, चिटिक्क मिलाएर कपाल कोरेका एकजना व्यक्ति भित्र पसे । उनै रहेछन् सुदर्शन । मैले जुरुक्क उठेर 'हेलो' भन्दै हात उनीतिर बढाएँ । तर, उनले भने टाउको निहुर्याएर ज्ाापानी शैलीमा अभिवादन फर्काए । म झसंग भएँ । दुवै हात नभएका व्यक्तिसँग कुराकानी गर्न आएर हात मिलाउन खोज्ने म कस्तो ? दिक्क लाग्यो । उनले के सोचे होलान्जस्तो लाग्यो ।
०००
जन्मँदै उनी हातविहीन थिएनन् । ०५१ सालमा गुम्यो, उनको दुवै हात । हात नभएर के भयो र ? उनी अहिले सगरमाथा चढ्ने योजनामा छन् । तैपनि, हात गुमेको कुरा π हामीलाई सम्भिmँदै आतेस लाग्छ । उनलाई त्यो अतीत सम्झाउँदा पक्कै पीडा होला । यस्तै लाग्यो कुरा सुरु गर्न लाग्दा । त्यसैले निकै कुरा घुमाएर सोधेँ । तर, उनको अनुहारमा कुनै गम्भीरता देखिएन । उनले सहजै बताए, करेन्ट लागेकाले दुवै हात काट्नुपरेको नमीठो घटना । हात काटिएपछि एक वर्ष पढाइ रोकियो । तर, सुदर्शन रोकिनेवाला थिएनन् । हात नभएर के भयो र ? गोडा त सद्दे नै थिए नि । अस्पतालको शय्यामा हुँदादेखि उनले गोडाले लेख्ने र खाने प्रयास थाले । र, गोडाकै सहायताले नुहाउन पनि थाले । त्यसपछि त रोकिएको पढाइ पनि अगाडि बढ्यो । गोडाले नै लेखेर एसएलसी परीक्षा पनि उत्तीर्ण गरे । कुरा गर्दागर्दै आइपुगेको चियाको कप सुदर्शनले दाहिने गोडाले उठाए । र, पिउन सुरु गरे । हामी भए किन सक्थ्यौँ र जस्तो लाग्यो ।
०००
धेरै मानिस स-साना दुःख, अप्ठ्यारा र असफलतामा पनि आत्तिन्छन् । निराश हुन्छन् । तर, सुदर्शन त्यसमध्येका थिएनन् । दुवै हात गुमेपछि त उनले झन् आफ्नो इच्छाशक्तिलाई दृढ बनाए । मेरो हातजस्तै क्षणिक त रहेछ नि जीवन, यस्तै सोचे होलान् सायद । उनले भने, 'केही गरेर देखाउँछु भन्ने सोच मनमा आयो ।' कस्ता कुराले संसारलाई चकित बनाउँछ भन्ने कुरामा उनको चासो बढ्यो । चासो मात्रै होइन, त्यस्तो काम नै गर्न चाहन्थे उनी । ०५३ साल भदौमा उनले सबैलाई चकित पारे- राजधानीको नयाँबानेश्वरमा गोडाले गाडी चलाएर । उनले त्यो क्षमता संसारको ४० देशमा पुगेर देखाइसकेका छन् । त्यसले पनि होला, उनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा हुने केही न केही गर्नुपर्छ भन्ने सोच आयो । सोचे, 'अब सगरमाथा चढ्छु ।' सोचलाई साकार पार्न दौडिए चारैतिर । सोधखोज गरे धेरैलाई । अन्ततः कसैले उनलाई भन्यो- सगरमाथा आरोही पेम्बादोर्जे शेर्पाले फरक शारीरिक क्षमताका व्यक्तिलाई पनि सगरमाथा आरोहण गराउन सक्छन् । त्यसपछि भेटे पेम्बालाई । सगरमाथा आरोही पेम्बासँगको भेटले त उनको इच्छाशक्ति पनि सगरमाथाझैँ चुलियो । पेम्बाले भने, 'हिमाल आरोहण हातले मात्र गर्ने होइन । इच्छाशक्तिले गर्ने हो । त्यसैले तिमीले पनि गर्न सक्छौ । त्यसका लागि तिम्रो परीक्षण हिमालमै हुनुपर्छ ।' त्यसको एक हप्तापछाडि नै लाङटाङ क्षेत्रको ६ हजार मिटरको याला पिक चढ्न गए उनी । याला पिक आरोहणले उनलाई हौसला मात्रै मिलेन, गर्न सक्छु भन्ने आँट र विश्वास पनि थपियो । तर, उनी तत्काल सगरमाथा भने चढ्न सकेनन् । कारण थियो आर्थिक । 'सामान्य व्यक्तिले एक सहयोगी लिएर सगरमाथा चढ्दा त करिब ४० लाख खर्च लाग्छ,' उनले भने, 'मलाई त कम्तीमा चारजना शेर्पाको सहयोग लिनुपर्छ ।' यसले उनको सगरमाथा चढ्ने अभिलाषाले विश्राम लियो ।
०००
सन् २००५ मा उनी कामको सिलसिलामा क्यानाडा पुगे । सात समुद्रपारि पुग्दा पनि उनको मनमा पलाएको सगरमाथा चढ्ने रहर भने मेटिएको थिएन । क्यानाडामा पनि उनी कुरा निकाल्थे सगरमाथा आरोहणको । तर, उनी त्यहाँ सुन्थे- सगरमाथा जानु भनेको मर्न जानु हो । यसले उनलाई निराश होइन, झनै उत्साहित पो बनाउँथ्यो । चुनौतीसँग लडेर केही गर्ने इच्छाशक्ति झनै जाग्थ्यो । उनी मनमनै सोच्थे, 'म एक दिन सगरमाथा चढेरै छाड्नेछु । त्यसपछि यहाँ आएर भन्नेछु- जिन्दगीमा केही गरेर देखाउनु छ भने नेपाल गएर सगरमाथा चढ । सगरमाथा आरोहणका लागि हो, मर्नका लागि होइन ।' उनको सगरमाथा आरोहणको सपनाले पेम्बासँगको सम्पर्कलाई जीवित राख्यो । उनी फोन गर्थे र सगरमाथा आरोहणको तीव्र चाहना व्यक्त गरिरहन्थे । त्यस वेलासम्म पेम्बा र सुदर्शन घनिष्ठ मित्र नै भइसकेका थिए ।
०००
दृढ इच्छाशक्ति, मिहिनेत र पेम्बाको उत्प्रेरणाले अहिले सुदर्शन फेरि सपनाको बाटोमा आइपुगेका छन् । खर्चको जोहो भएको छ । साथमा छ, पेम्बाको निःस्वार्थ साथ । यसले उनलाई सपना पूरा हुने विश्वास दिलाएको छ । विश्वासको अर्को कारण हो- उनको टिम । उनी भन्छन्, 'सगरमाथा आरोहणका लागि टिमवर्क आवश्यक छ । मसँग जाने मित्रहरू असल छन् । त्यसैले आरोहण सफल हुनेमा विश्वस्त छु ।' आरोहण गर्दा अप्ठ्यारा ठाउँमा दुईवटै हात हुनेहरू डोरी समातेर हिँड्छन् । त्यसवेला सुदर्शनलाई भने साथीको सहयोग आवश्यक पर्छ । अन्य आरोहीको शरीरमा एक ठाउँमा मात्र हार्नेस अर्थात् डोरी अड्काउने स्थान हुन्छ । तर, उनको छाती र कम्मर गरी दुई ठाउँमा हार्नेस लगाइनेछ । साह्रै अप्ठ्यारो स्थानमा हार्नेसमा अड्काइएको डोरीको सहायताले साथीहरूले अगाडिबाट तान्ने र पछाडिबाट धकेल्ने काम गर्नेछन् । उनी ढुक्क हुँदै भन्छन्, 'मेरो गोडाले टेक्न छाडेन भने र कुनै प्राकृतिक विपत्ति आइलागेन भने चुचुरोमै पुगेर फर्किनेछु ।' उनको त्यो ढुक्कपना कुराकानीको बीच-बीचमा आउने फोनमा पनि व्यक्त हुन्थ्यो । उनी गोडाले नै मोबाइल उठाउँथे । नम्बर थिच्थे । मेरो मोबाइल नम्बरचाहिँ कापीमा टिपे । उनले गोडाले लेखेको हेर्ने अवसर मिल्यो मलाई । अभ्यस्तलाई बाहेक यो कार्य पनि अनौठो र चकित पार्ने खालकै थियो ।
