|
उपत्यकाका हिलाम्मे र धुलाम्मे सडकलाई ँअफिस’ बनाउनु कम्ती चुनौतीपूर्ण छैन । तर, यो चुनौतीलाई उपत्यकामा ट्राफिक प्रहरीहरूले दिनहुँ ँकाउन्टर’ दिइरहेका छन् । उपत्यकाको सवारी चाप, साँघुरा सडक, अनुशासनहीन चालक, लापर्वाह र्पैदलयात्रु सबैलाई ँसिस्टम’मा ल्याउनु ट्राफिक प्रहरीका दैनिकी हुन् । अझ त्यसमा पनि लैैंगिक रूपमा कमजोर मानिने महिलाका निम्ति यो पेसा झनै चुनौतीपूर्ण देखिन्छ । तर, चुनौतीका बाबजुद पनि उनीहरूले उपत्यकाको सवारी व्यवस्थापनमा पुरुषभन्दा कम्ती योगदान दिएका छैनन् । उनीहरूको सशक्त भूमिका मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वाधिक सवारी जाम हुने उपत्यकाका त्रिपुरेश्वर, थापाथली, माइतीघर, सिंहदरबारलगायत क्षेत्र महिला ट्राफिक प्रहरीकै जिम्मेवारीमा छाडेको छ । ट्राफिक प्रहरी बिट थापाथलीले हेर्दै आएको सो क्षेत्रको सवारी व्यवस्थापन दिनहुँ सुध्रँदै गएको महाशाखाको बुझाइ छ । सवारी व्यवस्थापन चुस्त बनाउन लागिपरेका यी महिला ट्राफिकले भोग्ने समस्या पनि बग्रेल्ती छन् । उनीहरूका दिनहुँका ँसडक भोगाइ’ प्रहरी सहायक निरीक्षक विषया शर्माको प्रतिनिधि आवाजका रूपमा :
१४ घन्टासम्म ड्युटी
आधारभूत तालिमसँगै सुुरु गरे पनि जिम्मेवारीका हिसाबले महिला प्रहरी र ट्राफिक महिला प्रहरीमा ठूलो भिन्नता छ । उपत्यकामा खटिने अधिकांश महिला प्रहरीको सीमित घन्टामात्रै ड्युटी हुन्छ, सकिनासाथ निवासमा गइहाल्छन् । तर, महिला ट्राफिकको ब्यारेक लाइफ छ । बिहान सबेरैदेखि अबेर रातिसम्म चेकिङमा खटिनुपर्छ । एक ठाउँको ड्युटी सकिए पनि अर्काे ठाउँमा खटिनुपर्ने हुन सक्छ । अझ, मानसिक र शारीरिक थकानको त झन् तुलनै गर्न सकिन्न । कार्यक्षेत्र नै सडक भएपछि सडक प्रयोगमा हरेक निकायसँग हरेक समय घुलमिल भइरहनैपर्छ । नियमित रूपमा लगभग आठ देखि १४ घन्टासम्म ड्युटी गर्नुपर्छ । आजभोलि मापसे चेकिङले त झन् राति ११ बजेसम्म ड्युटी लम्बिएको छ । जुन अन्य महिला प्रहरीको जिम्मामा पुगेको छैन । करिब एक सयको हाराहारीमा रहेका महिला ट्राफिकले ठूलो जिम्मेवारी वहन गरेका छन् ।
छैन व्यक्तिगत जीवन
कामको लोडले महिला ट्राफिक प्रहरीको व्यक्तिगत जीवन एकदमै साँघुरो बनेको हुन्छ । थोरै जनशक्ति र ठूलो जिम्मेवारीका कारण घर जान पाइँदैन भने अफिसमा पनि रेस्ट भन्ने हुँदैन । सार्वजनिक बिदा, चाडपर्व भनेर अफिस छाड्न मिल्दैन । सिंगो प्रहरी सेवा नै ब्यारेक लाइफमा आधारित हुने भएकाले हामीले मात्रै विशेष सुविधा पाउने भन्ने पनि भएन । घरपरिवारमा जमघट, रमाइलो हँुदा पनि जान नपाउँदा खल्लो 'फिल' हुन्छ । 'तिमीले मात्र जागिर खाएकी रहिछ्यौ' आफन्तको आरोप आइरहन्छ । 'डेट' नै जानुपर्यो भने पनि समय मिलाउन गाह्रो पर्छ । ब्यारेक लाइफमा कहिलेकाहीँ त बोर पनि लाग्छ, तर बेरोजगारीको संख्या यत्रोविधि भएको ठाउँमा जागिर छाड्न पनि त सकिँदैन नि । मेरो त बरु बुबा पनि भूपू नेपाली सेना भएकाले त्यति ठूलो समस्या परेको छैन । तर, यहाँ कत्ति साथीहरू, बहिनीहरूको घरपरिवारमा खटपट भएका घटना छन् । कत्तिको त डिभोर्ससम्मको घटना पनि भएका छन् । बच्चा भएका दिदीहरूको हकमा झनै गाह्रो छ ।
सडक नै कार्यालय
हाम्रो त कार्यालय नै सडक क्षेत्र र सवारीसाधन भएकाले कति गाह्रो छ सबैले सहजै अनुमान लगाउन सक्छन् । काठमाडौंका साँघुरा सडक र अनुशासन पालना नगर्ने चालकको गतिविधि नियन्त्रण गर्दै सवारी सुव्यवस्था कायम गराउन हम्मे पर्छ । अझ झन् महिलाको हकमा त झनै गाह्रो छ । शारीरिक रूपमा नै महिलामा केही समस्या हुन्छन् । यसबाहेक ड्युटीको सिलसिलामा भोगिने कठिनाइ त कति-कति ! स्वभावैले महिला पुरुषभन्दा कम खट्न सक्ने र संवेदनशील हुन्छन् । चोकमा खटिँदा महिला ट्राफिक भन्नासाथ हेप्न खोज्ने, पेलेर जान खोज्ने, अपशब्द बोल्ने चालक-सहचालक दिनहँु भेटिन्छन् । सधँै उनीहरूसँगै घुलमिल भएर काम गर्नुपर्ने बाध्यता र सरकारी जिम्मेवारी भएका कारण हामी आवेशमा आउन मिल्दैन । कति चालक-सहचालक त सुन्दा नै लाजमर्दाे शब्द प्रयोग गर्ने, अशोभनीय गतिविधि गर्ने, छुन खोज्ने खालका पनि हुन्छन् । विशेषतः भाडाका सार्वजनिक सवारीसाधनका सहचालक अत्यन्तै छाडा र अभद्र भेटिन्छन् । भनेको नटेर्ने र महिला ट्राफिक देख्नासाथ नियम पालना नगर्ने पनि हुन्छन् । अत्यन्तै चोट पर्ने हिसाबले दुव्र्यवहार गर्नेलाई त हामीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा पनि लगाइदिने गरेका छौँ । उनीहरूलाई सार्वजनिक अपराधको मुद्दा लाग्न सक्छ, तर पनि आचरण सुधारमा ध्यान दिँदैनन् । सडकमा चेकिङका लागि बस्दा विवाद नभएको त दिन नै हुँदैन । बेलुका मापसे चेकिङमा बस्दा अलि बढी विवाद हुने गरेको छ । सायद उनीहरूलाई रिस उठ्दो पनि हो । तर, उनीहरूकै सुरक्षाका लागि गरेको हो भन्ने बुझ्न जरुरी छ । रातिको समयमा महिला ट्राफिकले रोक्न खोज्दा सवारीसाधन रोक्न नमान्ने, मापसे गरेकाहरू पनि उच्छंृखल बोल्ने खालका पनि भेटिन्छन् । 