०००
उनलाई थाहा छ- दुवै हात नभएको मान्छेले सगरमाथा चढ्न लागेको सुन्दा धेरैले बहुलाएछ भन्लान् । कतिले चर्चित हुने हथकन्डा पनि भन्लान् । तर, उनलाई त्यसको कुनै परवाह छैन । उनी स्पष्ट भन्छन्, 'मेरो आरोहणको पहिलो उद्देश्य आत्मसन्तुष्टि हो । मलाई हल्ला फिँजाएर कुनै व्यक्तिगत फाइदा लिनु छैन ।' उनले यो अभियानलाई आफ्नो शारीरिक क्षमता वा विशेषतासँग जोडेका पनि छैनन् । उनी आफ्नो अभियानबाट विश्वलाई सन्देश दिन चाहन्छन्- जे कुरा मानिसले निर्माण गर्न सक्दैनन्, त्यो कुरा बिगार्नु हुन्न । उनी भन्छन्, 'सगरमाथालाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउनुपर्छ भन्ने सन्देश आरोहणमार्फत दिन चाहन्छु ।' भोलि सगरमाथा कालो ढुंगामा परिणत भयो भने के होला भन्ने चिन्ता व्यक्त गर्दै गर्दा उनको अनुहारमा दुःखका रेखा कोरिएका थिए ।
सुदीपकुमार ढुंगाना
|
|
अनौठा, साहसिक र अजीव काम गरेर गिनिज बुकमा नाम लेखाउने धेरैको चाहना हुन्छ । त्यसैले बर्सेनि सयौँैँको संख्यामा गिनिज बुकमा नाम थपिएका छन् । तर, अनौठो कार्य गिनिज बुकका लागि मात्रै गरिँदैन भन्ने उदाहरण हुन्- जुजुभाइ श्रेष्ठ -३२) । उनी केही वर्षदेखि बर्सेनि जिब्रो छेड्दै आएका छन् । तर, उनले यस्तो साहसिक र अजीव काम गिनिजबुकमा नाम लेखाउन होइन, संस्कृति संरक्षणका लागि गरिरहेका छन् । ००० भक्तपुरका जुजुभाइको नाम आजभोलि अधिकांशले सुनिसकेका छन् । नेवार समुदायले मनाउने बिस्केटजात्राको एक हिस्सा हो- भक्तपुर बोडेमा मनाइने जिब्रो छेड्ने जात्रा । तर, यो बिस्केटजात्राभन्दा पनि बढी चर्चित बन्न थालिसकेको छ । प्रत्येक वर्ष २ वैशाखमा मनाइने 'जिब्रो छेड्ने जात्रा' नामैले अजीव छ । र, नामजस्तै काम पनि । जात्रामा हरेक वर्ष एक व्यक्तिको जिब्रो छेडिन्छ, त्यो पनि एउटा मोटो र करिब १० इन्च लामो सुइरोले । जिब्रोमा सानो घाउ हुँदा त आत्तिनेहरूका लागि सुन्दै आङ जिरिंग हुने यस्तो कार्यको नायक बनिरहेका छन्, बोडेका स्थानीय युवा जुजुभाइ श्रेष्ठ । उनले आफ्नो जिब्रो यसपालिसहित पाँचपटक छेडिसकेका छन्, परम्परा र संस्कृतिको जगेर्नाका लागि । बोडेमा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्राको आयोजक र केन्द्र दुवै हुन्, जुजुभाइ । २६ वर्षको जोसिलो उमेरमा जिब्रो छेडाउन थालेका उनले नै सो जात्राको भोज र पर्व व्यवस्थापन सबै गर्दै आएका छन् । जिब्रो छेड्ने विषयमा आममानिसले सोच्नेभन्दा फरक छ उनको धारणा । जात्रा हेर्ने रमिते र दर्शकलाई त जिब्रोमा सुइरोले छेडेर बोडे बजार घुम्दाको दृश्य गजबको हुने नै भयो । 'जिब्रो छेड्नु एक प्रकारले त रमाइलो नै हो, तर अलि बढी चिन्ता हुन्छ,' आफूलाई कलाकार र संस्कृतिप्रेमी भन्न रुचाउने जुजुभाइ भन्छन्, 'कलाकार भएपछि देश र संस्कृतिका लागि जिब्रो छेड्न पाउँदा खुसी नै लाग्छ ।' उनको भनाइअनुसार जिब्रो छेडाएर जात्राको नेतृत्व गर्दै आएका बुद्धकृष्ण दाइको आमा बितेपछि 'जिब्रो छेड्ने जात्रा' नै संकटमा पर्ने अवस्था आयो । चारपटक जिब्रो छेडेका बुद्धकृष्णको उत्तराधिकारकिा रूपमा जिब्रो छेड्न कोही युवा अघि सरेनन् । 'सबैमा चिन्ता भयो, बोडेको जिब्रो छेड्ने जात्रा सकिने भयो भनेर,' उनी थप्छन्, 'त्यसैले संस्कृति जोगाउन अघि सरँे र लगातार पाँच वर्षसम्म जिब्रो छेडाएँ ।' ००० आफूमा जोस भए पनि जिब्रो छेड्ने विषयमा परिवारका अन्य सदस्यलाई 'कन्भिन्स' गराउन भने गाह्रो परेको उनले सुनाए । उनले भने, 'तीन दिन भोकै बस्नुपर्ने, कसैलाई छुन नहुने र भीडमा महाद्वीप बोकेर हिँड्नुपर्ने हुँदा परिवारका सदस्य डराएका थिए । तर, टोलका अरू दाइहरूसँग पनि सल्लाह गरेर पर्व नै मासिन लागेको अवस्थामा केही त गर्नैपर्छ भनेर जिब्रो छेडाउन थालँे ।' जिब्रो छेडेको पहिलो अनुभूतिबारे सम्झँदै उनले त्यसबखत चर्चा र कमाइको वास्ता नभएको सुनाए । उनी भन्छन्, 'संस्कृति र जात्राको संरक्षण र निरन्तरता मुख्य कुरो थियो, कठिनाइहरू त पछि मात्र थाहा भयो ।' बाहिर देख्नेहरूले जिब्रो छेड्ने जात्रामा रमाइलो देखे पनि, रमितेले रमाइलो भेटे पनि यसमा समस्याका पनि जात्रा नै हुन्छन् । पर्व व्यवस्थापनका दुःख पोख्दै जुजुभाइ भन्छन्, 'दुःख र चिन्ता सराबरी छन् । ऐतिहासिक पर्व भएकाले पछिसम्म रहला कि नरहला भन्ने चिन्ता छ । जात्रा मनाउनका लागि न गुठी छ न कुनै समिति नै छ । जिब्रो छेड्ने जात्राको अधिकांश व्यवस्थापन म आफैँले मिलाउनुपर्छ । आर्थिक समस्या त्यत्तिकै हुन्छ भने परिवारमा पनि लोड थपिएको हुन्छ । जात्रा सुरु हुनु तीन दिनअघिदेखि डेढ-दुई सय मानिसलाई भोज खुवाउनुपर्छ,एकचोटिको जिब्रो छेड्ने जात्रामा सबै गरेर ५०-६० हजार मेरो व्यक्तिगत खर्च हुन्छ । यसपालि मात्रै ६० हजार रुपैयाँ सकियो । अक्षय कोष बनाएर आर्थिक व्यवस्थापन त्यसले हेर्ने व्यवस्था भए केही हल्का हुने थियो । अहिले त आर्थिक सहयोगका लागि पनि आफँै भन्न जानुपर्छ, जिब्रो छेड्न पनि आफँै तयार हुनुपर्छ ।' चिनेजानेका ठाउँमा आर्थिक संकलनका लागि जाँदा 'तिमी त पैसा माग्न हिँड्यौ' भन्नेहरू पनि रहेको उनले सुनाए । तर, पछि आउनेहरूलाई बाटो फराकिलो पार्नका लागि सहयोग संकलन गरेको उनको कथन छ । ००० जिब्रो छेड्ने मानिस नभए पर्व नै नरहने ठानेका जुजुभाइ आफूपछि पनि कोही न कोही निस्कनेमा विश्वस्त छन् । 'एकपटक टेस्ट गरिहेराँै न त भनेर यसपालि पनि साथीभाइ आएका थिए । तर, चार/पाँच वर्षसम्म निरन्तरता दिने मान्छे भयो भने मात्रै पालो दिन राम्रो हुन्छ,' उनी भन्छन्, 'मानिस विलासी बनेका छन् । आँखा छेडाउँछन्, कान छेडाउँछन्, तर संस्कृतिका लागि जिब्रो छेडाउन डराउँछन् ।' हालसम्म ११ जनाले जिब्रो छेडाएको आधिकारिक रेकर्ड छ बोडेवासीसँग । 'यो क्रममा अब कोही नयाँ आउँछ वा आफँैले छेडाउनुपर्नै हो, त्यसको उत्तर भविष्यको गर्भमा रहेको छ,' जुजुभाइ भन्छन् । परिपक्व र चार/पाच वर्ष नै निरन्तरता दिन सक्ने मानिस आए पालो दिन खाजेको जुजुभाइले आशय राखे । जिब्रो छेडाउने भन्नासाथ धेरैलाई जिब्रोको स्वास्थ्यबारे पनि खुल्दुली रहन्छ । तर, जुजुभाइ भने भगवान्का लागि जिब्रो छेडाएकाले केही नहुने विश्वास गर्छन् । 'यसमा त केही हुँदैनजस्तो लाग्छ, पहिला दाइहरूलाई पनि केही भएको छैन,' जिब्रो निरोगी नै रहने विश्वासका साथ जुजुभाइ थप्छन्, 'डाक्टरले पनि खासै केही भनेका छैन । फेरि घाउ भएपछि त औषधि हाल्नुपर्ने हो नि, तर जिब्रोबाट सुइरो निकालेपछि त्यो घाउमा महालक्ष्मीको औषधि ठानी माटो हाल्ने चलन छ । यसले पनि घाउ भगवान्ले नै ठीक पार्छन्जस्तो लाग्छ ।' ००० बोडेको पाँचो गणेशको प्रांगण रहेको पाटीमा बनाएको मञ्चमा नाथखीँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । नकर्मीले एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले सबै देवगणको पूजा गरी नायखीँ बाजा बजाउँदै मञ्चमा राखेर सबैका अगाडि जिब्रो छेडिन्छ । त्यसपछि बाँस र निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप बालेर बोकाई विभिन्न टोल-टोल घुमाइन्छ । करिब १५/१७ किलोको महाद्वीप बोक्न मुस्किलै पर्नै जुजुभाइको अनुभव छ । जिब्रोमा सुइरो र काँधमा महाद्वीप बोकर टोल-टोल घुमाउन बलियो पनि हुनुपर्छ । भीडले ठेल्ने र ठेस लाग्दा जिब्रोमा असह्य पीडा हुने सुनाउँदै जुजुभाइले भने, 'पीडा भए पनि त्यत्तिखेरको माहोल र साथीभाइको जयजयकारले करिब चार घन्टासम्म सुइरो रोपेर, महाद्वीप बोकेर बोडे घुमिन्छ ।' जिब्रो छेडिएकै दिन पनि खानेकुरा खान सकिने उनले सुनाए । तीन दिनअघिदेखि निराहार बस्नुपर्ने भएकाले जिब्रो छेडेको दिन साइड फेरेर खानेकुरा खाने गरेको जुजुभाइले बताए । उनले तीनपटक बायाँ र दुईपटक दायाँ भागमा जिब्रो छेडाएका छन् । पाँचपटक जिब्रो छेडाउँदा गतवर्ष भने उनलाई सबैभन्दा बढी डर लागेको थियो रे । पर्वको तयारीकै वेला तीनजना साथी सख्त घाइते भएकाले उनलाई चौथोपटक जिब्रो छेडाउँदा डर लागेको सुनाए । 'साथीहरू घाइते भएकाले यसपालि केही अनिष्ट हुन लागेको हो कि भनेर डर एकातिर थियो भने त्यहीपटक नै डकुमेन्ट्री पनि खिच्ने भएकाले जिब्रो छेड्ने वेलामा रगत आउँछ कि भनेर डर लागेको थियो,' उनले सुनाए । जिब्रो छेड्दा अहिलेसम्म रगत नआएको र आएमा अशुभ मानिने बोडेवासीको विश्वास छ । ००० जिब्रो छेड्न थालेपछि जुजुभाइको परिचय पनि बदलिएको छ । उनी आर्ट र पेन्टिङका गुरुबाट अहिले 'जिब्रो छेड्ने सर' बनेका छन् । जिबो छेड्ने सर भनेर बोलाउँदा आफूलाई खुसी लाग्ने गरेको सुनाउँदै उनले मिडियाले गर्दा धेरैले आफूलाई चिनेको बताए । 'टोल-छिमेकमा चिनिने मान्छे अहिले जताजतै चिनिँदा राम्रो गरेछुजस्तो लाग्छ, देशकै लागि केही गरेकोजस्तो लाग्छ,' उनले भने । जिब्रो छेडेकाले नै एकपटक वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीसँग पुस्तक विमोचन गराउँदा आफूलाई खुसी लागेको जुजुभाइले बताए । आफू कलाकारितमा नै व्यस्त भएकाले राजनीतिमा खासै चासो नभएको र कोही 'ठूला' नेता नभेटेको पनि सुनाए । उनी थप्छन्, 'बिजुक्छे दाइलाई पुरस्कारहरू बाँड्न आउँदा भेट हुन्छ, एकपटक बाबुरामजीको श्रीमती हिसिला यमीलाई नि भेटेको थिएँ, त्यत्ति हो ।' राजनीतिमा चाख नराख्ने जुजुभाइको खेलकुद र कलाकारितामा भने ज्यादै रुचि छ । उनी करिब एक दशकअघिदेखि आर्ट, पेन्टिङ, थान्का बनाउनमा व्यस्त छन् । फिल्मप्रति भने रुचि दर्साउँदै उनी भन्छन्, 'म पनि कलाकार नै भएकाले फिल्मको अफर आयो भनेचाहिँ खेल्छु होला, तर अहिलेसम्म कुरा आएकोचाहिँ छैन ।' अन्य गीत-संगीतमा दख्खल नभए पनि भजन गाउन भने आफू 'राम्रै' रहेको जुजुभाइको ठम्याइ छ । विभिन्न पर्वका वेला माधवनारायणको भजन गाउने गरेको उनले सुनाए । ००० सुरुवातका वेला जिब्रो छेड्ने विषयमा परिवारका सदस्यलाई राजी गराउन कठिन भए पनि अहिले भने सबैको सहयोग पाएको उनको अनुभव छ । 'कोही राम्रो मान्छे आयो भने हस्तान्तरण गर, नभए देउताको काम हो, गरे हुन्छ भन्नुभएको छ,' परिवारको भनाइ उद्धृत गर्दै उनले भने । जिब्रो छेडाउने व्यक्ति शुद्ध, पवित्र र स्थिर हुुनुपर्ने संस्कार रहेको उनले बताए । जिब्रो छेडाउनु तीन दिनअघिदेखि महिला, पशुपक्षी, कुखुरा छुन नहुने, पानीबाहेक खान नहुने तथा अरूको घरमा जान नहुने धार्मिक प्रचलन छ । ००० प्रेम र विवाहबारे खुल्न गाह्रो मानेका जुजुभाइले दुईपटक जिब्रो छेडेपछि विवाह गरेका थिए । उनी श्रीमती शिक्षिका हुन् । उनीसँग जिब्रो छेडाएर चर्चामा आएकै कारण नजिक भएको भने उनलाई लाग्दैन । 'जिब्रो छेडाएकाले नि केही प्रभाव पर्यो कि, त्यो त थाहा छैन । हाम्रो पहिलादेखि नै चिनाजान थियो । त्यो वर्ष कसोकसो अलिक नजिक भइयो र विवाह नै गरियो ।' विवाह हुनुपूर्व नै आफूलाई केही 'अफर' आएको उनले हाँस्दै बताए । उनले भने, 'प्रेमको अफर टाकटुक त आएको थियो, तर हामी गरिब मान्छेले धेरै ठूलो मान्छे धान्न सक्दैनौँ ।' यसो भन्दै भावुक भएका जुजुभाइको अनुहार सानी छोरी उचाल्दै गर्दा रातो भएको थियो ।