'एक थप्पड खायो भने अर्को नि थाप्नु तर नफर्काउनु' भन्ने स्कुलिङ हुन्छ हाम्रो, त्यसैले पनि सकेसम्म आदर गर्ने गरेका छाँै । होला, कतिपय केसमा प्रहरीले पनि दुव्र्यवहार गरेको हुन सक्छ । तर, त्यस्ता घटना दुर्लभ मान्छु म । बेलुका मापसे चेकिङमा केही दिदीबहिनी पनि पर्नुहुन्छ । कस्तो-कस्तो लाग्छ उहाँहरू भेटिँदा । मापसे गरे पनि नियन्त्रणबाहिर नै पुग्ने गरी झ्याप भएको त अहिलेसम्म भेटेको छैन । म आफैँले चाहिँ पछिल्लोपटक माघमा एकजना दिदीलाई भेटेको थिएँ । हल्का मापसे गर्नुभएको रहेछ, उहाँसँग केही कुरा पनि भएको थियो । भोलिपल्ट संयोगले उहाँसँग महाशाखामा भेट हुँदा कक्षा लिन साह्रै लाज भएको सुनाउनुभएको थियो । अधिकांश पुरुष भएकाले कक्षामा बस्न लाज भएको उहाँको भनाइ थियो । चोकमा ड्युटीमा खटिँदा भोकप्यास सबै बिर्सनुपर्ने बाध्यता छ । मुख्य चोकहरूको जिम्मेवारी दिइएकाले छाडेर हिँड्न पनि मिल्दैन । सार्वजनिक महिला शौचालय कतै छैनन् । नजिकै कार्यालय हुनेहरू त जसोतसो पालो मिलाएर कार्यालय छिर्न भ्याउँछन्, तर केही टाढा पर्नेहरूले त सहनुको विकल्प नै छैन । प्यासले घाँटी सुकेको सुक्यै हुन्छ, तर पानी पाउन मुस्किल छ । लगेर राख्नका लागि पनि ठाउँ हुँदैन । कति ठाउँमा त हामीले चोकनजिकैका पसलमा चिनजान गरेर पानी, शौचालयलगायतको प्रयोग गर्ने पनि गरेका छौँ । के गर्ने, समस्या त टार्न नै पर्यो, होइन र ? रेगुलर बि्रफिङका वेला यस्ता कुरा उठाउने त गरेकै छौँ, तर अहिलेसम्म माग पूरा भएका छैनन् भन्नुस् -हाँस्दै.... )।
दुर्घटनाको जोखिम
सर्वसाधारण र यात्रु दुर्घटनामा नपरून् र सहजै सुरक्षित रूपमा गन्तव्यमा पुगून् भन्ने हाम्रो चाहना हो । हाम्रो मिहिनेतका बाबजुद पनि सवारी दुर्घटना भइरहेकै हुन्छन् । अझ कहिले त हामी आफँै पनि दुर्घटनामा पर्ने गरेका छौँ । करिब दुई वर्षअघि म आफँैलाई त्रिपुरेश्वर चोकमा कीर्तिपुरको ठूलो बसले नै हानिदियो । रोक्न खोज्दाखोज्दै धक्का दिएर गयो । धन्न ठूलो चोट लागेन, तर करिब तीन महिनासम्म रेस्टचाहिँ गर्नुपर्यो । दुई/तीन महिनामा कोही न कोही गम्भीर दुर्घटनामा पर्ने गरेका छन् ट्राफिकहरू नै । तीन/चारजना त दुर्घटनापछि ट्राफिक सेवामा र्फकनै सकेका छैनन् । टाफिक प्रहरी आफैँ नै दुर्घटनामा पर्ने केस बढ्दै गएकाले 'सेल्फ डिफेन्स'मा विशेष ध्यान पुर्याउने वेला आएको छ । सडक साँघुरा हुने र हुँइििकएर आउने साधनले ट्राफिकलाई नै लतारिदिन्छन् । कति साथीहरू बाइकलाई नियन्त्रणमा लिन खोज्दा बाइकसँगै लतारिएर लडेका घटना पनि छन् । मानवीय संवेदना र प्रहरीको कर्तव्य सँगै निर्वाह गर्नुपर्ने हाम्रो बाध्यता छ । अझ महिला त दुर्घटनाको मामलामा एकदमै संवेदनशील हुन्छन् । आफ्नै अगाडि दुर्घटना हुँदा डर पनि लाग्छ, केस मिलाउन पनि पर्छ । त्यस्तो परिस्थिति साँच्चै नै चुनौतीपूर्ण हुन्छ । दुर्घटना हुनासाथै जाम पनि सुरु हुन्छ । सबैथोक एकैचोटि फेस गर्नुपर्दा कहिलेकाहीँ त हतास नै भइन्छ । फेरि कति त रोडमै बसेर विवाद गर्न थाल्छन् । रमिता हेर्ने पब्लिकले पनि दुःख दिन्छन् । क्षति कम भएको ठाउँमा पनि ट्राफिकलाई नै कुरेर बस्ने, जाम भएको पनि मतलब नगर्ने, अरू यात्री मर्कामा परिररहेको तर्फ ध्यान नै नदिने पनि हुन्छन् । रिस पनि उठ्छ, पिटौपिटौ झै लाग्छ । केही पटक त पिटेको पनि हुँला -लामो हासो...)। सवारी नियम पालना नगर्नेमा अधिकासं बाइकवालाहरू भेटिन्छन् । जतापनि छिराइदिने र तीब्र गतीमा चलाउने गर्दा दुर्घटना र जाम हुने गरेको छ । माइक्रो बसहरू पनि असाध्यै अनुसासनहिन छन् । हामीले कारबाही गरेर मात्रै सुध्रन्छ जस्तो लाग्दैन । पब्लिकको दिमागमा चेतना नपुगेसम्म ट्राफिक प्रहरीको प्रयासले मात्र केही हुदैन ।
३३ प्रतिशत सहभागिता
समावेशीको कुरा आजभोलि कडा रूपमा उठ्न थालेको छ । हाम्रो पुलिस फोर्समा त माथिबाटै निर्णय भएर आउनुपर्ने कुरा हो । ट्राफिक प्रहरीमा ३३ प्रतिशत सहभागिता छैन । करिब एक हजार ट्राफिक प्रहरीमा डेढ सयजति मात्रै महिला छौँ, यसले त पुगेन नि । अहिलेसम्म विभागीय छलफलमा यस्तो विषय त उठेको छैन, अब उठ्ला कि ! महिला हिंसाका विषयमा पनि देशैभरि चर्चा चलेको छ । प्रहरी फोर्समा पनि कहीँकतै दुव्र्यवहार भएका समाचार आएका हुन्छन्, तर ट्राफिककै हकमा त्यस्तो भएको छैन । यस विषयमा महिला आफँै पनि सचेत हुनुपर्छ । प्रमोसन र पोस्टिङमा पनि विभेद छजस्तो लाग्दैन ।
स्वास्थ्य