प्रस्तुति : नीरज खड्का
तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका
|
|
करिब चार वर्षअघि व्यापारी सञ्जय सुरेखा अपहरणको घटना धेरैले अझै बिर्सेका छैनन् । ठ्याक्कै त्यस्तै प्रकृतिको अपहरणकाण्ड राजधानीमा यो साता भयो । एक युवतीले सुरेखालाई शान्तिनगरमा भेट्न बोलाएर आफ्नो फ्लाटमा जाने भन्दै अपहरण गराएकी थिइन् । त्यही शैलीमा गत सोमबार व्यापारी राजेश अग्रवाललाई एक युवतीले कलंकीमा बोलाई आफ्नो डेरामा जाने भन्दै अपहरणको जालोमा पारिन् । सुरेखा १६ दिनपछि दुई लाख डलर तिरेर मुक्त भए । तर, अग्रवाल भाग्यमानी ठहरिए । फिरौतीका लागि बार्गेनिङ गर्दागर्दै अपहरणको तीन दिनपछि प्रहरीले सकुशल बिहीबार बिहान उनको उद्धार गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई मुक्त गरी अपहरणमा संलग्न कपिलवस्तुका जमिरुल्लाह मनिहार र सप्तरीका मोहम्द नसरुद्दिनलाई बिहीबार पक्राउ गरेको हो । अपराध महाशााखाले गरेको अपहरण घटनाका अनुसन्धानमध्ये फिरौती नबुझाई अपहरणकारीलाई पक्राउ गरिएको यो पहिलो घटना भएको प्रहरीले दाबी गरेको छ । स्काभेटर तथा घर-जग्गाको कारोबारमा संलग्न व्यापारी अग्रवाल अपहरणका ६० घन्टाको अन्तरकथा ः
युवतीको जाल
केही दिनयता अग्रवाललाई मीठो स्वर भएकी एक अपरिचित युवतीको फोन आइरहेको थियो । साथीले नम्बर दिएको भन्दै युवतीले विभिन्न नम्बरबाट उनलाई फोन गरी भेट्न आग्रह गरिरहेकी थिइन् । अग्रवालले विभिन्न बहाना बनाउँदै पन्छिरहेका थिए । सोमबार बिहान खाना खाएर व्यक्तिगत कामले उनी सुन्धारा जाने तयारीमा थिए । फेरि युवतीको फोन आयो । अन्ततः उनी नपग्लिरहन सकेनन् । अग्रवालले आफ्नो योजना बदले । एकचोटि भेट्ने निर्णयमा पुगे । सुन्धाराको काम छाडेर उनी कलंकीतर्फ हानिए । युवतीको मीठो आवाजले स्वभावतः उनलाई तानेको थियो । बाफल बस्ने अग्रवाललाई एक साथीले मोटरसाइकलमा कलंकीको बाबा पेट्रोल पम्पनजिकै लगेर छोडिदिए । युवतीलाई उनले चिनेका थिएनन् । पेट्रोल पम्पमा पुगेर फोन गरे । युवती उनको प्रतिक्षामा थिइन् । क्रिम रंगको कुर्तासुरुवाल र नीलो रंगको स्विटरमा सजिएकी एक सुन्दर युवती उनलाई नै कुरेर बसेकी थिइन् । अग्रवाल मख्ख हुँदै उनको पछि लागे । युवतीले कलंकी चोकबाट करिब तीन सय मिटर टाढा रहेको कीर्तिपुर नगरपालिकामा पर्ने मैतिनगर भन्ने ठाउँमा उनलाई पुर्याइन् । एक निर्माणाधीन घरको तेस्रो तलामा उनको फ्लाट थियो । फ्लाटमा पुगेपछि चिया बनाउन भनेर कोठा बाहिर निस्किएकी युवतीसँग उनको त्यसपछि भेट भएन । युवती र चियाको प्रतिक्षामा रहेका अग्रवाललाई आफूमाथि आइपरेको संकटबारे केही पत्ताे थिएन । एक समूहले ती युवती प्रयोग गरी उनलाई अपहरण गराएको थियो । युवती कोठाबाट निस्किएलगत्तै मुखमा मास्क लगाएर आएका चारजना व्यक्तिले उनलाई नियन्त्रणमा लिई उनको पर्स लुटे र बन्धक बनाए । युवतीको पछि लाग्दा व्यापारी अग्रवाल गत सोमबार यसरी अपहरणकारीको फन्दामा परेका हुन् । तर, प्रहरीको छिटो रेन्सपोन्सका कारण उनी तीन दिनपछि सकुशल मुक्त भएका छन् ।
चार महिनादेखिको योजना
महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीका अनुसार व्यापारी अग्रवाललाई अपहरण गरी फिरौती माग्ने उनीहरूको योजना चार महिनादेखिको हो । त्यसैका लागि उनीहरूले एकान्तस्थल खोजेर मैतिनगरस्थित निर्माणाधीन घरको फ्लाट भाडामा लिएका थिए । महाशाखाका एसएसपी विजयलाल कायस्थका अनुसार अपहरणकै लागि उनीहरूले सो फ्लाट भाडामा लिएको देखिन्छ । घटनामा संलग्न पाँचैजना अन्य कुनै काममा पनि संलग्न नहुनुले पनि उनीहरूले अपहरणकै लागि त्यसरी शारदाप्रसाद चौधरीको घरमा फ्लाट लिएको बुझिएको छ । प्रायः उपत्यका बाहिरै बस्ने उनीहरूले फ्लाट भाडामा लिएपछि एक युवतीलाई समेत पार्टनर बनाएका थिए । अग्रवाल अपहरणकै लागि युवतीलाई उनीहरूले सँगै फ्लाटमा राखेका थिए । राम्रो चरित्र नभएकी युवतीले उनीहरूकै निर्देशनमा अग्रवाललाई फोन गर्न थालेकी थिइन् । पटक-पटकको प्रयासपछि उनी अग्रवाललाई आफ्नो जालमा पार्न सफल भइन् । 'अनुसन्धानको क्रममा के बुझियो भने अपहरितका दाइ नोकिया मोबाइलको डिलर भएको र अपहरित पनि स्काभेटरसम्बन्धी काम गर्ने भएकाले उनलाई टार्गेट बनाएको देखिन्छ,' पत्रकार सम्मेलनमा एसएसपी कायस्थले भने । उपत्यकामा निकै लामो समयपछि भएको यस अपहरणमा संलग्नहरू निकै पेसेवर गिरोह रहेको प्रहरी अधिकारी बताउँछन् । उनीहरूले अपहरणपछि धम्क्याउन प्रयोग गरेको मोबाइलका सिमकार्डसमेत ब्ल्याकमा किनेका थिए । 