स्वास्थ्य त महिला र पुरुष दुवैको जोखिममा नै छ । वातावरणीय प्रदूषण बढेको छ । धुलो, धुवाँ, होहल्ला सबैको सामना गर्ने निकाय हौँ हामी । घाँटी दुख्ने, कान नसुन्ने, छाती दुख्ने, शरीर चिलाउने, मोनोटोनस हुने आदि त सामान्य रोग भइसकेका छन् ट्राफिकका लागि । अझ महिलामा त शारीरिक कठिनाइ पनि हुने भएकाले स्वास्थ्य झनै गम्भीर हुँदै गएको छ । महाशाखामा छलफल हुँदा हरेकपटक यी सवाल उठ्ने गरेका त छन्, तर अघि भनेझँै सुनुवाइ भएको छैन । मिटिङमा सिठी कम फुक्नु भनेको हुन्छ, तर चालकले मान्दै मान्दैनन्, सिठी जोडले नफुकी सुखै छैन । झन् आजभोलि त सडक पखाल्ने, डिभाइडर धुने सबै काममा लाग्नुपरेको छ ।
लुकिछिपी कमाइ ∕
लुकिछिपी कमाइमा त महिला-पुरुष भन्ने नै हुँदैन । आचरण गलत भएको जोसुकैले पनि गर्न सक्ने भए । म हुँदै हुँदैन चाहिँ भन्दिनँ, होला । वेलावेला समाचार पनि आइरहेका हुन्छन्, घुस खाएको भनेर । दुई/चार प्रतिशत परेका होलान्, त्यसकै आधारमा सबैलाई दोष लगाउन चाहिँ नमिल्ला । केही समयअघि महाशाखा प्रमुखले निरीक्षण गर्दा ८० रुपैयाँ घुस लिँदै गर्दा एकजना पक्राउ परेको कुरा आएको थियो । आचरण सुधार्न, घुस नखान निर्देशन आइरहन्छ र आफैँले पनि विचार गर्नुपर्ने कुरा हो । मैले त अहिलेसम्म कसैसँग पनि पैसा लिएको छैन ।
महिला ट्राफिक र ग्ल्यामर
महिला ट्राफिकमा पनि ग्ल्यामर हुन्छ भन्ने लाग्छ मलाई । ट्राफिकमा प्रवेश गरिसकेपछि भोगिने कठिनाइले केही ग्ल्यामर घटाएको हुनसक्छ, तर जागिरमा प्रवेश गर्दा एकदमै चार्म हुन्छ, ट्राफिक महिलाको । म आफँै पनि जागिर सुरु गर्नुपूर्व सिंहदरबार छेउछाउमा हिँड्दा जहिले पनि चिटिक्क ड्रेस लगाएका ट्राफिक दिदीहरू देख्दा लोभिन्थँे । अहिले पनि कत्ति लेडिज ट्राफिक बन्न लागिपरिरहेकै छन् । युनिर्फमको चार्मले पनि यो पेसामा ग्लामर छ । म आफैँ घर जाँदा पनि वरपरका बहिनीहरू यो पेसामा आउन लालयित देखिन्छन् । यो महिलाका लागि एउटा 'बोल्ड प्रोफेसन' पनि हो । साहस, सुन्दरता र सभ्यता एकैचोटि प्रदर्शित हुने पेसा भएकाले पनि यसमा ग्ल्यामर त छ नै ।
झल्को ट्राफिककै...
यो पेसा नै यस्तो रहेछ कि आफू पब्लिक रूपमा हिँड्डुल गर्दा पनि सवारी व्यवस्थापन र ट्राफिक नियमकै झल्को आइरहन्छ । आफू त पालना गरिन्छ नै, आफू हिँडिरहँदा अरूले पालना गरे/नगरेकोमा ध्यान जाँदो रहेछ । यसले किन त्यहाँबाट यात्रु चढाएको होला, त्यसको कारणले जाम भएको छ, किन जहाँबाट पायो त्यहीँबाट बाटो काटेको होला भनेर मनमा खसखस लागिरहन्छ । 'फुल पब्लिक' भएर सडकमा हिँड्न सकिँदैनजस्तो लाग्छ । झन् कहिलेकाहीँ त सार्वजनिक सवारीसाधन चढ्दा ट्राफिकलाई गाली गर्नेहरू देख्दा के गरौँ, गरौँ लाग्छ । एक हिसाबले यो पेसामा जहिले पनि ह्याङ भइराखिन्छ । तनावबीच पनि पब्लिकसँग सभ्य व्यवहार गर्नुपर्ने भएकाले ट्राफिक प्रहरीलाई पनि वेलावेला मनोरञ्जन र पर्याप्त बिदाको व्यवस्था भइदिए राम्रो हुन्थ्यो । अझ महिलाको केसमा त अलिक बढी ध्यान पुर्याउनु जरुरी छ । कमसेकम एक महिनामा पुरुषभन्दा महिलालाई पाँच/सात दिन बढी नै बिदा दिनु स्वास्थ्यका हिसाबले आवश्यक महसुस हुन्छ । त्यसो भइदिए धेरै महिला प्रहरीको स्वास्थ्यमा सुधार आउँथ्यो होला ।
प्रस्तुति : नीरज खड्का
|
|
सशस्त्र द्वन्द्वका क्रममा माओवादीले तर्जुमा गरेको 'जनगणतन्त्र नेपालको सार्वजनिक कानुनी संग्रह-०६०' झट्ट हेर्दा प्रचलित मुलुकी ऐनजस्तै लाग्छ । संग्रह ११ भागमा विभाजित गरिएको थियो । संग्रहको भाग एकमा प्रारम्भसहित सयुक्त क्रान्तिवादी जनपरिषद्को निर्णयबमोजिम कानुन लागू भएको घोषणा गरिएको थियो । भाग दुईमा प्रणालीका सिद्धान्त, तीनमा अपराधका सजाय, चारमा जनसत्ताविरुद्ध अपराध गर्नेलाई कानुनी कारबाहीको व्यवस्था छ । त्यस्तै, भाग पाँचमा जिउ-ज्यान अपराधसम्बन्धी कानुनी व्यवस्था, ६ मा यौनजन्य अपराध, सातमा परिवारसम्बन्धी कानुनी व्यवस्था, आठमा सम्पत्तिसम्बन्धी कानुनी व्यवस्था थियो । त्यस्तै, भाग ९ मा समाजविरुद्ध अपराधसम्बन्धी व्यवस्था र १० मा विविध कानुनी व्यवस्था राखिएको थियो । विविधअन्तर्गत वन, श्रम, जग्गाजमिनलगायतका विषय समेटिएको थियो । भाग ११ मा कार्यविधि प्रणाली समेटिएको थियो, जसमा देवानी र फौजदारी कार्यविधि थिए । उजुरी, म्याद, प्रतिवाद, प्रमाण संकलन गर्ने, फैसला गर्ने यस्तै पुनरावेदनको समेत व्यवस्था थियो । कुनै मुद्दामा तल्ला तहका जनअदालतबाट चित्त नबुझे माथिल्लो निकायमा पुनरावेदन गर्नेसमेत व्यवस्था गरिएको थियो । त्यस्तै, फैसला कार्यान्वयनको कार्यावधिसमेत उक्त कानुन संग्रहमा राखिएको थियो ।
जनसत्ताविरुद्धको अपराध