'अपहरितका परिवारलाई धम्क्याउँदासमेत फरक-फरक नम्बर प्रयोग गर्नुले पनि उनीहरू पेसेवर रहेको प्रस्ट हुन्छ,' महाशाखाका एसपी प्रद्युम्न कार्कीले भने । परिवारलाई धम्काउँदा बित्तिकै उनीहरूले मोबाइल अफ गर्दथे । कहिले कलंकी त कहिले कोटेश्वर पुगेर उनीहरूले धम्क्याउने गरेका थिए । सुन्धारा जाने भनेर हिँडेका अग्रवाल साँझसम्म सम्पर्कविहीन थिए । पछि आफू पोखरा जाने भन्दै उनले निकै डराएको स्वरमा बुवालाई फोन गरे । किन पोखरा जान लागेको भने साेध्दा फोन काटियो । पछि अग्रवालको परिवारले फोन गर्दा उठेन । करिब १५ मिनेटपछि फेरि फोन आयो । तर, फोनमा बोल्ने व्यक्ति राजेश थिएनन् । 'आपका बेटे हमारा पास हे, किसीको मत बताना' भन्दै हिन्दीमा धम्की आयो । त्यसो त राजेशले फोन काट्नेबित्तिकै केही गडबड भएको संकेत उनको परिवारले पाइसकेको थिए । नभन्दै केही मिनेटमै अग्रवाल अपहरणमा परेको र प्रहरीलाई खबर गरे मारिदिने धम्की उनको परिवारलाई आयो । अपहरण गरेको दिन अपहरणकारीले फिरौती मागेनन् । मंगलबार बिहान ८ः०२ बजे फेरि फोन आयो । दुई करोड रुपैयाँ फिरौती माग्दै उनीहरूले धम्क्याउन थाले । पैसा नदिए मारेर फालिदिने उनीहरूको चेतावनी थियो । अग्रवाललाई मार्न आफूहरूले एक करोड रुपैयाँको सुपारी लिएको र एक करोड थपिदिए उनलाई नमार्ने भन्दै उनीहरूले ब्ल्याकमेलिङ गरे । राजेशको परिवारले त्यति धेरै पैसा दिन नसक्ने बतायो । पहिलोपटक फिरौती मागेलगत्तै उनका दाइ राजिवकुमार अग्रवालले प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिएका थिए ।
अनुसन्धानका दुई दिन
सुरुमा प्रहरीले मान्छे हराएको सूचना पाएको थियो । पछि फिरौती नै मागेको भन्ने पुष्टि भएपछि अपराध महाशाखाले गम्भीरतासाथ अनुसन्धान अघि बढायो । डिएसपी शिवकुमार श्रेष्ठ, इन्स्पेक्टर शिशु शर्माको टोली घटनाको अनुसन्धानमा खटियो । घटनाको अनुसन्धानको आधार अपहरणकारीले धम्क्याएको नम्बर थियो । सो नम्बरको धनी, लोकेसन तथा कल डिटेल हेर्न थाल्यो प्रहरीले । अर्काको नामको सिमनम्बर उनीहरूले प्रयोग गरेकाले त्यो बाटोबाट प्रहरीले अनुसन्धान गर्न सकेन । अग्रवालको परिवारलाई निरन्तर फिरौती माग्दै धम्की आइरहेको थियो । प्रहरी दबाबमा थियो । मंगलबार बिहानैबाट महाशाखाका झन्डै एक दर्जन प्रहरी अनुसन्धानमा खटिए । अन्त्यमा प्रहरीले मोबाइल फोनकै लोकेसनमार्फत व्यापारी अग्रवाललाई बन्धक बनाइएको घर पत्ता लगायो । बिहीबार बिहान दुई बजे मैतिनगरस्थित अग्रवाललाई बन्धक बनाइएको घरमा प्रहरी पुग्यो । प्रहरी पुगेपछि कुकुरहरू यसरी भुके कि रातको समय भए पनि स्थानीयवासीसमेत जागे । त्यसरी कुकुर भुकेपछि अग्रवाललाई बन्धक बनाएर बसेका मसिहार र नसरुद्दिन पनि भाग्ने प्रयासमा लागे । तर, उनीहरू उम्किन सकेनन् । घरबाट निस्कँदै गर्दा उनीहरू प्रहरी फन्दामा परे । प्रहरीले अपहरित व्यक्तिलाई मुक्त गरी दुईजनालाई पक्राउ गर्यो । घटनामा संलग्न युवतीसहित अन्य तीनजना भाग्न सफल भए । आफूहरूले प्राविधिक रूपमा घटनाको अनुसन्धान गरी अपहरित व्यक्तिलाई छोटो समयमै मुक्त गर्न सफल भएको अपराध महाशाखाका अधिकारी बताउँछन् । घटनाको प्रस्ट तस्बिर प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । घटनाको मुख्य योजनाकारकै विषयमा खुल्न सकेको छैन । पीडित अग्रवालका अनुसार आफूलाई बन्धक बनाउने व्यक्तिले आफूहरूले बोसको निर्देशनमा काम गरेको बताएका थिए । उनीहरूलाई काम पूरा भएपछि पाँचदेखि १० लाख रुपैयाँ दिने आश्वासन दिइएको थियो । त्यसो त अग्रवालको साथमा रहेको चेकबाट पनि उनीहरूले पैसा निकाल्ने प्रयास गरेका थिए । उनको खल्तीमा रहेको ब्ल्यांक चेकमा हस्ताक्षर गर्न लगाएर उनीहरू चेक साट्न गएका थिए । तर बैंकले परिचयपत्र मागेपछि उनीहरूको सो योजना असफल भएको थियो ।
टुक्रा-टुक्रा पारेर फालिदिन्छु भन्थे
राजेश अग्रवाल
कामको सिलसिलामा म बाफलस्थित निवासबाट सुन्धारा आउन लागेको थिएँ । अपरिचित युवतीको फोन आयो । अघिल्लो दिन पनि भेटौँ, सिरियस कुरा छ भन्दै एक युवतीले फोन गरिरहेकी थिइन् । निकै कर गरेपछि म कलंकीको बाबा पेट्रोल पम्पमा पुगेँ । युवतीलाई चिनेको थिइनँ । त्यसैले त्यहाँ पुगेर फोन गरेँ । उनी मलाई नै कुरिरहेकी रहिछन् । मंगोलियन अनुहारकी करिब २२ वर्षकी युवती थिइन् । दाइसँग केही सिरियस कुरा छ भन्दै उनले आफ्नो डेरामा जान आग्रह गरिन् । नजिकै भएकाले हिँड्दै उनको डेरामा पुगेँ । बनिरहेको घरको तेस्रो तलामा उनले फ्लाट लिएकी रहिछिन् । कोठामा मलाई राखेर उनी चिया बनाएर ल्याउँछु भन्दै कोठाबाहिर निस्किइन् । लगत्तै मुखमा मास्क लगाएका चार युवा कोठाभित्र छिरेर मलाई नियन्त्रणमा लिए । तब मैले आफू अपहरणमा परेको थाहा पाएँ । उनीहरूले चुप भएर बस्न भनेँ । मलाई मार्न एक करोडको सुपारी लिएको बताउँदै यातना दिने गर्दथे । झ्यालबाट हेरे मात्र पनि गोली हानिदिने धम्की दिन्थे । बाहिर पेस्तोल बोकेर बसेका मान्छे छन्, निस्कनेबित्तिकै गोली हान्छ भन्दै उनीहरूले धम्क्याए । यसरी नै दुई दिन बित्यो । उनीहरूसँग पेस्तोल भने थिएन । पेस्तोलको के काम हामी त टुक्रा-टुक्रा पारी खोलामा फालिदिने मान्छे हौँ भन्दै धम्क्याउँथे । तेस्रो दिन एकदम भोक लागेको थियो । खान माग्दा उनीहरूले दिएनन् । चाउचाउ त ल्याओ भन्दा पैसा छैन भन्थे । मसँग भएको पैसा समेत खोसिसकेका थिए । चाँदीको लकेट भएकाले त्यो भने लगेनन् । सुनको भए त के बाँकी राख्थे होला र ? बाँच्ने आशा कम भइसकेको थियो । बिहीबार बिहान २ बजे एक्कासि म बसेको कोठामा प्रहरी आएपछि आफू अबचाहि बँचे भन्ने लाग्यो । प्रहरी आउँदा म सुतिरहेको थिएँ । मलाई बन्धक बनाएर राख्ने दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको रहेछ । मेरोअगाडि उनीहरूले कहिल्यै फिरौती मागेनन् । बाहिर बसेर माग्दा रहेछन् । पालो-पालो गरेर दुईजना मलाई कुर्ने गर्दथे । विभिन्न कुरा गरेर मलाई यातना दिइरहन्थे । प्रहरीले वास्तवमै मलाई नयाँ जीवन दिएको छ ।
नवराज मैनाली
|
गणेश लामालाई धेरैले शक्तिशाली डनका रूपमा चिन्छन् । तर, आफूलाई डन भनेर मिडियाले लेखेको उनलाई मन पर्दैन । ँमिडियाले पेलेको देख्दा कहिले आत्महत्या गरौँ त कहिले विदेश जाऔँजस्तो लाग्छ,’ उनी भन्छन् । गुन्डागर्दीको पृष्ठभूमि भएका लामा पछिल्लो समय भने नेता कहलिएका छन्, लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्यका रूपमा । विजय गच्छदारसित विशेष सम्बन्ध भएका उनै लामासँगको कुराकानी :
डन कसरी बनियो ? मलाई कहिल्यै डन हुँ भन्ने कुनै 'फिल' नै छैन । म डन हँुदा पनि होइन । मलाई डन भनेको मन पनि पर्दैन । मलाई कुन व्याख्या लगाएर डन भनियो, थाहा भएन । गुन्डागर्दीमा त लागिएको हो नि ? मैले बारम्बार भन्दै आएको छु । हिजोको दिनमा जानी-नजानी झगडा गरेँ होला । त्यसबापत सजाय पनि पाइसकेको छु । सजाय भोगेर पब्लिकमा आइसकेपछि मैले यो समाजमा बाँच्न पाउने कि नपाउने ? हिजो नेताहरूले नै युवालाई दुरुपयोग गरेका हुन् । विपक्षीलाई कुट्न/ठोक्न लगाउने नेता नै हुन् । नेताले गलत बाटोमा लाग्नुहँुदैन भनेर सिकाउनेभन्दा पनि कुट्न र ठोक्न सिकाए । म पनि त्यसैको सिकार भएँ । टिनएजमा राम्रोसँग सोच्न सकिन्न । १६ वर्षको उमेरमा कसैले डाइरेक्ट हेर्दा पनि घुरेकोजस्तो लाग्छ । अहिले ३२/३४ वर्षको उमेरमा चिनेर पो हेरेको हो कि भन्नेे लाग्छ । सोच नै परिवर्तन भइसक्यो । सुरुमा तपाईंंको दुस्मनी कोसित थियो ? यो/ऊ भन्ने त्यस्तो स्थायी दुस्मनी कोहीसँग भएन । त्रिचन्द्र क्याम्पसको स्ववियु चुनावको विषयमा भीम गुरुङसित झगडा भएको थियो । चुनावमा उनीहरू एकातिर थिए, म अर्काेलाई सहयोग गर्न गएको थिएँ । मेरो सुरुको झगडा भएको त्यही थियो । त्यो २०५७/५८ सालतिरको कुरा हो । त्यो झगडापछि पार्टीज्म बढ्दै गयो र यसरी नै झगडा बढ्दै गएको हो । न मेरी श्रीमती उसले लगेको हो, न मेरा पैसा खाएको हो । कुनै इस्युभन्दा पनि हामीलाई गलत रूपमा प्रयोग गरिएको हो । पछि समूह नै बनाएर झगडा गरेको होइन र ? त्यस्तो धैरै पनि होइन । कहिलेकाहीँ आफ्नो सुरक्षाका लागि पनि झगडा भयो । अरूलाई मारे पनि जेलमै जानुपर्छ, म पनि कानुनभन्दा बाहिर छैन । मलाई मारे पनि अरू उम्कनेवाला छैनन् । झगडाभन्दा काम गर्नुपर्छ । अब सुध्रनुपर्छ भन्ने भावना आएपछि त्यस्तो झगडा गर्न छाडेको हुँ । क्यासिनोबाट जागिर सुरु गर्नुभयो, होइन ? हो, मैले पहिला ८/९ महिना क्यासिनोमा जागिर खाएको थिएँ । त्यसपछि सानै रेस्टुरेन्टबाट भए पनि मैले आफ्नै व्यवसाय सुरु गरेँ । राज्यको दायरामा छिरेर, कर तिरेर मैले व्यापार गरेको हुँ । त्यसरी व्यवसाय गर्नु भनेको अपराध गर्नु जस्तो त मलाई लाग्दैन । त्यसरी व्यापारमा नलागेकोमा भए सायद म हप्ताखोरी हुन्थँे । धम्काउन जान्थेँ होला । मेरो सद्बुद्धिले गर्दा सुरुदेखि नै दुःख गर्न सिके । दाबाका साथ भन्न सक्छु, मैले अहिलेसम्म धम्काएर, रुवाएर, बिगारेर पैसा खाएको रहेछु भने जे सजाय पनि भोग्न तयार छु । त्यो मैले गरिनँ । किनकि, मैले गुजाराका लागि आफ्नै काम थालिसकेको थिएँ । गलत गर्नेलाई मैले आफ्नो टिममा कहिल्यै प्रश्रय दिइनँ । एकताका दीपक मनाङेसँग कडा दोस्ती थियो नि ? काम गर्ने सिलसिलामा उनलाई भेटेको हुँ । कतिले मलाई दीपक मनाङेका बाउन्सर, मनाङेको केटाजस्ता आक्षेप लगाउने गर्छन् । होे, उनी मभन्दा सिनियर हुन् । दरबारमार्गमा ट्वान्टीफो आवर रेस्टुरेन्ट खोल्ने वेला भेट भएको थियो । मैलै त्यसमा थोरै सेयर हालेको थिएँ । त्यसपछि निकटता बढ्यो । त्यसलाई नै मान्छेले विभिन्न किसिमले लिन थाले । म पनि पढेको मान्छे हँु, उनले गलत काम लगाउँदैमा गर्ने मान्छे त होइन नि । म कुकुर हो र, टोकभन्दा टोक्न जाने, छोड्भन्दा छोड्ने ? पहिला ठमेल क्षेत्रमा दीपक मनाङेको राज थियो, मनाङे जेल परेपछि तपाईंंको राज भयो भनिन्छ नि ? यो एदमक झुट कुरा हो । त्यस्तो हुनलाई यो हिन्दी फिल्म पनि होइन । हाम्रो देश भनेको लेकाली आलुजस्तो हो । जुनसुकै ठुलो क्राइम गरे पनि अपराध गर्ने मान्छे बच्न सक्दैन । त्यसमा पनि उपत्यकामा । व्यापार गर्ने सिलसिलामा म ठमेलमा थिएँ । तर, ठमेल मेरो बाउबाजेको बिर्ता त होइन, मेरो राज चल्नलाई । व्यापार गर्ने सिलसिलामा म झापामा पनि पुग्न सक्छु नि । भन्न सक्नेले त दीपक मनाङ जेल गए पछि गणेश लामाले राज गर्यो, यति उठायो भन्न सक्नुपर्यो नि ! मैले कोसँग पैसा खाएँ, त्यो कसैले भन्न सक्छ ? कामको सिलसिलामा एक समय म ठमेलमा बढी बस्थेँ । पछि रेस्टुरेन्ट व्यवसाय छाडेपछि त म कहिल्यै गइनँ नि । त्यसरी मैले राज चलाएको भए त उनीसँग लडेर पनि त्यहीँ बसिहाल्थँे नि ! दीपक मनाङेसँग चाहिँ सम्बन्ध किन बिगि्रयो ? सम्बन्ध बिगि्रएको पनि होइन । उनलाई म दाइ भन्छु, उनी मलाई भाइ भन्छन् । पछाडि के भन्छन्, थाहा छैन । न मैले उनको केही