अर्ध औपनिवेशिक, अर्ध सामन्ती शोषणदमन र उत्पीडनबाट ग्रस्त मुलुकलाई विश्वकै क्रान्तिको तुफानी केन्द्रका रूपमा विकास गर्ने श्रेय आजसम्मको क्रान्तिलाई हाँक्ने क्रममा आफूलाई क्रान्तिका निमित्त उत्सर्ग गर्ने महान् सहिद र बेपत्ता परिवारका नागरिक नै मूल रूपमा हुन् । तसर्थ तिनको यथोचित सम्मान र आदर गर्नु सबैको कर्तव्य हुनेछ । माथि उल्लेख गरिएका कर्तव्यहरूको उल्लंघन गरी ती निकाय, व्यक्ति, संस्था र आस्थाविरुद्ध षड्यन्त्र, शत्रुसँग मिलेमतो वा गद्दारी गरेमा अपराधको स्तर, योजना अवस्था र गम्भीरताका आधारमा आमजनताको रायबमोजिम १० वर्षसम्म श्रमकैदको सजाय हुनेछ । आपसी द्वेष, कलह, घृणा उत्पन्न गरी आपसी राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय भाइचारा, पार्टी मित्रराष्ट्रहरूसँगको सम्बन्ध बिगार्ने, शत्रुतापूर्ण विद्रोह गर्ने, अन्य जनसत्ताविरुद्ध अपराध गर्ने उद्देश्यले धनसम्पत्ति तथा हतियार जम्मा गरेमा ती मालवस्तु जफत गरी अपराधको गम्भीरताको आधारमा पाँच वर्षसम्म श्रमकैद हुनेछ ।
भ्रष्टाचार एवं कानुनको दुरुपयोग गरे
प्रथमतः कसैले पनि भ्रष्टाचार एवं अधिकार दुरुपयोगसम्बन्धी कुनै पनि कार्य गर्नुहुँदैन, त्यसमा पनि जनसत्ता वा सार्वजनिक वा जनताप्रति जवाफदेही पदमा रही भ्रष्टाचार एवं अधिकार दुरुपयोग गर्ने कुनै पनि कार्य गरेमा यसलाई गम्भीर अपराधको रूपमा लिइनेछ र कारबाही तथा सजाय गरिनेछ । भ्रष्टाचारजन्य काम एवं अधिकारको दुरुपयोग गर्नेलाई अपराधको गम्भीरता, जिम्मेवारी, प्रकृति र मात्रा हेरी जनभावनाको आधारमा १० महिनासम्म श्रमकैद हुनेछ ।
जिउ-ज्यानसम्बन्धी अपराध
कुनै पनि तरिकाले मानिसको जिउ-ज्यानमा चोटपटक लागेमा, घाइते भएमा, सर्वप्रथम प्राथमिक उपचार गरी तत्काल उपचारको प्रबन्ध मिलाउनुपर्छ । ज्यानै मरेको भए स्थानीयहरूको उपस्थितिमा वस्तुस्थिति चित्र झल्किने मुचुल्का बनाई सम्बन्धित हकवालालाई जिम्मा दिई शव सद्गत गर्ने व्यवस्था मिलाउनुपर्छ । आत्मसुरक्षाका लागि कर्तव्यपालनाको सिलसिलामा रक्षा गर्नेले केही गर्दा ज्यान मर्न गए बात लाग्दैन । ज्यान मार्ने कुनै मनसाय नभई तत्काल उठेको रिस थाम्न नसकी केही गर्दा ज्यान मरेमा आधा सजाय हुन्छ र नियतवश ज्यान मारेमा पूरा सजाय हुन्छ । नियतवश ज्यान मार्नेको हकमा अपराधको परिस्थिति, अवस्था, स्वरूप, तयारी र संलग्नताका आधारमा आवश्यकतानुरूप घटनास्थल र पीडित जनताको समेत राय बुझी सुधि्रन सक्छ भन्ने लागेमा पाँच वर्षसम्म र सुध्रने सम्भावना कम छ भन्ने लागेमा १० वर्षसम्म श्रमकैद गर्नुपर्दछ ।
आगजनी अपराध
कसैले कसैको हकमा रहेको सम्पत्ति, जनसत्ताको अधीनस्थ रहेको सामग्री, सार्वजनिक वन वा कुनै पनि सम्पत्ति आगो लगाउनु वा उत्प्रेरित गर्नु अपराध हो । यस्तो अपराध गरेमा अगलागीबाट नष्ट हुन पुगेको सम्पत्तिबराबरको क्षतिपूर्ति कसुर गर्नेबाट असुल गराई अपराधीलाई एक वर्षसम्म श्रमकैद वा बिग्रेको अनुपातले हजारदेखि १० हजारसम्म जरिबाना हुनसक्छ ।
यौनजन्य अपराध
वर्तमान समाजलाई पाखण्डी सामन्तवादी र छाडा यौनाचारी पाश्चात्य संस्कृतिले आक्रान्त पारेको छ र त्यसैका भावभूमिमा यौन जैविक आवश्यकता भनेर छुट दिने प्रचलन नै बनिआएको छ, तर यो समाजलाई भ्रष्टीकरणतर्फ लैजाने नैतिकतासँग जोडिएको अपराध हो । बिल्कुल रहस्यका रूपमा राख्ने र बिल्कुल खुला छाडा राख्ने दुवै प्रवृत्ति गलत हुन् । कसैले आफ्नी श्रीमतीबाहेक अरूलाई करणी गरेमा, १५ वर्षमुनिको भए सहमतिमा भए पनि र सोभन्दा माथिकोलाई बेमञ्जुरीले करणी गरेमा जबरजस्ती करणीको अपराध मानिनेछ र त्यस्तो अपराधमा अपराधको अवस्था, प्रकृति, परिस्थिति र गम्भीरता विचार गरी दुई वर्षसम्म श्रमकैदको सजाय हुनेछ र दुवैको सहमतिले गरेको भए एक वर्षसम्म दुवैलाई श्रमकैद गरिनेछ । हाडनाता करणीमा भने जबरजस्ती करणीमा हुने सजायमा एक वर्ष थप हुनेछ । समाजविरुद्धको अपराध चोरी, ठगी, किर्ते र जालसाजी समाजविरुद्ध हुने अपराधको सूचीमा छन् । चोरी गर्नेलाई चोरीको सम्पत्तिको परिणाम, चोरीको प्रकृति र परिस्थितिसमेतलाई मध्यनजर गरी चोरीको सम्पत्ति माल धनीलाई फिर्ता गरी चोरी गर्नेलाई बिगोबमोजिम जरिबाना र सजायबापत बढीमा एक वर्षसम्म श्रमकैद गर्नुपर्छ । पटके चोरलाई भने पटकैपिच्छे थप सजाय हुनेछ । कसैले कसैलाई ढाँटी, कसैलाई धोका दिई कुनै पनि व्यवहार गरेमा समेत ठगी ठहर्छ । ठगी गर्नेलाई ठगी गरी लिएको बिगो खुलेमा हक पुग्नेलाई बिगो भराई बिगोबमोजिम जरिबाना र बिगो कायम नभएमा पछि अपराधको प्रकृति हेरी अन्य आवश्यक जरिबाना र सजाय गर्नुपर्छ ।
बेरितसँग थुन्दा
कुनै पनि व्यक्तिलाई कुनै पनि व्यक्ति वा समूहले थुनामा राख्न, बेपत्ता पार्न वा बेचबिखन गर्न वा बाध्य पारेर कुनै पनि पेसामा लगाउनु हुँदैन । यस्तो गरे/गराएमा व्यक्ति वा समूहहरूलाई प्रत्येकलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्मको जरिबाना वा दुवै गरी मर्का परेको व्यक्तिलाई त्यस्तो व्यक्ति वा समूहबाट उचित क्षतिपूर्ति भराई दिनुपर्छ ।
लागुऔषध