बिगारेको छु, न उनले मेरो । अहिले पनि दाजुभाइको सम्बन्ध छ । आ-आफ्नो क्षेत्रमा छौँ । मेरो कोहीसँग त्यस्तो धेरै राम्रो र दुस्मनी भन्ने छैन । काभ्रेली समूहचाहिँ कसरी बन्यो ? यो पनि गलत कुरा हो । विभिन्न सिलसिलामा मान्छे विभिन्न जिल्लाबाट काठमाडौं आउने गर्छन् । यहाँ आएर कोही पढ्छन्, कोही जागिर खान्छन् । त्यस क्रममा आफ्नो जिल्लाको मान्छेसँग चिनजान हुन्छ, निकटता हुन्छ । सहयोग आदानप्रदान हुन्छ । काभ्रे मात्र होइन, जुनसुकै जिल्लाबाट आएकाबीच पनि स्वाभाविक निकटता हुन्छ । काभ्रेली समूह भनेर आरोप मात्र लगाएका हुन् । त्यस्तो कुनै समूह छैन । त्यो कम्पनी पनि होइन । कुनै ग्याङ पनि होइन । तर धेरै काभ्रेली युवालाई ठमेलमा स्थापित गराउनुभएको होइन ? हाम्रो देशको प्रमुख समस्या बेरोजगारी र अशिक्षा हुन् । यो राज्यको कमीकमजोरी पनि हो । व्यावसायिक क्षेत्र तहसनहस भइरहेको छ । एसएलसी पास गरेर हजारौैँ युवा गाउँबाट काठमाडौं आउने गरेका छन् । तर, यहाँ अवसर पाउन धेरै गाह्रो छ । म दाबाका साथ भन्न सक्छु, प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तीनदेखि चार हजार युवालाई रोजगारी दिने व्यक्ति मै हुँ । रेस्टुरेन्टमा पाँच जना भए पुग्ने ठाउँमा १० जनालाई राखेर भए पनि रोजगारी दिएँ । सायद कुनै नेताले यति धेरै रोजगारी दिएको छैन होला । त्यही कारण काभ्रेका धेरै साथी रेस्टुरेन्ट लाइनमा छन् । त्यसरी जागिर दिनु मेरो अपराध हो र ? प्रहरीलाई चाहिँ कत्तिको सहयोग गर्नुभयो ? त्यस्तो छैन । नयाँ एसपी आउनेबित्तिकै सोधपुछ भनेर लान्छन् । यो छ, ऊ छ भन्दै बाटोमा पिसाब फेरेको, हातपात गरेको भनेर झुटो विवरणका आधारमा सार्वजनिक मुद्दा चलाइदिन्छन् । तर, यति पैसा चाहियो भनेर चाहिँ प्रहरीले मसँग मागेको छैन । कसैले उचालेर हो कि दुःख दिएपछि स्वार्थ पूरा हुन्छ भनेर पो हो कि ? तर, विनागल्ती सोधपुछका लागि बोलाई मुद्दा चलाएर प्रहरीले दुःखचाहिँ दिएको छ । अपराधमा युवाको मनोबल बढाउनमा प्रहरीको पनि हात छ भन्ने लाग्छ । उदाहरणका लागि काठमाडौंमा नयाँ एसपी आउनेबित्तिकै काम देखाउने नाममा जथाभावी मान्छे पक्राउ गरी दुई सयको क्षमता भएका ठाउँमा पाँच सय मान्छे खाँद्छन् । तर, त्यहाँ अपराध नगरी पनि थुनिएका धेरै व्यक्ति हुन्छन् । कहिले कपाल काट्ने अप्रेसन भनेर प्रहरीले मान्छेको स्वतन्त्रता हनन गरिरहेको हुन्छ । अहिले अपराधको पाठशाला जेल बनेको छ । जेल हालिदिन्छुभन्दा मलाई डर लाग्दैन । पटक-पटक बसेर आएकाले त्यहाँको वस्तुस्थिति बुझेको छु । तर, कहिल्यै जेल नगएको मान्छेलाई जेल हालिदिन्छु भन्यो भने ऊ डराउँछ । जेल गएपछि यस्तै त रहेछ नि भनेर 'युज्ड टु' हुन्छ । अर्काे कुरा, डनको यति सम्पत्ति छ, यसरी कमायो भनेर मिडियामा चर्चा चल्छ । यसबाट पनि अरूले सिको गर्छन् । कतिपय ठग्ने मान्छेले म गणेश लामाको मान्छे भनेरसमेत संरक्षण खोज्ने गरेका छन् । यो सबै मिडियाले गर्दा भएको हो । मैले चिन्दै नचिन्ने मान्छेले पनि गणेश लामा बोलाएर ठीक बनाइदिऊँ भनेर पनि धम्काएको सुनिन्छ । आफूलाई डन भनेको साँच्चै मन पर्दैन त ? कहिल्यै त्यस्तो रहर लागेन । हुन त राजनीति मलाई मन नपर्ने फिल्ड हो । म काभ्रेमा जन्मिएर नर्सरीदेखि नै काठमाडौंमै पढेको हुँ । सम्पन्न परिवारको व्यक्ति त होइन, तर बिहान-बेलुका खान पुर्याएर बच्चालाई काठमाडौंमा पढाउन पठाउनुपर्छ भन्ने परिवारको व्यक्ति हुँु । राम्रो परिवारको व्यक्तिले जानीजानी त अपराध गर्दैन नि । प्रहरीले यसलाई धम्काएर पैसा खाइस् भनेर अहिलेसम्म भन्न सकेको छैन । मैले भनिहालेँ पहिला अलि-अलि झगडा गरियो, जब बुभ\mने भइयो, त्यसयता म आफ्नो काम गरेर अघि बढेको छु । आफ्नो काम गर्दा म कसरी डन भएँ ? मलाई त्यत्तिकै डनगिरी झुन्ड्याइएको हो । कसले बनाइदियो त डन ? मलाई अचम्म लाग्छ । मिडियामा समाचार आएपछि नै थाहा पाउँछुु, आफू डन भएको । अहिले राजनीतिमा लाग्नुको कारण ? एकातिर मेरो बाध्यता पनि हो । अर्काे, समाजमा केही गर्ने उद्देश्य हो । मैले राम्रो काम गरेको भन्ने कुरा कुनै मिडियामा सुन्नुभएको छ ? मैले यो समाजमा जन्मिएर केही गर्नुपर्छ भन्ने उद्देश्ले हरेक वर्ष गरिब बालबालिकालाई छात्रवृत्ति दिइरहेको छु । स्ुकलमा लाइब्रेरी बनाइदिएको छु । शिक्षक नभएको स्कुलमा व्यक्तिगत रूपमा तलब दिएर शिक्षक राखिदिएको छु । गाउँमा हेल्थक्याम्प राख्ने गरेको छु । यसबारेमा त कहिल्यै मिडियामा आएको छैन । तर, प्रचार होस् भनेर मैले गरेको पनि होइन । मिडियाले पेलेको देख्दा कहिले आत्महत्या गरौँ त कहिले विदेश जाऔँजस्तो लाग्छ । विजय गच्छदारसँगको निकटताको रहस्यचाहिँ के हो नि ? उहाँसँग नेपाली कांग्रेसमा हँुदादेखि नै साधारण चिनजान थियो । लोकतान्त्रिक फोरममै लाग्नुको कारणचाहिँ यो पार्टी नयाँ बन्ने क्रममा छ । सक्षम र योग्य युवालाई अन्य पार्टीले प्रयोग मात्र गर्छन्, ठाउँ दिँदैनन् । युवालाई चन्दा उठाउन र ढुंगा हान्न मात्र प्रयोग गर्दै आएका छन् । तर, लोकतान्त्रिक फोरममा मलाई जिम्मेवारी पनि दिइएकाले यसमा लागेको हुँ । देश चुनावी माहोलमा छ, चुनाव पनि लड्ने योजनामा हुनुहुन्छ कि ? अहिलेसम्म चुनाव हुने निश्चित छैन । भोलि जनताको माग र चाहना भयो भने उठ्न सक्छु । अहिले आश राखेको छैन । म सेवाको भावले