कसैले कुनै पनि लागुऔषध वा विषाक्त वस्तु चिकित्सकको सल्लाहबाहेक सेवन गर्न/गराउन हुन्न । सम्बन्धित जिल्ला जनसत्ताको अनुमतिबिना उत्पादन तथा बिक्रीवितरण गर्न पनि हँुदैन । यस्तो कसुर गरेमा गर्नेलाई कसुरको मात्राअनुसार एक वर्षसम्म कैद वा १० हजारसम्म जरिबाना वा दुवै सजाय गर्नुपर्छ । संग्रहमा समाजमा हुने विविध अपराधमा हुने कारबाहीको कानुन साथै देवानी तथा फौजदारी कार्यविधि पनि तय गरिएको छ । देवानी कार्यविधिमा उजुरी गर्ने, म्याद पठाउने, प्रतिवाद गर्ने, प्रमाण बुझ्ने, फैसला गर्ने र निर्देशन दिने, फैसला कार्यान्वयन तथा पुनरावेदनको समेत व्यवस्था छ । त्यस्तै, फौजदारी कार्यविधिअन्तर्गत घटनाको उजुरी गर्ने, अनुसन्धान र तहकीकात, बयान लिने, प्रमाण बुझ्ने, अभियोगपत्र दायर गर्ने, प्रमाण परीक्षण गर्ने, फैसला गर्ने र फौसला कार्यान्वयनको विधि/सजायसमेत तय गरिएको थियो ।
प्रस्तुति : नारायण काफ्ले
|
|
पछिल्लो पुस्ताका विद्यार्थीलाई भविष्यको लक्ष्य सोध्ने हो भने उत्तर आउँछ-ँडाक्टर, इन्जिनियर, ...' म नेता बन्छु, राजनीतिज्ञ बन्छु भन्ने उत्तर सायदै आउला । यस्तो वेला डाक्टर बनिसकेका व्यक्ति राजनीतिमा आउनुलाई उल्टो संयोग भन्नु अत्युक्ति नहोला नै । राष्ट्रपति डा. रामवरण यादव यही उल्टो बाटो हिँडेर राजनीतिमा आए । र, राष्ट्रपतिसमेत भए । उनका छोरा डा. चन्द्रमोहन यादव पनि बाबुकै बाटो पछ्याइरहेका छन् । डाक्टरले भन्दा नेताले गर्न सक्ने समाजसेवाको दायरा फराकिलो हुन्छ भन्ने विश्वास छ उनको । यादवले नयाँ पत्रिकासँग आफ््नो राजनीतिक व्यक्तिगत जीवनबारे बताएका केही तथ्य उनकै शब्दमा :
म वीर अस्पतालमा रेडियोलोजीको प्रोफेसर थिएँ । त्यसैवेला वीर अस्पतालमा रेडियोलोजीको सुरुवात गरेको हुँ । त्यसपछि तीन वर्षका लागि असाधारण बिदा लिएर कुवेत गएँ । त्यसबीचमा मलाई लाग्यो कि दुनियाँ यस्तै हो, म जनताको सेवामा लाग्छु । अहिलेे वृक्षरोपण, रक्तदान, भवन निर्माणलगायत काम नै मेरो लागि एक्सरे, अल्ट्रासाउन्ड, सिटिस्क्यान, एमआरआई बनेको छ । चार वर्षबीचमा करिब आधा दर्जन स्कुल बनाउने कार्यको नेतृत्व गरेँ । केही बनिसके, केही निर्माणाधीन छन् । समाजमा एकता फैलाउने कार्य गरिरहेका छौँ । गाउँ (धनुषा) को प्रत्येक वडामा वृक्षरोपण अभियान चलायौँ । रक्तदानलगायत कार्यक्रम भइरहेका छन् । डाक्टर भएका कारण मलाई रक्तदान, स्वास्थ्य शिविरजस्ता कार्यमा सजिलो भएको छ । मैले त्यस्ता कार्यक्रममा कुनै राजनीतिक रंग भरेको छैन । त्यसैले सहभागिता राम्रो छ । महिनामा चारवटासम्म मेडिकल क्याम्प राख्याँै । तर, कुनै पनि पार्टीको नाम राखेनौँ । समाजकै नाममा यी काम भइराखेका छन् । म कांग्रेससँग सम्बद्ध र सहमत छु । तर, कांग्रेस र कम्युनिूट छुट्याउँदिनँ । म समाजसेवाका लागि राजनीतिमा लागेको कारण सबैको सेवामा रमाउँछु । त्यसैले मैले समाजसेवाको कार्यक्रम सञ्चालन गर्दा कहीँ पनि पार्टीको नाम लिएको छैन । सामाजिक कार्यलाई मैले विभाजित समाजलाई एकताबद्ध गर्ने माध्यमका रूपमा लिएको छु । समाजसेवाका लागि -निर्माणका कामबाहेक) खासै ठूलो रकमको आवश्यकता पर्दैन । त्यसो त म डाक्टर भएको कारण डाक्टर साथीहरूको राम्रो सहयोग पाइरहेको छु । उहाँहरू (डाक्टर) ले नाइँ कहिल्यै भन्नुहुन्न । मसँग भोकै हिँड्ने साथीहरूको पनि कमी छैन । जुन ठाउँमा कार्यक्रम गर्यो, गाउँका साथीहरूले खुवाउने व्यवस्था मिलाउनुहुन्छ । खर्च धेरै हुँदैन, बस् योजना र मिहिनेत चाहिन्छ । भित्री आत्मादेखि काम गर्दा सहयोग गर्ने धेरै हुन्छन् ।
दैनिकी
सामान्यतः म बिहान साढे चार बजे उठ्छु । आवश्यकताअनुसार कहिले तीन बजे पनि उठिन्छ । नित्यकर्मपछि दुई-चार घन्टा गाउँमा हिँड्छु । पैदलयात्रामा पाँच/सातजना साथी पनि हुन्छन् । मर्निङवाक पनि हुन्छ, साथै साथीसँग भेटघाट पनि । उनीहरूसँग सुखदुःखका कुरा हुन्छन् । १०/११ बजेसम्म घरमा र्फकन्छु, त्यसपछि नुवाइधुवाइ गरेर एकछिन आराम गर्छु । दिउँसो कुनै कार्यक्रम भए जान्छु, नत्र मानिसहरू आउँछन्, कुराकानीमै दिन बित्छ । तर, आफ्ना लागि समय कम भएको महसुस हुन्छ । फुर्सद मिल्यो भने अध्ययन गर्छु । पहिले डाक्टरी पढाइ धेरै गरियो । अहिले भने सामाजिक विषय पढ्छु । म राजनीतिशास्त्रको विद्यार्थी होइन, त्यसकारण त्यस्ता विषयमा बढी ध्यान दिन्छु । म सामान्य जीवन बिताउन मन पराउँछु । मेरो अधिकांश समय आफ्नो गाउँ धनुषामा नै बित्छ । त्यहाँ म कहिले साइकलमा हुन्छु, कहिले पैदलै हिँड्छु । सानो क्षेत्रमा पनि किन मलाई गाडी चाहियो र ? तर, अवस्था हेरी गाडी पनि प्रयोग गर्छु । गलत चिज उपयोग गर्ने हाम्रो परिवारमा कसैको स्वभाव छैन । न बुबाको छ न अरूकै । म सर्वसाधारण नै हुँ, त्यस्तै बसाइ हुन्छ, त्यस्तै हिँडाइ पनि । मेरो काठमाडौंमा घर छैन, त्यसैले काठमाडौंमा भने बुबासँगै बस्छु । तर, कुनै पनि किसिमले उहाँको नाम दुरुपयोग गरेजस्तो लाग्दैन ।
दबाब धेरै छ
बुबा राष्ट्रपति हुनु मेरा लागि सौभाग्यको कुरा हो । त्यसमा खुसी हुनु स्वाभाविकै हो । तर, राष्ट्रपतिको छोरा भएकै कारण आफ्नो क्षमताभन्दा पनि राष्ट्रपतिसँग जोडेर हेर्दा भने नमजा लाग्छ । उहाँ राष्ट्रपति भएको कारणले मलाई फाइदा नै भएको छैन त भन्दिनँ । तर, मैले फाइदाभन्दा अप्ठ्याराको सामना बढी गरेको छु । त्यसो त मैले जति सम्मान पाउनुपर्ने हो, त्योभन्दा बढी नै पाएको छु । त्यसमा दुईमत छैन । तर, व्यावहारिकतामा हेर्दा राष्ट्रपतिको छोरा भएको कारण मलाई धेरै दबाब छ । राष्ट्रपतिको छोरा भएकै कारण मलाई हानि-नोक्सानी पनि भएको छ । गत उपनिर्वाचनमा म चुनाव लड्दा मेरा विरोधीहरू थिए, पार्टीभित्र पनि र बाहिर पनि । उनीहरूले अफवाह फैलाए- 'यो राजाको छोरो हो, यसलाई फेरि राजा बनाउने काम गर्नुहँुदैन ।' समय अभावका कारण त्यस्ता अफवाहलाई गलत साबित गर्न सकिएन । त्यसले मलाई धेरै नोक्सान भयो । त्यसवेला मलाई राजाको छोरा भनेर दुःख दिइयो, अहिले राष्ट्रपतिको छोरा भनेर अपेक्षा गरिन्छ । अपेक्षा पूरा गर्न नसक्दा सम्बन्धका हिसाबले नोक्सान पनि भइराखेको हुन्छ ।
राजनीतिको यात्रा
एउटा डाक्टर किन राजनीतिमा हामफाल्यो भन्ने जिज्ञासा मलाई धेरैले राखे । परिवारका सदस्यले चिन्ता जाहेर गर्नु त झनै स्वाभाविकै हो । आजभन्दा तीन वर्ष पहिला, जतिवेला मेरो बच्चा दश वर्षको थियो, उसले पनि मलाई सोधेको थियो, 'बुबा तपाइर्ं किन राजनीतिमा लाग्नुभयो ? तपाइर्ंले डाक्टर भएर नै मानिसको सेवा राम्ररी गरिरहनुभएको थियो नि ।' मैले त्यसवेला भनेको थिएँ, 'मेरो आफ्नो जिन्दगी र परिवारका लागि डाक्टर हुनु यथेष्ट हो । तर, राजनीतिमा समाजसेवा गर्ने परिधि धेरै छ ।' राजनीतिलाई यहाँका राजनीतिज्ञले या राजनीति गर्ने व्यक्तिहरूले बर्बाद गरिदिए । त्यसैले पनि यस्तो प्रश्न उठेको हो । राजनीति भनेको समाजसेवा हो, तर यहाँ आफ्नो स्वार्थपूर्ति गर्ने माध्यम बनाइयो । त्यही कारण अहिले राजनीतिप्रति धेरै ठूलो वितृष्णा छ । यस्तो माहोलमा म र बुबा डाक्टरी पेसाबाट राजनीतिमा लाग्नु उल्टो संयोगजस्तो देखिन्छ । तर, मेरो विचारमा पढेलेखेका र असल मानिस राजनीतिमा आउनु आवश्यक छ । असल मानिस राजनीतिमा आएनन् भने देशलाई कसरी राम्रो बनाउन सकिन्छ र ? आखिर देश चलाउने त राजनीतिज्ञले नै हो । हाम्रो देशमा उल्टो भइरहेको छ । जो उत्कृष्ट वा प|mन्ट बेन्चर हुन्छ, ऊ डाक्टर/इन्जिनियर बन्न जान्छ । जो लास्ट बेन्चर हुन्छ, उसको केही ठेगान हँुदैन, उही नै राजनीतिमा लाग्छ । यस विषयमा भने हामीले जापानबाट सिक्नु जरुरी छ । त्यहाँ जो प|mन्ट बेन्चर हुन्छ, ऊ संसद्मा जान्छ । जो छैटाँै/साताँै 'र्यांक'मा हुन्छ, उनीहरू डाक्टर/इन्जिनियर बन्छन् ।
प्रेम गौतम
|
|
सञ्चारकर्मीका रूपमा परिचित रवि लामिछानेले लगातार ६२ घन्टा १२ मिनेट लामो टेलिभिजन कार्यक्रम चलाएर गिनिज बुकमा रेकर्ड राखेका छन् । उनले गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने 'थिम’मा न्युज २४ टेलिभिजनमा निरन्तर ६२ घन्टा १२ मिनेट विभिन्न क्षेत्रका एक सय दुईजना व्यक्तिसँग अन्तर्वार्ता लिएका थिए । नयाँ वर्ष विसं २०७० को पूर्वसन्ध्यामा सम्पन्न रविको उक्त सो विश्वमा अहिलेसम्मकै सबैभन्दा लामो टेलिभिजन सोका रूपमा प्रमाणित भएको छ । सन् २००२ देखि अमेरिकामा बस्दै आइरहेका जोरपाटी, काठमाडौंका ३६ वषर्ीया रविले ६२ घन्टा टक सो चलाउँदाको अनुभूति नयाँ पत्रिकासित यसरी साटे ।
यसकारण अमेरिका भासिएँ
म नेपालमा सञ्चारकर्मीका रूपमा सफल नै थिएँ । त्यतिवेला मैले मिडियामा काम गरेको १२ वर्षजति भइसकेको थियो । टेलिभिजन, एफएममा कार्यक्रम चलाउने गर्थें । करिअर अगाडि बढाउने क्रममै ममा अमेरिकामा ब्रोडकास्टिङ जर्नालिज्म पढ्ने सोच आयो । त्यसैले म सन् २००२ मा अमेरिका पुगेँ । भिजिटिङ भिसामा गएको मान्छेले त्यहाँ पढ्न पाइँदो रहेनछ, मलाई त्यो कुरा थाहा थिएन । त्यसका लागि स्टुडेन्ट भिसामै जानुपर्ने रहेछ । त्यसपछि पढ्नका लागि प्रक्रिया मिलाउन लागेँ । तर, प्रक्रिया लामो हुँदो रहेछ, त्यसले गर्दा मेरो बसाइ लम्बियो । आखिर मैले पढ्न पनि पाइनँ । त्यतै काम गरेर बसियो । मसित अमेरिकाको पिआर छ, तर त्यहाँको सिटिजनसिप लिएको छैन । लिने सोच पनि छैन । नेपाली नै भएर बाँच्न चाहन्छु । जहाँ रहे, बसे पनि म नेपाली हुँ, नेपाली नै भइरहन चाहन्छु । अमेरिकामा म बाह्रवटा सव-वे रेस्टुरेन्टको म्यानेजर छु । मेरो एउटा आफ्नै रेस्टुरेन्ट पनि छ । मेरो रेस्टुरेन्टमा सत्तरीजनाजतिले काम गर्छन् । मैले अहिलेसम्म आउने-जाने पैँतीस सय-चार हजार नेपालीलाई काम दिइसकेँ हुँला । अरूभन्दा नेपालीलाई प्राथमिकतामा राख्ने गरेको छु । रेस्टुरेन्टबाहेक नेपालीले गर्ने सांस्कृतिक कार्यक्रम सञ्चालन गर्छु । अनलाइन टिभी कार्यक्रम पनि चलाउँछु ।