राजनीतिमा लागेको हुँ । सेवा गर्दै जान्छु । जनता न्यायाधीश हुन्, जबसम्म जनताको भोटिङमा गइन्न, त्यसवेलासम्म नेता हुन सकिन्न । विजय गच्छदार गृहमन्त्री हँुदा तपाईं उहाँको निकट हुनुभयो, निकै फाइदा लिनुभयो भन्ने चर्चा छ नि ? यो पनि एउटा निराधार हल्ला मात्र हो । न विजय गच्छदारका कारण गणेश लामा बनेको हो, न गणेश लामाका कारण विजय गच्छदार बनेका हुन् । पटक-पटक सत्तामा बसेको मान्छे भएकाले उहाँ गणेश लामाको निर्देशनमा चल्ने कच्चा हुनहुन्छजस्तो लाग्दैन । उहाँको पार्टीको सिपाही हँु म । माया गर्नुहुन्छ । कोही प्रहरी 'ल भाइ, तिम्रो मन्त्रीज्यूसँग रिलेसन छ, भनिदिनुपर्यो' भनी आग्रह गर्छन् र मैले भनेर हुन्छ भने किन नगर्ने ? सम्बन्ध, नातागोता त सबैको भइहाल्छ नि । मैले कुनै पुलिसलाई आउनोस्, म तपाईंको प्रमोसन गरिदिन्छु, राम्रो ठाउँमा सरुवा गरिदिन्छु भनेको होइन नि । चिनेको नाताले कतिपयले सहयोग माग्दा मैले सहयोग गरेको हँु । मेरो जहिले पनि पोजेटिभ सोच हुन्छ । सक्ने वेला गुन लगायो भने भोलि कुनै वेला मलाई पनि काम लाग्ला भन्ने सोचले गरँे होला, गरिनँ भन्दिनँ । तर, कसम खान्छु, आर्थिक तथा अन्य स्वार्थले मैले त्यसरी काम गरेको छैन । तपाईंलाई सबैभन्दा चलाख डन पनि भन्छन् नि ? समाजमा एउटा मान्छे देखाइदिनुस् बिचरा लाटो रहेछ, केही नजान्दो रहेछ भन्ने खालको । पेटका लागि सबै चलाख हुन्छन् । चलाख हुनु त राम्रो कुरा हो नि होइन र ? चोरेर खाने चलाख हुनु पो गलत त, राम्रो कामका लागि चलाख हुँदा के भयो र ? आजभोलि बिजनेसचाहिँ के-के छ ? बिजनेस पनि खासै छैन । सबै क्षेत्रमा डामाडोल छ । सम्पत्ति शुद्धीकरणका नाममा दुई वर्षदेखि सबै खातापाता बन्द गरिएका छन् । धेरै कमाएर छानबिन भएको होला नि, होइन र ? एउटा नेपालीको छोराले काम गरेर २/४ पैसा कमाउनु गलत होइन नि । रियल स्टेटमा कतै २० लाख रुपैयाँ लगाइएको छ भने एक वर्षभित्र त्यो जग्गा एक करोड जाने भएको थियो । त्यसको स्रोत कसरी देखाउने ? त्यति धेरै नाफा त ड्रग्स बेचेर पनि कमाइँदैन । त्यतिवेला मैले मात्र होइन, धेरैले पैसा कमाएका थिए । तर, अहिले राज्यले यस्तो अवस्था बनाइदियो कि रियल स्टेटका ठूला टाइकुनहरूसमेत ५/१० लाख रुपैयाँ निकाल्न नसक्ने अवस्थामा पुगेका छन् । तपाईंले चाहिँ कति कमाउनुभयो ? मिडियामार्फत नै सम्पत्तिको विवरण खुलाउन म तयार छु । मेरो कोटेश्वरमा आफू बस्ने एउटा घर छ, एउटा कर्जा लिएर बालाजुमा होटल बनाएको छु । अरू अलिकति जग्गा छ । १०/१२ वर्षदेखि म व्यवसाय गर्दै आएको छु । एक/दुई करोड पनि कमाउनै नसक्ने त होइन नि म । त्यो पनि अनुसन्धानमा हेर्नुपर्यो । रक्तचन्दनको पनि कारोबार गरियो नि, होइन र ? यो पनि मविरुद्धको षड्यन्त्र नै हो किजस्तो लाग्छ । रक्तचन्दनको कारोबारमा पनि कुनै रूपमा प्रयोग भएँ । तर, कारोबारीले आफू बच्नका लागि मलाई मोहरा बनाए किजस्तो लागेको छ । ६ सय किलोमिटर पार गरेर रक्तचन्दन काठमाडौं आइपुग्छ । त्यहाँ कतिवटा जिल्ला छन् ? त्यहाँ सिडिओ, डिएफओ, पुलिसका हाकिम होलान् । पत्रकार पनि होलान् । उनीहरूको नाम कतै आउँदैन । तर, सधैँ मेरो नाम आउँछ । पछि मैले सुनेँ, एक ट्रक जाँदाखेरि ५० करोडको सामान हुन्थ्यो रे । रातमा पाँचवटा गाडीसम्म जान्थ्यो रे । रातमा साढे दुई अर्बको सामान जान्थ्यो रे । साढे दुई अर्बको सामान खरिद गरेर लिने मेरो हैसियत थियो र ? न मेरो चाइनामा रिलेसन थियो न त इन्डियामा । मैले त्यतिको काम गरेको भए मेराबारे नराम्रो आउने पनि थिएन होला । त्यति पैसा भएको भए म पनि मिडिया हाउस खोल्थेँ होला । दुई/चार ठाउँमा बुझाएपछि मुख बन्द हुन्थ्यो होला । जसले तस्करी गर्थे उनीहरूको कतै नाम आउँदैन, छानबिन पनि हुँदैन अनि गणेश लामालाई चन्दनको ब्रान्ड बनाइदिए । रमेश बाहुन भन्ने मान्छेले तपाईंलाई पनि धम्काएर रकम असुलेको हो ? त्यो गलत कुरा हो । तपाईं आफैं एकातिर मलाई डन भन्नुहुन्छ । अर्काेतिर मलाई असुल्यो भन्नुहुन्छ । म इमानदारितामा बाँच्ने मान्छे, म मर्न तयार हुन्छु, तर रमेश बाहुनजस्तालाई पैसा बुझाउन तयार हुन्न । न उनलाई म चिन्छु न कुनै दुस्मनी नै छ । कुरा के हो भने ठेक्कापट्टा गर्ने सिलसिलामा रामेछापमा काम थियो मेरो । काजी शेर्पालगायत तीन/चारजनाको गु्रप मिलेर काम गरेका थियौँ । कामको क्रममा गाडीको सिसा फुटायो रे भन्ने हल्ला आयो । उनले हप्ता मागेे रे । म विदेशमा थिएँ । मैले कुनै हालतमा पैसा नदिने भनेँ । साथीहरूले प्रहरीमा रिपोर्ट दिए, तर प्रहरीले केही गरेन । त्यही क्रममा त्यो हल्ला भएको हो । यो देशको विडम्बना यही छ, त्यसरी हप्ता गरेर खाने मान्छेलाई कुनै कारबाही हुँदैन । हामीजस्तो दुःख गर्नेलाई सताउने काम हुन्छ । सबैले तपाईंले डन भनेर चिन्छन्, आफैँले चाहिँ कसरी चिनाउनुहुन्छ त ? म साधारण मान्छे हँु । सधैँ म नेपाल र नेपालीका लागि राम्रो काम गर्न सकूँ । म डन भएको भए सबै पावर मसँग हुनुपथ्र्यो नि । मान्छे मार्न सक्थेँ, पक्राउ परेको व्यक्तिलाई छुटाउन सक्थेँ । डनको परिभाषामा त त्यस्ता व्यक्ति पर्छन् । देशमा नेता र प्रहरीका हाकिमले त्यस्तो काम गर्छन्, उनीहरू पो डन हुन्छन् । हामी केही गर्न नसक्ने मान्छे कसरी डन हुन्छौँ र ?
प्रस्तुति : नवराज मैनाली
तस्बिर : ज्ञानेन्द्र कार्की
|
|
|