रेकर्ड राख्ने सोच
अनलाइन प्रोग्राम चलाउँदा सबैले सपोर्ट गरे । आफ्नो देश चिनाउन मैले गरेको पहलमा सबै नेपालीले साथ दिए । कतिपय विदेशीले नेपाल भन्ने देश छ भन्ने कुरा पनि थाहा पाएका छैनन् । नेपाल चिनाउन उनीहरूलाई बुद्ध जन्मिएको भूमि, सगरमाथाको देशभन्दा पनि कन्फ्युज हुने गर्छन् । कतिपय पाठ्यपुस्तकमा समेत बुद्ध अन्तै जन्मिएको भनेर पढाइन्छ । त्यो कुरा मेरो मनमा गढेको थियो । त्यसकारण यो विषयमै कार्यक्रम चलाएर गिनिज बुकमा रेकर्ड राख्ने सोच आयो । करिब डेढ वर्षअघि योजना बनाएको हुँ । विभिन्न व्यक्तिसँग सल्लाह गरी कार्यान्वयनको प्रक्रियामा लागियो । बुद्ध नेपालमा जन्मिएको कुरा प्रमाणित तथ्य भए पनि कतिपय विदेशीमा भ्रम छ । फेरि कतिपयले बुद्ध चिन्छन्, नेपाल चिन्दैनन्, कतिपयले नेपाल चिन्छन् तर बुद्ध अरू नै देशमा जन्मिएको भन्ने गलत बुझाइमा छन् । त्यसकारण बुद्ध नेपालमा जन्मिएका हुन्, नेपाल बुद्धको देश हो भन्ने तथ्य विश्वमा प्रचार गर्न मैले यही कुरालाई थिम बनाएको हुँ । मेरो कामले बुद्धको जन्मभूमि नेपाललाई विश्वमा चिनाउन सहयोग गरेको ठान्छु । तर, यो पर्याप्त भने छैन । अझै धेरै काम गर्नुपर्छ ।
म्याराथन टक सोको तयारी
म आफ्नो लक्ष्यप्रति मानसिक रूपमा तयार थिएँ । कसैगरी पछि हट्नेछैन, जसरी पनि लक्ष्य हासिल गरेरै छाड्नेछु भन्ने आत्मविश्वास जागेको थियो । शारीरिक रूपमा भने केही तयारी थिएन । अभ्यास पनि गरिनँ । आत्मविश्वासले नै लक्ष्य प्राप्ति भएको हो । मनले अठोट गरे पनि शरीरले साथ नदिएर बीचमै ढलिहाल्छु कि भन्ने कताकता डर भने लागेको थियो । तर, मैले आत्मविश्वासले शक्ति सञ्चय गरेकाले सफल भएँ । इनर्जी डि्रंक्स ल्याएको भए पनि खोल्नै परेन । त्यत्तिकै फिर्ता भयो । मेरो यहाँ दश वर्ष ग्याप भएकाले को व्यक्ति कहाँ, कुन पोजिसनमा छ भन्ने थाहा भएन । त्यसैले न्युज २४ र वेलकम इभेन्ट म्यानेजमेन्टले गेस्ट छनोट गरेका हुन् । कुन गेस्टलाई कसरी, कतिवेला ल्याउने, कतिवेला पुर्याउने भन्नेलगायत सबै कुरा टिमले नै गरेको हो । टक सोका दौरान विभिन्न क्ष्ाेत्रका एक सय दुईजनासँग अन्तर्वार्ता लिएँ । त्यसमा नेता, उद्योगपति, व्यापारी, समाजसेवी, चिकित्सक, कलाकारदेखि लिएर विभिन्न पेसामा आबद्ध व्यक्तित्व थिए । सुरुमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वाता लिएको थिएँ । अन्तिममा भने मह जोडी हुनुहुन्थ्यो । मलाई जानकारी भएसम्म, बोलाएका सबैजना गेस्ट आएनन् । कतिपयले समय नमिलेको बताए । कतिपयलाई भने चाहेर पनि बोलाउन सकिएन, छुटे । कतिपय मिडियाम्यान बोलाउँदा पनि आउन चाहेनन् । लगातार ६० घन्टा कार्यक्रम चलाएर रेकर्ड राख्ने लक्ष्य मेरो थियो । त्यसकारण मेरा लागि त्यतिवेला त्योभन्दा अरू कुनै कुरा प्राथमिकतामा थिएन । मेरोजस्तै अरूका लागि पनि अरू कुरा प्राथमिकतामा थियो होला, यसमा मेरो/हाम्रो टिमको केही गुनासो छैन ।
अनुभव अनेक
६२ घन्टा एकै ठाउँमा बसेर लगातार बोलिरहँदाको अनुभव वास्तवमै असाधारण रह्यो । एकदम अनौठो । पहिला त खासै केही भएन । पहिले-पहिले कार्यक्रम होस्ट गर्दा हुनेजस्तै भयो । १३ घन्टापछि भने बीचबीचमा मलाई गाह्रो हुन थाल्यो । कतिपय गेस्टसँग कुरा गर्दा के प्रश्न सोधेँ भनेर वाक्य टुंग्याउनै गाह्रो भयो । कतिवेला भने म कहाँ छु, के गर्दै छु भन्ने कुरा पनि बिर्संदो रहेछु । वान वे मात्र कुरा गरिरहन्थेँ । कतिवेला फेरि म आफैँमा हराउँदो रहेछु । अनेकौँ अनुभव गरेँ । केही समयको अन्तरालमा टिभीले न्युज ब्रेक लिन्थ्यो । तर, मैले ब्रेक लिन मिल्दैनथ्यो । टिभीमा न्युज आएका वेला पनि म रेकर्ड राख्नका लागि बोलेको बोल्यै हुन्थेँ । कतिपय गेस्टसँगको अन्तर्वार्ता रुचिकर भएन । कतै-कतै म आफूले पनि राम्रो गर्न सकिनँ । गेस्टले पनि गतिलो जवाफ, प्रस्तुति दिन सकेनन् । खासगरी, म स्वयंलाई रुचि नभएका क्षेत्रका व्यक्तिसँग कुरा गर्दा अल्छी लाग्यो । तोकिएको समयमा अर्काे गेस्ट नआउँदा एउटै मान्छेसँग गन्थन गरेर कुराकानी लम्ब्याइरहनुपर्ने बाध्यता पनि थियो । त्यतिवेला भने साह्रै अल्छी लागेको थियो । यद्यपि, पाहुनाका रूपमा विभिन्न क्षेत्रका विज्ञहरू भएकाले समग्रमा रमाइलो भयो । विशेषगरी प्रचण्ड, डा. भगवान कोइराला, सिएनएन हिरो अनुराधा कोइराला, डा. भोला रिजाल, हास्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, धुर्मुस, गायक नवीन के भट्टराई, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अनिल चित्रकारलगायतसँगको कुराकानीमा धेरै कुरा सिक्ने, बुझ्ने र मनन गर्ने मौका पाएँ । हुन त कार्यक्रमको थिम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थियो । तर, सबै गेस्टसित यही विषयमा गफ गरेर बस्न सम्भव थिएन । सबैलाई एउटै जिज्ञासा कतिवेलासम्म सोधिरहने ? त्यसले बोरिङ हुन्छ । र, उहाँहरूबाट आउने जवाफले पनि दर्शकलाई दिक्क पार्छ भनेर पाहुनासँग सम्बन्धित विषयमा कुरा गरिएको हो । त्यसमा अन्य कुनै कारण छैन । निद्रा भगाउन मैले कुनै औषधि, जडीबुटी खाइनँ । गिनिज बुकको आफ्नै नियम, मापदण्ड हुन्छ । त्यहीअनुसार अझ मैले त प्रत्येक घन्टा पाँच मिनेट पाउने छुट्टी पनि उपयोग नगरी लगातार कार्यक्रम चलाएँ । मान्छे त्यति लामो समयसम्म म अथक रूपमा कसरी बोलेँ हुँला भनेर अचम्ममा पर्छन् । यो कुरा सही हो । यो चानचुने आँट होइन । म सधैँ सकारात्मक मात्र सोच्छु । इनर्जी पोजेटिभ कुराका लागि मात्र प्रयोग गर्छु । कहिल्यै कसैसँग रिसाउँदिनँ । रिस, इगो, डाह भन्ने कुरा मेरो दिमागमै छैन । सायद त्यही पोजेटिभ शक्तिले होला, मलाई सफल बनाएको । कतिपयले मलाई ध्यान, योगा गर्छस् ? भनेर सोध्छन् । तर, मैले अहिलेसम्म ध्यान, योग गरेको छैन । अब भने गर्नुपर्ला । खासमा म पूरै कार्यक्रम राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएरै गर्छु भन्नेमा थिएँ । तर, स्टुडियोमा लाइटका कारण निकै गर्मी र उकुसमुकुस भयो । सो चलाएको १३ घन्टापछि दर्शकसँग माफी माग्दै डे्रस चेन्ज गरेँ । अन्तिममा फेरि दौरासुरुवाल लगाएँ ।
६० घन्टा पुगेपछि...
जब मैले कार्यक्रम सुरु गरेको ६० घन्टा पुग्यो, सबैजना खुसीले चिच्याए । त्यतिवेला म आफ्नो लक्ष्यमा सफल भएकोमा खुसी भएँ । बाहिर निस्किँदा धेरै शुभचिन्तक मलाई स्वागत गर्न तयार भएर बसेका रहेछन् । त्यो देखेर मलाई औधी खुसी र गर्व लाग्यो । रेकर्ड राखेको औपचारिक प्रमाणपत्र लिँदाको पल भने मेरा लागि अति पि्रय क्षण हो । राति साढे एक बजेतिर मात्रै रेकर्ड सो सकियो । त्यसपछि डेढ घन्टाजति फोटो सेसन, शुभकामना, शुभेच्छा लिने कार्यक्रम चल्यो । राति साढे तीन बजे मात्रै सुतेँ । बिहान दश बजे त उठिहालेँ । निद्रा पुगिसकेको थियो । धेरै सुत्नै मन लागेन । शारीरिक समस्या पनि केही देखिएको छैन । समस्या नदेखिएकाले चेकअप गराउन आवश्यक ठानिनँ । खुट्टा भने अलि-अलि सुन्निएको थियो । पछि ठिक भयो । मानसिक रूपमा पनि केही समस्या नआएकाले अहिलेसम्म म एकदम फिट एन्ड फाइन छु । हुन त गिनिज बुकले सुविधा, पैसा केही दिँदैन । मात्र, रेकर्ड हो । यो रेकर्डले बुद्ध जन्मिएको देश नेपालबारे संसारभरि चर्चा चलेको छ । विश्वले सम्मान गरेको छ । आगामी दिनमा बुद्धको जन्मस्थानलाई लिएर कोही-कसैले भ्रम फैलाउने कोसिस गर्नेछैनन् । त्यसका लागि दश लाख मान्छेको हस्ताक्षर संयुक्त राष्ट्रसंघलाई बुझाउनेछौँ । कतै भएका त्रुटिपूर्ण कुरा पनि सच्याइनेछन् । रवि लामिछानेले व्यक्तिगत प्रचारबाजीका लागि यो कार्यक्रम गरेको भन्ने पनि छन् । तर, मैले आफ्नो प्रचारबाजीका लागि गरेको भए त अरू जे विषयमा, जे गरे पनि हुन्थ्यो नि । किन बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गर्नुपथ्र्यो र ? यो मैले आफ्नो देशलाई विश्वसामु चिनाउन गरेको हुँ । कार्यक्रम प्रस्तोताका रूपमा पाउनुपर्ने स्वाभाविक चर्चाको आश गर्न त मैले पाउँछु नि । त्यसमा भने मेरो कुनै गुनासो छैन । मेरो यो रेकर्डले विश्वमा लङ म्याराथन टिभी टक सो कार्यक्रमको रेकर्ड राख्ने देशमा नेपालको नाम सुनौलो अक्षरले लेखिएको छ, म त्यसमै खुसी छु ।
जयन्तले पनि स्विकारे
कार्यक्रममा भारतीय राजदूत जयन्तप्रसादलाई पनि निम्त्याइएको थियो । उहाँ आउनु पनि भयो । त्यस कार्यक्रममा उहाँको आगमनले ठूलो अर्थ राख्थ्यो, किनकि बुद्ध भारतमा जन्मेको भ्रम विश्वभरि छ । उहाँले बुद्ध नेपालमै जन्मिएको दस्ताबेज नै पेस गर्नुभयो । यो कुरा सो हेरेका सबैलाई थाहा छ । मैले कार्यक्रममा नेपाल र भारतबीचको सम्बन्धमा दरार आउने कुनै कुरै गरिनँ । समसामयिक विषयमा कुरा गरेको थिएँ । उहाँलाई नेपालप्रति एकदम सकारात्मक पाएँ । कार्यक्रमकै दौरान बुद्ध नेपालमा जन्मिएको भनेर हस्ताक्षर संकलन पनि गरिएको थियो । आएका पाहुना सबैले हस्ताक्षर गर्नुभयो । जयन्तप्रसादले पनि गर्नुभयो । उहाँले बुद्ध बर्न इन नेपालमा गरेको हस्ताक्षर अहिले पनि हेर्न सक्छौँ ।
योजना केही छैन
अब तुरुन्तै केही योजना बनाएको छैन । विश्वलाई नेपाल चिनाउने अभियानलाई पूरा गर्न हस्ताक्षर संकलन कार्य भइरहेको छ । त्यसलाई पूरा गर्न निरन्तर लाग्छु । फेरि अमेरिका फर्किनैपर्छ भन्ने मानसिकतामा छैन । कुनै टेलिभिजनले मेरो आवश्यकता महसुस गरी उचित स्थान दिन्छ भने उताको सबै चाँजोपाँजो मिलाएर यहीँ बसेर काम गर्छु ।
प्रस्तुति : लक्ष्मण सुवेदी
|
|
|